अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

रणवीर फिल्मको टिजर सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ मंसिर १६ गते ११:२८ मा प्रकाशित

रणवीर फिल्मको टिजर सार्वजनिक भएको छ । माघ १८ मा रिलिज हुने फिल्मले मोसन पोस्टर र पोस्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बिचको टसल देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् ।

उनले शारीरिकरुपमा पनि आफूलाई परिवर्तन गरेको पाइन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बिचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ ।

सुशील सिटौला स् फिल्मको लागि मैले कति मेहनत गरे भन्ने कुरा शब्दले व्यक्त गर्नु भन्दा पनि भिजुअलले नै व्यक्त गर्छ नै । यसमा मलाइ अघिल्ला फिल्मको सुशील पाउनु हुँदैन । एक्सनको लागि मैले आफूलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ । एउटा बेरोजगार युवाको सङ्घर्ष र उसको रिभेन्जनै फिल्मको विषयवस्तु हो ।

प्रशान्त ताम्राकार: ऐश्वर्यपछि मैले अभिनय गरेको फिल्म हो , रणवीर । यो फिल्ममा काम गर्दा मैले आफैलाई चिन्ने मौका पाएको छु , मैले कति काम गरे र कति गर्न सक्छु भन्ने मूल्याङ्कन पनि छ यसमा । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ , यसमा दुई मत नै छैन । फिल्मले हाम्रै कथालाई बोकेको छ , प्रस्तुतीकरणले दर्शकको मन जित्छ । मलाइ फेरी ऐश्वर्य भन्दा एक स्टेज अप क्यारेक्टरमा देख्न पाउनु हुनेछ ।

दीपेन्द्र रेग्मी: हामीले फिल्म मेकिङमा कुनै कन्जुसियाई गरेका छैनौ । फिल्मलाई निकै मेहनतका साथ तयार गरेका छौ । फिल्म हेरिरहँदा दर्शकले प्रस्तुतीकरणमा पक्कै पनि भिन्नता पाउनु नै हुनेछ । फिल्मले दर्शकलाई कहीँ कतै निराश बनाउनेछैन ।