अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

प्रशान्त र अनुप बिचको टकराब जय शम्भुको ट्रेलरमा

समीर बलामी, काठमाडौँ २०७५ साउन १४ गते १०:०८ मा प्रकाशित

भदौ १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म जय शम्भु निर्माण टिमले आइतबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकराबलाई देखाइएको छ । फिल्मको ट्रेलर पूर्ण एक्शन फ्लेवरमा सार्वजनिक गरिएको छ । यस अघि फिल्मको टिजर र गीत सार्वजनिक गरिएको थियो । टिजर र गीतबाट फिल्मको प्रचार तीव्र भएको छ । अनुप विक्रम शाही र प्रशान्त ताम्राकार एउटै फिल्ममा देखिएको कारण पनि फिल्मप्रति दर्शकको आशा थपिएको हो । फिल्म ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोस्रो फिल्म हो । 

ट्रेलरमा प्रशान्त र अनुपको अलावा वर्षा सिवाकोटी पनि छिन् । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढी बजेटमा तयार भएको जय शम्भु एक्शन लभ स्टोरी फिल्म हो । एक्शनको पार्टबाट फिल्मले केही नयाँपन दिन खोजिएको फिल्मका निर्देशक रुपेश तामाङले बताएका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् । यस्तै सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्शन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राज कुमार थापा, कालु राना आदिको मुख्य भूमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् । ट्रेलर सार्वजनिक सँगै फिल्मका निर्माण टिमले राजधानी र राजधानी बाहिरको लागि फरक फरक प्रचार कार्यक्रम तय गरिएको छ । देशैभर ९० भन्दा बढी हलहरूबाट फिल्म जय शम्भु रिलिज हुन लागिएको वितरक कम्पनीले जनाएको छ ।