अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

श्रीकृष्ण र कृष्णतत्व

गोविन्द घिमिरे २०८० भदौ २५ गते २०:२५ मा प्रकाशित

आज भन्दा करिब पाँचहजार वर्ष अगाडि अर्थात् महाभारत कालिन समयमा एक अलौकिक व्यक्तिको जन्म भयो, जसको नाम थियो “कृष्ण आर्थात श्रीकृष्ण” । कृष्णसँग जोडिएका कथा र रोचक प्रसङ्गहरू नसुन्ने व्यक्ति सायदै छौँ होला । उहॅाको व्यक्तित्व र क्रियाकलाप झल्काउने गीत होस् वा भजन, किस्सा होस् वा कहानी धेरै-थोरै सबैले पढेका छौँ वा सुनेका छौँ र जानेका छौँ ।

कृष्णका सम्बन्धमा ठुला ठुला ग्रन्थहरू नै रचना भएका छन् । हजारौँ पुस्तकहरू, लाखौँ लेख रचना र श्रव्य-दृश्य सामग्री प्रकाशित छन् भने हजारौँ व्यक्तिका प्रवचनहरू प्रसारण भएका छन् । एउटा व्यक्तिले आफ्नो सम्पूर्ण जीवन कालमा पनि यी सामग्रीहरू पढेर, हेरेर वा सुनेर सम्पन्न गर्न सम्भव छैन । यस्तो परिस्थितिमा यी सम्पूर्ण सामग्रीहरूको सार तत्त्व अर्थात् कृष्णतत्व को सम्बन्धमा थोरै भए पनि बुझ्नु वा बुझ्ने कोसिस मात्रै गर्नु पनि सर्वोत्तम कार्य हुन आउँछ ।

सर्वप्रथम त कृष्णतत्व भनेको सम्पूर्ण सृष्टि वा ब्रह्माण्ड जगतको समष्टि नाम हो । यो विशाल र अति सूक्ष्म संसारमा कृष्णतत्व तीन रूपमा प्रकट भएको छ । यी तीन रूपहरू हुन् -परमात्मा, प्रकृति र जीवात्मा । खासमा प्रकृति र जीवात्मा भनेका पनि परमात्माकै अंश भएको हुनाले सृष्टिको मूल तत्त्व परमात्मा नै हो र यसलाई अर्को शब्दमा कृष्णतत्व भनिएको हो । कृष्णतत्वलाई जनाउने अरू शब्दहरू पनि छन् जस्तै- ईश्वर, परमेश्वर, जगदीश्वर, परमचेतना, भगवान् आदि ।

बुझ्नै पर्ने कुरा कृष्णतत्व सनातनी, सर्वव्यापी र अविनाशी रहेको हुन्छ । यो हाम्रो वरिपरि प्रकृति र जीवजन्तुको रूपमा रहेको हुन्छ भने हामीभित्र आत्मा वा चेतनाको रूपमा अन्तस्करणमा विराजमान रहेको हुन्छ । कृष्णतत्वको दर्शनार्थ कुनै ठाउँ विशेष जस्तै मठ, मन्दिर, नदी, ताल आदिको खोजीमा हिँड्नु अज्ञानताको द्योतक हुन जान्छ । ज्ञान चक्षुको माध्यमले आफू भित्रै हेर्‍यो भने पनि कृष्णतत्वको दर्शन प्राप्त हुन्छ । कृष्णतत्वको दर्शन गर्ने थप दुई मार्गहरू बताइएको छ -भक्ति मार्ग र योग मार्ग । भक्ति मार्गलाई सबैभन्दा छोटो, सजिलो, र सबैको निम्ति उत्तम हुने मार्गको रूपमा लिइन्छ भने ज्ञान मार्ग सबैभन्दा कठिन मार्ग अन्तरगत पर्दछ ।

कृष्णतत्वको ज्ञान बिना वा कृष्णतत्वको भक्ति बिना वा योगाभ्यास द्वारा कृष्णतत्वको अनुभूति बिना कुनै पनि मानिसले मोक्ष प्राप्ति गर्दैन । अर्थात् मानिसले परमधाम गति प्राप्त गर्दैन जुन कुनै पनि मानिसको जीवनको परम लक्ष्य हो । परम लक्ष्य प्राप्त नहुदॅा सम्म मानिसको जिवनसार्थक बन्दैन । यसैले कृष्णतत्वको ज्ञान प्राप्त गर्नु जो सुकै मानव व्यक्तिको लागि अपरिहार्य छ । यो आवश्यकता पुरा गर्न सर्वप्रथम यो ज्ञान सूर्य देवता हुदैं गुरु शिष्य परम्पराको माध्यमबाट मानव जगतमा विस्तारित भएको उल्लेख छ । तर समयको अन्तरालमा यो मोक्ष प्राप्तिको ज्ञान विकृत, अपूर्ण र लोप हुँदै गएपछि यसको पुनः स्थापना हुनुपर्ने आवश्यकता पर्‍यो । र यसै आवश्यकतालाई पुरा गर्न भाद्र महिनाको कृष्ण अष्टमीको दिन परमात्माले पृथ्वी लोकको मथुरा भन्ने स्थानमा भौतिक रूपमा अवतरित हुनुभयो । यसरी परमात्माले मानव स्वरूपमा प्रकट भएको घटनालाई कृष्ण जन्माष्टमी भनेर बुझिन्छ र यसलाई विशेष दिनको रूपमा मनाउने गरिएको छ । जय श्री कृष्ण 🙏।

कोलोराडो, अमेरिका ।

प्रतिक्रिया