अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

पिपुल्स वार

राकेश कार्की २०७९ भदौ २५ गते १०:५६ मा प्रकाशित

कविता

भन्न त यहाँ
जनताको लडाइँ भनिन्छ
“पिपुल्स वार”
तर जित हुन्छ नेताको

ठाउँ, गाउँ, सहर र देशको
विभिन्न प्रयोगशालामा
धमाधम प्रयोग गरिन्छ
जनताहरूलाई लडाइँ लड्न
त्यो प्रशासनसँग
त्यो सरकारसँग

केर्न लगाइन्छ
आफ्नै देशका भित्ताहरू
तोड्न फोड्न लगाइन्छ
सडक, पुल र सरकारी भवनहरू
लुट्न र खोस्न लगाइन्छ
छरछिमेकका
मेहनत र सिरीखुरी
भुट्न लगाइन्छ
आफ्नै टोल र गाउँका
काका काकी र
मामा माइज्यूलाई

गरिब दुःखी जनताको
पसीना बटुलेर
भयङ्कर बाढी उर्लाइदिन्छ
उनीहरूको बगेको रगतले
शासकलाई तर्साइदिन्छ

जनता बलियो भएपछि
शासक कमजोर हुन्छ
अनि जनताको काँध चढेर
नेता बन्छ
शासक

तर बिचरा सिदासाधा
जनतालाई थाहै हुँदैन

नेताको जितमा
फेरि जनता हार्छ

फेरि पहिले जस्तै
शासक जति
बलियो हुँदै जान्छ
जनता त्यति
कमजोर हुँदैजान्छ

प्रक्रिया दोहरिन्छ
तिनै जनताको
नयाँ नेता निस्कन्छ

फेरी जनतालाई
प्रयोग गरिन्छ
अनि त सुरु हुन्छ
अर्को
“पिपुल्स वार”