अतीतका सम्झना- शेखर ढुंगेल

“सान्नानी “गाई” र उनको आँसु “

त्यो समय थियो सम्भबत नेपालको सबै घरमा गाई भैसी बाख्रा कुक्कुर बिरालो कुखुरा हाँस न भएका वा न पालेका सायदै हुन्थे .कारण खेतिबारिको मलको लागि होस् कि परिवारको स्वास्थ्यको लागि दूध मासु अनि सुरक्षा अनि मानबियता सबैको सम्मिश्रण परिवार हुन्थ्यो त्यसको साथै संयुक्त परिवारको त्यो स्वर्गीय सुखानुभूति बाट आजको पिँडी बन्चित भैसकेको छ .आयातित विषाक्तता बाट ग्रस्त भएको छ .हाम्रो घरमा पनि एउटा गाई थियो जसको नाम थियो साननानी अर्थात् सानो नानी जुन गाई मामाले दान गरेर भान्जो लाई दूध खान भनेर दिनु भएको थियो …

जनावर खास गरी गाईको चेतनाको स्तर सायद धेरै उच्च हुन्छ कि ?त्यसो त् मुसो पनि पालेर अनुभव बटुली सकेको मलाई साना ठुला जंगली वा घरायसी जन्तु जनावर हरुको संबेदनशीलता प्रति धेरै चासो पनि राख्छु नेपालमा रहुन्जेल घरमा कुक्कुर साथी राख्ने/पाल्ने मेरो सोख/रहर निरन्तर थियो .सँगै बस्दा वा स्वार्थको कारण जनावर हरू मानिस भन्दा इमान्दार र बिबेकसिल हुन्छन् .अब प्रसङ्ग साननानी गाईको नै .सानिनानी मेरो साथी नै भन्दा पनि हुन्छ कारण म स्कुल जाँदा सल्लाघारीको टुँडिखेलमा छोडेर जान्थे बेलुका स्कुल सकेर फर्केर आउँदा सानी नानी बिहान ९ बजे जहाँ छोडेको बेलुका ४ बजे सम्म पनि त्यही कुरेर बसेको हुन्थिन चरेर अघाएर मलाई कुरेर बसेको हुन्थिन ….कहिले काँही अरू छिमेकीले लगेको र म बेलुका पनि लिन गएको छैन भने मानिस हरू झैँ एक्लै घर औथिन ठिक त्यही समयमा जुन दैनिकी हुन्थ्यो .हामी घरमा हुन्थ्यौ जब उनी एक्लै हुन्थिन घर नजिक आइ पुगे पछि ब्वा गरेर कराएर आफू आएको खबर गर्थिन .कहिले काँही कोही घरमा छैन भने कि त् गोठमा छिरेर बसेको हुन्थिन कि त् आँगनमा उभिएको ..हामी लाई देखेर ब्वा गरेर कराउने घाँटी नजिक लगेर कन्याई दे भन्ने त् सामान्य कुरो नै भयो .

एउटा समय आयो एकातिर घरमा आर्थिक (पैसाको) समस्या अर्को तिर आफूले हार्न नसक्ने मानिस (आफन्त )ले गाईको माग गर्नु भयो कारणबस ब्याएको १५ दिन पछि सानी नानीको छोरी पखाला बाट बितेकी थिन हामीले त्यो मृत बाच्छोको बाहिरी खोल (छाला )भित्र पराल छ्वाली ले भरेर ज्युदो जस्तो देखिने डमी बनाएर गाईको अगाडी राखेर मात्र दुहुन सक्थ्यौ नत्र उनी कराएर दूध नदिने भएकी थिन .बिहान बेलुका ३/३ माना दूध दिने उनी बाट दूध पनि डेढ माना भन्दा कम हुन् थाल्यो .दूधको कमी भन्दा पनि आफन्तको घरमा बिरामी भएको र दूधको लागि अति आवश्यक भनेर अनुरोध गरेको हुँदा त्यस बेला २०३१ /३२ साल हुनु पर्छ सवा सयमा हामीले सानी नानी लाई बेचिदियौ आँखामा आँसु न झरेको होइन उनको ब्वा ब्वा कराउदै अर्कोको हातमा जान नमानेर फुत्किन खोज्दा तर विडम्बना म र आमा आफैले ढोडको लठ्ठीले हिर्काउदै केही पर सम्म पठाई दियौ सायद उनले कुरो बुझिन होला आँसु झार्दै लुरु लुरु दाम्लोले तान्नेको पछि पछि डिल्लीबजार पुगिन् .पछि कसैले भन्यो गाई बेच्नु पापहो यो अज्ञानताले पछि हामी आमा छोरा थक थक.भयौ …गरिबीले निम्त्याएको पापकर्म प्रति पछुताउनु बाहेक उपाय पनि थिएन गाई बेचेको हफ्ता दिन पछि नै त्यो शास्त्रीय कुरो थाहा भयो ..

घरमा सुनसान थियो .दूध नहुँदा मकैको ढिडोको स्वाद फेरिएको थियो भुटेको मकैको फुल लाई दूधमा भिजाएर खाने मेरो बानी सुख्खा मकै भटमासमा सीमित भएको थियो …गहुँको रोटि दूधमा भिजाएर मुछेर खाने बानी पनि आलु गुन्द्रुक र सागको तरकारीमा नियन्त्रित भएको थियो ….दुई हफ्ता भएको थियो होला बर्षात् को दिन (सावन महिना ) साँझ आमा छोरा तीनचुले अगेनोमा फलामको ताप्केमा भिजेको केराउ मिसाएर पानी रोटि पकाउदै थियौ गुइठा र परालको आगोमा .आमा ताप्केमा डाडुले धनिया मसला हाल्दै चलाउदै हुनु हुन्थ्यो म मुछेको गहुँको पिठो लाई कुनै गुच्चा जस्तो सानो सानो डल्लो त् कुनै रोटि जस्तो बनाएर ताप्केमा हाल्दै थिए .मेरो घैंटोमा हालेको दहीको माथिको डल्लो खाएर पानी हाली दिएर भरि बनाइ दिने बानी लाई कोस्दै हुनु हुन्थ्यो आमाले भन्नु भयो खाइस नि दही चोरेर अब …खाल्लास दूधको तर अनि कुराउनी अब.. .म चुपचाप पानिरोटिको रोटि बनाउँदै थिए .त्यसै बेला ब्वा ब्वा ब्वा गरेको आवाज आयो आमाले भन्नु भयो जा जा बाहिर हेर कसको गाई आयो साग खालानी फेरी धपा कसको गाई हो

म हत्तपत्त बाहिर निस्केको त् आफ्नै सानी नानी पो रहिछ म खुसीले उफ्रिएर कराए आमा आमा सानी नानी आइन सानी नानी आइन आमा पनि बाहिर आउनु भयो अनि गाई लाई सुम्सुम्याउनु भयो तिमि आयौ त्यति टाढा बाट सानी नानी भन्नु भयो ..गाईको आँखामा अविरल आँसु थियो ….पेट भोको जस्तो लाग्यो मैले मकैको पात लेराएर हातले खुवाई दिए एउटा हातले सुम्सुम्याउदै अर्को हातले मकैको हरियो पात खुवाउदै थिए ..धेरै पटक अँगालो हाले सानी नानी गाई लाई आमाले कुडो बनाएर लेराउनु भयो मकैको पात र तातो कुडो खाएर सानी नानी पनि हर्षित भए जस्तो लाग्यो अब हामीले गाई फिर्ता न पठाउने निर्णय गर्‍यौ …..त्यस बेला हाम्रो गाउँ कटुन्जेमा त् फोन नै थिएन हामीले गाई आएको खबर गर्ने कुनै साधन थिएन .त्यसको ४ दिन पछि गाई किन्ने आफन्त स्वयम् आउनु भयो लौ तिम्रो गाई त् भागेर आइछिन् अब राख्नुस तपाईँ हरू नै पैसाको कुरो भयो मेरो (म सानो मान्छे )लत्ताकपडा किन्ने रहर को लागि थियो वहाले भयो भयो पर्दैन जे भयो भयो भन्नु भयो ..मलाई टुहुरो भनेर कोही माया देखाउने गर्थे कोही अपमान जनकशब्द पनि प्रयोग गर्थे सानी नानी गाई बेच्नुपर्ने अवस्था र उनको डिल्लीबजार देखि कटुन्जे सम्मको सकुसल फिर्ता यात्राको सम्झना अझै ताजा छ यो मनमा ……….केही वर्ष पश्चात् सानी नानीको देहान्त भयो त्यस पछि गाई पाल्ने /राख्ने सोच भएन ..

Published on August 31, 2017 at 7:12 pm

Loading...

यसमा तपाइको मत