अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

नेपाली भाषा साहित्यको व्यापारले स्रष्टाहरूको अपमान बढ्दो क्रममा

हरि उप्रेती २०८० माघ १२ गते १३:५३ मा प्रकाशित

भाषा र साहित्य प्रथमतः सम्पूर्ण मानव जातिको मौलिक पहिचान हो ।भाषा रहेन भने न पहिचान जोगिन्छ न त मानवको अस्तित्व नै रहन्छ । भाषा आफैमा साहित्यको मूल आधार मानिन्छ । भाषा साहित्यका धेरै विधाहरू हुन्छन् । कथा, कविता, गीत सङ्गीत गजल आदी । भाषा साहित्य लिपिबद्ध मात्र हुन्छ भन्ने मान्यता स्थापित हुँदै जानु आज भोली निकै डरलाग्दो विषय बनी रहेको पाइन्छ । साहित्यलाई गलत ढङ्गबाट नबुझ्ने हो भने यो मानवका हरेक चालहरूमा रमाइरहेको हुन्छ । दैनिकरुपमा तपाईँ हामीले बोल्ने भाषामा देखिने शारीरिक प्रतिकृयाले साहित्यको हरेक विधालाई प्रवाहित गरिरहेको हुन्छ । हुन त म भाषाविज्ञ नभए पनि भाषा साहित्यको अनुयायी भएका कारण यती चै भन्न सक्छु कि भाषा साहित्यको बारेमा केही बोल्नु वा लेख्नु अगाडी थोरै भए पनि भाषा विज्ञानको ज्ञान हुनु आवश्यक हुन्छ । अब लागौँ हाम्रो नेपाली भाषा साहित्यको वर्तमान अवस्थाका बारे केही बुझ्न तर्फ ।

नेपाली भाषा साहित्य र त्यस सँग जोडिएका स्रष्टाहरूलाई सामान्य ढङ्गले ग्रहण गर्नु लज्जास्पद कुरा हो । एकातिर विश्वव्यापीकरण विभिन्न सङ्घ संस्थाका माध्यमद्वारा नेपाली भाषा साहित्यको श्रीवृद्धि भएको पाइन्छ भने अर्को तर्फ जुन ठाउँ वा देशमा यसको विकास,संरक्षण र प्रवर्धन हुनुपर्थ्यो । त्यही नै हाम्रो साहित्यलाई माध्यम बनाएर बजारलाई व्यापारिकरण गरिएको दृष्टान्त प्रशस्त भेटिन्छ । रियालिटी सो का नाममा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रम गरिछन् जुन अति नै सराहनीय लाग्दछन् । जब ती कार्यक्रम सँग जोडिएका गतिविधिलाई नजिकबाट नियालिन्छ कयौँ भाषा प्रेमी र स्रष्टाको मन खिन्न हुने गर्दछ । यस्तो हुनुका पछाडि धेरै कारणहरू लुकेको पाइन्छ जस्तै नेपाली भाषा साहित्यको महत्त्व नबुझ्नु, भाषा विज्ञानको ज्ञान कमी हुनु, मानव अस्तित्व र पहिचानलाई ग्रहण गर्न नसक्नु आदी ।केही सामान्य दृष्टान्त यहाँहरु माझ राख्न चाहे, एउटा साङ्गीतिक रियालिटी सो गरिन्छ भने त्यहाँ भाषा र साहित्य व्यापकरुपमा जोडिएको हुन्छ तर त्यही भाषा र साहित्यको निष्पक्ष न्याय दिने स्रष्टा भने कही कतै न्याय दिने ठाउँमा राखेको देखिन्न । यसबाट के स्पष्ट हुन्छ भने यहाँ विद्वान र स्रष्टाहरूको महत्त्व नरहेको देखिन्छ त्यस्तै अर्को दृष्टान्त नेपाली भाषामा चलाईएको पोएट आइडललाई हेरौं उक्त कार्यक्रमका न्यायाधीश पंक्तीमा न त कुनै भाषाविज्ञ देख्न पाइन्छ न कुनै विज्ञ कविहरू देखिन्छ त केवल रङ्गमञ्चका कलाकर्मीहरू। कयौँ सृजनाकारहरूले भाषा र साहित्यलाई माया गरी सृजित गरिएका रचनाले न्याय नपाएर बलात्कृत हुनु परेको अवस्था देखिन्छ । तपाईँ आफै भन्नुहोस् एउटा कवि गोष्ठीमा वा कविता प्रतियोगितामा सङ्गीतकार , चलचित्रकर्मीलाई राखेर न्याय दिन लगाउनु कति सान्दर्भिक हुन्छ ? मैले यसो भन्दा संगीताकर्मी वा चलचित्रकर्मीलाई अपमान गरेको भने पटक्कै होइन । उहाहरुको पनि आफ्नो क्षेत्र छ जहाँ उनीहरूले आफ्नो क्षेत्र सँग सम्बन्धित क्रियाकलापमा निर्धक्क सँग न्याय दिन सक्दछन् । यसले ती सम्पूर्ण कलाकर्मीहरूको उच्च सम्मान हुनुका साथै आफ्नो कलाको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्दछ। पछिल्लो पटक पोएट आइडल सँग सम्बन्धित समाचारले ल्याएको तरङ्गले पनि स्पष्ट हुन्छ कि भाषा साहित्यका सर्जक कविहरूको सही सम्मान हुन नसकेको वा गर्न नचाहेको सो का सञ्चालकको आशय देखिन्छ।

अब एकै छिन गाउँ शहर ,देश अनि परदेशमा हुने साङ्गीतिक कार्यक्रम अनि मेला महोत्सवको कुरा गरौँ। गीत सङ्गीत भाषा साहित्यको एक अपरिहार्य विधा हो। सृजनाकारले हरेक मानव जातिको परिस्थितिलाई बुझेर कलम चलाउनुहुन्छ अनि तिनै सृजनामा सङ्गीत भरिन्छ त्यो पनि सृजनाकारकै लगानीमा । त्यस पछि गायक गायिकाको स्वर भरिन्छ अनि बजारमा ल्याइन्छ। तिनै सृजना मार्फत आफू स्थापित हुन्छन् । श्रोता दर्शक माझ नायक कहालिन्छन् , सबैको मनको ढुकढुकी बन्न पुग्छन्। मेला महोत्सवमा उनै नायकहरू मञ्चमा उपस्थित हुन्छन् र सम्पूर्ण दर्शनहरूलाई झुमाउँछन् तर विडम्बना आफ्नै अगि त्यही सृजनाका स्रष्टा हुन्छन् तथापि नाम सम्म लिन सक्दैनन्। यस्ता घटना एक होइन अनेक भएको पाइन्छ। अब तपाई सोच्नुहोस् उनीहरूलाई स्रष्टाको नाम लिन के कुराले रोक्छ? के एउटा इमानदार र वास्तविक कलाकारले यसो गर्नु उचित हुन्छ र? यसो भन्दै गर्दा मैले फेरि गायक गायिका अनि कलाकारको अपमान पटक्कै गरेको होइन तर सानो कुरालाई बेवास्ता गरियो भने एक छिन आनन्द त होला, चर्चा बटुल्न सकिएला तर अमर र असल स्रष्टा भएर कालान्तरसम्म जिउन सकिन्न भन्ने आशय मात्र राख्न चाहेको हो। रियालिटी सो को नाममा व्यापार गर्नु भन्दा पनि कवि शिरोमणि, स्वरसम्राट स्रष्टा योञ्जनका उत्तराधिकारीहरूको खोजी गर्नु आजको आवश्यकता देखिन्छ। यो आवश्यकता तब मात्र पूरा हुन सक्छ जब तपाई हामी सच्चा भाषा साहित्य प्रेमी बन्न सक्छौँ, जब एक असल स्रष्टालाई चिन्न सक्छौ। कागती उत्पादन गरेर यो सुन्तला हो भनेर व्यापार गर्नु र कविता प्रतियोगितामा रङ्गमञ्चको कलाकार राखेर जज गर्नु उस्तै उस्तै हो। यसले न व्यापार चल्न सक्छ न त एउटा कलाकारको सम्मान हुन सक्छ, न कुनै सृजनाको महत्त्व रहन्छ ।

समग्रमा भन्नु पर्दा साहित्यको व्यापार गरेर सर्जक, कलाकार, कवि , भाषाविज्ञ र आम दर्शक, श्रोता र पाठकको खिल्ली उडाउन तल्लीन हुनुले आफ्नै अस्तित्व र पहिचान माथि प्रहार गर्नु हो। यसले न त व्यक्तिको स्तरलाई उठाउन सक्छ न भाषा साहित्यको विकास नै हुन्छ। त्यसैले भाषा साहित्यको विधालाई सही पहिचान गरेर त्यस सम्बन्धका संरचनात्मक कुरालाई ध्यानमा राखी त्यसै सँग सम्बन्धित स्रष्टालाई न्यायको पंक्ती राखेर उनीहरूको मार्गदर्शनमा हिँड्न सिक्नु अति आवश्यक देखिन्छ।

जय भाषा साहित्य