अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 03:19

२० वर्ष पछि ‘मुकुन्डो’ हेर्दा

राजु सिटौला २०७७ फागुन ८ गते १९:४८ मा प्रकाशित

आज भन्दा २०-२१ वर्ष अघि बनेको यो चलचित्रको बारेमा सुरुमा खासै केही थाहा थिएन र बजारमा यसको चर्चा पनि थिएन । तर जब यो चलचित्र नेपालबाट ओस्कारमा मनोनयन हुने पहिलो चलचित्र भन्ने समाचार सुने (१९९९ मा ओस्कारमा दर्ता भएको क्याराभान फ्रेन्च कम्पनी बनाएको हो भने यसका निर्देशक एरिक भ्याली पनि फ्रेन्च नागरिक हुन् । मुकुन्डोको निर्देशन छिरिङ रितार शेर्पाले गरेका हुन्) र त्यस पछि पनि थुप्रै फिल्म फेस्टिभलहरूमा यो चलचित्र प्रदर्शन भएको र त्यसमा यो चलचित्रले पाएको प्रतिक्रियाहरू पढे तब भने यो चलचित्र कस्तो बनेको रहेछ भनेर हेर्ने चाहना खुबै बढेको थियो । तर त्यति बेला सम्म यो चलचित्र कुनै सिनेमा हलमा बाँकी थिएन । त्यसैले यो चलचित्र हेर्ने चाहना अधुरै रहेको थियो ।

केही हप्ता अघि मात्र यो चलचित्र युट्युबमा उपलब्ध भएको जानकारी पाएँ र जानकारी पाउने बित्तिकै हेरे । नेपाली समाजमा युगौँ देखि जरो गाडेको अन्धविश्वास र मानवीय भावना बिचको द्वन्द्व र त्यसले मानव जीवनमा पारेको प्रभावहरूलाई बडो सूक्ष्म रूपमा चित्रण गरेर २० वर्ष अघि उपलब्ध प्रविधि प्रयोग गरेर बनाइएको यो चलचित्र साँच्चिकै उकृष्ट बनेको छ ।

चलचित्रको कथावस्तु यस प्रकार छ । एक जोडी दम्पती दीपक र सरस्वती दुई छोरीहरू पछि छोरा जन्माउन लालायित छन् । छोरा पाउनको लागि सरस्वतीले त्रिपुरा देवीलाई भाक्छिन् र पछि छोरा पाउँछिन् । तर उनीहरूको त्यो खुसी लामो समय टिक्दैन, छोरो बिरामी पर्छ र मर्छ ।
सरस्वती आफ्नो जीवनमा बढ्दै गरेको सङ्कटबाट मुक्ति पाउन माताको शरणमा जान्छिन् । केही समय त उनलाई त्यसबाट फाइदा भए जस्तो हुन्छ । तर माता बनेकी गीता जसको आफ्नै विगत दुःख, वियोग र सङ्घर्षले भरिएको हुन्छ, छिट्टै नै सरस्वतीको जीवनमा समस्याको समाधानको सट्टा थप समस्या बन्न पुग्छिन् । छोटो समयमा आफ्नो पति गुमाएर दाम्पत्य सुखबाट विमुख हुन पुगेकी गीता सरस्वती र उसको पतिको सुखद दाम्पत्य जीवनदेखि अत्यन्त लोभिन्छिन् र नजानिँदो ढङ्गले दीपकप्रति आकर्षित हुन्छन् । यसबाट सरस्वती मानसिक तनावको सिकार हुन्छिन् तर आफ्नो रोगको निदानको लागि फेरी पनि गीताकै शरणमा पुग्छिन् ।  यता गीता पूर्ण रूपमा दीपक प्रति मनमा जागेको आशक्तिको अधीनमा परिसकेकी हुन्छिन् र उपचार गर्ने बहानामा अन्त्यमा सरस्वतीको हत्या गरिदिन्छन् ।

कथा यति हो तर यसमा कम्तीमा तीन वटा द्वन्दहरुलाई बडो सुन्दरतापूर्वक प्रस्तुत गरिएको छ ।

पहिलो द्वन्द्व, सरस्वती मनमा चलेको आन्तरिक द्वन्द्व आफ्नो छोराको मृत्युसँगै मानसिक रोगको सिकार भएकी सरस्वतीलाई जब गीता आफ्नो पतिप्रति आशक्त हुँदै गएको महसुस हुन्छ उनी गीतालाई अत्यन्त घृणा गर्न थाल्छिन् । तर अर्को मनमा गीताबाट मात्र आफ्नो उपचार सम्भव हुनसक्ने पनि उनलाई अनुभूति हुन्छ । मनको चलेको यसै आन्तरिक द्वन्दको कारण मानसिक रूपमा उनी थप अक्रान्त हुन्छन् । अन्तिममा हार स्वीकार गरेर, गीता प्रतिको आफ्नो घृणालाई तिलाञ्जलि दिएर उनी गीतासँग उपचार गराउन जान्छिन् । जबसम्म उनलाई गीताले उनको जीवन नै लिन चाहेको थाहा हुन्छ त्यो बेलासम्म धेरै ढिलो भइसकेको हुन्छ ।

दोस्रो द्वन्द्व, गीताको मनमा चलेको आन्तरिक द्वन्द्व गीता दीपक र सरस्वतीको सुखद दाम्पत्य जीवनबाट लोभिन्छिन् । उनलाई आफूलाई पनि त्यस्तो सुख प्राप्त गर्ने चाह हुन्छ तर त्यसबाट आफ्नो माता शक्तिको क्षयीकरण हुने कुराको पनि उनलाई डर हुन्छ । उनको गुरुले पनि माता शक्तिको क्षयीकरण हुन नदिन उनलाई बारम्बार सतर्क गराउँछन् ।

तेस्रो द्वन्द्व, सरस्वती र गीता बिचको भौतिक द्वन्द्व जब सरस्वती हार मानेर गीतासँग उपचार गराउन जान्छिन् त्यति बेलासम्म गीतालाई दीपक प्रतिको आशक्तिले पूर्ण रूपमा आफ्नो नियन्त्रण लिसकेको हुन्छ । उनमा माता शक्ति आउँदैन तर माता शक्तिको मुकुन्डो लगाएर उनले सरस्वतीको जीवन समाप्त गरिदिन्छन् । हातखुट्टा सबै बाँधिएकी सरस्वती चाहेर पनि आफ्नो जीवन रक्षा गर्न सक्दिनन् ।

गीताको भूमिकामा मिथिला शर्मा र सरस्वतीको भूमिकामा गौरी मल्लको भूमिका अत्यन्त सशक्त छ । दीपकको भूमिकामा रतन सुबेदी, गुरुको भूमिकामा निर्मल प्याकुरेल र दीपकको आमाको भूमिकामा रमा थपलियाको भूमिका सह्रानीय छ । नेपाली समाजमा कायम रहेको अन्धविश्वास जगमा खडा गरिएको नारी चरित्रको सङ्घर्षको कथालाई निर्देशन छिरिङ रितार शेर्पाले अत्यन्त सुन्दर रूपमा पर्दामा उतारेका छन् । नेपाली चलचित्रको इतिहासमा यो चलचित्र कोशे ढुङाको रूपमा कायम रहने कुरामा कुनै शङ्का छैन । युट्युबमा निःशुल्क रूपमा उपलब्ध रहेको यो चलचित्र एक चोटि सबैले हेर्न लायक छ ।