अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै

सुर्य चन्द २०७६ कार्तिक ३ गते १०:०० मा प्रकाशित

काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिख सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् त्यस्तै सह आयोजकहरुमा भने 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, वरिष्ठ अभिनेता निर शाह, चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्का, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, ग्लोबल फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठ, सांस्कृतिक सङ्घका सभापति तीर्थ थापा, अभिनेता शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, विशाल विष्ट, कलाकार संयोजक श्याम भट्टराई, निर्देशक नारायण पुरी, पत्रकार विजय रत्न, नेपाल फिल्म सोसाइटीका नारायण प्रधान, सुनिल कटुवाल, राजेश बिसुराल, सानु ताम्राकार, सुभाष थापा, शंकरलाल श्रेष्ठ, राजु शाही तथा राजेश महर्जन लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् । विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रवर्धन, सिनेमा टुरिजम विषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाइटिका अध्यक्ष मल्लले अवगत गराएका छन् ।

अवार्डको तयारी तीव्र रूपमा भइरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।

नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने मुख्य उद्देश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत् हुने आयोजकको दाबी रहेको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाई रहने छ भने अमेरिकामा रहने कलाकारहरू सँगको समन्वयको जिम्मेवारी Global Nepali film Award LLC , USA र 8848 Media House LLC कम्पनीलाई रहनेछ ।

कार्यक्रम स्थानीय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने Golden State Movie Maker LLC, USA लाई दिइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दीपलाई आयोजक तिनै वटा संस्थाको तर्फबाट प्रदान गरिएको छ । कार्यक्रमको मुख्य सो यानिकी “अवार्ड सो “नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ । यसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याति प्राप्त कलाकारहरू आएर प्रस्तुति दिने गर्दछन् । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाई प्रमोसन गर्ने उद्देश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडक नै बन्द गरी नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रमसँग पनि सहकार्य गरिने छ । साथै सोही दिन साँझ सान फ्रान्सिस्को कलाकारहरू सहितको भव्य क्रुज पाटी समेत गरिनेछ । जसमा सहभागी हुनेहरूले प्रत्यक्ष कलाकारहरूलाई भेट्न समेत पाउनु हुनेछ ।

कार्यक्रममा नेपाली फिल्म छेत्रका स्थापित, नवोदित लगायत अति लोकप्रिय कलाकारहरूको समेत उपस्थिति रहनेछ, त्यसका साथै अवार्ड शोको बिच बिचमा नेपाली स्थापित कलाकारहरूको समेत प्रस्तुति रहने जानकारी गोल्डेन स्टेट मुभी मेकर एल एल सीका अध्यक्ष यज्ञ लाल श्रेष्ठले जानकारी गराएका छन् । कार्यक्रमको सञ्चालन एस बाबु सन्दीपले गरेका थिए ।

प्रतिक्रिया