अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

बसुन्धरालाई लाईफटाईम, भुवनलाई सम्मान, पत्रकारद्धय सामिप्य र श्रीधरलाई पुरस्कार

समीर बलामी, काठमाडौँ २०७५ भदौ २७ गते २१:५४ मा प्रकाशित

काठमाडौँ । आगामी आइतबार जापानको टोकियोमा सम्पन्न हुन गइरहेको सूर्य ईनटरनेशनल अवार्ड–२०१८ मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आइरहेका ४ जना कलाकार तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो ।

अवार्ड समारोहमा ३ दशक भन्दा पनि बढी समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशील रहनुभएकी वरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हास्य अभिनेत्री बसुन्धरा भुषाललाई सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्न लागिएको हो ।

यस्तै तीन दशक देखी लगातार फिल्म क्षेत्रमा क्रियाशील रहँदै फिल्म क्षेत्रलाई योगदान पुराउनु भएका सदाबहार नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गर्न लागिएको आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताएका छन् । 

यस्तै देढ दशकदेखि निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन विकासको लागि लागिरहनु भएका पत्रकार समिप्य राज तिमल्सेनालाई सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।

एक दशक भन्दा लामो समय देखी क्यामराको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आईरहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारोहमा प्रदान गरिनेछ । कलाकारहरूको कामको मूल्याङ्कन तथा ऊर्जालाई साथ र सहयोग पुग्ने गरी अवार्ड समारोह आयोजना गरेको आयोजकले कलाकार र पत्रकारलाई पनि हौसला प्रदानको लागि सम्मान र पुरस्कार कार्यक्रम जोडिएको वासुदेव लामिछानेले बताएका छन् ।

समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरी १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सूर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको वासुदेव लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा सांस्कृतिक प्रस्तुतिहरू सहितको भव्य कार्यक्रम पनि हुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढी कलाकारहरू जापान लाग्दछन् ।