अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

जातीय भेदभाव,छुवाछुत र उत्पीडनको कथा मानव

समीर बलामी, काठमाडौँ २०७४ चैत २९ गते ८:३४ मा प्रकाशित

अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र मानव नयाँ वर्षको छेको पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिवार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो । 

मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवमा आधारित भएर निर्देशक अधिकारीले मेगा टेलिचित्रका रूपमा मानव निर्माण गरेका हुन् । टेलिचलचित्र मानवलाई जनता टेलिभिजनले नै निर्माण गरेको हो । झन्डै आधा दर्जन फिल्म निर्देशन गरिसकेका बद्रि अधिकारीले मानवलाई सामाजिक भावनामा बनाइएको बताए । उनले अहिलेको परिवर्तित समयमा पनि ग्रामीण भेगमा मात्र नभएर सहरमा समेत अझै छुवाछुत, भेदभाव र जातीय दमनका अवशेष यथावत् रहेको दाबी गरे । उनले भने–मानव–मानवबिच विद्यमान उत्पीडनको कथा टेलिश्रृंखला मानवमा रहेको छ । एक मानवले अर्को मानवलाई दिएको मानवीय पीडा माथिको यथार्थ मानव मार्फत देखाएका छौँ । 

निर्देशक अधिकारीका अनुसार टेलिश्रृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गरिनेछ । अझै अवशेषमा रहेको पश्चिम नेपालको ग्रामीण भेगको रुढीवादी, छुवाछुतको कथा मानवमा देखाइएको उनले जानकारी दिए ।

आम मानिसहरूको जीवनशैलीमा परिवर्तन आएपनि सोंच भने पुरातन रहेकोले मानव अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक अधिकारीले बताए ।

यस्तै टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाइले पछिल्लो समयमा हास्य चलचित्र र व्यापारका नाममा बनाइएका मसलाप्रधान चलचित्र हेरिरहेका दर्शकहरूको लागि मानव फरक स्वाद हुने बताएका छन् । टेलिश्रृंखला मानव आम दर्शककालागि नेपाली सामाजिक इतिहासको एउटा अध्यायको रूपमा समेत रहने बताए । सामाजिक उत्तरदायित्वबोध गर्दै गुणात्मक र सार्थक टेलिश्रृंखलाको उदाहरण स्वरूप टेलिभिजनकै लगानीमा मानव निर्माण गरिएको महाप्रबन्धक हुमागाइँले बताए । 

५५ भागको टेलिश्रृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बानिया, कमल बोहरा र किशोर कोइराला लगायतका कलाकारहरूको अभिनय रहेको छ । मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैँले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन् । दीपेन्द्र दाङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै प्रमुख सहायक निर्देशक किशोर कोइराला, सम्पादन हरि सिलवाल, सङ्गीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ ।