अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

किनकी यो देशमा

राकेश कार्की २०८० कार्तिक ३० गते १६:१० मा प्रकाशित

पढ्दा पढ्दै निदाउन मन लाग्छ
नपढेको बुझिन्छ न पढाएको बुझिन्छ
किनकी यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
शिक्षकलाई पनि राजनीति लागेको छ
विद्धार्थीलाई पनि राजनीति लागेको छ

उपचार गर्न विदेशतिर लागेका छन्
यति धेरै अस्पताल के का लागि
किनकी यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
डाक्टरलाई पनि राजनीति लागेको छ
रोगीलाई पनि राजनीति लागेको छ

कलकारखाना चलेको इतिहास छ
कलकारखाना खुलेको कतै सुनिन्दैन
किनकी यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
उद्ध्योगपतिलाई पनि राजनीति लागेको छ
मजदूरलाई पनि राजनीति लागेको छ

राजनीतिबाट फ्याकिएका विदेशीएका छन्
राजनितिबाट हेलागरिएका शोषिएका छन्
किनकी यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
गरिबको रोजगारीमा पनि राजनीति लागेको छ
दु:खीको न्यायमा पनि राजनीति लागेको छ

सेप्टेम्बर २२, २०२३
लस एन्जेलस