अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 06:27

पहिचाहन

रन्जु मार्ग २०७९ कार्तिक २३ गते १०:१४ मा प्रकाशित

लघुकथा

त्यो दिन उ निक्कै आवेगमा आएको थियो । अरू बेला कम बोल्ने ऊ ,खै किन हो कुन्नि त्यो दिन निक्कै गहिरा गहिरा कुरा गरिरहेथ्यो ।
“देश बनाउने त नेताहरूले नै हो। “-उसले भन्यो।
“देश नेताहरूले बनाउदैनन।सबैले देखेको कुरा हो। “-मैले भनेँ ।
“तिमी यो के भन्दैछौ ? कसै न कसैको नेत्रित्त्यो त चाहिन्छ नै।मियो भएन भने दाईन कसरी हुन्छ ? ” -उसले भन्यो।
“देश दुख्दा दुख्दैनन् नेताहरू। “- मैले भनेँ ।
“नेताहरू पनि यही देशको माटोमा जन्मिएका हुन् ,उनीहरूको पनि मन हुन्छ ,मुटु हुन्छ। जसरी हामी जनताहरूलाई दुख्छ त्यसै गरी उनीहरू पनि दुखी हुन्छन्। “-उसले भन्यो।
“उनीहरू हामी जनताहरू जस्तै दुख्ने भए यो देशको हालत किन यस्तो हुन्थ्यो ?नारा र भाषण गर्दैमा देश बन्दैन। “-मैले भनेँ ।
“केही न केही एजेन्डा विषय त चाहिन्छ नि ,नत्र कसरी जनताको मन जितेर काम सुरु गर्न सकिन्छ र !”-उसले भन्यो।
“दुबई र कतारको तातो हावा खाँदै पसिना बगाउने नेताका छोराछोरी हुँदैनन् ।” मैले भने।
“देशमा काम नपाएपछि त कतै न कतै गएर काम गर्नु नै पर्‍यो नि !”-उसले भन्यो।
“सडकमा छाती थापेर लड्ने नेताका छोराछोरीहरू हुँदैनन् । ती सबै हामी जनताका छोराछोरीहरू हुन्। “-मैले भने।
“परिवर्तनको लागि लड्नु नै पर्छ। यो सबैतिर हुन्छ। “-उसले भन्यो।
“बोक्न हुन्न झोला नेताहारुको ,त्यसले कुनै स्वतन्त्रता दिँदैन। नेताहरूको दास भइन्छ। “मैले भने
“एउटा न एउटा पार्टी वा नेताको समर्थक त बन्नु नै पर्छ। नत्र आफ्नो पहिचान हराउँछ । ” उसले भन्यो।
“देशको सेवा गर्न बन्नु पर्दैन समर्थक कसैको । आफ्नो हातका दस नङ्ग्रा खियाएर परिश्रम गर्न सक्यो भने आफ्नो पहिचान आफै बनाउन सकिन्छ। “-मैले भनेँ । ऊ रिसायो र फ़नकिएर हिँड्यो।
यति भनी हामी छुट्टिएका थियौ। सायद ऊ मलाई पनि नेताको झोला बोकाउन चाहन्थ्यो। तर सकेन।
समय सगसगै म आफ्नो काममा व्यस्त भएँ, अनि ऊ पनि आफ्नै काममा व्यस्त भयो।
‘दश वर्ष कटेको पनि पत्तै भएन। म आफ्नै गाउँमा गएर खेती किसानीमा रमाउन थालेँ।
एक दिन बाटोमा हिड्दै गर्दा उसको र मेरो भेट भयो। उसलाई निकै मुस्किलले चिन्न सकेँ । झुत्रो मैलो कहिल्यै नकोरेको कपालमा मानिसहरूसँग पैसा माग्दै थियो। उसलाई देख्ने बित्तिकै सोधे-
“के भयो ,किन यस्तो हालतमा ?’
“मलाई बर्बाद बनाई दिए। ” शिर झुकाउँदै उसले भन्यो।
“कसले ?”-चिन्तित हुँदै मैले सोधे।
“जुन पार्टीको झोला बोकेर नेताको पछि लागेँथें त्यही नेताले आफूले गरेको भ्रष्टाचारको दोषी मलाई देखाई दिएर आफू चोखो बने। मलाई भने दश वर्ष जेलमा हाली दिए। एक महिना भयो जेलबाट निस्किएको। ”
एक छिन ऊ मौन भयो र भन्यो “अब म पनि तिमीले जस्तै नंग्रा खियाउन चाहन्छु। आफ्नै हातको सिप फुलाउन चाहन्छु। आफ्नो पहिचाहन आफै बनाउन चाहन्छु !