अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

पहिचान र नागरिकता

हरि उप्रेती २०८० मंसिर १० गते १७:३० मा प्रकाशित

मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ अनि पछि मात्र उसले जन्मेको देशको वा अन्य कुनै कारणबाट नागरिकता प्राप्त गर्दछ । यसबाट नै के पुष्टि हुन्छ भने पहिचान र नागरिकता एक अर्काका पर्यायवाची होइनन् । अब लागौँ यी दुई विषयको फरक बुझ्न तर्फ । पहिचान भन्नाले कुनै पनि वस्तुको गुण, मूल्य वा प्रत्यभिज्ञान भन्ने बुझिन्छ ।यसले मानव जीवनलाई सोझै मौलिकतासँग जोड्दछ । अब मौलिकता भन्ने बित्तिकै उसको कुल घरान, संस्कार, संस्कृति, भाषा, धर्म आदी पर्दछन् । अब लागौँ नागरिकता तर्फ । नागरिकता भन्नाले एउटा ब्यक्ती नागरिक हुनुको अवस्था भन्ने बुझिन्छ । राष्ट्रले आफ्नो संविधान अनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले दिने नागरिक अधिकारको प्रमाण पत्र हो । अर्को अर्थमा भन्ने हो भने राष्ट्रले संविधान अनुसार त्यस देशमा बस्ने व्यक्तिलाई उमेरको निश्चित तहमा पुगेपछि दिने नागरिक अधिकार हो ।

अब भने लागौँ कुरोको चुरो बुझ्न तर्फ । मानिसहरू संसारको कुनै पनि देशमा जन्मन सक्छन् र जन्मनु कुनै अभिशाप होइन । उनीहरू त्यही देशको नागरिक बन्न सक्ने देशको संविधानले अधिकार पनि दिएको हुन्छ, फरक यती मात्र हो कुनै देशले जन्मको आधारमा नागरिक अधिकार दिन्छन् भने कुनै देशले निश्चित समय अवधि बसोबास गरेको आधारमा नागरिक अधिकार दिन्छन् । एउटा सामान्य दृष्टान्तलाई हेरौँ । एउटा टिबेटन मूलको व्यक्ती नेपालमा बसोबास गर्नुहुन्छ अनि नेपाली नागरिकता लिनुभएको छ । यसको अर्थ उहाँले नेपाली नागरिक सरह अधिकार अभ्यास गर्नुहुन्छ र उहाँका सन्तान नेपालमै जन्मन्छन् र जन्म वा वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन् । यसो भन्दै गर्दा उनीहरू नेपाली नागरिक भए तर नेपाली होइन किन कि पहिचान मौलिकतासँग जोडिएको हुन्छ जुन भाषा, धर्म, संस्कृति आदी पर्न जान्छन् । यी सम्पूर्ण कुराहरू आदी देखी अन्त्य सम्म रहन्छन् । यिनै गुण वा मूल्यलाई तपाईँले जति खुल्ला आकाशमा राखे पनि न त लुटिन्छन् न त खोसिन्छन् तर एकै छिन नागरिकताको प्रमाण पत्रलाई सम्झनुहोस् त, त्यो त लुटिन सक्छ, हराउन सक्छ, अनि खोसिन सक्छ र त्यसलाई पुनः प्राप्ति गर्नुपर्छ तर पहिचान जन्मसँगै आएको हुन्छ र मृत्यु पर्यन्त रहन्छ । यी त भए पहिचान र नागरिकतालाई बुझ्ने कुरा अब चर्चा गरौँ हामी र हाम्रो पहिचान र नागरिकता बारे:

नेपाली भाषा बोल्ने, नेपाली संस्कृति अपनाउने, नेपाली संस्कार अङ्गाल्ने मानिसहरू आज लाखौँको संख्यमा संसारका धेरै देशमा बसोबास गर्दै आएका छन् । जुन देशमा उनीहरू रहेका छन् त्यही देशको संविधानमा तोकिएका आधारभूत कुराहरू पुरा गरेर मात्र नागरिकता प्राप्त गरेर आफ्नो अधिकार प्रयोग गरेका छन् तर पहिचान भने उनीहरूको नेपाली नै रहेको छ किन कि त्यो उनीहरूको मौलिकता हो जसको आफ्नै गुण वा मूल्य हुन्छ । नेपाली भाषा बोल्ने, नेपाली संस्कृति अङ्गाल्ने मानिसहरू कोही युरोपमा छन्, कोही अमेरिका, कोही अस्ट्रेलिया अनि कोही क्यानडा । आखिर जहाँ रहे पनि उनीहरूको गुण र मूल्य भने एउटै देखिन्छ फरक यती मात्र हो कि उनीहरू जुन देशमा छन् त्यही देश प्रति वफादार रहन्छन्, त्यही देशको संविधान र कानुनको पालना गर्दछन् । अब भने म एकै छिन हाम्रो समाज र समुदायको बारेमा चर्चा गर्न चाहन्छु । हाम्रो समाज भन्नाले भुटानबाट निकालिएका नेपाली जो अहिले संसारका विभिन्न देशमा बसोबास गर्दै रहनु भएको छ । अब हाम्रो पहिचानको कुरा गर्नु अगाडी थोरै इतिहास जान्नु पनि जरुर देखिन्छ । के हाम्रा पूर्वजहरू पहिला देखिनै भुटानमा थिए त ? अथवा उनीहरूलाई कहाँबाट लागियो र कहिले लागियो भन्ने कुरा थोरै जान्नु आवश्यक हुन्छ ।

ethnomed.org र लेखक माया म्यक्सिमका अनुसार नेपालबाट केही नेपालीहरू १६२० मा शाब्ड्रुङ नाम्गेलका पालामा काठमाडौँबाट आफ्ना बुवाका लागि सिल्वर स्तुपा बनाउनका लागी लागिएको तथ्याङ्क पाइन्छ । त्यसपछि भने १९औँ शताब्दीको सुरुवात सम्म नेपाली भुटान गएको कुनै आधिकारिक तथ्याङ्क भने भेटिन्न । १९ औँ शताब्दीकै मध्यकालीन समय देखी नेपालीहरूलाई भुटानमा आमन्त्रण गरेको तथ्याङ्कले जनाउँदछ । त्यही समयमा हाम्रा पूर्वजहरू नेपालको भूभागबाट रोजगार र सहज जीवनयापनका लागी भुटान गएको इतिहास पाइन्छ जसले भुटानको दक्षिण भूभागलाई आफ्नो कर्म थलो बनाउँदै आएका थिए । दक्षिणमा बसोबास गर्दै आएका नेपालीहरूलाई ल्होत्शम्पा भनिन्थ्यो र अहिले पनि भनिन्छ । यसरी भुटान गएका नेपालीहरूले कानुनी प्रावधान पुरा गरेर नागरिक अधिकार प्राप्त गरेको इतिहास छ । उनै पुर्खाहरूबाट लाखौँ सन्तानहरू जन्मिए र जन्मसिद्ध नागरिक भएर बसोबास गरेको इतिहासको तथ्याङ्क पाइन्छ । यो त मैले मात्र इतिहासको छोटो अंश प्रस्तुत गरेको हुँ । यस्ता ऐतिहासिक दस्ताबेज थुप्रै पाइन्छन् । सन १९९० तिर आएर भुटानमा प्रजातान्त्रिक आन्दोलनको आँधी हुरी नै चल्यो त्यही निहुँमा भौतिक सम्पत्ति घर जग्गा र नागरिकताको प्रमाण लुटी लाखौँ नेपालीहरूलाई शरणार्थी बनायो र बिसौँ वर्षसम्म नेपालमा शरणार्थी जीवन बिताएको इतिहास सर्वविधित नै छ ।

अब माथि उल्लेख गरेको इतिहासलाई सरलरुपमा बुझिसके पछि हामीले हाम्रो पहिचान के हो भन्ने कुरा सहजै अनुमान लगाउन गाह्रो नहोला ।भुटानमा लाखौँ सन्तानहरू जन्मनु कुनै अभिशाप थिएन र संसारको कुनै कुनामा जन्मनु अभिशाप होइन किन कि हाम्रो भाषा, संस्कृति, मौलिकता काहीँ रहे पनि हराउन्न तर नागरिकता र त्यसबाट प्राप्त भएको हक अधिकार भने समयले आफै लुटाउँछ जुन हिजो हामीले नै भोग्नु परेको थियो ।त्यसैले अब हामी हाम्रो पहिचानको गुण र मूल्यलाई किन संरक्षण गर्न हिचकिचाई रहेका छौ त ? हामीलाई नेपाली भन्न के ले रोकी रहेको छ र ? यो सबैले एक पल्ट मनन गर्नुपर्ने विषय मैले ठानेको छु ।यसो भन्दै गर्दा यहाँहरूलाई अर्को प्रश्न उठ्न पनि सक्छ हामी कसरी नेपाली ? अब म यहाँहरूलाई नेपाली शब्द कहाँ र कुन कुन अवस्थामा प्रयोग हुन्छ र के का लागी हुन्छ भन्ने कुरा थोरै बताउन चाहन्छु । हुन त म भाषाको विज्ञ नहुँला तर जनेको कुरा भने भन्न सहज नै ठान्छु ।

“नेपाली” शब्द मात्र नेपाली नागरिकहरूसँग जोडिएको शब्द भने होइन । यो शब्दलाई कुन अवस्था र कुन प्रयोजनको लागि प्रयोग गरिन्छ त्यसमा भर पर्दछ । “नेपाली” शब्दलाई विशेषतः संज्ञा र विशेषणको पदावलीमा प्रयोग गर्न सकिन्छ जस्तै धेरै नेपालीले बोल्ने भाषा, नेपालको सरकारी कामकाजको भाषा वा नेपालका जाती भनेर बुझाउनु पर्दा संज्ञा वा नाम पदमा प्रयोग हुन्छ भने नेपालमा बसोबास गर्ने, नेपाल सम्बन्धी, नेपालमा बनेको आदी बुझाउनलाई प्रयोग हुँदा “नेपाली’ शब्दलाई विशेषणको रूपमा प्रयोग गरिन्छ ।

यसरी नेपाली शब्दको प्रयोगलाई हेर्दा हामी जाती, संस्कृति, भाषा आदीसँग हिजो पनि र आज पनि जोडिएको प्रस्ट देखिन्छ, यो हाम्रा सन्ततिहरूसँग अनन्त सम्म जोडिएर जने कुरा निःसन्देह छ । आफू जन्मिएको माटोको माया हर मानव जातीलाई लाग्छ र लाग्नु पर्दछ तर पहिचान भने भौतिक चिजसँग नभै मौलिकतासँग जोडिएको हुन्छ । अतः हामी अब जुन देश र माटोमा बसी रहेका छौँ त्यही देशको संविधान र माटो प्रति वफादार भएर आफ्नो भाषा, संस्कृति, जाती र मौलिकतासँग जोडिएको नेपाली पहिचानको संरक्षण गर्दै अगाडी बढ्नु नै उत्तम देखिन्छ र त्यसैले नै हिजो हामीले भाषा, संस्कृति र पहिचानको लडाई गर्दै गर्दा देश निक्लनु परेको कुरालाई सार्थक तुल्याउन मद्दत गर्दछ । सात समुन्द्रवारी आएर सात समुन्द्रपारिको माटोको पुजारी हुनु भन्दा आफ्नै कर्मभूमिको, भाषाको, संस्कृतिको र मौलिकताको पुजारी हुनुले नै जीवनको सार्थकता देखिन्छ ।