अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेपाल चलचित्र कलाकार सङ्घको टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम

सुर्य चन्द २०७६ असोज २५ गते १०:१७ मा प्रकाशित

काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरूको महान् पर्व बडा दसैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । कार्यक्रममा सङ्घका अध्यक्ष रविन्द्र खड्का तथा वरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरूलाई टीका लगाई दिएका थिए ।

सङ्घका उपाध्यक्ष मोहन निरौलाले सञ्चालन गरेको कार्यक्रममा सङ्घका महासचिव चेत बहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए । नेपाल सङ्गीत तथा नाट्यक कला प्रतिष्ठानका उप कुलपति हरिहर शर्मा, सङ्घका सल्लाहकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले सङ्घले नेपालीहरूको महान् चाडका अवसरमा कलाकारहरूलाई एक ठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुवात गरेर राम्रो काम गरेको भन्दै सङ्घले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा सङ्घका सल्लाहकार मदुकुमार श्रेष्ठ, सङ्घका उपधक्ष्य मोहन निरौला, सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटुवाल लगायत पदाधिकारीहरू, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल, सञ्चार कर्मी र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा टीका सहित सङ्घ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ सहित दक्षिणा पनि दिएको थियो भने सङ्घका कोषाध्यक्ष सुनिल कटुवालले ३१ रुपयाँलाइ ३१०० बनाइ चलचित्र कलाकार सङ्घको कोषमा जम्मा गर्न सुरुवात गरे सँगै कलाकारहरूले सो ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । यो रकम ३५ हजार भन्दा बडी सङ्कलन भएको थियो । अध्यक्ष रविन्द्र खडाकाले आगामी वर्षदेखि हरेक चतुर्दशी तिथिमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । आजको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि कलाकार जनक गर्तौलाले आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया