अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

छिटा

रन्जु मार्ग २०८० पुष १३ गते २०:५४ मा प्रकाशित

लघुकथा:

ऊ हुर्रिँदै ,रन्थनिँदै मेरो कोठामा आई र थचक्क सोफामा बसी । उसको अनुहारमा आक्रोशित भाव देखेर मैले सोधे –
‘के भयो ?
‘केही होइन ‘भन्दै उसले मुन्टो अन्त तिर फर्काई।
‘केही त् भएको छ यसलाई । मैले उसको अनुहारको भाव पढेर खोतल्ने प्रयास गरेँ।
”यस्तो जिन्दगी पनि जिन्दगी ?” उसले सोफामा हात बजार्दै भनी ।
मनको गाँठो जति फुकायो उति फुक्छ भन्छन्- खुलस्त भन् के भयो?
उसको छटपटी उकुसमुकुस देखेर मेरो मन चुप लागेर बस्न सकेन।
“मेरो बा’लाई मनाउन सकिएन। “उसले निराशाको लामो श्वास फेर्दै मुख खोली ।
‘के कुरा ?’ ऊ र उसको बाको के समस्या थियो मलाई थाहा थिएन।
“म पनि यहाँ बस्दिन अब “अचानक उसले भन्दा मलाई अचम्म लाग्यो।

हिजो मात्रै उसले यही कोठामा आएर मलाई आफ्नो देश ,राष्ट्रियताको बारेमा एक घण्टा व्याख्या गरेकी थी। आफ्नै देशमा बसेर केही गर्ने योजनाहरू सुनाएकी थी।
मैले उसको आँखामा हेरेँ ,निराश देखिन्थी ,सबैतिरबाट आशा हराएको मान्छे जस्तो। ऊ भन्दै थिई –
“साँच्चै भनेको अब म चाडै यो ठाउँ यो मुलुक छोड्दै छु। ”
“मेरो बा यति कठोर हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। ”
“मैले बासँग अरू के नै मागेको थिएँ र ?त्यही आफूले मन पराएको मान्छेसँग जीवन बिताउन पाउँ त भनेको थिएँ।अब हेर न उनीहरूले खोजेको मान्छेसँग मैले बिहे गर्नु पर्ने रे ”
उसको कुरा सुनेपछि मलाइ थाहा भयो यो ऊ र उसको बा सँग झगडा रहेछ भन्ने कुरा।
तिमीहरू दुवै एक अर्कामा मन पराउँछौ भने त बा ले अनुमति नदिएर के भो त ?आफै खुसी पनि त बिहे गर्न सक्छौ।
“त्यो त हो ,तर ….. ”
के तर ?
“मैले त्यसरी बिहे गरेँ भने बा ले आमालाई छोडी दिने रे। त्यस्तो भन्दा भन्दै म कसरी बिहे गर्न सक्छु र ?”
म सँग उत्तर थिएन, सोच्न थाल्छु- पुरुष दबदबाको छिटा कसरी छोरा नातिसम्म पुग्दो रहेछ!!
###