अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

दोलखा श्यामा शेर्पा समाज अमेरिकाद्वारा पर्यटन दूत छिरिङ डोल्मा शेर्पा सम्मानित

सुर्य चन्द २०७६ कार्तिक १० गते ९:५२ मा प्रकाशित

नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउँदै आएकी पर्यटन सद्भावना दूत तथा मिसेस् नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा “दोलखा श्यामा शेर्पा समाज अमेरिका” द्वारा सम्मानित भएकी छिन । दोलखा जिल्ला घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका शेर्पा समुदायहरूको उक्त संस्था मार्फत पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याइ समस्त शेर्पा समुदायको गरिमालाई उच्च बनाएकोमा उनलाई सम्मान गरिएको थियो ।

“दोलखा श्यामा शेर्पा समाज अमेरिका” का अध्यक्ष पासाङ लामा शेर्पाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा महाबाणिज्य दूत पुष्प राज भट्टराई, विशेष अतिथिमा सिटी काउन्सिल अफ न्युयोर्ककि कोस्टा कस्टाण्डिएस लगायतका विशिष्ट व्यक्तित्वहरू, पर्वतारोहीहरू, “दोलखा श्यामा शेर्पा समाज अमेरिका”का पदाधिकारीहरू लगायतका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

हिमालय याक रेस्टुरेन्ट ज्याक्सन हाइट न्युयोर्कमा सम्पन्न भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रको अवसर र चुनौतीहरूको बारेमा छलफल गरिएको थियो भने भ्रमण बर्ष-२०२० मा सरकारको लक्ष्य अनुरूप पर्यटकहरूलाई नेपाल भित्र्याउन कसरी सम्पूर्ण नेपालीहरूले भूमिका निर्वाह गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।उक्त अवसरमा “दोलखा श्यामा शेर्पा समाज अमेरिका” का अध्यक्ष पासाङ लामा शेर्पा र प्रमुख अतिथि महावाणिज्यदूत पुष्प राज भट्टराईले पर्यटन सद्भावना दूत छिरिङ डोल्मा शेर्पालाई सम्मानित गरेका थिए ।

उक्त अवसरमा पर्यटकहरूसँग हिमाल आरोहणमा जाने तथा पद यात्रामा जाने अति गरिबीको रेखामा भएका दाजुभाइहरू अल्प आयुमा दुर्घटनामा परि मृत्यु हुने गरेको र उनीहरूको परिवार शिक्षा समेतबाट समेत वञ्चित भएका परिवारहरू पर्यटन गाइड देखि भरियाहरूको लागि समेत भनेर उनले कोष खडा गरी उनीहरूको परिवारलाई शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गर्ने कुरा घोषणा गरेकी थिइन् । हिमाल आरोहण देखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामयिक निधन भएका गरिब परिवारहरू शिक्षा बाट वञ्चित नहुन भनेर एउटा कोष खडा गरी कम्तीमा वर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य लिएर अगाडी बढेकी शेर्पाले अमेरिका लगायत सम्पूर्ण देश विदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विभिन्न सङ्घ सस्ताहरूलाई आर्थिक सहयोग देखि भौतिक सहयोग सम्मको लागि आव्हान गरेकी थिइन् ।

भर्खरै मात्र अर्को संस्था सिन्धु- युएसए वेलफेयर सोसाइटी इन्कद्वारा संस्थाका अध्यक्ष छिरिङ तेञ्जिङ्ग शेर्पाले छिरिङ डोल्मा शेर्पालाई अमेरिकामा रहेको मुस्ताङ थकाली रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भए सँगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौँ सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन । मिसेस् नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रवर्धनको क्षेत्रमा क्रियाशील शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न सहरहरूमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न सङ्घ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पा भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न अहिले अमेरिकामा व्यस्त छिन ।

नेपालको पर्यटन प्रवर्धन नेपाली कला, संस्कृतिको संवर्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन क्रियाशील हुँदै शेर्पा अमेरिकाको विभिन्न कार्यक्रम, अन्तरक्रिया तथा भेटघाटमा व्यस्त बनेकी हुन् । नेपालको पर्यटन प्रवर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नु नै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

नेपाल सरकारले सद्भावनादुत नियुक्त सँगै आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवर्धनमा भूमिकालाई अझ व्यवस्थित गरेकी छिन । शेर्पाले विदेश तथा नेपालको विभिन्न सहर र पर्यटकीय क्षेत्रहरूमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।

प्रतिक्रिया