अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

मानव जीवन र मार्गदर्शन

गोविन्दप्रसाद घिमिरे २०८० असार २४ गते १०:१८ मा प्रकाशित

हालसम्म पत्ता लागेका तथ्य र प्रमाणहरूलाई केलाउँदा यस ब्रह्माण्डमा जीवनको अस्तित्व भेटिएको ठाउँ भनेको पृथ्वी मात्रै हो । पृथ्वीको उत्पत्ति भएको पनि करोडौँ वर्ष पछि मात्र यहाँ जीवको अस्तित्व सम्भव भयो । त्यसपछि पनि निकै लामो समयको अन्तरालमा मानिसले आँफूलाई सर्वश्रेष्ठ प्राणीमा स्थापित गर्दै यस ब्रह्माण्ड आफ्नो अस्तित्व अगाडि बढाइरहेको अहिलेको यथार्थ हो ।

मानिसले सभ्यता र संस्कृति साथै विज्ञान र प्रविधिका क्षेत्रहरूमा चमत्कारिक विकास गर्दै सम्पूर्ण प्राणी जगतमा आफ्नो श्रेष्ठतालाई प्रमाणित गरिसकेको छ । मानिसको विद्यमान बुद्धिमता र तार्किकतासँग कुनै पनि प्राणीको तुलना हुन नसक्दा मानिस र अन्य प्राणीको बिच स्पष्ट भिन्नता देखिन्छ । यसमा कसैको दुई मत रहेको छैन ।

अब एक क्षण विचार गरौँ- मानिस र अन्य प्राणीको बिचमा साँच्चै त्यस्तो के चीज छ जसले उनीहरूलाई वास्तवमै भिन्न बनायो । हुन त यस पृथ्वीका मानिसहरूलाई मात्र हेर्‍यो भने पनि उनीहरूमा भिन्नताहरू नपाइएको हैन । मानिसहरूले खाने वा लगाउने कुराहरू, बोल्ने भाषा, उनीहरूका संस्कार, संस्कृति, धर्म, राष्ट्रियता लगायत जीवन शैली, विचार, सिद्धान्त, आस्था, विश्वास आदि कुराहरूमा असंख्य विविधताहरू रहेका छन् । र यति हुँदा हुँदै पनि आखिर कसरी उनीहरू एउटै वर्ग मानिस अन्तर्गत सूचिकृत भए र प्राणी जगतमा विशिष्ट पहिचान बनाए ?

एउटा सामान्य तर्क हेरौँ । तमाम प्राणी मध्य मानिस बुद्धि भएको वा सरल भाषामा बाठो प्राणी हो । मानिसले अन्य प्राणीहरूको तुलनामा विशेष प्रकारको जुक्ती र तर्कहरूको प्रयोग गर्न सक्छ । भाषाको उपयोग गर्दै गीत, सङ्गीत र कलाको सृजना पनि गर्न सक्छ । अझ भनौँ वैज्ञानिक आविष्कारहरू गर्दै सबै प्राणीहरूलाई आफ्नो वशमा पार्न सकेको छ ।त्यसैले मानिस अरू भन्दा भिन्न छ । विशिष्ट छ । तर यति मात्र तर्कका आधारमा मानिसलाई अरू प्राणी भन्दा फरक देख्नु अपूर्ण र असत्य हुन्छ । किनभने पृथ्वीमा अरू पनि यस्ता प्राणीहरू छन् जसले सानो तिनो बौद्धिक, तार्किक र सिर्जनात्मक काम गर्न सक्छन् । सामान्य उदाहरणको लागि चिम्पाञ्जी, बाँदर, कुकुर, सुँगा, परेवा, हात्ती आदि प्राणीहरूका क्रियाकलापहरू हेरौँ । यस्ता कतिपय प्राणीहरूले सीमित क्षेत्रमा नै किन नहोस् मानिसले भन्दा राम्रो क्षमता देखाउँछन् र मानिसलाई सहायता पनि गर्दछन् ।

अर्को एउटा उल्लेखनीय तर्क हुन सक्छ की- मानिस भावनात्मक वा संवेगात्मक प्राणी हो । साथै सामाजिक प्राणी पनि हो । अर्थात् मानिसले दया, माया, करुणा, हर्ष, विष्मात, घृणा, डर, लोभ आदि संवेगहरू प्रकट गर्न सक्छ । र समूहमा बस्छ । यसो भन्दै गर्दा एक पटक हाम्रो वरपरका अरू प्राणीहरूलाई पनि नियालौँ । यसपछि त हामीलाई यो तर्क झनै फितलो लाग्छ किनकि हामीले देखेकै छौ- प्राय प्राय प्राणीहरूले आफ्नो सन्तानको माया गरेकै हुन्छ । आफ्नो मिल्ने वर्गको समूह बनाएर बसेकै हुन्छ ।

अब प्रश्न उठ्छ, मानिसमा मात्र त्यस्तो के विषय छ जसले उसलाई कुनै पनि प्राणी भन्दा भिन्न र विशिष्ट बनायो र सर्वश्रेष्ठ प्राणीको उपाधि दिलायो ? विवेक । हो, विवेक नै एक मात्र चीज हो जसको कारण मानिस वास्तवमै मानिस भएको हो । मानिसबाट विवेकलाई अलग्याइदियौँ भने अन्य प्राणी र मानिसको बिच रत्ती पनि फरक देखिँदैन ।

मानिस एक विवेकशील प्राणी हो भनेर त हामीले सुन्दै, पढ्दै आएको कुरा नै हो । कतिपय विषय र घटनामा मानिसले विवेक गुमायो भनेका प्रसङ्ग पनि सुनेकै छौँ । आखिर विवेक के हो ? आफूलाई सर्वश्रेष्ठ प्राणी बनाउने विवेक नै मानिसले किन गुमाउँछ ?

विवेक भनेको निकै अमूर्त विषय हो । यो एउटा यस्तो विशेष र सर्वोत्कृष्ट चेतनाको रूप हो जसको माध्यमबाट कुनै पनि कुराको सही सत्यापन र न्याय निरूपण गर्ने क्षमता मानिसलाई प्राप्त हुन्छ ।यसले मानिसलाई आफ्नो कर्तव्यको बोध गराउँछ। विवेकले मानिसलाई एकातर्फ नैतिकवान् र चरित्रवान् बनाउँछ भने अर्कोतर्फ मानव उचित कर्म गर्न प्रेरणा र मार्गदर्शन पनि प्रदान गर्दछ । यसबाट मानिसलाई आफ्नो गन्तव्य, लक्ष्य र उद्देश्यको बारेमा स्पष्ट हुन सहयोग पुग्दछ ।विवेक मानिसको तेस्रो नेत्र पनि हो । यो एक प्रकारको दैविक चेतना र अन्तर्दृष्टि हो जसको माध्यमबाट मानिसले अरूको मनोभावना बुझ्न सक्छ । अरूको दुःख वा पिडाको अनुभूति गर्न सक्छ । अर्को शब्दमा भन्नुपर्दा अरूको खुसीमा रमाउन सक्छ । अन्तरात्माको दर्शन गर्न सक्छ र ईश्वरीय आनन्द प्राप्त गर्दछ ।

विवेकको अर्थको गहिराइसम्म पुग्दा मानिसलाई आफ्नो वास्तविक परिचयको ज्ञान हुन्छ । उसलाई आफ्नो वास्तविक क्षमताको आभास हुन्छ । कर्तव्यको बोध हुन्छ । सत्य र असत्यको स्पष्ट पहिचान हुन्छ । साथै मानिसले यस विशाल ब्रह्माण्ड आफ्नो स्वरूप र अवस्थितिको दर्शन पाउँछ । मानिस सॅाचो अर्थमा मानिस बन्दछ । विवेक सम्मत कार्यबाट नै सार्थक जीवन व्यतीत गरेर मानिस आफ्नो अन्तिम गन्तव्यसम्म पुग्न सफल हुन्छ ।


————
कोलोराडो, अमेरिका ।

प्रतिक्रिया