अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

म आमा

आचार्य प्रभा २०८० असार २३ गते १३:२९ मा प्रकाशित

कविता

म,
आमा बन्नुको अर्थमा
ममता बाँचेकी छु,
मनभरी पीडा बोकेर पनि
झुटो खुशी हाँसेकी छु
किनकी म आमा
मैले मेरो मनको दहबाट
ममत्व र मातृत्वका असंख्य मायाहरू
आफ्ना सन्तानहरुलाई बाँड्नु छ
बाँचुन्जेलसम्म,
आफू पीडाको बोझले लखतरान भएर पनि
चरा झैं भुर्र उडेर आफ्नो जाँगर चलाउँनुछ
उनीहरुको पेट भराउँन
र,आफ्ना सन्तानहरुलाई मजबूत बनाउँन।
आफ्नो सन्तानको वात्शल्यतालाई
आत्मासात गरेर प्रेमको बर्षा बन्दै
कहिले मायाको अमृत बनेर बर्सिनु छ
कहिले दुधको धारा बनेर बग्नु छ
हो,म आमा
यो मेरो धर्म हो अनि कर्म पनि
मैले मेरा शिशुहरूलाई यो धर्तीमा
अवतरण गरेर मात्र धर पाउँदिनँ
मेरो अर्को कर्तब्य पनि छ
मेरा सन्तानहरुलाई समाजमा उभ्याउँन
संस्कार र प्रेमको पाठ पनि
घोकाउँनु छ,
अनि यो सुन्दर प्रकृतिसँग रमाउँन पनि
सिकाउँनु छ।
म आमा,
उनीहरुको मनभित्र रहन
उनीहरुका जिब्रामा
आमा शब्द झुण्डाई रहन
साँच्चै ममत्वको अचुक औषधी
पिलाउँनु छ,
आफ्ना वक्ष स्थललाई
भकारी बनाउँनु छ
जहाँ उनीहरुको भोक,प्यास मेटियोस्
अनि बनाउँनु छ
आफ्नो काखलाई न्यानो गुफा
जहाँ सन्तानहरुले आफ्नो जिउ,ज्यानलाई
घाम,पानीबाट जोगाउँन सकुन्
हो,म आमा बन्नुको अर्थमा
सन्तानको बलियो आधार
बन्नु छ।

(रचना -चैत्र २४ /२०७९ )