अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

को थियौ तिमी मेरो ?

सुषमा देवकोटा २०७४ फागुन २४ गते २१:३४ मा प्रकाशित

मलाई घरी घरी बिथोलीरहेछ
अभिवादन सँगै मुस्कुराएका
तिम्रा एकजोडी आँखाको
चन्चल स्पर्शले
अल्झाई रहेछ भावनाका बाटोहरूमा
तिम्रो ओठबाट बगेका
निर्दोष आवाजहरूले

यो पहिलो भेट हाम्रो
तिम्रो अभिवादन पहिलो
हेराई पहिलो
तिमी मुस्कुराउने त्यो आकृति पनि त पहिलो नै हो
तर खै सबै कुरा
शदियौं पुराना महसुस गरेँ मैले

कस्तो अनौठो अनुभूति
तिमीलाई देख्नासाथ झस्किएँ म आफैँसँग
मलाई नै पत्तो नदिई
मेरै असजिलो हाबी भयो ममा
तिमीले याद गरेनौं
खाजाघरको कुर्चीमा सजिलो गरी बसेको म
भित्रको नौलो असहजता र
उसैगरी हाँसिरहेउ
जसरी सानो नानी बिनाकारण
खिलखिलाई दिन्छ फुल जसरी

तिमीलाई भेट्नु अघि
यस्तो भएको थिएन
जस्तो कि आज भई रहेछ ठिक यो समय
तर अचानक
नाम बिनाको एक साइनो
मेरो सामुन्ने खडा भएर
मलाई बिथोलीरहेको न तिमीले पत्तो पायौ
न मैले सुनाउन मिल्ने आत्मियता थियो ।

यो सहरमा मैले देखेको हुँ
लाखौँ आँखाहरू
मुस्कुराएका हुन् हजारौँ जमात
मेरो सामुन्ने उभिएर
तिमीले पनि त कयौँ युवतीका अगाडी बसेर
यस्तै मुस्कान र नजरबाट बात मारेका हौ
तर के थियो हँ
जसको असर म भित्र पूर्वजन्ममा छुटेकी
प्रेमिका जसरी परिरहेछ ?

तिमी भित्र के थियो
या केही थिएन
भन्दै नभनि बिदा भयौ
मैले म भित्र के थियो
सुनाउँदै नसुनाई बिदा दिएँ
के तिमीलाई यति छोटो भेट नै मन्जुर थियो ?