अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

यसरी म बेश्या बनें

सुषमा देवकोटा २०७४ जेठ १३ गते १०:१७ मा प्रकाशित

डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएँ । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोही मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘ ?

कहीँ देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाईँ’ ? भनेर सोध्न पनि अप्ठ्यारो लाग्दै थियो ।

‘म सपना । चिनिनौ के हो ?’ उसले हाँस्दै भनी ।

एक छिन त म हेरेको हेराई भएँ । उसको शिर देखि पाउ सम्म हेर्दै भनेँ- ‘कस्तो भएको तिमी चिन्नै नसकिने ।’

उ फेरी हाँस्दै बोली -‘नराम्री भएको छु अरू सबै उस्तै हो ।’

त्यही हाँसो हो उसको तर खै आज मलाई उसको अनुहारमा पटक्कै नसुहाए झैँ लाग्यो । ‘कहाँ बस्छौ सपना ?’

‘यहीँ नजिकै एउटा नामको मात्र कोठा छ, तिमीलाई फुर्सद छ भने चिया बनाएर खुवाउँछु’ ।

‘हुन्छ हिँड’ । मलाई उसको कोठामा जान मन लाग्यो ।

उ भेटिनुमा म खुसी थिएँ या दुखी आफैँ अलमलमा थिएँ । म उसको पछि पछि लाग्दै थिएँ । तर मलाई कोही अनजान व्यक्ति लाग्दै थिई सपना । अर्को दिन भेटौंला भन्न सक्थेँ त्यो पनि भनिन । बाटोमा उ म सँग गफ्फीरहि । मैले आधा आधी मात्र सुनेँ होला ।

‘तिमी अझैं पनि उस्तै रहेछौ है उषा’ ? उ फेरी हाँसी ।

उस्तै भन्नाले ?

अरूकै कुरा मात्र सुन्ने, आफू नबोल्ने ।

उसका गाडेका आँखा हेर्दै मुस्कुराएं म ।

उसले प्रशंसा गरी -तिम्रो हाँसो खुब राम्रो छ ।

बागबजारको गल्ली भित्रको पुरानो घरमा छिर्दै बोली सपना, ‘मेरो जिन्दगी र यो घर उस्तै छ सबैतिर अँध्यारो’ । भुईंतलामा रहेको कोठाको ढोका खोल्दै फेरी थपी उसले -धन्न लाइन भएको बेलामा परेऊ तिमी, उसले कोठाको बत्ती बाली ।

एउटा सानो खाट, भुईँमै राखिएको ग्याँस चुलो, कोठाको आधा भाग मात्र ढाकेको प्लास्टिक कार्पेट, जुन ठाउँ ठाउँमा च्यात्तीएको थियो । अस्तब्यस्त लुगाहरू छेउको सानो टेवलमाथी थुपारिएको, सपनाको कोठा, सपनाको अनुहार जस्तै विरक्त लाग्दो थियो ।

म खाटमा बसेँ, सपना चिया बनाउँदै सोधी,’पढ्दै छौ होला है तिमी ‘?

अँ । मैले छोटो उत्तर दिएँ ।

‘के गर्नु मैले पनि पढेको भए केही हुन्थ्यो की’ ।

सपनाले यस अघि कहिल्यैं पढाइको कुरा गर्दैनथी, जसरी पनि पैसा कमाउने हो, पढेर समय के खेर फ्याक्नु भन्ने सपना आज नपढेको प्रसङ्ग जिन्दगी सँग जोड्दै छे ।

उसले चियाको कप मलाई दिँदै भनी –बोल्न के भएको तिमी सधैँ उस्तै लाटी’ ।

५ वर्ष पहिले राखिएको मेरो लाटी नाम आज फेरी उसले सम्बोधन गर्दा नजानिँदो खुसी लाग्यो मलाई ।
यो लाटी सम्बोधनले कसैको याद आयो, झट्ट सोधेँ, -अनिल खै त ?

‘तिमी त्यसको कुरै नगर, सब त्यसकै कारणले यस्तो भयो । सालेले मेरो जिन्दगी बबार्त बनायो’ । उ रिसाएझैँ गरी ।

उ विदेशबाट आएको छैन ?

‘खै कता मर्‍यो, तिमीलाई मेरो जिन्दगीको रामकहानी थाहै छैन उषा । देखेनौ मेरो अवस्था, मेरो हालत, यो कोठाको गति ? उसको आँखाभरि आँसु भयो ।

म के भनौँ भनौँ को स्थितिमा अल्मलीएं फेरी, उसले जिन्दगीको आधा आधी बिरत्तता कोठामा छिर्नु अघिनै सुनाइसकेकी थिई, अस्पस्ट भाषामा ।

एक छिन कोठाको वातावरण मौन भयो, मेरो स्वभाव अरुझैं के भयो भन न प्लीज भन्ने खालको छैन, यस्ता कुराले म भित्र आफ्नै प्रश्न र उत्तर हुन्छन् । त्यो सपनालाई थाहा छ । एक छिन पछि उ आँफैं बोली-
मैले तिमीलाई साह्रै सम्झेको थिएँ, एक मन त सोचेको थिएँ, तिमी भेट हुन्नौ होला । संजोकले आज तिमी भेटियौ, तर अचम्म तिमीले मलाई चिनिनौ । मलाई यो सहरमा कसैले नचिने हुन्थ्यो जस्तो लाग्छ, आज तिमीलाई देखेँ बोल्न मन लाग्यो ।

सपना मलाई हेर्दै भन्दै थिई यी कुरा । दुखका नमिठा कुरा उसले यति मिठा शब्द प्रयोग गरेर बोली । सधैँ हाँस्नु पर्ने, ठट्टा गर्नुपर्ने, राम्री हुनुपर्ने, जीस्कीरहनु पर्ने सपना आज अर्कै भइछ ।

तिम्रो र मेरो अन्तिम पटक भेट हुँदा म डान्सबारमा काम गर्थेँ है ? उसले सोधी ।

अँ, अहिले पनि काम गर्दै छौ त्यहाँ ?

जमानामै छोडेको, अनिलले पैसा नपठाएर मैले त्यो काम गरेको थिएँ । तिमीलाई भेटेको २ महिना पछि अनिल दुबईबाट फिर्ता आयो, काम गर्न गाह्रो भयो भन्दै । मेरो इज्जतको ख्याल नगरी तैँले डान्स बारमा काम गर्न थालिस् भन्दै झगडा गर्न थाल्यो आउन साथ । उसले सोचेन काठमाडौँको ठाउँमा कोठा भाडा तिर्न र खानको लागि कति मुस्किल भयो होला र यो काम गरी होली बिचरा भनेर । कमाउन गएको लोग्ने विदेशबाट रित्तो हात फर्केको थियो ।

छोड्दे यो काम म जसरी पनि पाल्छु भन्न थाल्यो । कोठा कसरी चल्छ अनिल अब भनेर सोध्यो भने तँलाई वेश्या हुन मन लागेको भन्दै उल्टो उल्टो कुरा गर्न सुरु गर्थ्यो । राति राती रक्सी खाएर आउँथ्यो उ, चिनेका मान्छे सँग २००– ५०० जति पाउँछ, त्यति सापट माग्दै हिँड्न थाल्यो । जति बेला झगडा, बोल्दा बोल्दै उ पिट्न आईपुग्थ्यो । मैले सोचेँ केटा मान्छेको आफ्नै इज्जत हुन्छ, मैले डान्सबारमा काम गर्दा उसलाई अरूले हेपेर बोलेर पो उसले यस्तो गरेको हो की । यही सोचेर मैले काम छोडेँ ।

केही कुरा गर्न खोज्योकी  उ निहुँ खोज्न थाल्थ्यो- हेपेको तिमीले मलाई कमाउन सकेन भनेर ?

यसरी नै ३ महिना बित्यो, मैले सर सापट गरेर कोठा चलाएँ । एक दिन अनिलले भन्यो सपना म अर्को कन्ट्री एप्लाई गर्छु पैसा खोज ।
कहाँ खोज्नु मैले रु तिमीलाई दुबई पढाउँदा दाइ भाउजू सँग रोएर मागेको मैले । ज्वाईले विदेशबाट पठाउन साथ तिर्छु भनेर । अब अन्त कसले दिन्छ मलाई ?

तिमी त दुनियाँ लाई चिन्छौ नि । माग्न सबै सँग अलि अलि , म तिर्दीन्छु यार । उ फेरी झोक्कीयो ।

के गर्नु उ नेपाल बसे यही हो ताल । यही सोचेर मैले चिनेजति सबै सँग पैसा मागेँ ब्याज तिर्ने सर्तमा । १ लाख २५ हजार जम्मा भयो । उ मलेसिया जाने भयो फेरी । धेरै कुर्नु परेन एप्लाई गरेको २ महिनामानै भिसा लाग्यो । मलेसिया पुगेर फोन गर्‍यो म पुगेँ भनेर ।

उ गएको १५ दिन पछि थाहा भयो म प्रेग्नेन्ट (गर्भवती) रहेछु । कैले अनिलले फोन गर्ला र यो कुरा सुनाउँला भनेर खुब हतारो लागेको थियो । उसले फोन गरेन । मैले अनिललाई त्यही नम्बरमा फोन गरेँ, जुन नम्बरबाट उसले मलेसिया पुगेर मलाई फोन गरेको थियो ।

एक जना केटाले फोन उठायो । मैले अनिललाई सोध्दा उसले अनिल ऐले म सँग बस्दैन, भेटेँ भनेँ फोन गर्न भनिदिउँला भनेर फोन राख्यो । ३ महिना बित्यो, अनिलको फोन आएन । एक दिन साँझ अनिलले फोन गर्‍यो, फोन उठाउन साथ रुन थालेँ म । उसले किन रोएको भनेर सोध्नुको साटो रुनाधुना छोड के छ अरू सुनाऊ भन्यो रूखो पारामा ।

तिमीले के गरेको अनिल, ऋण खोजेर मलेसिया पठाएँ, यहाँ सबै जना पैसा माग्दै छन्, एक कल फोन गर्दैनौ । सन्चै छौ की के भयो भनेर मन आतिन्छ । यति भन्दै थिएँ
‘हेर बढी नाटक नगर कत्तीन माया गर्ने जस्तो’ भन्यो फेरी ।

के भएको छ अनिल तिमीलाई ?  यहाँ म प्रेग्नेन्ट छु, ४ महिना हुन लाग्यो । तिमीलाई सुनाउन कति रहर थियो । मैले रुँदै भनेँ ।

के रे ? हावा कुरा नगर है सपना ।

के हावा कुरा बच्चा हुँदैछ हाम्रो ।

ओई तँ मलाई फँसाउन आएको रैछेस् होइन ? म नहुँदा डान्सबारमा काम गरिस्, कति जना सँग मस्ती मारिस् । अब मलाई भिराउन खोजेको त्यो बच्चा रु हेर् मैले यही भन्न फोन गरेको थिएँ । म तँलाई माया सायाँ के गर्दिन,तँ जस्तो केटी मेरो जीवनमा बति आए कति गए, उसले हाँस्दै भन्यो ।

मलाई यी सबै कुरा पत्याउन गाह्रो भईरहेथ्यो । अनिल रक्सी खाएको छौ के हो रु मैले नरम हुँदै भने ।

के रक्सी खानु, मैले यही भन्न फोन गरेको थिएँ ल राख्दीएं भन्दै फोन काट्यो ।

म न त रुन सकेँ न हाँस्न । धर्ती नै भासिएझैँ भयो । फोन डाएल गरेँ अनिललाई १३ पटक फोन काट्यो र एउटा म्यासेज पठायो । सपना प्लीज जे भयो बिर्सिदेउ,मेरो अर्कै गलफ्रेन्ड छ, म उसलाई छोड्न सक्दिन । मलाई फोन नगर ।

मैले राति सम्म फोन गरिरहें । उसले फोन उढायो बल्लबल्ल र भन्यो तँ लाई राम्रो मुखले भन्दा हुँदैन की के हो । यतिका समय मैले वास्ता नगरे पछि आफै बुझ्नु पर्ने हो । आफ्नो सुर गर तँ । त्यसछि उसको मोबाइल अफ भयो ।

कोठा भाडा नतिरेको २ महिना भएको थियो । सामान ल्यायाउने पसलको उधारो नतिर्दा बाटो हिँड्न मुस्किल भएको थियो । उसलाई दुबई पठाउँदाको ऋण भाउजूले माग्न थाल्नु भएको थियो । मलेसिया पठाउँदा पैसा दिने हरू अबत पैसा पठाउन थाल्यो होलान् बुढाले भनेर सोध्न थालिसकेका थिए । अनिलले आज के सोचेर मलाई आफ्नो सुर गर् भन्यो । त्यो रात रोएरै कटाएँ ।

अनिलको फोनको बाटो हेरेँ, कतिपटक उसको बन्द भएको मोबाइल खुल्यो की भनेर फोन ट्राई गरेँ । १५ दिन अनिलको फोनको पर्खाई र जिन्दगी सोचेरै बित्यो । अब अनिलको फोन आउन्दैन भन्ने पक्का भयो मलाई । मैले बच्चा फ्याकीदीने सोचेँ ।

एक दिन मेरिस्टोप गएँ पैसा खोजेर । ४ महिना कटेको बच्चा फ्याक्न नमिल्ने कुरा सुनायो डक्टरले । प्राइभेट क्लीनीकमा फाल्छ अरे भन्ने सुनेँ , एक जना आइमाईबाट । त्यहाँ गएको १८ हजार माग्यो । १८ सय जुटाउन नसक्ने अवस्थामा १८ हजार कहाँबाट ल्याउने फर्कीएं तेस्सै ।
कोठामा आउँदा साह्रै भोक लागेको थियो । १५ सय थियो ग्याँस ल्याएर भात पकाएर खाएं । कति दिन भएको थियो राम्रोसँग भात नखाएको । पेटभरि भात खाएर मज्जाले निदाएँ, उ नमिठो हाँसो हाँसी मेरा आँखा रसाए ।

अनि के भयो ?
के हुनु दुख पाउन लेखेको १८ हजार खोन्दा खोज्दै दिन बिते । दुब्लाएको शरीरमा रङ्ग उडेको अनुहार ऐना हेर्न पनि मन लाग्न छोड्यो । मैले कोठा चलाउन नसक्दा काम खोजेँ, कसैले सुझाव दिन्थे यस्तो अवस्थामा काम गर्न हुँदैन, कसैले सोझै छैन काम भन्दै हर्काथे ।
माइतमा गएर दाइ भाउजूलाई यी कुरा सुनाउँदा दाइले यो पटक मेरो घरमा टेकीस अब आईन्दा बाटोमा देखेपनि मलाई नबोलाउनु भनेर हिडें, भाउजू जङगीन थालिन् हेर तिर्लान् नि त भनेर तेत्रो पैसा दिएँ । अझ लाज पचेर मेरो दैलोमा रुन आउने । हामीले त्यो केटासँग बिहे नगर भन्दा हाम्रो कुरा सुन्थ्यौ ?

विकल्प नभएपनि पेटमा भोक लाग्थ्यो, घरबेटी र पसले दीन दिनै ढोको ठक्ठकाउन आईपुग्थे । मनले नराम्रो काम हो भन्ने जान्दा जान्दै पनि मैले ग्राहक खोज्न थालेँ ।  अवस्थाले मजबुर गर्छ जिन्दगीलाई ।
मैले ग्राहक खोज्न थालेँ । बिस्तारै मेरो कोठामा घर बनाउने ज्यामी केटाहरू र ठेकेदार सम्म आउन थाले । ड्राईभर र खलासीको फोन आउन थाल्यो । २०० देखि ५०० सम्म दिन्थे तिनीहरू । कसैले रातभरि सुतेर पनि पैसा दिंदैनथ्ये ।

साह्रै गाह्रो हुन्थ्यो पेट दुखेर,तै पनि आएका मान्छे टाढिन्छन् भनेर उनीसँग कैलेहि गुनासो गरिन । ती मध्य एक जना ड्राईभर मेरो अलिक नजिक भयो । १०००– २००० रुपैयाँ छोडिदिन्थ्यो । भोजपुर तीरको गुरुङ थियो उ ४० वर्ष जतिको ३ वटा छोराछोरीको बाउ ।

गर्भवति हुँदा पोसिलो खाना नखाए, गह्रौँ काम गरे, बच्चा खेर जान्छ, कमजोर हुन्छ भन्ने सुनेको थिएँ तर मैले चाहेर पनि त्यो मेरो बच्चा खेर गएन । जन्मनै लेखेको रहेछ, भाग्यमानी पो छ कि झैँ लाग्थ्यो । यति धेरै दुख पाउँदापनी मैले सन्तान छोरा नै होस भनेर मागिरहें । आफू छोरी हुनुमा घृणा जागेर ।

अहिले पनि सम्झन्छु जब अनिलको प्रेममा थिएँ । अनिल सधैँ जीस्काउथ्यो, हेर है सपना मलाई त छोरी नै चाहिन्छ । मेरो छोरी संसार भरमा सबैभन्दा राम्री हुन्छे,कसैले मेरो छोरीलाई रुवायो भने मेरो पिटाई खान्छ । उसले भनेका ती कुरा मैले भुल्नै पर्ने थियो । जब उसले नै कसैकी छोरीको जिन्दगी नरक बनाइदिएको थियो ।

७ महिना लागेपछि सबै ग्राहक टाढिए, त्यो गुरुङ आइरहन्थ्यो । ८ महिनाको गर्भवति हुँदा पनि मैले उसको त्यास मेटाईरहें । ९ महिनाको आधा आधीमा छोरी जन्मिई । बैगुनी भगवान्ले के के बदला लिए मलाई छोरी नै दिएर छोरी नै जन्मीय पनि हेर्न मन लाग्यो, अनिलकी छोरी अनिल जस्तै लाग्यो खै मलाई त्यस्तै लाग्यो या छोरी त्यस्तै थिई । सुत्केरी खर्च अस्पतालले १ हजार रुपैंया दियो ।

छिमेकी दिदीले अस्पताल लगेकी दिहिन् मलाई । सुत्केरी भएको भोलिपल्ट त्यही हजार रुपैंया तिरेर ट्याक्सीमा कोठा फर्किए । बाँकी बँचेको पैसाले बच्चालाई एक जोर लुगा किनीदिईन ती दिदीले । घर आएँ, दाल र चामल पहिले नै किनेर राखेको थिएँ । त्यो छाक त्यही छिमेकी दिदीले पकाईदिहिन् । ल बैनी जति सक्थेँ गरेँ, मेरो नि बुढो गतिलो छैन, कराउँछ, काममा जानुपर्छ, छोराछोरी हेर्नुपर्यो, फुर्सद हुँदा आउँला भनेर छिमेकी दिदी गइन ।

बेलुका आँफैंले खाना बनाएँ, टाँका लगाएको घाउ सजिलो गरी उठ्न बस्न नमिल्ने, आफै खाना बनाउँथेँ, लुगा धुन्थें, वरपर बस्ने कोही बोल्दैन थिए राम्रो सँग ।

यस्तो अवस्थामा पनि छोरीको मुख हेर्दा सन्तोष मिल्थ्यो । १ महिना पछि त्यो ड्राईभर गुरुङ फेरी आयो । भोकाएको गिद्धले भेटेको सिनो झैँ थिएँ म उसको लागि । छोरी २ महिनाकी लाग्दै थिई, त्यो गुरुङले बिहे गरौँ भन्न लाग्यो । मेरो घरको बुढी बिरामी भएर मरी भन्यो उसले । सयौँ जना सँग शरीर बेचेर छोरी हुर्काउनु भन्दा ठिकै छ यो बच्चाले बाउको नाम पनि पाउँछे । अब मैले सधैँ यसरी जिन्दगी चलाउन सक्दिन जस्तो लागेर त्यही गुरुङ सँग बस्ने निर्णय गरेँ ।

एक पटक बिहे गरेर ठुलो ठक्कर खाएको थिएँ, बिहे गर्ने मन त थिएन, तै पनि गरेँ । विवाह पनि के भन्नु र सँगै बस्न थाले उ सँग । उ मेरी छोरीलाई कैलेहि छुन्थेन, मन चाहन्थ्यो, उ मेरी छोरीलाई काखमा लाओस्, खेलावस्, तर त्यस्तो कैलेहि भएन । उ दिनभर गाडी चलाउँथ्यो राती रक्सी खाएर आउँथ्यो, मैले कैलेहि ठुलो स्वरले पनि बोलिन उ सँग । अनिललाई झैँ रक्सी र भावी जिन्दगीको बारेमा सम्झाइन पनि । मेरो सबै गति देखेको उसलाई मैले सम्झाउन खोज्नु भनेको झगडाको बिउ छर्नु र मेरो चरित्रको व्याख्या उसको मुखबाट सुन्नु मात्र हो भन्ने राम्ररी बुझेको थिएँ । उ त्यति झगडा पनि गर्दैनथ्यो ।

छोरी ६ महिना पुग्दै थिई, एक दिन एक जना आइमाई जोर जोरले ढोका हान्दै कराउन थाली । ढोका खोलेँ, उ सँग दुईजना केटा मान्छे पनि सँगै थिए । मलाई देख्नासाथ सपना हो ?  भनेर सोधी, हो किन होला ?  भन्दै थिएँ,

उसले मेरो कपाल लुछ्दै तँ लाई रन्डी मेरो ३\ ३ वटा छोरा छोरी छन् भन्ने जान्दा जान्दै सौता बन्न आउने  ? अरू कोही पाईनस वेश्या मेरै बुढो देखिस् भन्दै कुट्न थाली ।

अरू २ जना पुरुषले मलाई जानेजति गाली गरे । तमासा हेर्नको भिड लाग्यो, मैले गुरुङले के भनेर सँगै राखेको थियो सम्म भन्ने मौका पाइन । एकोहोरो कुटाई खाईरहें । तमासा बनेका सबैले मेरै दोष देखाएँ । उठ्न नसक्ने गरी कुटेर उसले धम्की दिई, तँ लाई म पुलिसकोमा लग्छु । त्यही दिन साँझ घरबेटी दिदी आएर भनिन १ हत्ता भित्रमा कोठा खाली गर्देउ, यस्तो बिग्रेको आइमाई राख्यो भने हाम्रो पनि बेईज्जत हुन्छ ।

नराम्ररी कुटाई खाएको थिएँ के असर परेछ तल्लो पेट दुखेर रगतको धरा बग्न थाल्या । त्यो दिन बाट ३ दिन सम्म म कोठाबाट बाहिर निस्कीहिन । ३ दिन सम्म गुरुङ पनि आएन । चौंथो दिन छोरी बोकेर कोठा खोज्न हिँडे, बल्ल बल्ल यो कोठा पाएँ । सबै सामान पोको पारेर यता आएँ । त्यो मोबाइलको सिम पनि फ्याँकीदिएं । एउटा घरमा कपडा धुने काम पाएँ, खुब सुख मिल्यो त्यो काम पाउँदा ।

जसोतसो छोरी हुर्काएँ, कसैले यो बच्चाको बाउ कहाँ छ भनेर सोधे म हत्तपत्त भनिहाल्थें मलेसियामा छ, अनिल शर्मा हो उसको नाम । ऐले पनि भन्छु, पापीको नाम लिन मन नभएपनि समाजको मुख थुन्न यो कुरा भन्दै आएको छु । एले छोरी ४ वर्षकी भई स्कुल हालीदिएको छु । ३ बजे सम्म रत्नपार्कमा बदाम बेच्छु । घरमा बसेको बेलामा टुरिस्ट माला उन्ने काम गर्छु,जेनतेन चल्दै छ ।

कुनै चलचित्रमा देखिएको दृश्य जस्तो सपनाको कहानीले मेरा आँखा धेरै पटक रसाए । तर सपना एक पटक पनि यी कुरा सुनाउँदा रोइन, मेरो अनुहार हेर्दै उसले भनी उषाले आँसु पनि आउन छोड्यो रुँदा रुँदा सक्कीएछ की झैँ लाग्छ ।

तिम्रो जीवनामा यतिका घटना घट्दा पनि मलाई किन फोन नगरेको तिमीले ?
कसरी गर्नु, तिमीले मलाई जुन कोटेश्वरको कोठामा भेटेको थिएउ, म त्यो कोठाबाट भागेर हिँडे । सामान त पहिले नै उठाई सकेका थिए अनिललाई पठाउँदाको ऋण तिर्न नसक्दा । बाँकी पैसाको लागि फोन गर्ने र ढोका हान्न आउनेको भिड लाग्थ्यो । एक दिन लगाउने लुगा एउटा झोलामा हालेर त्यो ठाउनै छोडेर हिँडे । ऋण दिनेहरूको फोन आउँछ भनेर त्यो सिम नै भाँचेर फ्याकीदिएं । तिम्रो नम्बर त्यही सिममा थियो । तासपछि सुकेधारामा कोठा खोजेँ । नानी त्यहीँ जन्मेकी हो । दुखको बेलामा के होस हुनु यार उसले भरिएका आँखा बायाँ हत्केलाले पुछि । उसले फेरी थपी उषा म तिमीलाई सधैँ लाटी भन्थेँ, हेर म बाठी भएर जिन्दगीलाई नरक बनाएँ ।

मैले के भनेर उसलाई सम्झाउने शब्द नै पाइन । सपना तिम्रो मोबाइल नं, कति हो ? उसले र मैले एक अर्काको नं. राखेउँ ।
म कतै तिमीलाई हुने काम भेटेँ भने भन्छु सपना, नआत्तीअ, यति धेरै दुख भोगेऊ, अबत छोरी पनि हुर्किई । मैले हाँस्ने कोसिस गरेँ मन निचोरीए पनि । मैले ४ घण्टा त्यहीँ बिताएँ, डिल्ली बजार भोलि जानु पर्ला । निस्कने बेलामा हाँस्दै भनेँ, सिम चेन्ज नगर है अब, म फेरी भेट्न आउँछु । छोरीलाई देख्न मन लागेको छ ।

उसले जीस्कदै भनी – लाटी

मलाई यो उसको खुसी मिसिएको हाँसो र लाटी सम्बोधन साह्रै साह्रै राम्रो लाग्यो ।

म निस्कीएं सपनाको कोठाबाट, बाटोभरि हिजो र आजकी सपना याद आइरही मलाई ।

पहिलो पटक सपनाकै हातले शहरिया रूप दिएको थियो मलाई । गोरखाको पालुम्टारबाट काठमाडौँ पढ्न आएको म साँच्चै लाटी केटी थिएँ । लामो कपाल, नमिलेका आँखी भौं,साधारण कुर्ता सलवार लगाउने म एक जना साथीको करले कोठा नजिकैको ब्यूटीपार्लर पुगेथें । उसैले थ्रेडीङ गरिदिएकी थिई पहिलो पटक मेरा आँखी भौं । लामो कपाल काट्दै उसले भनेकी थिई, स्टेप कट सुहाँउछ तिमीलाई । बाटोमा भेट हुँदा म उसलाई दिदी भन्थेँ,सधैँ जसोको भेटले म उसको साथी भएँ, मैले उसलाई सपना भन्न थालेँ ।

यो बुढी मान्छेको जस्तो लामो लामो कुर्ता के लगाएको ? राम्रो डिजाइनको कुर्ता सिलाउ, तिमीलाई त पेन्ट सुहाँउछ । यसरी उसले मलाई यहाँको वातावरण सँग घुलमिल हुन सक्ने बनाई ।

त्यति बेला मेरो कलेज बिहानमा थियो । कलेजबाट फर्केपछि खाना खाएर म सपनाको पार्लरतिर दौडहाल्थें । दिनभरि सपनाकै पार्लरमा हुन्थेँ म । घरी त्यो केटाले जीस्कायो, घरी यो केटाले यसो भन्यो, यस्तै यस्तै कुरा सुनाउँथी सपना हाँस्दै ।

एक दिन कुरै कुरामा उसले भनी म सात कर्षको हुँदा आमा बित्नुभयो, बुबा त म गर्भमा हुँदानै बित्नु भएको रे । त्यही त हो दाइ भाउजूले त्यति वास्ता गर्दैनन् मेरो । ६ कक्षा सम्म मात्र पढ्न पाएँ । तिमीलाई मेरो घर लान पनि पाएको छैन,भाउजू रिसाउनु हुन्छ मैले घरमा कोही लगेँ भनेँ । सम्पत्ति त छ नि हाम्रो, काठमाडौँ कै लोकल बासिन्दा हौँ हामी । जति भए पनि मेरो हातमा केही हुँदैन । धन्न दाइसँग कराउँदा कराउँला एउटा पार्लर खोल्न सकेँ । बाउ आमा जिउँदै भएको भए, जिन्दगी अर्कै हुन्थ्यो होला मेरो । उ यी सबै कुरा हाँस्दै सुनाउँथी, न मनमा पिडा, न अनुहारमा उदासिनता हुन्थ्यो उसको ।

उ मलाई जीस्काउँदै भन्थी, कलेज पढ्न रमाइलो हुन्छ होला हैरु कलेजमा केटाहरू हुन्छन् नि । जति केटाको कुरा गरे पनि उ उत्ताउलो स्वभावकी थिहिन, काम गर्थी, सबै सँग राम्रो व्यवहार गर्ने भएर उसको पार्लर राम्रो सँग चलेको थियो ।

गोरो वर्ण,ठुला ठुला आँखा, मिलाएर लगाएको गाजल, ह्यरकलर गरेको खैरो कपाल,छोडे पनि बाटे पनि सपनालाई उत्तिकै सुहाँउथ्यो । मिलेको शरीरमा जे लगाएपनि उस्तै राम्रो देखिन्थ्यो । म साह्रै प्रभावित थिएँ, उसका सुन्दर गुलावी ओठबाट निस्कने हाँसो लोभलाग्दो थियो ।

साह्रै माया गर्थी सपना मलाई, त्यति बेला म सँग नोकीयाको सबैभन्दा सस्तो फोन सेट थियो । म बिहान उठ्न अल्छी छु भन्ने थाहा पाएपछि उ मलाई बिहान ५ बजे फोन गर्थी, मेरो कलेज छुट्छ भनेर उठाइदिन्थी । यसरी सपना अचानक आएर मेरो मनबाट हट्नै नसक्ने गरी राज गरेर बसी ।

दिन बित्दै थिए, मेरो आई.ए. पहिलो वर्षको परीक्षा सुरु भयो । परीक्षा कस्तो भयो रु सपना नै सोद्थी हरेक दिन । मेरो परीक्षा राम्रो भएकोमा उ खुसी हुन्थी ।

एक दिन सपनाले आफूलाई एउटा केटा मन परेको कुरा गरी । मलाई हेर्न हतारो भयो, सपनाले सुनाई उ बि.ए दोस्रो वर्षमा पढ्दै छ, शनिवार उसको कलेज छुट्टी हुन्छ । हामी नगरकोट घुम्न जाँदैछौं म तिमीलाई लैजान्छु ।

शनिवार आयो, हामी नगरकोट जो भयौँ । पुरानो बसपार्कमा पहिलो पटक सपनाको अनिललाई देखेँ मैले । साँच्चै सुन्दगर थियो अनिल, सपनाले सुनाउने उसको राजकुमार ।

हाई म अनिल, उसले हात बढायो, मैले साह्रै अप्ठेरो मान्दै भनेँ, म उषा । बसको अन्तिम सिटमा हामी ३ जना सँगै बसेऊ । सपना र अनिलको जोडी मात्र होइन, स्वभाव पनि उस्तै रहेछ, दुवैलाई गफिन र हासींरहन पर्ने ।

म नबोलेको देखेर अनिलले मलाई जिस्काउँदै भन्यो, -तिम्रो साथी लाटी हो कि बोर मानेको हो ?

नजिस्काउ है बिचरा उ तिमि जस्तो हावा छैन । यस्तै यस्तै कुरा गर्दै हामी नगरकोट पुग्यौँ । म बाटोभरि प्रायः चुपचाम नै रहेँ । अनिलले लाटी भनेर जिस्काई रह्यो । दिनभर घुमेर फर्कियौँ हामी । छुट्ने बेलामा अनिलले हाँस्दै भन्यो, -दिनभर हाम्रै गफ मात्र सुन्न आए जस्तो भयो उसलाई ।

साँझतिर गोगंबुको गणेशथान आएर हामी छुट्यौँ, जाने बेलामा अनिलले भन्यो बाई सपना, मलाई हेर्दै जिस्कायो, – बाई मिस लाटी ।

त्यसपछि बिस्तारै सपनाको पार्लर बन्द हुन थाल्यो । अनिलसँग दिनभर घुम्न निस्कन थाली । बेलुका भेट्दा अनिलकै गफ गर्थी । एक दिन सपनाले मलाई सुनाई, म अब बिहे गर्छु अनिलसँग । पोखराबाट पढ्न आएको अनिल शर्माको बारेमा सपनाले भनेकी थिई, उ पनि टुहुरो रैछ । काका काकीसँग बस्छ रे । अब म अनिल बिना बाच्न नै सक्दिन ।

हेर्दा हेर्दै एक दिन सपनाले पार्लर बेची । दाइ भाउजूले चिन्नु न जान्नुको केटा, जागिर छैन, हामी दिँदैनौ भनेपछि सपनाले भागेर बिहे गरी अनिलसँग । म सबैभन्दा एक्लो भए, उनीहरू अर्को कोठा खोजेर कोटेश्वर बस्ने भए । सपनाले पार्लर बेचेको पैंशा थियो । अनिलले केही समान ल्यायो आफ्नो, बाँकी उसको रुम पार्टनरको थियो ।

सपना बिहे गरेर कोटेश्वर गएपछि हाम्रो फोनमा कुरा हुन्थ्यो । अनिलले यस्तो भन्छ, उस्तो भन्छ, साह्रै अल्छी छ बिहान उठाउनु पर्छ यस्तै कुरा सुनाउँथी खुसी हुदैं । पछि अनिल विदेश गयो भनेर फोनमै भनी ।

म उसलाई अनिल गएको २ महिना पछि भेट्न जाँदा उ डान्स बारमा काम गर्थी । आज एक्कासि भेट्दा उसको जिन्दगी र सपना अर्कै भएछ । मसँग धेरै पैंशा भएको भए पनि एउटा ब्युटिपार्लर खोलिदिन्थे, उ राम्रो जिन्दगी जिउँथी । गाडी गोंगबु क्रस गर्दै गर्दा म भित्र अनिल र सपनाको याद मात्र थियो । अनिलले राखिदिएको मेरो लाटी नाम आज पनि सपनाले लिदैं छ । उसको छोरी हुर्काउन गरेको दुःख अनिललाई गरेको पवित्र प्रेमको उदाहरण हो ।

सपनाले डान्स बारमा काम गरी, देह व्यापार गरी र अर्काको बुढासँग रात बिताई । सबले सपनालाई चरित्र हीन भने । अचम्म, एउटा राम्रो जिन्दगी जिई रहेकी फुल जस्ती सपनालाई यी सब गर्नमा मजबुर बनाउने पुरुष, उसलाई घर न घाटको बनाई हिडने अनिल, घरमा बुढी हुँदा हुँदै ऊसँग रात कटाउने केटाहरू, ३ वटा बच्चालाई धोका दिएर जिउँदो बुढी मरी भन्दै सपनाको दुःखको फाइदा उठाउने त्यो गुरुगं सब निर्दोष छन् आज हाम्रो समाजमा । सबैले केटाले त जे गरे पनि हुन्छ, केटी पो गतिलो हुनु पर्‍यो भन्छन् । अझ यस्ता शब्द भन्नेमा आइमाई नै बढी हुन्छन् ।

सपनाको ठाउँमा अरू भएको भए, छोरीलाई मारेर आफू पनि आत्महत्या गर्दा हुन् या त छोरीलाई बाटोमै छोडेर आफ्नो सुर गर्दा हुन् । यति धेरै दुःख पाउँदा पनि सपनाले न आत्महत्या गरी न छोरी छोडी । शिक्षित जमातले भन्छन्, त्यो केटालाई कारबाही गर्नु पर्थ्यो । डिएनए चेक गराएरै भए पनि उसैको छोरी हो भनेर प्रमाणित गर्नु पर्थ्यो ।भन्नु र भोग्नु अर्कै कुरा हो । एक छाक टार्न सपनाले कति कति क्षण आँसु बगाई, के- के गरी त्यसको हिसाब किताब उसले खोज्न थाली भने कसले सहयोग गर्छ उसलाई ?