अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

मोफसल प्रचारमा जय शम्भु, रात्रिकालिन होटलदेखी पत्रकार भेटघाटसम्म प्राथमिकता

समीर बलामी, काठमाडौँ २०७५ साउन २६ गते ८:३८ मा प्रकाशित

फिल्म जय शम्भु टिम यति बेला फिल्मको प्रचार प्रसारको लागि मोफसल यात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरूलाई फिल्मको बारेमा जानकारी गराएका छन् । उक्त कार्यक्रम सकाएको फिल्म युनिटले शनिवार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फिल्मका टिमले जय शम्भुको बारेमा जानकारी दिएका हुन् । एक्शन लभ स्टोरी भनिएको फिल्मका बारेमा जानकारी गराउन कलाकारहरू प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायत उपस्थित भएका थिए । नायिका वर्षा सिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौँमै रोकिएकी थिइन् । पोखरामा रहेको फिल्मका टिम बुटवल प्रस्थान भएका छन् । बुटवलमा नायिका वर्षा सिवाकोटी पनि उपस्थित हुनेछिन् । 

शनिवार बेलुका बुटवलका विभिन्न होटेल तथा लन्जहरुमा गई फिल्मको बारेमा जानकारी गराउनेछन् । त्यस लगतै फिल्म युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् । चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौँ फर्कनेछन् । फिल्म युनिटले पोखराको आधा दर्जनभन्दा बढी होटेल तथा लन्जहरुमा पुगेर फिल्मको बारेमा जानकारी गराएका थिए । पोखराको आधा दर्जनभन्दा बढी होटेल तथा लन्जहरुमा पुगेका अनुप र प्रशान्तलाई उनका फ्यानहरुले घेरेर सेल्फी खिचेका थिए । यसै क्रममा फिल्म युनिटले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरेका थिए । रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् । देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् । जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभ स्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताइएको छ । 

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् । यस्तै सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्शन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राज कुमार थापा, कालु राना आदिको मुख्य भूमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।