अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

राहदानीको फोटोमा चुनावको आँसु

राकेश कार्की २०७९ वैशाख २८ गते ८:१४ मा प्रकाशित

कविता

सुन्न त सुनाइयो
फूलबुट्टे घोषणा पत्र
देख्न त देखाइयो
रङ्गी र चङ्गी मतपत्र
रोजगारी देलाकि भन्ने चुनाव
उनीहरुको लागि पराय भएको छ
चुनावको मुखैमा मजबूर पारि
राहदानी लिन उभ्याइएको छ
बालबच्चा श्रीमति छोडी
भन्छन बिदेशमा कसोरी हाँसु
टोल्हाउदै राहदानीको फोटोमा
देख्छन चुनावको आँसु

सरकारलाई कर तिर्न जाँदैछन्
साइबरे महँगो राहदानी समाति
लाइनमै छन् लाउँलाउँ खाउँखाउँ भन्ने
यी विवस र निरीह युवायुवती
यो चुनावले किन देशमै
रोजगारि श्रृजना गर्नसक्दैन
राष्ट्रमै बस्ने स्थिती बनाएर
पसिना देशमै छर्नसक्दैन
पापी पेट र दु:खी जीवनले
के सधैँ राहदानीको फोटोमा
चुनावको आँसु बगाइरहनुपर्ने
बाको च्यातिएको भोटोमा

जित्न त जित्लान कसैले
रमाउलान गाडी र महलमा
सबैदलका नेता र सरकार
मिलीजुली सधैँ चहलपहलमा
राहदानीमा छाप लगाउँदा
चुनावको छाप याद आउलान
ति मनले कहिले देशमै
सुख समृद्धिको गीत गाउलान
लाखौँलाख नेपालीको आत्मा
बिदेशमा बिछोडिएर रोएकाछन
आत्मसम्मान खोसिएर
बिदेशी चोट सहेकाछन
थाहा छैन कति कति बाकस
जीवनभर परिवारको आँसुमा
तिनीहरु सम्झिन्छन कि नाइँ
नेता र सरकारको हाँसोमा
छैन खुसी आमाको काख पर
मुटु पग्लि भन्छ कहाँ खसुँ
कहिलेसम्म मिस होला यो चुनाव
राहदानीको फोटोमा चुनावको आँसु

मे ५, २०२२
लस एन्जेलस