पहिलो प्रणय दिवस-सुषमा देवकोटा

सुषमा देवकोटा

यो पहिलो प्रणय दिवस हाम्रो
तिम्रो प्रेमको मुर्छनामा
म अनुबन्धित भएको पहिलो बर्ष
मेरो प्रेमिल ह्रदयमा
तिम्रो उपस्थितीको सप्तरंगी पोखीएको
पहिलो मधुमास यो
म त्यसै त्यसै चन्चल छु
अनुभुतिको न्यानो बतासले

 

मेरो प्रीय मान्छे
के उपहार दिउँ तिमीलाई 
यो उत्सवको मौकामा ?
पादरी सेन्ट भ्यालेन्टाइनको तस्विर ? या
लियोनार्दोको मन चोर्ने
लिजा गेरार्दिनीको रहस्यमयी मुस्कान ?
रतिउत्सबको स्वागतमा आतुर
चराहरुको चिरबिर ?
या सुर्यको पहिलो किरणले
गर्भिणी बनेकी धर्तीबाट जन्मेका
राता गुलावहरु ?

 

आजको दिन
तिमीलाई दिनको लागि
म संग यहि आशक्ती छ
तिम्रो चाहनामा
छट्पटी, घुर्की, हाँसो आँशुले सिंंचिएर हुर्कदै गरेको
जो अव घट्ने र स्थीर रहने छैन
लैजाउ तिमी प्रतिको यहि आशक्ती र
सजाउ ह्रदयको फूलदानी भरी

Published on February 14, 2017 at 12:09 am

Loading...

यसमा तपाइको मत