अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 18:14

रित्तो बोतल र जिन्दगी

शेखर ढुंगेल २०७७ मंसिर २५ गते ९:१३ मा प्रकाशित

रित्तिएको एउटा बोतल
ठीन्ग्रिंग चिसो कुनामा
एक्लै अर्थहीन बनेर
मुक्तिको पर्खाइमा छ
कवाडीहरू आउँदै होलान्
मलामी बनेर

कति महँगो थियो त्यो बोतल भर्खर सम्म
जो कोहीले हात लगाउन सोच्दैन थिए
केही विस्मृत अट्टहास सँगै
जब रित्तो बोतल
अलिकति कतै खुसी बाँडेर
थोरै थोरै पिडा साटेर
अपरिचितहरूको व्यथा भुलाएर
भर्खर उ रित्तियो

लुछाचुँडी गर्दै थिए भर्खर सम्म
थोपा थोपाको हिसाब गर्दै थिए
भरि हुँदा उसको मूल्य
वाह वाह बोक्नेको गर्व थियो
यो महँगो बोतल
तर अब उ निथ्रियो
उसको अस्तित्व सकियो
अर्थहीन मूल्यहीन भइसक्यो
र फ्याँकियो चिसो कुनामा व्यङ्ग बनेर
कवाडीको लास बनेर
एउटा रित्तिएको बोतल
फ्याँकिदिए

हा हा कति पाखण्डी छ समाज
कति आडम्बरी र अहङ्कारी छ समय
भरि हुँदा बोक्न देखाउन गर्व लाग्ने त्यही बोतल
खालि हुँदा बोक्न लाज वाह वाह, स्वार्थ
हेहेहे उपयोगिता
बग्दै गर्छन् जीवनका
रगत पसिना जब रित्तिँदै जान्छ
अर्कोको स्वार्थ पुरा हुँदै जान्छ
यहाँ सबै पराइ हुन्छन्

यहाँ नाताको के कुरो सम्बन्ध के कुरो
अरूको त के कुरो कमजोर भए पछि
नाडीको हड्डी र छालाले समेत
सम्बन्ध विच्छेद गर्छन्
समयको भेलमा स्वार्थको खेलमा
रित्तिएको बोतल झैँ यो चोला कवाडी बन्छ

निकालिएर घर बाहिर
तुलसीको मोठमा रित्तिन बाध्य पारिन्छ
घर भित्र श्वास बन्द भए अपशकुन हुन्छ रे
आफन्तहरूलाई वाह रे नाता कुटुम्ब
कठिन लाग्छ मलामीको पर्खाइ ।