अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्वजनिक चलचित्र कात्तिक १ मा प्रदर्शन हुने

सुर्य चन्द २०७६ असोज १८ गते ९:१३ मा प्रकाशित

काठमाडौँ । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र लक्ष्मी रानीमा नायिका शुभेच्छा थापालाई कवाडीवालीको भूमिकामा देख्न सकिने भएको छ । यही कात्तिक १ गते तिहारमा प्रदर्शन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रले सबैको मन जित्ने कलाकारहरूको अपेक्षा रहेको छ ।

नारी विषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्नेमा निर्माण पक्ष ढुक्क भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाङ्कन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पना कार हुन् । यो चलचित्र विशुद्ध नेपाली नारीको अवस्था र सामाजिक परिवेशमा आधारित छ ।

‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढी चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जीवनयापनदेखि सहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि सङ्घर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।

द्वन्द्व, मनमुटाब, सङ्घर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलावा मुख्य निर्माता र कथा लेखन स्वयं थापाले गरेकी हुन् ।

‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मुख्य भूमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भूमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मि भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । चलचित्रमा ‘लक्ष्मी रानी लाई ….’ भन्ने बोलको शीर्ष गीत रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री…. ’ भन्ने बोलको गीतमा गायक गायिका ध्रुबराज अधिकारी/सङ्गीता तिमिल्सेना र गीतकार शङ्कर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गीतमा चर्चित युवा सङ्गीतकार बबुल गिरीको सङ्गीत रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा बान्तवा राई र वासु न्यौपानेले छायाङ्कन गरेका छन् ।

सम्पादन ललित सिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र वितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लिले जिम्मा लिएको छ । चलचित्रको यति बेला धमाधम डबिङको काम भइरहेको र यही २०७६ सालको तिहारमा प्रदर्शनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्रको सुदूरपश्चिमको दार्चुला, नेपालगन्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौँमा सुटिङ गरिएको थियो । यो चलचित्रमा हाम्रो समाजमा नारीहरूले जीवन जिउनका लागि कसरी सङ्घर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पूर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मन पर्ने निर्देशक थापाले दाबी गरिन् । नेपाली चलचित्र क्षेत्रमा यो फिल्मले ब्रेक थु्र गर्नेछ, उनले भनिन् । यही तिहारमा प्रदर्शनमा आउने ‘लक्ष्मी रानी’ चलचित्र हेर्न सम्पूर्ण नेपालीलाई निर्देशक थापाले आग्रह समेत गरेकी छिन् । ‘लक्ष्मी रानी’ यही कात्तिक १ गतेदेखि तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ । ट्रेलर हेर्नुहोस:

प्रतिक्रिया