अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

आफ्नै मृत्यु पर्खेर मरुन्

आचार्य प्रभा २०८० भदौ २५ गते २०:१३ मा प्रकाशित

लघुकथा –
सन्तेको गोठमा भेडा,बाख्रा,गाई,गोरु,भैँसी,राँगा टन्न भरिएका छन्। सन्ते पनि आफ्ना यी सम्पत्तिहरू बलियो,हृष्टपुष्ट भएर सन्तोषले बाँची रहेछ। किनकि उसको सम्पत्ति भन्नु नै यही चौपायाहरू हुन्।

सन्तेले मस्त निन्द्रामा सपना देखी रहेको थियो। अनायास उसको निन्द्रा भङ्ग भयो। ऊ सास न बास भएर गोठमा गयो। गोठमा पशुहरू यता उता सल्बलाई रहेका थिए।गाईबस्तुको होहल्लाले सन्तेकी श्रीमती पनि ब्युँझिन्। श्रीमान् आत्तिए झैँ देखेर उनले सोधिन्। -“किन के भो? तपाईँ किन अत्तालिनु भाको ? के भो?”

सन्तेले आफूले सपनामा देखेका कुराहरू भन्यो उस्की श्रीमतीलाई।श्रीमती पनि झोक्राएर बसिन् सपनाको कुरा सुनेर।

सन्तेले श्रीमतीलाई भन्यो -“म कुनै हालतमा पनि यस्तो हुन दिन्नँ। “श्रीमतीले पनि भनी। -“बरु ज्यान जाला हामी यस्तो अपराध कहिल्यै हुन दिन्नौँ। ”

बुढाबुढी आधा रातसम्म त्यही कुरा गर्दै चनाखो भएर बसे। गाई बस्तुहरू पनि सक्बगाई रहेका थिए। यता हर्केको मनमा ढ्याङ्ग्रो बजी रहेको थियो कतै त्यही दानव आएर आफ्नो गाईलाई भक्ष गर्ने हो कि ?भनेर। श्रीमतीले सम्झाउँदै थिई। -“सपनाको कुरामा विश्वास गरेर के झोक्राउनु हुन्छ?सुतौँ एक छिन भए पनि। “सन्तेले भनी रहेको थियो। “मान्छे मान्छेको अभिमानले निरीह पशुलाई किन सजाय दिनु ?त्यो मान्छेले त्यही भनी रहेको थियो। ती अहङ्कारीहरूको अगाडि नै गाईको गर्धन काटेर देखाउनु छ। कति पैसा लिन्छौ?म तिर्न तयार छु। उता अर्को भन्दै थियो। हाम्रो धर्मलाई नाँस्न खोज्ने अधर्मीहरूलाई हामी पनि देखाएरै छाड्छौँ। ”

“हेर बुढी हामी एक किसान हौँ। हामीले पशु पालन गरेर आफ्नो गुजारा चलाएका छौँ। यी जनावरहरू पनि हाम्रो अभिन्न साथी भएका छन्। हाम्रो कुरा बुझ्छन् मान्छेले जस्तै। अब आफ्नो छोरा/छोरी जस्तै यी सन्तानलाई हिंसा गर्न म कहिल्यै दिन्नँ। बरु उनीहरू आफ्नै मृत्यु पर्खेर मरुन्। खसी ,बाख्रा पनि आजसम्म आफ्नो हातले हत्या गरिएको छैन तर गुजारा चलाउन त बेच्नै पर्‍यो। सायद केही भएर गोठमा गाई,बस्तु हर्किएका हुन् त्यही कारण मैले सपना त्यस्तो देखेँ। ”

श्रीमतीले पनि कोल्टे फेर्दै भनी। -“हामी मान्छे नै दानव र अभिमानी हौँ। यी निरीह पशुहरूको नाउँमा राजनीति गरी रहेछौँ। अरूले जे गरुन्। तर हामी कहिल्यै पनि पशु हिंसा गरेर अभिमानको छाती नफुलाउँ। अब एक छिन निदाउँ र फेरि पशुहरूको पनि मान्छेको झैँ बोल्ने शक्ति,अधिकार प्राप्त भएको सपना देखौँ।” यति भनेर ऊ पनि निदाई। फेरि सुनौलो सपना देख्ने आशामा।

रचना -१/ भाद्र /२०८० (अमेरिका)