अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 04:48

डायस्पोरिक साहित्य: पहिचान, प्रेम र पीडाको सङ्गम

गोपी मैनाली २०८० कार्तिक ३० गते १५:४८ मा प्रकाशित

डायस्पोराको सन्दर्भ
मानिस जहिले पनि प्रेम, पहिचान र पीडाको यात्रामा रहन्छ, वृत्ति व्यवसायमा होस् वा सभ्यता–शासन व्यवस्थापनमा नै किन नहोस् । यात्राका आन्तरिक र बाह्य पक्षहरु हुन्छन्, यात्राका बाह्य आयामहरु सबैले देख्छ, त्यसैले आफ्नो अर्थमा प्रतिक्रिया जनाउन सक्छ तर आन्तरिक आयाम भिन्न, विशिष्ट र जो कुनैले सजिलै देख्न र अनुुभूत गर्न सक्दैन । जे भएपनि युुभल नोह हरारीले भने झै साझा कल्पना बाहिर विश्वमा कुुनै देवता, कुनै राष्ट्र, कुनै पेशा, कुनै मानव अधिकार, कुनै कानून र कुनै न्याय हुँदैन । साहित्य होस् वा शासन, सेवा होस वा सभ्यता, साझा मान्यताहरु स्थापना गरेर त्यसलाई सिर्जना र व्यवस्थापन गरिन्छ । डायस्पोरिक साहित्य पनि साझा मूल्य–मान्यताहरु स्थापना गरेर विकास भैरहेको छ । यो मानव समाजको नयाँ चेतना, नयाँ संस्कृति र संस्कारलाई संस्थागत गर्ने नयाँ अभियान हो, यसैले यसका मान्यताहरु नयाँ हुने नै भए ।

डायस्पोरा ग्रीक शव्द हो, जसको सामान्य अर्थ छरिनु वा विस्तार हुनु वा विस्थापित हुनु हो । छैठौं शताव्दीमा बेबिलोनबाट विस्थापित भएर मातृभूमि बाहिर छरिएका यहुदीहरुलाई व्यक्त गर्न प्रयोग गरिएको डायस्पोरा शब्द अहिले प्रवासनमा रहेको बासिन्दालाई जनाउने गरी अर्थवत्ता विस्तारमा पुुगेको छ । परम्परागत रुपमा यसलाई व्यापारका डोयस्पोरा, धर्म, शासन र सम्प्रदायबाट पीडित डायस्पोरा, श्रमका डायस्पोरा, सांस्कृतिक डायस्पोरा र साम्रज्यवादबाट सिर्जना भएका डास्पोरा भनेर चिनिन्थे, अहिले विभिन्न कारणवस जन्मभूमि (होमल्याण्ड) बाट कर्मभूमि (होस्टल्याण्ड) मा रहेका बासिन्दा डायस्पोरा कहलिन्छन् । यो अर्थबत्ता र परिभाषा विशिष्ठीकरण र विस्तृतीकरण हो ।

डायस्पोरिक साहित्य
डायस्पोरा साहित्य चाँहि जन्मभूमिभन्दा बाहिर कर्मभूमिमा रहेका बासिन्दाहरुको अनुुभूति, रहनसहन, पहिचान, चेतना, प्रेम र पीडाहरु अभिव्यक्तिका माध्यम हुन् । यी भावनाहरु आफ्नो मातृभूमिप्रतिको अनुराग सन्दर्भमा जन्मिने गर्दछन् । सामान्य अर्थमा थातथलो छाडेर पनि मातृमाटोको भावना नभुल्नेहरुको साहित्य हो यो । यसर्थ डायस्पोरा साहित्यले आफ्नो संस्कार–संस्कृति र पहिचानको विस्तार गर्दछ, प्रवासमा रहनुका पीडा, उकुसमुकुस र छटपटीलाई अभिव्यक्त गर्दै त्यसबाट मुक्तिको मार्ग खोज्छ । आपसी प्रेम र विश्वन्धुत्वको भावना फैलाउँछ । सारमा डायस्पोरा साहित्य स्वअस्तित्वको विस्तार हो ।

डायस्पोरा साहित्यमा सामाजिक रुपमा छुट्टिएका परिवार, आफन्तजनप्रति आत्मीयताभाव हुन्छ, पैतृकभूमिप्रति अनुराग र समर्पण हुन्छ । अर्को शब्दमा मातृभूमि/पैतृकभूभिबाट अलग्गिनुु पछिको पीडाको प्रत्यक्ष–परोक्ष अनुुभूति र कर्मभूमिका पीडाको अभिव्यक्ति समेटिएको हुन्छ । मातृभूमिप्रति भावनात्मक अनुराग, मातृभूमि फर्किने चाहना वा नोष्टाल्जिया हुन्छ । गुमेको पहिचानको स्थापना र विस्तार गर्ने मनोविज्ञान हुन्छ । आफ्नो संस्कृति अर्को संस्कृतिमा समाहितकीकरण हुनुुको छटपटी हुन्छ । एसिमिलेसनप्रतिको आक्रोस र असन्तुष्टि हुन्छ । राजनैतिक बहिस्करण र बञ्चितीको पीडा हुन्छ । विशेष परिस्थितिमा उसले छुट्टै पीडा सहेको हुन्छ, त्यहाँको समाज र शासनले आत्मीयतामा नलिँदाको छुुट्टै उहापोह हुन्छ । सामाजिक र सांस्कृतिक एकन्तीकरणका छुट्टै अनुुभूति हुन्छन् । जसलाई देखिएको होइन, छोपिएको हुन्छ । चेहरामा प्रसन्नता तर मनभित्र छटपटिएको हुन्छ । यी सबैको भावनात्मक मुक्तिमार्ग (अभिव्यञ्जना) डायस्पोरा साहित्य हो ।

डायस्पोराका चारित्रिक संरचनाका आधरमा डायस्पोरा साहित्यले जहिले पनि उद्भभूमिप्रति माया, बाहिरिनुको पीडा, अस्तित्व र स्ववोधको खोजी र राष्ट्रिय भावनाको सवलीकरण गर्दछ । विदेशमा रहेर मार्तभूमिको संस्मरण गर्छ । किनकी डायस्पोराको भावनामूमि र कर्मभूमि फरक हुन्छ । अर्को अर्थमा नेपाली डायस्पोरा साहित्यले नेपाल मनको विस्तार गर्छ, नेपालीपन र एकत्वको विस्तार गर्दछ । मानिसका दुख र प्रवासमा देखिने पहिचान र राष्ट्रियताको प्रगढता डायस्पोरा साहित्यले बोक्दछ ।

कतिपयले डायस्पोरिक साहित्यलाई प्रवासका पीडा अभिव्यक्ति पनि भन्ने गरेका छन् । कर्मभूमिमा कठोरता, वर्गीयभेद, सीमान्तीकरण जस्ता विषय मातृभूमिको संस्कृति, रितिरिवाज र जीवनशैलीको सापेक्ष्यमा उठाइएको हन्छ । प्रवासमा स्वैच्छिक होस् वा बाध्यात्मक अवस्थाले उव्जाएका विशिष्ट अनुुभूूति हुन्छन् । एलियन मुलुकमा निजत्व र स्वतन्त्रताको आनन्द मातृभूमिमा जस्तो स्वाभाविक हुँदैन, यही विशिष्ट अनुुभूतिको उपज डायस्पोरा साहित्य हुने गर्दछ । डायस्पोराहरु अन्तरसम्बन्धित संस्कृति र समाज निर्माणका पात्रहरुहरु हुन्, जव यसले स्वाभाविक सन्तुलन गुमाउन पुुग्छ, डायस्पोरिक पीडा साहित्यमा छचल्किन्छ ।

विश्वका प्रतिनिधि डायस्पोरिक साहित्य अध्ययन गर्दा डायस्पोरिक साहित्य मार्फत नामको सङ्घर्ष, पहिचानको सङ्घर्ष, संस्कृति र पेशाको सङ्घर्ष, शासकीय समानता र न्यायका लागि सङ्घर्ष र अरु थुप्रै देखिए–छोपिएका, मूर्तअमूर्त कुराको अभिव्यक्ति दिइएको हुन्छ । जस्तो कि झुुम्पा लाहिरीको ‘द नेमसेक’ मा प्रमुख पात्र गोँगोल आफनो नामको अस्तित्वको खोजी गर्छ । भौतिक सुखले उ अघाउँदैन, आफ्नो अस्तित्व, मौलिकता र संस्कृतिमा आफूलाई स्थापना गर्न निकै सङ्घर्ष गर्छ, जीवनमा आँधीबेरीको सामना गर्छ । प्रेम गर्छ, सम्बन्ध बढाउँछ तर कतैबाट साथ पाउँदैन । अस्तित्वको अन्तिम गन्तव्य पैतृकभूमि (नेटिभ ल्याण्ड) भारत आइपुुग्छ, त्यहाँ पनि उसलाई स्वीकारिदैन, किनकी उसले निख्खर मौलिकता गुमाइसकेको छ । आफ्नै नेटिभ मूमिमा एलिएन मुलुकको व्यवहार पाउँछ । यसरी एउटा जीवन अस्तित्वको खोजीमा आफूलाई स्थापना गर्न सक्दैन, सामाजिक अपनत्व नापएकोले पुनस्र्थापित पनि हुन सक्दैन र सर्वत्र पराजित हुन्छ । चित्रा बनर्जी देभकरुणीले आफ्नो उपन्यासमा भारतीय डायस्पोरा महिलाहरु सांस्कृतिक समायोजन र बैबाहिक सम्बन्धको दोहोरो द्वन्द्व (डवल डिलेमा) मा पर्दछन् भन्ने देखाएकी छन् । यतिसम्मकी संवेदना र भावना साँटफेरका आधार समेत गुमाएर उकुुसमुकुुसपूर्ण जीवन विताउन (वर्वाद गर्न) बाध्य हुन्छन् । भौतिक सुख र जैविक आवश्यकता पूरा हुँदैमा आत्मिक सन्तुष्टि प्राप्त हुँदैन र छटपटिएर बाँच्न विवश हुन्छन् । सल्मान रुस्दीले ‘स्येटानिक भर्सेस’ मा प्रवास व्यवस्थापसाथ समानान्तर रुपमा भौगोलिक, आत्मिक र भावनात्मक बसाइँ सराइ पनि गर्दछन्, जुन देखिएभन्दा निकै कष्टप्रद हुन्छ भन्ने देखाएका छन् । त्यस्तै रुस्दीको अर्को विख्यात उपन्यास ‘मिडनाइट चिल्ड्रेन’ मा व्यक्तिगत र राष्ट्रिय पहिचानको खोजी गरिएको छ । कुनै भूूगोल र समयको अन्तरालको चेपुवामा बाल अस्तित्व चेप्टिएको छ । अनिता देसाईँ र कमला मार्कण्डे बेलायती आप्रवासनमा नारी संवेदनालाई भावोत्तेजक रुपमा उतार्ने गर्छिन् । त्यस्तै भारती मुखर्जीले भारतीय अमेरिकीहरुको पीडा र कर्षण मार्फत डायस्पोरिक प्रवृत्तिको चित्रण गर्दछन् । भी यस नयपाल, मीना अलेक्जेण्डर, रोहिन्टन मिस्त्री, बेन्यामिनहरुले पनि डायस्पोरिक पीडा, सङ्घर्ष र अन्तद्र्वन्द्वमा अस्तित्वको खोजी गर्दछन् ।

अमेरिकीमुस्लिम साहित्यकारहरु मोहजा खाफी, खालिद हुसिनी, असरा नोमानी, समीमा अलीहरु समायोजन र समानुुकूलनको छट्पटी चित्रण गर्दछन् । अफ्रिकन डायस्पोरिक साहित्यमा भने रङ्गभेदी व्यवहारसिर्जित उत्पीडनबाट मुक्ति र सांस्कृतिक पहिचानको खोजी पाइन्छ । एलिस वाकरको ‘द कलर पर्पल’ मा अमेरिका बसोवास गर्ने दिदी बहिनी सिली र निटीको कथायात्रा यसको सटिक दृष्टान्त हो । भारतीय बेलयाती, भारतीय अमेरिकन, अमेरिकन मुस्लिम र अफ्रिकन अमेरिकनहरु संस्कृति, धर्म र रङ्ग सिर्जित मानवीय संवेदनाको चित्रणमार्फत पहिचान र सम्बन्धको अंश (स्पेस) खोजिरहेका छन् । डायस्पोरिक सर्जकहरु प्रमुख चरित्रमार्फत आफ्नै सङ्घर्ष, पीडा र प्रेमलाई पोख्ने गर्दछन् ।

राम लामा ‘अभिनाशी’ को स्मृति संस्मरणहरुमा नेपाली डायस्पोरा संस्कृतिभित्र विकास भएको सहयोग, स्वार्थ, नियति, पीडा र प्रोत्साहनका घटनाहरु यथार्थपरक ढङ्गमा उतारिएका छन् । राम लामाका सिर्जनागर्भ नियतिले मानिस कसरी बर्बाद हुन्छ, स्वार्थले डायस्पोरा कसरी व्यभिचारी हुन्छ भन्नेमा केन्द्रित छ । उनका संस्मरणको उल्लेख भएको अर्को पक्ष नेपालीत्व भुलेर विदेशमा हौसिएको वर्ग पनि छ, मातृभूमि छाडेर पिल्सिएको पीडा र त्यसबाट नेपालीलाई माया गर्ने मनकारिताको ठूलो उचाइ पनि छ । गीता खत्रीका सिर्जनामा राष्ट्रप्रेम, नारी कोमलता र मानवीय संवेदनालाई उठाइएको छ । ‘आमा हुन आमा’ खण्डकाव्य डायस्पोरिक पीडाको चित्रण सुनकेसरीको अपूर्ण जीवनगाथाबाट गरिएको छ । पदम विश्वकर्माको ‘क्वारेन्टाइन’ ले कोरोना भाइरसका कारण क्षेत्रविक्षत परिवारको मनोविज्ञान छ । निरु त्रिपाठीको ‘पेरिस्कानो’ ले अपरिपक्व प्रेम र मेलानकोली प्रस्तुत गरेको छ ।

मातृृभूमिमा रहेर पनि डायस्पोरिक चेतका कैयन सिर्जना भएका छन् । तर स्वयम् डायस्पोराले झै ती समानूभूतिका अन्तरबोधमा रहँदैनन् । नेपाली डायस्पोरा सर्जक नेपाली भावभूमि र पात्रहरुको उपयोग गर्छन्, पात्रहरु पनि प्रेम, पीडा, सङ्घर्ष, सहयोगमा नेपाली भावनामा लफ्रक्क भिजेका छन् । सारमा डायस्पोरा साहित्यले जन्मभूमि र कर्मभूमिबीचको सम्वाद गराउँछ, भूूगोल र भावनाबीच सम्वाद गराउँछ, अन्तरसंस्कृतिको अस्तित्वपूर्ण अन्तर्घुलन खोज्छ र बसुधैव कुुटुम्वकमको बौश्विक मानवमूल्य स्थापनामा जोड दिन्छ ।

डायस्पोरिक साहित्यको प्रमुख पक्ष सांस्कृतिका विषयमा स्टर्ट हल यसका दुुई आयाम उल्लेख गर्दछन्, पहिलो साझा संस्कृति निर्माण र दोस्रो मौलिक पहिचान विस्तार । डायस्पोराहरु अर्काे भूगोल, संस्कृति र शासनमा बासोवास गर्दछन् । यस अर्थमा सांस्कृतिक अन्तरघुलनका साथ स्वत्वको पनि कायम उनीहरुको मनोबैज्ञानिक अभिष्ट हुने गर्दछ । यसर्थ डायस्पोरिक साहित्यले मौलिक (उद्भव भूमिको) मूल्य र नयाँ (कर्मभूूमिको) मूल्यबीच सन्तुलनको खोजी गर्छ, नपाउँदा सङ्घर्षको चेतना अभिव्यञ्जन गर्दछ । अर्को अर्थमा विविधताको पहिचान, मूल्यवोध, सम्मान र हार्दिकताको स्थापना गर्न खोज्छ । एकअर्काको अस्तित्वको लागि पनि डायस्पोरा र संस्थापन अन्तरसम्बन्धित छन् भन्ने निष्कर्ष निकाल्दछ । साथै सांस्कृतिक समाहितीकरण भएमा, सांस्कृतिक पहिचान गुमाउन पुुगेमा सम्पत्ति र समृद्धिले कुनै पूर्णता दिदैन भन्ने देखाउँछ । त्यसैले ढायस्पोराको मानिस भौतिक समृद्धि र मानसिक छटपटावटबीच सन्तुलन खोज्छ । बाह्य भूगोल मातृभूमिभन्दा भिन्न छ, त्यही फरकपनमा स्वत्वको स्थापना डायस्पोरिक साहित्यको कर्म हो ।

नेपाली डायस्पोरिक साहित्य
माथि उल्लेख भए झै नेपाल बाहिर रहेका बासिन्दाबाट नेपाली मन, मुटु र यसका अनुुभूति सँगालिएका सिर्जना नै नेपाली डायस्पोरिक साहित्य हो । नेपाली डायस्पोरिक साहित्यलाई दुुई प्रकारका छन्, सामान्य साहित्य सिर्जना र डायस्पोरिक भावना भएका साहित्य सिर्जना । मानिसको भ्रमणप्रियता, बाह्य विश्वलाई जान्ने–बुुझ्ने चाहना, विश्वव्यापी अन्तरनिर्भरताको प्रक्रियाका कारण नेपाली डायस्पोरा विस्तार भएको छ । यसलाई नेपाली मनमुटुको विस्तार भने पनि हुन्छ ।

सुविधा र अवसरको खोजी, व्यापार–व्यवसाय, रोजगारी र जीवन निर्वाहका अतिरिक्त अवसरका खोजीका कारण नेपालीहरु भारत, सिङ्गापुर, ब्रुनाइ, बर्मा, भुटान, बेलायतका मुलुकहरुमा जाने गर्दथे । प्रथम तथा दोस्रो युद्धपछि यो क्रम अझै विस्तार भयो । अगिल्लो शताव्दीको मध्यावधिपछि विश्वमञ्चमा नेपालको उपस्थिति विस्तार भयो, बाह्य मुलुकहरुसँगका सम्बन्ध संरचना बदलिए र नेपालीहरु विश्वव्यापी रुपमा फैलिन थाले । भलैकि बाह्य मुलुकमा जाने पुस्ताको समयक्रमको फरकले पनि डायस्पोरा स्वरुपमा भिन्नता पाइन्छ । मलेशिया, फिजी, सिङ्गापुर, बेलायत, थाइल्यण्डमा बसोबास गर्ने कतिपय नेपालीहरुमा मातृभाषा र संस्कृति भुल्ने क्रममा छन् । यस शताव्दीभन्दा अघि अष्टे«लिया, अमेरिका, युरोपमा वसाइँ सरेका नेपालीहरुका दास्रो–तेस्रो पुस्ताले नेपाली भाषा विर्सेका छन् र बसोबास स्थानकै भाषा, संस्कृति, विवाह–व्यवहार अपनाउन बाध्य छन् । संस्कृति र व्यवहार यौगिक बनेको छ । यस अर्थमा भाषिक, सांस्कृतिक र शैलीगत समाहीतीकरण देखिएको छ । आफ्नै पुस्तामा बसाइँ सरेकाहरु केही बर्ष समायोजित र समानुकूलित हुने क्रममा रहेर विस्तारै सङ्क्रमणको छटपटाईमा पर्दछन् । त्यही जन्मे–हुर्केकाहरुमा पनि पहिचान, अपनत्व र अस्तित्वको समस्या देखिन सक्छ । मनोबैज्ञानिक रुपमा पनि मौलिक संस्कार, संस्कृति र अस्तित्व छटपटाएको हुन्छ । त्यसपछि व्यक्ति भाषा, साहित्य र संस्कृतिमार्फत स्वत्वको स्थापना एवम् विस्तारमा क्रियाशील हुने प्रवृत्ति देखिन थाल्छ । कर्मभूमि (एलिएन वा होष्टल्याण्ड) र उद््भव भूमि (होमल्याण्ड) मा भावनात्मक एकत्वीकरण हुँदैन, मनोवैज्ञानिक अभाव रहन्छ । यसैका कारण पहिचान र अस्तित्वको खोजीको यात्रा शुरु हुन्छ । डायस्पोरिक साहित्य त्यसैको उपज हो ।

जहाँ रहेपनि नेपाली मनले नेपाल र नेपालीको विषय, राष्ट्रिय र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौं नेपालीहरु नेपाल बाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता नबदलिदैन । त्यसैले नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको छ । आधुनिक समयमा डायस्पोरा सद्भावना दूतका रुपमा जनकुटनीतिलाई समेत मूर्तरुप दिइरहेका छन् । त्यसैले यसलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ ।

नेपाली डायस्पोरा साहित्यको विकासक्रमतर्फ विचार गरौं । विभिन्न मुलुकमा लाहुरे हुने क्रमसँगै नेपाली भाका, भाषा र साहित्यमार्फत नेपाली पहिचान विस्तार हुन थाल्यो । ‘बर्मा गए कर्म’ सँगै भन्ने नेपाली कहावतले विदेशिएका नेपालीको दुखपीडालाई श्रुतिमै सँगाल्दै आएको देखिन्छ । डायस्पोरा साहित्यको लिखित इतिहास भने रणशुर लिम्बूको ‘बर्माको सम्झना’ (संस्मरण आलेख) बाट शुरु हुन्छ । त्यसपछि मास्टर मित्रसेन बरालको गीत भजन, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ र ‘ब्रह्मपुत्रको छेउछाउ’, रुपनारायण सिंहको ‘भ्रमर’ (उपन्यास), इन्द्रबहादुर राईको ‘जयामाया आफूमात्र लिखापानी आइपुुगी’ (कथा), लैनसिंह बाङ्लेलको ‘मुलुक बाहिर’, बिक्रमबीर थापाको ‘विगतको परिवेशभित्र’, गोविन्दराज भट्टराईको ‘मुुग्लान’, कृष्ण धारवासीको ‘शरणार्थी’ लगायतक कृतिले विदेशमा नेपालीहरुले भोगेसहेका पीडाका अनुुभूतिहरु, त्यसबाट खोजिएको मुक्तिको आन्तरिक वा औपचारिक सङ्घर्षका बिम्बहरु उतारिएका छन् । दोस्रो विश्वयुद्धको आसपासका विषयबस्तुहरु विभिन्न विधामा (विशेषतः आख्यान र संस्मरण) समेटिएका छन् ।

पछिल्लो समय नेपालीहरुको भ्रमणप्रियता, सीप र शिक्षामा भएको विकास र अध्ययन एवम् अवसरको खोजी गर्ने प्रवृत्तिले नियात्रा, खोज, निवन्ध र आख्यानहरु प्रकाशन हुँदै आएका छन् । ती कतिपय डायस्पोरिक संस्कृति र कतिप सामान्य भावभूमिमा रहेका छन् । तर डायस्पोरिक साहित्य डायस्पोराबाट मात्र लेखिन्छ कि उनीहरुका अनुुभूति मातृभूूमिबाट पनि लेखिन्छ भन्ने निक्र्यौल भैसकेको छैन । सामान्य बुुझाइमा डायस्पोराबाट सिर्जना भएको साहित्य मात्र डोयस्पोरिक साहित्य हो भन्ने निस्कर्ष निकाल्न सकिन्छ । त्यस्तै मत्यैक्यता नभएको विषय डायस्पोरिक चेत पनि चाहिन्छ कि डायास्पोराबाट सिर्जना मात्र भए हुन्छ भन्नेमा देखिएको छ । यसमा पनि सामान्य निष्कर्ष डायस्पोरिकचेत सहितको साहित्य भन्ने निष्कर्ष निकाल्नु ठीक होला । तर अधिकांशजस्तो नेपाली डायस्पोरा सर्जकहरु सामान्य साहित्यका सर्जक हुन् ।

नेपाली डायस्पोरिक साहित्य अनौपचारिक (लूज फोरम) रुपमा व्यक्तिगत तवरबाट प्रकाशन–प्रसार हुँदै आएकोमा १९६० मा बेलायतमा स्थापित यती नेपाली एशोसिएसन स्थापना पछि संस्थागत अभियानमा क्रियाशील हुन थाल्यो । १९९१ मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापनापछि विभिन्न महादेश, देश, प्रान्त तथा प्रदेशहरुमा यसको सञ्जाल विकास भएपछि डायस्पोरामा रहेका नेपालीहरु साहित्य, कला र संस्कृति विकास एवम् आपसी सम्बन्ध सम्वद्र्धन, प्रवद्र्धन र प्रोत्साहनको अभियानले व्यापकता पाएको छ । यसले सर्जकहरुको साझा मञ्चका रुपमा काम गरिहरेको छ । बिभिन्न मुलुकमा साहित्य संस्थाहरु खुल्ने र क्रियाशील हुने क्रम पनि निरन्तर छ । प्रकाशनको छापा संस्कृति र भौतिक उपस्थितिलाई डिजिटल प्रकाशन र भर्चुएल अन्तरक्रियाले उछिन्दै गएपछि साहित्य, कला र संस्कृति विस्तारका अतिरिक्त अवसरहरु आक्रामक रुपमा विस्तारित एवम् परिचालित छन् । यी संघसंस्था, मञ्च, प्रक्रियाको सक्रियताले नेपाली भाषा, साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुु¥याउने, मौलिकता र पहिचान विस्तार गर्ने कार्यहरु हुन थालेका छन् ।

नेपाली डायस्पोरा साहित्यको प्रमुख विशेषता
डायस्पोराको प्रमुख आशय आपसी सम्बन्ध सवलीकरण र पहिचान विस्तार हो । डायस्पोरा साहित्य त्यसभत्रको सिर्जनात्मक अभियान हो । त्यसैले नेपाललाई मनमुटु र मस्तिस्कमा राखेर साहित्य सिर्जना भैरहेको छ । विश्वभरि छरिएर रहेका र डायस्पोरा भावनामा आवद्ध भएका नेपाली मनमुटुुबाट सिर्जित साहित्यका सामान्य र विशिष्ट विशेषता रहेका छन् । राष्ट्रप्रेम डायस्पोरिक लेखनीको पहिलो चरित्र हो, यसैबाट डायस्पोरा साहित्य सिर्जनाको आधारभूमि निर्माण भएको थियो । अर्को विशेषतामा उद्भवभूमि छोड्नुको पीडा र विरह व्यथा, संस्मरण जस्ता नोष्टल्जिया रहेको छ । निर्वासनका सङ्घर्ष र समानूकलनका समस्याहरु पनि सिर्जनामा देखिने अर्को भावभूमि हो । डायस्पोरिक साहित्यको साझा विषय पहिचानको खोजीबाट नेपाली डायस्पोरा साहित्य अपवादमा छैन । होष्टल्याण्डमा सीमान्तीकरणको पीडा पनि देखिएको छ । सानो संस्कृति र पहिचान ठूलो संस्कृतिमा समाहीतीकरण हुँदा मानिसहरु छटपटाउछन् । साझा मूल्य र मौकिलताको खोजी गर्छन् । यो प्रवृत्ति लेखनीमा देखिनु स्वाभाविक हो ।

तर हीनताबोधको प्रभाव पनि देखिन्छ । यदाकदा देखिने नकारात्मकता र भ्रामकता चिर्न डायस्पोरा सिर्जना केन्द्रित हुनुपर्ने आवश्यकता छ । उद्भवभूमि (मातृभूमि) त आमा नै हो, कर्मभूमि आमा नभएपनि आमा जत्तिकै हो । यो सन्तुलित भावना सिर्जनामा देखिनु पर्दछ । नेपाल बाहिरका नेपाली मनले जहिले पनि, जुन अवस्थामा पनि नेपालको समृद्धि र नेपाली पहिचानमा शव्दबाट, कर्मबाट, सम्बन्धबाट क्रियाशीलता देखाउनु डायस्पोरिक चेतना हो, जसबाट डायस्पोराका सर्जकहरु कत्तिपनि विचलित हुनुुहुँदैन । नेपाली डायस्पोरा सङ्कीर्णता, आस्था र स्वार्थमा विभाजित छ, उपेन्द्र महतो, जिवा लामिछाने नेतृत्व समयको डायस्पोरा छैन । डायस्पोरिक साहित्य त्यो विभाजन र स्वार्थसङ्कीर्णता मेट्ने सूत्र बन्नुु पर्छ । किनकी साहित्य पवित्र मनको उत्पादन हो, जसले साझा उपयोगिता मात्र सिर्जना गर्दछ । साहित्य विभाजक नभै आवद्धताको सूत्र हो, त्यो राष्ट्रिय परिवेशमा होस कि डायस्पोरिक परिवेशमा नै किन नहोस् । साथै दवे–दवाइएका भावनाको उदात्तीकरण यसमा हुनुु पर्दछ ।

नेपाली डायस्पोरिक साहित्यका अरु दुुई जिम्मेवारी क्षेत्रहरु छाँया परेका छन् । पहिलो नेपाली विषयबस्तु र विशिष्टता समेटेर विभिन्न भाषामा साहित्य सिर्जना गर्ने कामले त्यति प्राथमिकता पाएको छैन । डायस्पोराको साहित्यिक अभियान नेपाली भाषाबाट पनि माथि उठ्नुपर्छ तर भाषिक माध्यम परिवर्तन गरिदैमा स्थानीय रङ्गलाई भने भुल्नु हुन्न । दोस्रो नेपाली साहित्यका विशिष्ट सिर्जनाहरुको अन्तराष्ट्रियकरण गर्ने कामले पनि कार्यसूची पाएको छैन । मुुना मदन, शाकुन्तल, सुम्निामा, शीरिषको फूल, चपाइएका अनुहार, लक्ष्मी निवन्ध सङ्ग्रह, एव्स्ट्र्याक्ट चिन्तन प्याज लगायत विशिष्ट सिर्जनाहरु विभिन्न भाषामा प्रकाशन गर्ने अभियान हुनुपर्दछ । किनकी डायस्पोरिक संस्कृति डायस्पोरामा रहेका व्यक्तिको सिर्जना प्रकाशन–प्रोत्साहनमात्र होइन, उद्भवभूमिको पहिचान विस्तार झनै हो ।

उपसंहार
नेपाली डायस्पोरिक साहित्यले विस्तारको चरण पार गर्दैछ । विस्तारको चरणमा प्रोत्साहन, अवद्धीकरण र सामmा भावना विकासले प्राथमिका पाउछ भने त्यसपछि गुणस्तर विस्तारको चरण शुरु हुन्छ । विस्तारको चरणको जगमा उभिएर विधागत, भाषागत र देशगत विविधीकरण गरिएर नै अभियानले संस्थागत रुप पाउछ । नेपाली डायस्पोरिक साहित्य अहिले त्यसैको प्रतीक्षामा छ ।

मैनाली निवास, क्षितिज मार्ग
शङ्खमूल, काठमाडौं ।