तिम्रो अलकापुरीमा म रोईरहेछु भानु — सुषमा देवकोटा

तिमीलाई सम्झनको लागि
छुट्याईएको एक दिन
मैले के- के गर्नु, पथ्र्यो
मेसो नपाएपछि
तिम्रा अधुरा सपना र
तिमीले बनाएका बाटाहरु
बटुवा नपाएर,
शून्य प्राय बनिरहेको बेला
म पीरहरुको चिठ्ठी लेखिरहेछु तिमीलाई
यो कान्तीपुरी नगरीबाट
 
 
भानु… तिम्रा घाँसिहरु
मुग्लान जान थालेपछी
आजकाल भेटिन्न चौतारी छेउमा कुवा र
मेटिन्न
रोपारेहरुको पानी प्यास
तोतेबोलीमै अङ्ग्रेजी लवज मिसिएपछी
तिम्रा सजिला रामायण
अप्ठेरा बनेका छन् स्कुले नानिहरुलाई
 
 
हरेक दिन तिम्रो आकृतिको 
ढुंगे सालिकमा 
धुँवा र धुलोहरुको 
ताण्डव नृत्य हेरिरहेछु म
रानीपोखरी डिलमा उभिएर
यहाँ साँझहरुमा कर्फयु लाग्छ
निस्फिक्री घुम्दैनन् छोरीबेटी
अखबारमा छापीएर आउँछन्
खेल्न गएका नानीहरूका 
बलात्कृत तस्बिर
अब फुल्दैनन् गुनकेशरी
बैशालु आँखाहरुमा र
सजिन्नन् नेवार्नी युवतीका चुल्ठाहरुमा
 
 
घर भुलेर पराया बनेको 
सडक बालक
बैशमै उजाडीएको
सदुवा शिर
बृद्धाश्रममा चुहिएका
दुखिया आमाहरुका आशु
रेगिस्तानबाट बाकसमा फर्किएका
तन्नेरी युवा युवती
आफ्नै भाइले काटेर
टुक्रा टुक्रा पारेका
दाजुहरुका निश्प्राण अङ्ग र
रगतमा डुबेको यो ठाउँ
नरक भन्दा पनि 
कहाली लाग्दो बनेपछी 
तिम्रो अलकापुरी
तिमीसँगै अस्ताएको शोकमा
म अध्यारो सहरमा सुकसुकाईरहेछु भानुभक्त ।।

Published on July 12, 2017 at 9:01 pm

Loading...

यसमा तपाइको मत