अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

“नेपाल इन ब्ल्याक एन्ड व्हाइट, १९५६-१९७५” श्याम श्वेत तस्बिरहरूमा बिस वर्षको नेपाली इतिहास

राजु सिटौला २०७८ कार्तिक २२ गते ८:५३ मा प्रकाशित

कोलोराडोमा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालसँग २०१०-२०११ तिर आबद्ध हुँदा नै मैले ड्यान एडवार्ड (Daniel Edwards) को बारेमा सुनेको थिए, एक जना अमेरिकन जो नेपाललाई असाध्यै माया गर्छ, जो बर्षै पिच्छे नेपाल गइरहन्छ, जसले सङ्कलन गरेको नेपाल सम्बन्धी पुस्तकहरूले उसको अपार्टमेन्टको कोठा मात्र होइन भाडामा लिएको स्टोरहरू पनि भरिएको छ । पछि अनेसास, कोलोराडो शाखाको कुनै एक कार्यक्रममा व्यक्तिगत रूपमै चिनाजानी र कुराकानी भएपछि भने उनीसँग मेरो निरन्तर भेटघाट भइरहेको छ । शायद त्यही कार्यक्रममै हुनुपर्छ, मैले ‘नेपाल इन कलर’ शीर्षकमा उनीद्वारा तयार गरिएको पहिलो पुस्तक किनेको थिए । त्यो पुस्तकमा मुख्यतः उनी पिस कोर मार्फत नेपालमा काम गर्न जाँदा लिइएका रङ्गिन तस्बिरहरू सङ्गृहीत छन् । नेपालमा रेलको इतिहास सम्बन्धमा लेखिएको उनको अर्को पुस्तकमा प्रयोग गरिएको सन्दर्भ सामाग्रीहरूको सम्बन्धमा विचार विमर्श गर्ने क्रममा उनीसँगको मेरो भेट बाक्लिँदै गयो । यसै क्रममा २०१८ को जुलाईमा उनले मलाई कोलोराडोको पाल्मर लेकमा रहेको आफ्नो पुर्ख्यौली घरमा बोलाएर प्रोजेक्टर मार्फत नेपालमा खिचेका अरू थुप्रै तस्बिरहरू पनि देखाएका थिए ।

उनले केही महिना अघि फोन गरेर नेपालको श्याम श्वेत तस्बिरहरू सङ्गृहीत गरेर आफ्नो दोस्रो पुस्तक ‘नेपाल इन ब्ल्याक एन्ड व्हाइट, १९५६-१९७५ (Nepal In Black And White, 1956-1975)’ तयार भएको बताए र फेरि पाल्मर लेकस्थित आफ्नो पुर्ख्यौली घरमा यो पुस्तक लिन बोलाएका थिए । तर स्वास्थ्यको कारणले गर्दा म उनको निम्ता स्विकारेर जान सकिरहेको थिइन । एक दिन उनी आफैँ किताब लिएर मेरो घरमा आइपुगे । यो पुस्तकमा ड्यान एडवार्डले लिएका तस्बिरहरूका अतिरिक्त अर्का अमेरिकन गिल्बर्ट रिचर्डसन (Gilbert Richardson)ले १९५९ देखि १९६४ सम्म युएसएड मार्फत नेपालमा काम गर्दा लिइएका तस्बिरहरू पनि छन् । काठमाडौँ उपत्यका लगायत नेपालको विभिन्न स्थानहरूमा खिचिएको तस्बिरहरूमा तत्कालीन जनजीवनको विविध पक्षहरू समावेश गरिएको छ । नेपालको ७७ जिल्लाहरु मध्ये ७१ जिल्लाहरु भ्रमण गरिसकेका ड्यानले नेपालको भौगोलिक, सांस्कृतिक, र जातीय विविधतालाई आफ्नो तस्बिरहरूमा राम्रैसँग उतारेका छन् । भक्तपुरको पुरानो बस्तीमा खर्पनमा राखेर तरकारी बेच्दै गरेको एउटा किसान होस् अथवा पहाडबाट दाउरा बोकेर काठमाडौँमा बेच्न जान लागेको एउटा भरिया होस् अथवा काठमाडौँको जात्रामा धिमे बजाउँदै गरेका स्थानीय नेवारहरूको समूह होस् यो पुस्तकमा सङ्गृहीत हरेक तस्बिरले ५०-६० वर्ष अघिको इतिहासलाई हाम्रो आँखामा जीवन्त बनाउँछ ।

स्याली मनको एउटा भनाइ छ, तस्बिरहरूले अतीतको ढोका उघार्छन्, तर तिनीहरूले भविष्यमा पनि हेर्ने मौका दिन्छन् । वास्तवमै ड्यान एडवार्ड र गिल्बर्ट रिचर्ड्सनले आधा शताब्दी अगाडि लिएको यी तस्बिरहरूले हामीलाई त्यो बेलाको नेपाली समाजको यथार्थ चित्र मात्र प्रस्तुत गर्दैनन्, त्यो बेलाको दाँजोमा अहिलेको नेपाली समाज कुन बिन्दुमा आइपुगेको छ भनेर तुलना गर्ने मौका पनि दिन्छन् । सङ्कलित तस्बिरहरूलाई बालबालिका र परिवार, सञ्चार, शिक्षा, जातीय समुदाय, भवन संरचनाहरू, धर्म र चाडपर्व, पर्यटन, सहर र गाउँहरू, यातायात, गाउँले जीवन र काम गरी ११ भागमा बाँडिएको छ । हरेक भागमा सम्बन्धित विषयको तत्कालीन अवस्थाको बारेमा तथ्याङ्क सहितको जानकारी समावेश गरिएको छ । उनको पुस्तकमा मान्छे र भवनहरूको तस्बिर मात्र छैनन् बरु त्यो बेलामा प्रकाशित भएका महत्त्वपूर्ण अखवारी सूचनाको कटिङहरू, चलचित्र र गीतहरूको पोस्टरहरू, विज्ञापनको कटिङहरू, पुस्तकको आवरण पृष्ठहरू लगायतको सामाग्रीहरू पनि समाविष्ट छन् । यसले हामीलाई त्यो बेलाको नेपाललाई सामाजिक, आर्थिक, राजनैतिक समग्र रूपमा बुझ्न मद्दत गर्छ ।

पुस्तकको बिक्रीबाट आफूले लगानी गरेको पैसा उठ्छ भन्ने आशा नगरेको बताउने ड्यानले दालभात खाने पैसा भए पुग्ने भन्दै कसैले सिधै आफू मार्फत पुस्तक किन्न चाहे २० डलर मात्र पर्ने जानकारी दिए । पुस्तक किन्न चाहनेले उनलाई इमेल (danedwardsdwe@aol.com) अथवा फोन (303-815-9628) मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।