अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

स्वप्निल झरी र अराजक भाव

सुषमा देवकोटा

सुषमा देवकोटा २०७४ चैत ११ गते ९:२० मा प्रकाशित

तिमीलाई झरी औधी मन पर्छ
कयौं पटक भिजेका हुँदा हुन् झरीले
तिम्रा नरम केशहरु
पैतलाहरु, परेली र ओठहरु
वालापनका चन्चलता र
किशोरवयका दौंतरी यादहरु

आजकाल तिमीलाई साँझको झरी अझै प्रिय लाग्छ
झरी परेकै साँझ पहिलो पटक देखेका हुन्
तिम्रा शान्त नजरले
मेरो फकिरलयलाई
यस्तै धेरै झरिहरुले मिलाएका हुन् मेसो
हामीलाई नजिक बनाउन र 
महशुष गरेका हुन् तिम्रा रिमझिम मनले
मेरो अस्तव्यस्त जीन्दगीलाई
मेरो अराजक र शालिन स्वभावलाई
मेरा गुन बैगुन, माया घमण्ड आदि आदी……..

आजकाल झरी र म उस्तै उस्तै लाग्छ तिमीलाई
र मलाई पनि निथु्रक भिजिदिन मनलाग्छ 
यो सोचेर कि यो झरी कहाँ ?
तिम्रो प्रेमको बर्षात पो त
तिम्रो चाहनाको बादल मडारिएर
पोखीएका जलधारा पो त
तिम्रो बिसाल मन सगरको
स्निग्ध शितबिन्दु पो हुन् त यि

यो ऋतुराजको मौषम
बसन्ति बतासका थुप्रै लहरहरुले
स्वास भरेर जागेका पालुवाहरुको पर्व
धर्ति गर्भिणी बनेर नवजात आँकुरा जन्मिएको उत्सव
चराहरु बैंसालु बनेर मेला भरिरहेको समय
सूर्य पनि उत्तउलो बनेर 
डुलिहिड्ने याम

तिमीलाई मैले भनें- ‘
‘मेरो प्रिय मान्छे माग
तिमी म संग जे माग्छौ म दिनेछु
यो समय ‘

तिम्रो जवाफ – 
‘केही चाहिँदैन
बस् 
मेरो अन्तिम स्वाससम्मका 
सबै ऋतुका सबै झरीहरुमा
तिमीसंगै रहन पाउँ’