अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

अब रोबोटको नेता बनाऊँ

राकेश कार्की २०७९ असार २० गते १०:३३ मा प्रकाशित

कविता

न त भ्रष्टाचार गर्नुपर्ने
न त घूस खानुपर्ने
न त अमेरिका बेलायत
न त रुस जानुपर्ने
भ्रमण खर्च देशकै लागि बचाउ
अब रोबोटको नेता बनाऊँ

पदीय मानको केही वास्ता नगरी
न त चियर्स गर्दै गिलास ठटाउनु पर्ने
बदनाम ठेकेदार र बिचौलिया लगाइ
न त चुनाव खर्च जुटाउनु पर्ने
योजनाको बजेट विकासमै लगाऊँ
अब रोबोटको नेता बनाऊँ

लगन भिजन हुनेलाई थान्को लगाएर
न त श्रीमती जिताउनु पर्ने
पार्टी फुटाएर गठबन्धन जुटाएर
न त पुत्रीको जित चिताउनु पर्ने
नातावाद कृपावाद तुरुन्त हटाऊँ
अब रोबोटको नेता बनाऊँ

सत्र वर्षमा कति मन्त्री फेरिए
फोहरको डङ्गुरको पहाड बन्यो
भत्कियो पुरियो बगायो सकियो
न त कहिले दीर्घकालीन बाटो खन्यो
सही सुशासनले देश चलाऊँ
अब रोबोटको नेता बनाऊँ

जून ९, २०२२
लस एन्जलस