विषय प्रवेश
अनुवाद साहित्यको इतिहास लामो छ । ईशापूर्व ३००० बर्षअघि शमरियन महाकाव्य गिल्जामिस पाँच भाषामा अनुवाद भएको उल्लेख पाइन्छ । चौथो शताव्दीमा सेन्ट जेरोमेले ग्रीक भाषाको पुस्तक ल्याटिन भाषामा अनुवाद गरेपछि उनलाई अनुवादका पिता भनिन थालियो । सातांै शताव्दीमा बेविलोनियनहरुले अनुवादलाई व्यवसायका रुपमा विकास गरेका थिए । विलियम कोक्सले छाप्ने मेशिनको विकास गरेपछि सन् १४७३ मा फ्रेन्च लेखक रोइल लिफेभ्रेको कृति ‘ट्रोयको रोकुएलको इतिहास’ छापिएको थियो । यसपछि पुस्तकहरु अनुवाद हुने क्रम विस्तार भएको पाइन्छ ।
पहिला धार्मिक कृतिहरु अनुवादले धेरै प्रश्रय पाएका थिए, समाजलाई व्यवस्थित गर्ने आचारविधि र केही हदसम्म राज्यसञ्चालनमा धर्मको स्थान उच्च थियो । त्यसैले जनजीवन तहसम्म धर्मविधानका कुराहरु पुर्याउने गरिएको थियो । साथै धार्मिक सम्प्रदायबीचको प्रतिस्पर्धा पनि थियो । परिणामतः धर्मग्रन्थहरु अनुवादले रफ्तार लिएको पाइन्छ । ईशाई धार्मिक ग्रन्थ बाइबल ३३९४ भाषामा अनुवाद भएको छ । त्यस्तै मुस्लिम धार्मिक ग्रन्थ ११४ भाषामा अनुवाद भएको अनौपचारिक अनुमान छ । हिन्दू बौद्ध दर्शनका पुस्तकहरु पनि धेरै प्रकाशन भएका छन्, तर तुलनात्मक रुपमा अनुवाद भने कम छन् । धार्मिक पुुस्तकहरु विभिन्न भाषामा अनुवाद हुने र विभिन्न माध्यमबाट प्रकाशन÷प्रशारण हुने क्रम अहिले पनि निरन्तर छ ।
धर्मग्रन्थ पछि धेरै अनुवाद भएको विधा बालसाहित्य हो । बाल अभिरुचिका कारण र बालकलाई भविष्मुखी बनाउन बालसाहित्यमा अनुवाद झाङ्गिएको हो । बाइबलपछि एन्टोनी डे सेन्ट एक्जुपेरीको ‘द लिटिल प्रिन्स’ ३८० भाषामा अनुवाद भएको कृति बालसाहित्य हो । तेस्रो कृति कार्लो कोलोडीको ‘दी एडभेन्चर अफ पिनोचियो’ पनि बालसाहित्य नै हो, जुन २६० भाषामा अनुदित छ । धेरै भाषामा अनुवाद भएका सर्जकहरुमा रहस्य कथाकी अगाथा क्रिष्टी, विज्ञान कथाका जुलेस भर्न, नाटकका विलियम शेक्सपियर, बालसात्यिका एनिड ब्लाइटन पर्दछन् । यी सबै कुनै न कुनै रुपमा बालसाहित्य हुन् । बालबालिकाले औधि रुचाएको जे के रोलिङको ह्यारी पोर्टर अनुवादमात्र धेरै भएको होइन, धेरै आय आर्जन गर्ने कृति पनि बन्यो, आठ चलचित्र समेत यसैमा आधारित भएर छायाङ्कित छन् । यसले आठ अर्व अमेरिकी डलर कमाएको अनुुमान छ ।
अनुवाद साहित्यको प्रवृत्ति र उपादेयता
अनुवादको सन्दर्भ र संरचनामा जाऔ । अनुवाद, अनुसरण, अनुकरण धेरै शव्दहरु यसका सन्दर्भमा आउने गर्दछन् । शाव्दिक अनुवाद, छायाँ अनुवाद, भावानुवाद आदि अनुवादका प्रकारमा आउछन् । तर अनुवादको अर्थ अक्षर र शव्दको रुपान्तरण होइन । यो आफै साहित्य विधाको लामो इतिहासमा छ । समकालीन साहित्यमा अनुवादले निकै प्रस्रय पाएको छ । यसले अन्य भाषामा लेखिएका साहित्यले अर्को भाषाका पाठकलाई साहित्य आस्वादनको अवसर दिएको छ । साथै अर्को समाज र त्यहाका मानक मूल्य व्यवहारलाई सजिलै बुुझ्ने बाटो पनि सजिलै खोलेको छ । यो ज्ञान निर्माणको प्रक्रिया पनि हो ।
अनुवादले सिर्जनाको मौलिकता देखाउन पाउदैन न सिर्जनामा रहेका मौलिकतालाई तोडमोड गर्ने स्वतन्त्रता पाउछ । अनुवादका लागि कला र शिल्प चाहिन्छ । अनुवादले विभिन्न भाषामा रहेका मौलिक रचना, ज्ञान, सीप र अनुुभवलाई अर्को भाषामा रुपान्तरण गरिदिन्छ । साहित्यानुरागीलाई अर्को भाषा, अर्को संस्कृति, अर्को शैली र अर्को परिवेशको आस्वादन गर्ने अवसर जुटाइ दिन्छ । यस अर्थमा अनुवादक एक भाषा र अर्को भाषा, एक समाज र अर्को समाज, एक संस्कृति र अर्को संस्कृति, एक परिवेश र अर्को परिवेश अनि एक पुस्ता र अरु पुस्ता जोड्ने सम्बन्धको पुल हो । यसले साहित्य समागम, साहित्यिक समायोजन र साहित्यिक आदान प्रदानलाई सम्भव तुल्याइदिन्छ । साहित्यको विकास विस्तारमा अवसर जुटाइदिन्छ । समृद्ध साहित्य र कम समृद्ध साहित्यबीच आपसी अन्तरक्रिया गराई दुवै साहित्यलाई समृद्ध बनाउन सहयोग गर्छ । कतिपय सन्दर्भमा भाषा बचाउन, र्सास्कृतिक साहित्यिक–पहिचान विस्तार गर्न पनि सघाउछ ।
अनुवादले प्रथम भाषाको साहित्यिक मूल्य मानक दोस्रो भाषाको साहित्यमा ल्याउने गर्छ । यसले प्रयोगको मार्ग प्रशस्त गर्छ । जस्तो अहिले जापानी र नेपाली साहित्यको समागमले नेपाली कवितामा जापानी कविता प्रयोग हाइकू, वाका, रेङ्गा, सेडोका, हाइबूँ, सेन्ज्यू, कान्सी, काताउताले स्थान पाएको छ । हाम्रा झ्याउरे, लोकभाका, उपजाति, अनुुष्टुप, मन्दाक्रान्ता, शिखरिणी, शार्दूलविक्रिडित आदिलाई पनि हामीले अनुवादमार्फत त्यहाँ पुर्याउन सक्छौ । पश्चिमी साहित्यका विज्ञानकथा नेपालीमा आएका छन् । ब्ल्याङ भर्सका नवनि प्रयोगहरु नेपालमा भित्रेको छ । नेपाली र संस्कृत साहित्यका प्रयोगहरु पश्चिमी साहित्यमा भित्रेको छ ।
अनुवादले जापानी साहित्य महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट र नेपाली साहित्य मात्सुको बासोबाट लाभान्वीत पाउने भएका छन् । त्यस्तै जापानीले रमेश विकलका उपन्यास र नेपालीले नात्सुमे सोसेकीका उपन्यासको स्वाद लिन पाएका छन् । नेपाली पाठकले हारुकी मुराकामीका कथा र जापानीले पारिजातका कथा बढ्न पाउनुपर्छ भन्ने भावना बढाएको छ । अनुवाद साहित्यले पाठ्यसंस्कृति, बहुलसंस्कृति र साझा विश्वमूल्य कायम गर्न नरम रणनीतिको काम गर्दछ । त्यसैले अनुवादले पाठकलाई नयाँ खुराकमात्र दिदैन, नयाँ सोच, नयाँ मानक, नयाँ प्रयोग गर्न समेत सघाइरहेको हुन्छ ।
साहित्यको गुणस्तर बढाउन पनि अनुवाद साहित्यले धेरै योगदान गर्दै आएको छ । राम्रा सिर्जनाहरु अध्ययनका उपज हुन् । भाषा बाधक भएर उभिएपछि राम्रा साहित्य पढ्न सकिदैन, अरुको प्रयोग र दृष्टिकोण, अरुको स्तर, शैली, संरचना जान्नबाट बञ्चित भइन्छ, त्यस अवस्थामा लेखिएको साहित्य गहन नहुनसक्छ । मैले कसरी लेख्न सिकेँ ? भन्ने आलेखमा प्रसिद्ध उपन्यासकार म्याक्सिम गोर्की भन्छन्, लेख्नका लागि साहित्यको ज्ञान चाहिन्छ । रचनाशिल्प जस्तो भएपनि साहित्य जानेकै हुनुपर्छ । विदेशी साहित्यको ज्ञान झनै आवश्यक हुन्छ । किनभने विदेशी साहित्यले मलाई तुुलनाका लागि प्रचुर सामग्री उपलव्ध गरायो । यस्तै प्रसङ्ग विश्वेश्वरप्रसाद कोइराला र रमेश विकलका पनि छन् । स्रष्टा खारिन पनि विदेशी साहित्यले सघाउछ । गोर्कीले फ्रेन्च साहित्य पढेका थिए, विश्वेश्वर र विकलले बङ्गालली, हिन्दी, अङ्ग्रेजी, उर्दू साहित्य पढेका थिए । उनीहरुका रचना खदिला र कालजयी छन् । पात्रप्रति उनीहरुले न्याय गरेका छन् । कतिपय स्रष्टा आफ्नै पात्रप्रति न्याय गर्न सक्दैनन् । त्यसैले पाठकका लागि मात्र होइन, अनुुवाद साहित्य सर्जकका लागि झनै महत्वपूर्ण छ ।
नेपाली साहित्य र अनुवाद
नेपाली साहित्यमा प्राचीन समयदेखिनै अनुवादले स्थान पाएको छ । पहिला संस्कृत साहित्यबाट नेपालीमा अनुवादको बर्चस्व थियो । संस्कृत वाङ्मय नै नेपाली साहित्यको मार्गदर्शक थियो । अहिले अङ्ग्रेजी, हिन्दी, बङ्गाली, रुसी, फ्रेन्च, चिनिया, जापानी, उर्दू, अरवी भाषाबाट पनि नेपाली भाषामा अनुवाद भित्रिएको छ । आदिकवि भानुुभक्त आचार्य संस्कृतबाट नेपालीमा अनुवाद गर्ने काव्यकार थिए ।
नेपाली भाषाबाट पनि विदेशी भाषामा र विदेशीबाट नेपालीमा अनुवाद गर्ने क्रम उस्तै उस्तै छ । लक्ष्मीप्रसाद देवकोटाको चम्पा उपन्यास ध्रुवलाल सहनीले हिन्दीमा अनुवाद गरे, शरदचन्द्र चट्टोपाध्यायको देवदास बङ्गाली भाषाबाट नेपालीमा चर्तुुभुुज केवरतबाट अनुवाद भयो । सान्ड्रा चाइडेस्टाइनले पारिजातको शिरीषको फूल ‘दी ब्लु मिमोसा’ का नाममा अङ्गे्रजीमा अनुवाद गरिन । बलराम अधिकारीले विश्वका प्रसिद्ध कथाकारका कथाहरु नेपालीमा अनुवाद गरेका छन् । सार्क मुलुकका महिला कथाकारहरुका प्रतिनिधि कहानी माया ठकुरीबाट अनुवाद भएको छ । भउच यादवले थरुहटको ‘बहुवा र बहुरिया’ को नेपाली अनुवाद भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरी पुनम झाबाट हिन्दीमा अनुवाद भएको छ । रमेश विकलको अविरल बग्दछ इन्द्रावती विदेशी भाषामा अनुवाद भयो, विकलले पनि इन्द्रजाली रुख लगायत थुप्रै बालसाहित्य नेपालीमा अनुवाद गरे । बरिष्ठ साहित्यकार विजय चालिसेले एलिस इन ओन्डरल्याण्डलाई नेपालीमा अनुवाद गरे । पछिल्लो समयमा पल्पसा क्याफे, कर्णाली ब्लूज, राधा जस्ता चर्चित कृतिहरु अङ्ग्रेजी अनुवादमा प्रकाशित छन । त्यति मात्र होइन, मुलुकभित्रै अन्त्तरभाषा अनुवादको क्रम पनि बढेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले अनुवाद साहित्यलाई संस्थागत गर्न संरचना नै बनाएको छ । सुरभि साहित्य प्रतिष्ठानजस्ता साहित्यसेवीहरुले बनाएका संस्था पनि अनुवाद साहित्य प्रश्रय दिन थालेका छन् ।
अनुवाद साहित्यले समाजको रुपान्तरण गर्नमा योगदान गरिरहेको छ । ट्रान्लेशनमात्र होइन, यससाथ ट्रान्सफर्मेशनको प्रक्रिया पनि साथै गएको हुन्छ । विचार र जानकारीको सञ्चार गरेको हुन्छ । सम्बन्ध, पहिचान र आवद्धता लगेको हुन्छ । शासन र संस्कारका परिपाटीलाई ल्याउने लैजाने गर्छ । विचारहरु आफैमा स्पर्धामा रहेर परिस्कृत हुन थाल्छन् । यो विविधता व्वस्थापनको स्वचालित प्रक्रिया पनि हो । त्यसैले अनुवाद साहित्य लोकप्रिय विधा बन्दै आयो ।
अनुवाद साहित्य श्रुतिबाट अनुवाद, लिपि अनुवाद, श्वर अनुवादबाट कता हो कता फड्को मारेको छ । मस्तिस्क अनुवाद (माइन्ड) बाट मेशिन (यन्त्र) अनुवादमा पुुगेको छ । व्यक्ति होइन, उसको सिर्जना कृत्रिम बौद्धिकता आफैले अनुवादको जिम्मा लिन थालेको छ । सिर्जना (संयन्त्र) ले अर्को सिर्जनाको अनुवाद गर्न थालेो छ । एआइ, एम एल, लोकोलाइजेशन, भिडियो–अडियो ट्रान्सलेशन, ट्रान्स क्रिएशन, ए आर (अगमन्टेशन रियालिटी) जस्ता विधिले अनुवादलाई मानिसबाट उछिन्दै खोस्दै छ । यसले सजिला र असजिलो, राम्रो र नराम्रो पक्षहरु एकैसाथ ल्याएको छ । मानवीय सीप र सामथ्र्यलाई विस्थापन गरेर साहित्यलाई भावनाबाट यान्त्रिकतामा पुुयाउने, वाङ्गो–टिङ्गो र विकृत बनाउने तर्फ लगेको छ । अमेरिकी साहित्य अनुवाद संगठन (आल्टा) की निर्देशक एलजावेथ ज्याकुट अनुवादक र अनुवादित दुवै अन्धोदृश्य (ब्लाइण्ड स्पट) मा पुुग्ने खतरामा रहेको बताएकी छन् ।
अनुवाद सहज काम होइन । मौलिक सिर्जना होइन, त्यसकारण सजिलो छ होइन, झनै सतकर्ता, संयम् शिल्प चाहिने विषय हो । पहिलो त प्रथम तथा द्वितियक दुवै भाषाको प्रपीणता चाहिन्छ, सिर्जना परिवेशमा पुुग्न, त्यह अवस्थमा विवेचित हुन, दृश्य, पात्र र परिवेशमा समानुुभूतिमा पुुग्ने, द्रविभूत हुने भावनात्मक क्षमता चाहिन्छ । अन्तरवोध गर्ने आन्तरिक तत्परता चाहिन्छ । आग्रही हुने कमजोरीबाट माथि न्यायिक मन चाहिन्छ । सांस्कृतिक बोधगम्यता चाहिन्छ, त्यहाका उखान टुक्का र लोक लवज (इडिओम) बुुझ्ने क्षमत चाहिन्छ, त्यति प्रयोगमा नआउने शव्द याने स्ल्याङको जानकारी चाहिन्छ । भावानुभूूति ग्रहण र सम्प्रेषण र भर्थ भवना अन्तरवाृध गर्ने आन्तरिक सामथ्र्य चहिन्छ । त्यसैले यो जटिल छ ।
विजय चालिसेको अभिशप्त रात
अव ‘अभिशप्त रात’ र विजय चालिसेको अनुवाद साहित्य तर्फ लागौं । २०२० सालबाट लेखन यात्रा आरम्भ गरेका विजय चालिसे कथा, उपन्यास, बालसाहित्य, निबन्ध, जीवनी, सस्मरण, सम्पादन र अनुवाद साहित्यमा आफनो विशिष्ठ पहिचान कायम गरेका छन् । स्वतन्त्र सिर्जना, सम्पादन तथा अनुवाद उनका साहित्य योगादनका क्षेत्र रहेका छन् । अनौठो भूमिमा एलिस (लुुइस क्यारोलको एलिस इन ओन्डरल्याण्ड) मार्फत विजय चालिसे अनुवाद साहित्यमा प्रवेश गरेका हुन् । उनको प्राथमिकता बालसाहित्य भएको तथ्य सर्वाधिक बालप्रिय एलिसको साहसिक कथाबाट अनुवाद यात्रा शुरु भएबाट हुन्छ । त्यसपछि उनले विश्व प्रसिद्ध बालकथाहरु (खण्ड १) र विश्व प्रसिद्ध बाल कथाहरु (खण्ड २), प्रसिद्ध चिनिया कथाहरु (संयुक्त अनुवाद) र अनुदित बालकथासङ्ग्रह प्रकाशन गरेका छन् ।
‘अभिशप्त रात’ जापानका उत्कृष्ठ कथाकारका केही कथाहरुको नेपाली अनुवाद हो । ‘अभिशप्त रात’ मा १७ कथा-लघुकथा सङ्ग्रहित छन् । यी कथाहरु एकै कथाकारका नभएर १२ कथाकारका हुन् । अनौठो कथा, दानव, परित्यक्त घर, लघुकथाहरु व्यापारीकी आमा आकुुतागुवा न्युनोसुकेका हुन् । शीर्षक कथा ‘अभिशप्त रात’ सातोमी तोनको हो । हिमदेश कावाकाता यासुनारीको हो । त्यस्तै वातानावे अनको बासँग बिछोडिँदा, योसिकी हायामाको सिमेन्ट घोल्ने ढ्वाङ्भित्र एउटा पत्र, मिमेई ओगोवाको भुताहा जहाज, सितोरुको फोनद्वारा ठगी, आकिरा मायावाकीको जङ्गलको निराशा र गाउँको विषाद, योसिइ तोसियामाको लम्फु द्रुतयान, ¥यूकी माओको प्रेत राजकुमारी, युमोनो क्युसाकुको गोजी घडी र योतारे तानुकी र डेन्ड्रो थ्री कथाहरु सङ्ग्रहमा छन् ।
अनुवाद कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरुमा धेरै समानता र केही भिन्नता छन् । ‘अनौठो कथा’ नारी मनोविश्लेषण र स्नायविक समस्याको विश्लेषणमा केन्द्रित छ । कथाकार न्युनोसुकेले मुराकामी र उनकी बहिनी चिइको विषयमा गरेको कुराकानी कथाको विषय सन्दर्भ हो भने विवाह गरेको महिना दिनपछि पति युद्धमा गएको चिइकोको मानसिक विक्षिप्ततामा कथा दोलायमान छ । आफ्नो पतिको पत्र नआउँदा चिइकोका व्यवहारहरु अनौठो ढङ्गले परिवर्तन भएका छन् । कामाकुरामा जाने क्रममा रेलको झ्यालबाट समुद्रका छलहरुको दृश्य पानीका बाछिटाले देख्न नसक्ने गरी लतपतिएपछि चिइकोको जीवनमा अनौठो मानसिक परिवर्तन आयो । उनी सुरमा छैनन्, अद्र्धचेत अवस्थामा पतिको विषयमा नै सोचिरहन्छिन् । मानसिक रुपमा भयभित छिन्, भययुक्त तर्कना नै उनको दिनचर्या भएको छ । भय, तर्कना, त्रास सबै पतिप्रतिको इमानदारितामा देखिएको छ । पति भेटभएपछि उनको जीवन सामान्य हुन्छ । जापानी नारी पतिप्रति कति प्रेमनिष्ठामा रहन्छ्न भन्ने आदर्शसाथ कथाकारले गहिरो नारी मनोविश्लेषण गरेका छन् । जटिलताग्रस्त समाजमा सानो घटनाले एक्कासी मानसिक विक्षिप्तता (साइकि ब्रेक) आएर जीवनलाई एकतमासले क्रमभङ्ग बनाइ दिनसक्छ भन्ने यथार्थ सन्देश कथाले दिएको छ । अन्य कथाका पात्रहरु पनि चिइको जस्तै साइकिक ब्रेक, लुनाटिक ब्रेकका नजिक नजिक अवस्थामा छन् । यो विकसित मुलुकको बिकराल समस्या हो ।
आकुतागुवा न्युनोसुेकै दानवमा भने दन्त्य कथाको शैलीमा लेखिएको पाण्डुुलिपिको बर्णन छ, जहाँ दानवीय भावनाको मानिस राम्रो व्यवहारबाट मानव बनेको छ । असल व्यवहारले असल भवाना जन्माउँछ भन्ने देखाइएको छ । परित्यक्त घरमा पनि न्युनोसुकेले अनौठो कथा, दानव जसरी नै रहष्यात्मकता देखाएका छन् । तर यसको पात्र मानिस नभै शान्त दरवार हो, जुन परित्यक्त छ, तर किन परत्यक्त छ भन्ने रहस्यमै छाडिएको छ, पाठक आआफ्नै अनुमान लगाउन सक्छन् तर यथार्थ के हो स्पष्ट देखिदैन । कथाले प्रकृति, मानिस र घरलाई विम्बात्मक सम्बन्धमा देखाएको छ । उनकै लघुकथा व्यापारीकी आमा युद्ध विभिसिकाबाट बाँचेकी आशाकुसाकी नारीको मनोविज्ञान र नारी पवित्रताको व्यङ्ग्यात्मक प्रस्तुति गर्दछ ।
शीर्षक कथा ‘अभिशप्त रात’ कथाकार सातोमी तोनको मनोविश्लेषणत्मक प्रस्तुति हो । कथा तीस काटेकी बालिकाकी अविबाहित फुपू र बालिकाको मनोविज्ञानबीचको सङघर्ष, त्रास र सन्देहको वरिपरी घुमेको छ । शङ्काले मामालियाको फूल, सुन्दरीको चित्रले पनि उनीहरुलाई सताएको छ तर सताउनुको कारण फुपू र बालिकाका अलग अलग छन् । उमेरल पनि उनिहरुको सोचशङ्कालाई भिन्न बनाएको छ । जव उनीहरु सामान्य अवस्थामा आइपुुग्छन्, एक प्रकारको मनोकुतकुती दुवैमा देखिन्छ, त्यसैले रात अभिशप्त बन्यो ।
कावावाता यासुनारीको ‘हिमदेश’ सिमामुराको योकोप्रतिको अव्यक्त प्रेम सान्निध्यमा अघि बढ्छ र कोमोलाई कृत्रिम माया गरेको नाटकका साथ नाटकीय मोडमा अन्त्य हुन्छ । कथाभित्र तीन प्रकारको मनो खुल्दुली छ, सिमानुरा, योको र कोमो आआफ्नै मनोसंसारमा छन् । यो पनि अनौठो कथा जस्तै रहस्य र मनोविश्लेषणमा छ । वातानावे अनको ‘बासँग बिछोडिँदा’ बालमनोविज्ञान र बयस्कमनोविज्ञानको मिहीन प्रस्तुति हो । बालकको भावना र उसको बुुबाको भावना भिन्न ध्रुुवमा छन् । यासिकी हायामाको ‘सिमेन्ट घोल्ने ढ्वाङ्भित्र’ एउटा पत्र सिमेन्टको घोलसँगै पिसिएको श्रमिक र उसकी प्रेमिकाको आदर्श प्रेम र त्यसैको सापेक्ष्यमा श्रमिक मात्सुुदो याजीको दुखपूर्ण जीवनको कथा हो । ‘भुताहा जहाज’ मा मिमेइ ओगावाले आस्था, मित्रता, क्रोध र सन्देहलाई मनोविश्लेषणत्मक रुपमा चित्रित गरेका छन् । सितोरुको ‘फोनद्वारा ठगी’ शङ्का र चलाखीको बिम्ब हो । ‘जङ्गलको निराशा र गाउको विषाद’ मा अकिरा मायावाकीले बाउ ठेगान नभएको बालकलाई समाजले दिने पीडा र बालमनोविश्लेषणको चित्रण गरेका छन् । ‘लम्फु द्रुतयान’ मा कथाकार योसियो तोयोसिमाले एउटा रेल चालकले रेल चलाउने क्रममा देखेका धेरै कथामध्येको एक कथा, अझ भनौं अन्धविश्वासको वर्णनलाई दन्त्यकथाको शैलीमा बताएका छन् । ‘प्रेत राजकुमारी’ मा कथाकार ¥युकी माओले रक्त पिपाशु पिशाच कन्या पनि जवानी र यौवनमा थाहै नपाइ सम्मोहित हुन्छे भनी प्रेम सबैको साझा सम्मोहन हो र यो प्रणीमा समयले थाहै नपाइ ल्याउने कुरा बताएकी छन् । ‘घुमन्ते चरा’ मा ओसामु डाजीले दार्शनिक दाँतेको दर्शन सुक्ति ‘परिधानयुक्त शरिरबाट आनन्द प्राप्त हुन्छ र मनबाट दुख’ भन्ने कुरा कथाबृत्तिबाट सिद्ध गरेका छन् ।
जापानी कथाहरु मनोविश्लेषणमा रहन्छन् तर त्यहाको मनोविश्लेषण जटिलता र यान्त्रिकताले जन्माएको छ, सामाजिक भेदभाव र अभावले भन्दा पनि । नेपाली, उर्दू, बङ्गाली, हिन्दी कथा र जापानी कथामा देखिने मनोबैज्ञानिक भिन्नता स्पष्ट देख्न सकिन्छ । जापानी कथामा सानो विषयबस्तुलाई विस्तृत रुपमा प्रस्तुत गरिन्छ, नेपाली कथा भने बृहद कथा परिवेश र घटनाहरु समावेश गरिन्छन् । कथा परिवेश, पात्रको कार्यव्यवहार र उपघटनाहरु एकदमै साना हुन्छन्, त्यसको विश्लेषण चाहि बृहद हुन्छ । नेपाली साहित्यमा पनि भवनाी भिक्षु, पारिजात, पोषण पाण्डे, विश्वेश्वरका कथाहरु साना कटना परिवेश तर वृहद प्रस्तुतिमा रहन्छन् । तर धेरैजसो नेपाली कथाका कथाहरु यसका विपरीतमा छन् ।
जहाँसम्म लघुकथा छन्, नेपाली प्रयोग जापानी झै विषयबस्तु, सुत्रात्मकता, व्यङ्ग्यत्मकता सबै दृष्टिमा समृद्ध छ । सङ्ग्रहमा चारवटा लघ–ुलघुकथा (फ्ल्यास फिक्सन) सङ्कलित छन् । आकुतागुवा ¥युनोसुकेको व्यापारीकी आमा, युमेनो क्युसाकुको गोजी घडी र योतारो र तानुकी र डेन्ड्रो थ्रीको हिउँको अन्त्य । योतारो र तानुकी बाहेक अन्य लघुुकथाहरु लघुकथाका यी विशेषताअनुरुप देखिन्छन्:
# संक्षिप्त भैकन पूर्ण हुन्छ ।
# परिपुष्ट र सुसङ्गठित हुन्छ ।
# प्रतीकात्मक हुन्छ ।
# विम्वात्मक हुन्छ ।
# तीक्ष्ण र तीव्र अभिव्यक्ति दिन्छ ।
# कौतुहलपूर्ण हुन्छ ।
# सूत्रात्मक हुन्छ ।
# व्यङ्ग्यात्मक हुन्छ ।
अनुवादकर्ता विजय चालिसले यी लघुकथा (वा फ्ल्यास फिक्सन) मध्ये अघिल्ला तीनलाई उत्कृष्ठ जापानी फ्ल्यास फिक्सनका नाउबाट अङ्ग्रेजीबाट अनुवाद गरेका हुन् । वास्तवमा यी तीन फ्ल्यास फिक्सन उत्कृष्ठ नै छन् । ती प्रयोग नेपाली लघुकथाको विशिष्ठ प्रयोगकर्ता बरिष्ठ कथाकार युवराज मैनालीका जस्तै विशिष्ठ छन् । तर योतारो र तानुकी भने लघुकथाका सिद्धान्त र प्रयोगमा त्यही स्तरमा देखिदैन । जे जस्तो प्रयोग रहेपनि जापानी फ्ल्यास फिक्सनको अध्ययनपछि नेपाली पाठक र अध्येताले हाम्रा लघुुकथा र जापानी फ्ल्यास फिक्सनबीचको प्रयोग तुलना भने गर्नसक्ने भएका छन् ।
‘अभिशप्त रात’ मार्फत नेपालीमा भित्रिएका कथा तथा लघुकथाले दुुई साहित्यबीच सम्बन्ध स्थापना गर्ने काम भएको छ । जापानीबाट अङ्ग्रेजी हुँदै नेपालीमा आइपुुगेकाले भावभूमि र पात्रबोध उही रुपमा नै आइपुुगे वा पुुगेनन् भन्न सकिन्न । तर अनुदित कथा मौलिक लाग्छन्, सम्प्रेस्य र परिवेशबोधगम्य छन् । जापानी भाषा, त्यहाँका उखान टुक्का, नाम, पात्र र संस्कृतिलाई आफ्नै बनाएर प्रस्तुत गरेका छन् । आफै पनि सिद्धहस्त कथाकार भएकाले कथा अनुुवाद गर्दा चाहिने सावधानी र संवेदनशीलताको सामथ्र्य, सिप र शिल्प विजय चालिसेमा देखिएको छ ।
अनुदित कथा अव नेपाली कथा भएका छन्, हाम्रा भएका छन् र हामीहरु जापानका कामाकुरा, क्योटो लगायतका शहरहरुमा त्यहीको संंस्कार र संस्कृतिमा रमाउन पाउने स्थिति सिर्जना भएको छ । नेपाली कथा र जापानी कथा प्रवृत्ति र नेपाली लघुकथा र जापानी फ्ल्यास फिक्सन एकै स्थानमा राखेर हेर्न सकिने भएको छ । सामाजिक र पारिवेशिक अवस्थाले साहित्य सिर्जनामा पार्ने प्रभाव पनि विवेचना गर्न सकिने आधार दिएको छ ।
मैनाली निवास, क्षितिज मार्ग
शङ्खमूल, काठमाडौं ।