अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

आप्रवासीका पीडा

शेखर ढुंगेल २०७७ साउन ८ गते ११:१८ मा प्रकाशित

आप्रवासी शब्द प्रवासी वा पलायन हुनेका लागि आफैँमा पीडादायी छ। जन्मिएको हुर्किएको ठाउँबाट टाढा हुनु पर्दा आँखा टिलपिल पार्दै नेपाली भूमि छोड्दादेखि सुरु हुने विविध सङ्घर्षका कथाको लामो फेहरिस्त छ । मुनामदनका मदनको होस् वा विश्वयुद्ध लड्ने लाहुरेका पीडा। प्रवास नेपालीका लागि रहर कम र बाध्यता बढी हो। विदेशको पीडाका अनुभूति मैले ‘क्षितिजपारिका सपना’ कथासङ्ग्रह र ‘कहाँ छ मेरो देश’ यात्रा संस्मरण मार्फत प्रस्तुत गरिसकेको छु। विदेशको मोह र सामाजिक, धार्मिक, सांस्कृतिक एवं पारिवारिक विचलनका बारेमा लेखेको छु। आफूलाई विद्वान ठान्ने केही व्यक्ति र नेताले प्रवासी नेपालीलाई घृणा गरेको देख्दा असह्य हुन्छ। प्रवासी नेपालीलाई बोल्ने अधिकार छैन, बोल्ने भए देशमा बस भनेर असहिष्णुतापूर्वक औँलो ठड्याउन थालेका छन्। यो देख्दा अस्ट्रेलियाको स्थायी बसोबास त्यागेर अनि अमेरिकाबाट दुई पटक आफ्नै देशमा केही गर्छु भनेर फर्किदा पनि बाध्य भएर पुनः पलायन हुनुपरेको मेरो मुटु चसक्क हुन्छ। त्यसैले लेख्ने धृष्टता गरेको हुँ। प्रवासी नेपालीविरुद्ध पूर्वाग्रह राख्ने विद्वान्‌ले आप्रवास वा पलायनको भित्री पाटोको अध्ययन किन गर्नु हुन्न? आप्रवास रोक्न आफूले के के गर्नु भयो? त्यसको उत्तर भने दिनु हुन्न।

सबैभन्दा गम्भीर प्रश्न, २०/२५ वर्षयता देशको सेना, प्रहरी, प्रशासक र नेतादेखि साधारण नागरिकसम्मले आफ्ना सन्तान र सम्पत्ति किन पलायन गराइरहेका छन्? पलायन वा आप्रवासी विरुद्ध विष बमन गर्नु पूर्व गम्भीर भएर यसको विश्लेषण हुनुपर्छ अनि मात्र आप्रवासी नेपालीविरुद्ध विष बमन गर्नु बुद्धिमानी हुन्छ।

आप्रवासनका कारक तत्त्व –
१. हाम्रो समाजमा अनैतिक काम गरेर भए पनि पैसा कमाएपछि मात्र इज्जत पाउने प्रवृत्ति छ। डाँडा घरे माइलीले मुम्बई पुगेर पैसा पठाएर उसका बाउले जस्तापाताले घर छाए, तँ यहाँ मेरो टाउको खाएर बसेकी छेस् भनेर १३/१४ वर्षकी आफ्नी छोरी बहिनीलाई शरीर बेच्न पठाउने समाज हो। यहाँ भ्रष्टाचार गर्नेले इज्जत पाउँछ, श्रम र श्रमिक अपहेलित हुन्छ। त्यसको प्रतिफल हो, विदेश जान लालायित हुनु। स्वदेशमा श्रम र श्रमिकको सम्मान र मर्यादा नहुनु नै पहिलो कारण हो।

२. २०४६ पछिका सरकार युवालाई विदेशमा बेच्न कानुन नीति नै बनाई प्रेरित हुनु हो । लाखौँलाई रोजगारी दिएका सयौँ औद्योगिक प्रतिष्ठान ध्वस्त गराई युवालाई विदेशन बाध्य पार्ने गैह्र जिम्मेवार शासकप्रति विद्वान्‌हरूको बोली फुट्दैन। पलायन रोक्ने उपाय प्रस्तुत हुँदैनन्। बिदेसिनु पर्दाको कारण बाध्यतालाई रहर बनाउने सामाजिक मनोविज्ञान धनबिना समाजमा सम्मान नहुने सोच हो। फलानोको छोरो विदेश गएर पैसा पठाएर घर बनाइसक्यो तँ लण्ठु गाउँघर घुमेर खान्छस् भन्ने अभिभावक, साथीभाइ, श्रीमती र सन्तान पनि जिम्मेवार छन् ।

३. प्रवासको यात्रा पीडा महाकवि देवकोटाले ‘मुनामदन’मार्फत सूचित गरेकै हुन्। द्वितीय विश्वयुद्ध पूर्व नै नेपाली लाहौर हुँदै बर्मा, थाइल्यान्ड र फीजीसम्म पुगेकै हुन्। आज यातायात र सञ्चारका कारण अवसरको पहुँच विश्वव्यापी भएको छ। ठूलाठूला कम्पनीले योग्यताको आधारमा सुविधा दिएर मगाइरहेछन्। त्यही योग्य व्यक्तिलाई देशमै उचित सम्मान र अवसर दिन असमर्थ छौँ भने पलायन हुँदा किन सराप्छौँ।

४. उच्च शिक्षाको लक्ष्य देशप्रति नभई पलायनमुखी हुन प्रतिस्पर्धा गर्ने मानसिकताको विकास किन हुन पुग्यो ? यस्तो प्रवृत्तिको विकास किन र कहिलेदेखि भयो ? अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान लगायतका देशमा हजारौँ प्राध्यापक छन्, किन? कुनै दिन राज्यले उनीहरूलाई सम्झियो? तर उनीहरू २४ घण्टा नेपालको चिन्ता गर्छन् र आफूले भोगेको जस्तो कल्याणकारी राज्य प्रशासन होस् भनेर सुझाव दिन्छन्, यसमा के अपराध भयो ? देशको सत्ता र शक्तिको पहुँचमा पद, प्रतिष्ठा र सम्पत्ति कमाएका व्यक्ति र नेतृत्ववर्गले आप्रवासीप्रति क्षुद्र आलोचना गरेको देख्दा दुःख लाग्छ। देश भनेको सत्ताको वरपर बसेर सधैँ फाइदा लिनेहरूको मात्र होइन। विश्वमा छरिएका सबै नेपालीको हो। स्वदेशमा बसेर बिचौलिया बनी राज्य दोहन गर्नेभन्दा प्रवासमा दुःख गरेर राष्ट्र चिन्तन गर्नेहरूले नै देशको बढी माया गर्छन् ।

५. योग्य भएर पनि कुशासनका कारण पीडित युवापुस्ता पलायन हुन बाध्य छ। आत्मसम्मानका साथ बाँच्न चाहने र चाकरीलाई घृणा गर्ने वर्गलाई हामीले प्रोत्साहन दिएनौँ । आरक्षण जस्तो संवैधानिक विभेद नै युवापुस्तालाई पलायन गराउने अर्को कारण हो ।

६. नागरिकलाई देशको भविष्यप्रति आशा जगाउने वातावरण बनाउन सकेनौँ। अनियमितता, नियुक्तिमा घूस, स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, बन्द हडताल, राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको अभावका कारण सक्ने जति विदेश भासिन बाध्य भएका हुन् ।

७. स्वदेशमा आत्मबल गिराएर ढोका ढोका धाउनु र अर्को योग्यको भाग खोस्न धुर्त्याइँ, फट्याइँ र नक्कली प्रमाणपत्र र घूस प्रयोग गरी विकृति, विसङ्गतिलाई बढवा दिनुभन्दा इमानदारीपूर्वक विदेशमा परिश्रम गरेर देशका लागि त्याग गर्ने नेपाली अपराधी हुन् र? उनीहरूले स्वदेशमा मौलाएको विकृतिविरुद्ध बोल्न नपाउने ? जुन धर्तीको माटो, हावापानी, संस्कार र संस्कृतिले हुर्कायो, बाध्यताले विदेश पुर्‍यायो त्यो नेपालीको रगतमा नेपालको माटो सुगन्ध बगिरहेको हुन्छ। जन्मभूमिलाई के दिन सक्छु भनेर सोचिरहेको हुन्छ, के त्यो अपराध हो? आप्रवासीप्रति असहिष्णु किन हुनु ?

८. आप्रवास सामान्यतया विपन्नबाट सम्पन्न देशमा हुन्छ। योग्यता र दक्षताका कारण सम्पन्नबाट विपन्न देशमा समेत हुने आजको विश्वव्यापी प्रवृत्ति हो। नेपालजस्तो अल्पविकसित राष्ट्रका नागरिक जो आफ्नो देशमा समुचित र सम्मानपूर्वक आफ्नो योग्यता दक्षताअनुसारको रोजगारी पाउन असमर्थ हुन्छन् तब विकल्प रोज्नु अस्वाभाविक होइन ।

आप्रवासीप्रति असहिष्णु हुने विद्वान्‌ले नेपालीलाई पलायन हुन रोक्न के काम गरे? रोक्दारोक्दै नेपाली पलायन भएका हुन् त? पलायन रोक्न आफूले कुनै प्रयास नगर्नेले बिषवमन गर्नु के बुद्धिमत्तापूर्ण हो? सक्छ, देशले रोकोस् नसके आप्रवासीबाट कसरी फाइदा लिन सकिन्छ भन्ने नीति बनाओस्। सरकार रेमिट्यान्समा र्‍याल काढेर बस्छ,  त्यही सरकारको चाकरी गरेर व्यक्तित्व बनाएकाहरूले प्रवासीलाई सत्तोसराप गर्ने? कतै आप्रवासी आफूभन्दा जानकार भयो भनेर आफू ढोका धाउँदाको पीडा आप्रवासीमाथि पोखेको त होइन ?

९. विदेशबाट पढेर विज्ञ बनेर आएकालाई राज्यले उचित स्थान दिँदैन। यस्तो अवस्थामा कोही विदेश फर्कन्छन् त कोही एनजिओ आईएनजीओमा लाग्न बाध्य छन् ? यसको जिम्मेवार को? पञ्चायत कालमा विदेश पढ्न गएकालाई स्वदेश फर्काएर विज्ञताअनुरूपको स्थान दिने गरिन्थ्यो तर आज त्यही बौद्धिक सम्पत्तिले मोटो रकम नबुझाईकन नियुक्ति पाउँदैन। कसैगरी नियुक्ति पाए पनि अनियमितता नगरे लखेटिन्छ अनि इमानदार र असल नागरिक निराश भएर पलायन हुन बाध्य हुन्छ। त्यसलाई सराप्ने? आज चीन र भारतले विदेशमा विज्ञता हासिल गरेका आफ्ना नागरिकलाई विदेशमा पाइरहेको तलबभन्दा ५ गुणा बढी दिएर फर्कन आह्वान गरिरहेका छन् ।

१०. तीन दशकयता कुनै पनि योजना दूर दराजलाई लक्षित गरी बनेन। जन्मथलो गाउँघर नछोडी उच्च शिक्षा, स्वास्थ्य उपचार र रोजगारी पाउनुपर्ने नागरिकको हकलाई बेवास्ता गरियो। गाउँमा जीवनयापन गर्न सक्ने अवस्था नरहेपछि गाउँबाट सहर र सहरबाट विदेश रोज्ने बाध्यात्मक अवस्था राज्यले सिर्जना गरिदियो। गाउँ लक्षित सहरी विकास, कृषि, पशुपालन, फलफूल र जडीबुटी उत्पादनमा राज्यले साथ दिएको भए आज पलायन हुनु पर्दैनथ्यो।

११. आप्रवासका विविध पीडा छन्। एउटा प्रतिनिधि घटना स्मरण गराउन चाहन्छु। एउटा नेपाली २/२ पटक अमेरिका पुग्छ। उसलाई अमेरिकाभन्दा नेपाल महान् र प्यारो लाग्छ र फर्कन्छ। उसले आफ्नो पुर्ख्यौली जमिन बेचेर होटेल व्यवसाय सुरु गर्छ। सुरु गरेको ६ महिनासम्म उसले उत्साहजनक कमाइ गर्दै थियो। सन्तान हुर्कँदै थिए र नाम चलेको स्कुलमा शिक्षा दिलाउँदै थियो। नयाँ घर बनाउने सपना पूरा गर्न जग हालिसकेको थियो। अचानक महाकालीको भूत आयो। बन्द, हडताल र तोडफोड भयो। एक दुई दिन होइन, महिनौँ नेपाल बन्द र हडताल भयो। भारतीय पर्यटक शून्य भए। कर्मचारीको तलब र होटेल भाडाको बोझले छ महिनाभन्दा बढी टिक्न असम्भव भयो। लाखौँ घाटा व्यहोर्दै सन्तानको भविष्यका लागि ऊ फेरि विदेश गयो। नेपाल फर्कन चाह्यो, कहिले स्कुल बसमा आगजनी हुन्छ त कहिले स्कुले नानी अपहरणमा पर्छन्। सन्तानको भविष्य खोज्दै ऊ पलायन भयो। यस्तो अवस्थामा अपराध के भयो ? के उसले बन्दुक बोक्नु पर्थ्यो ? अरूको सन्तान मारेर आफ्नो सन्तानको भविष्य खोज्नु पर्थ्यो ? वा आफू र सन्तानको सुरक्षाका लागि उपलब्ध विकल्प सदुपयोग गर्नु पर्थ्यो ?

पलायनको कारण र यसको निराकरण नगरी पलायन हुनेप्रति पूर्वाग्रह राख्ने र आलोचना गर्ने अस्वस्थ मानसिकताको सार्वजनीकरण हुँदा दुःख लाग्छ। के त्यो मानसिकताले समस्या समाधानका लागि केही गरेको छ ? नेपालको प्रत्येक विपद्‌मा आप्रवासी नेपाली पहिलो पङ्क्तिमा पुगेको छ त्यसको मूल्याङ्कन गर्नु पर्दैन? कञ्चनपुरदेखि सिन्धुपाल्चोकसम्मको बाढीदेखि भूकम्प र कोरोनाको विपद्मा त्यही आप्रवासी सरकार र नेपालका कथित बुद्धिजीवीभन्दा अगाडि नेपाली हुनुको दायित्व निर्वाह गर्न पुगेको हुन्छ र पुगिरहनेछ। नेपालमा बसेर नेता र उनीहरूले पालेका बिचौलियाको घन चक्करमा आश्रित हुन, चाकरी गरी योग्यको भाग खोस्दै आफ्नो स्वार्थपूर्ति गर्न इच्छुक नहुनु, फट्याइँ र भ्रष्टाचार नगरी दैनिकी चलाउन नसक्ने अवस्थाबाट मुक्ति पाउन विदेश जानु कसरी अनैतिक हुन्छ। प्रवासमा पुगेर देशको चिन्ता गर्नु, स्वदेशमा सुशासन, शान्ति र राजनीतिक स्थिरताको कामना गर्नु र त्यसका बाधकलाई औँलो ठड्याउने अधिकार छैन र? प्रवासीमाथि बिषवमन गर्ने महाशयहरू लौ त देशमा बसेर शक्ति र धनको बलमा मात्र काम हुने प्रशासनलाई सुधार गरेर देखाउनुहोस्? आप्रवासी विरुद्ध बिषवमन गर्न समय र ऊर्जा खर्च गर्ने विद्वान्हरू देशको सम्पत्ति र सन्तान पलायन हुन रोक्ने नीति कार्यान्वयन गर्नुहोस् ।

आप्रवासी कुनै व्यक्ति विशेषप्रतिको रोष वा पूर्वाग्रह होइन भने आप्रवासीलाई गाली गर्न छोड्नुहोस् र पलायनसँगै नेपालीले स्वदेश र विदेशमा आफ्नो धर्म, संस्कृति, साहित्य र सङ्गीतको प्रचार प्रसार गरेका छन्। प्रतिष्ठित प्रतिष्ठानमा उच्च पदमा नेपाल र नेपालीको क्षमताको पहिचान पनि दिएका छन्। आप्रवासी नेपालीले आफूले जे जस्तो पीडा र सङ्घर्ष भुलेर स्वदेशका लागि क्षमताअनुसार योगदान गर्न चिन्तित रहनु र स्वदेशमा असल व्यवस्था भए हुन्थ्यो भन्नु अपराध हो र? कमसेकम देश लुट्ने खुराफाती गरेर अर्को योग्यको भाग खोसेर पदमा पुग्ने कुशासनमा सहभागी भएका छैनन् र देशले के दियो होइन के दिन सकिन्छ भनेर अनेकौँ सङ्घ संस्थामार्फत सहयोग गरिरहेका छन्। प्रवासको जीवन केही अपवाद बाहेक सहज र सुखमय छैन। सुविधाको उपभोग नै खुसीको मार्ग होइन। सङ्घर्ष र पीडाका कथा धेरै छन्। यो भोग्न किन बाध्य हुनुपर्‍यो? खोज्ने प्रयास गर्नुहोस् तब बिषवमनको पश्चात्ताप हुनेछ। फेरि पनि अनुरोध गर्छु- आप्रवासीको पीडालाई महसुस गर्नुहोस्। देशमा बस्नेभन्दा विदेशमा बस्नेले देशको चिन्ता गरिरहेका छन्। के त्यो अन्यथा हो? विदेशको सुविधामा रमाउनुभन्दा स्वदेशको पीडामा मलहम लगाउन चिन्तन गर्नु अपराध हो?

आप्रवासी विरुद्ध बोल्ने नैतिक अधिकार उसलाई मात्र छ जसले शक्तिकेन्द्रका ढोका चहारेर, दलीय झोला बोकेर राज्य कोष दोहन गरेको छैन। कुनै पनि विदेशीको सहयोग र भत्ता लिएको छैन र उसले आफ्नो लगानीमा नेपालमा रोजगारी उपलब्ध गराएको छ। अन्यथा आप्रवासीलाई गाली गर्नुको कुनै अर्थ छैन।