अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

असार १७ को मध्यरातमा तिम्रो उपस्थिती

सुषमा देवकोटा २०७४ असार २० गते ९:१० मा प्रकाशित

कहिले काहीँ मध्यरातमा 
एउटा बिचित्रको चाह हुन्छ
तिमी उही पुरानो मुस्कान बोकेर
मेरो ढोका ढक्ढकाउँछौ
मेरा लोलाएका आँखाले स्वागत गर्छन्
तिम्रो अचानकको उपस्थितिलाई
प्रेमका अनेक आलाप मिश्रीत पुरानै लयहरूमा ‘!
तिम्रा मौन हेराइमा पनि त
उही पहिलो भेट सल्वलाएको हुनेछ

उसैगरी भन्नेछौ तिमी 
‘म तिमीबिना निदाउन नसक्ने 
एउटा अनिदो रात भएको छु प्रिया’
सधैँ झैँ यो पटक पनि 
मेरा सर्वाङ्ग तरगंगित हुनेछन् 
तिम्रा मायाका अथाहा कम्पनहरूले

ठिक त्यही समय पर्नेछ असारको
तेस्रो हप्ताको तेस्र्रै दिन पर्ने 
रिमझिम झरी
ताराहरूको प्रेम पोखिएर । र
तिमी मेरा आँखा हेरेर भन्ने छौँ
‘मलाई यो रात तिम्रो हात समाएर
पुरा सहर डुल्नु छ’
त्यो बेला मलाई याद आउने छ
कहिल्यै नलेखिएको एउटा स्वप्नील प्रेम कहानी
जुन पुराना सुरुवाती भेटहरूमा
तिम्रा र मेरा मनहरूले लेखेका थिए

हामी निस्कने छौँ 
दुनियाँ निदाईरहेको शान्त समय जिस्काउन
शीतल पवनको स्पर्शमा 
एउटा फकिर लयको
पुलकित बर्षात बनेर
सडक पेटीमा तिमीले सल्काएको
सिगरेटको बेपर्वाह धुवाँमा
फैलिरहेको मेरो चन्चलताको गहिरो अनुभूति 
जब तिम्रा ह्रदयले पत्तो पाउने छन्
तिमी फेरी
उही पुरानैहेराईको मुर्छना आँखामा भरेर सोध्नेछौ
मेरी स्वप्न परी 
यो असारे झरी र म मा कुन बढी अराजक छ हँ ?