अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

तिम्रो याद परेलीमा सिउरिएर बांच्दैछु

आचार्य प्रभा २०८० साउन १४ गते ९:३६ मा प्रकाशित

ए बुढो मान्छे,
मलाई ऊबेला तिम्रो
यस्तो प्रतिक्षा हुन्थ्यो कि,
मध्य रातको त्यो अध्यारो
शून्य आंगनमा पातहरू
सर्रसर्र गर्दा पनि
लाग्थ्यो त्यो तिम्रै पद्चापको
सर्सराहट् हो,
र लाग्थ्यो तिमी आवेगले
आफ्नी मान्छेलाई भेट्न
आई रहेछौ।
हो ….म त्यसरी ती शून्य रातहरूमा
तिम्रो ब्याकुल प्रतिक्षामा हुन्थें
तर….तिमी त कुन दुनियाॅंमा पुगेर
आउॅंथ्यौ कुन्नि?
मलाई त एक नरपिशाच झैं ठान्थ्यौ
र,आफ्नो सामिप्यताबाट टाढा
भगाउॅंन खोज्थ्यौ,
मानौं म एक बोक्सी हूं
जस्लाई तर्साएर,हप्काएर
टाढा धपाउॅंनु पर्छ
यो चारदिवारीको घेराबाट
हटाउॅंनु पर्छ।
हो…. त्यस्तै,त्यस्तै हर्कतको खिलाफमा
म बाॅंचेकी थिएॅं
त्यो पल,त्यो समय
समयको पखेटाले ती पलहरूलाई
उडाउॅंदै लग्यो
मध्यान्तरसम्म के के भयो?
म सम्झन चाहन्न,
म समयकै गर्भमा छाडी दिन्छु
ती बिगतहरूलाई,
तर…आज,
समयले नेटो काटी रहॅंदा
हाम्रो जीवनले पनि पालुवा फेर्यो
हामी टुट्नु,फुट्नुबाट जोगियौं
तिम्रो ढुगांसरी त्यो मन पनि
पग्लिन थाल्यो मप्रति
तर….आज,
म टाढिंदा पनि तिमीलाई लाग्दो हो
अन्तिम दुखसुखको साथी त
त्यही नरपिशाचनी नै रहिछे भनेर,
म,पनि तिम्रा रूखोपनबाट आजित बनेर
पत्थरसरी बनी सकेकी मान्छे
तर…समयले फेरि कोल्टे फेर्यो
आजकल म तिम्रा हर यादहरू
परेलीमा सिउरिएर बांच्दैछु
तिम्रा हर पीडाहरूमा म पनि दुख्दैछु
सायद लोग्ने,स्वास्नी हुनुको अर्थ
यस्तै होला,
जीवनभरीको साथ भनेको यही होला
एक नारी,पुरूषको अमीट प्रेम भनेको
यस्तै हुन्छ होला,
जो शिशा झैं ठोक्किंदै भए पनि
टुट्न,फुट्नबाट आफूलाई बन्चित गर्छ
अनि फेरि जोडिएर मज्बुत बन्छ
यही हो रहेछ
एकार्काको जीवनको साहारा भन्नु
ए…..बुढो!

७/२१/२०२३