अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

अनेसास निर्वाचन, सदस्यहरूको सूचनाको हक र मताधिकार

राजु सिटौला २०७७ साउन ४ गते २२:१३ मा प्रकाशित

चुनाव भए पछि घात, प्रतिघात, अन्तर्घात अनेक हुन्छन् । शत्रुहरू मित्र बन्छन्, मित्रहरू शत्रु हुन्छन् । अहिले जारी रहेको अनेसास, केन्द्रको चुनावको विषयमा पनि यस्ता धेरै कुराहरू सुन्नमा आएका छन् । तर यो मेरो चासो र चिन्ताको विषय होइन । गुट उपगुटमा नलागी मात्र नीति, कार्ययोजना, योग्यता, नैतिकता जस्ता मानकहरूको आधारमा चुनाव लडिने र जितिने दिन कहिले आउँला अथवा कहिले नआउँला त्यो भन्न सकिन्न ।

मैले उठाउन खोजेको मुद्दा अनेसासको आजीवन सदस्यहरूको सूचनाको हक र उनीहरूको मत खसाल्न पाउने अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ र कुन कुन पक्षले यसमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने हो ।

अनेसास, केन्द्रको चुनाव हुँदै गर्दा अनेसास, कोलोराडो च्याप्टर कार्यसमितिमा रहेको कारणले कोलोराडोबाट अनेसासको आजीवन सदस्य बन्नुभएका थुप्रैले सम्पर्क गर्नुभयो, अनि गुनासो गर्नुभयो । कसैको नाम मतदाता सूचिमा छैन, कतिको नाम सूचिमा छ तर निर्वाचन समितिबाट निर्वाचनमा अनलाइन मत खसाल्नको लागि प्राप्त हुनुपर्ने लिङ्क प्राप्त भएको छैन, कतिलाई निर्वाचन समितिले निर्वाचनको अवधिभर पठाएको केही पनि सूचना प्राप्त भएको छैन । यो सबै गुनासोहरूलाई समेटेर निर्वाचन समितिलाई इमेल पठाइयो, ‘लौन यी मतदाताहरूलाई त भोटिङ गर्ने लिकं नै आएको छैन’, ‘लौन यी मतदाताको नाम त मतदाताहरूको सूचिमै छैन’ । निर्वाचन समितिलाई सयौँ यस्ता इमेल आउँदा हुन्, जवाफ फर्काएर साध्य पनि छैन । तर आफूले पदभार बोकेर बसेको एउटा संस्थाको सदस्यहरूले त्यसको चुनावमा भोट हाल्न पाइएन भनेर बारम्बार अनुरोध गर्दा पनि केही गर्न नसक्ने निरीह बनेर बस्नुपर्दाको पिडा नमिठो हुँदो रहेछ ।

सदस्यहरूको सूचनाको हक र मताधिकार सुनिश्चित पार्न कसको भूमिका के हुनुपर्ने ?

अनेसास, केन्द्र
अनेसासको विधानले अनेसास केन्द्रका अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई च्याप्टरहरूको अध्यक्षहरूसँग मिलेर आजीवन सदस्यहरूको नामावली निरन्तर रूपमा आवधिक गर्नुपर्ने र वार्षिक रूपमा प्रकाशित गर्नुपर्ने जिम्मेवारी दिएको छ । त्यो गरिँदैन, जब चुनाव आउँछ तब मात्र जब पर्‍यो राती तब बुढी ताती भने झैँ सबै काम सकाउन खोजिन्छ । हतारको काम लतारपतार भने झैँ यसबाट गल्तीहरू हुने सम्भावना त अवश्य नै बढ्छ । त्यसबाहेक पनि दुई हजार भन्दा बढी सदस्य रहेको संस्थाले आफ्ना सदस्यहरूलाई कुन सफ्टवेयरको प्रयोग गरेर इमेल पठाइरहेको छ? सदस्यहरूले आफूले पठाएको इमेल सन्देश पाएको नपाएको विषयमा अनुगमन गरिन्छ ? कसरी गरिन्छ ?

अनेसास, च्याप्टरहरू
अनेसास केन्द्रले आफ्नो च्याप्टरबाट भएका आजीवन सदस्यहरूको जानकारीलाई ठिक तरिकाले आवधिक गरेको छ कि छैन भन्ने विषयमा च्याप्टरका पदाधिकारीहरू पनि उत्तिकै सजग रहनुपर्ने देखियो । अनेसास, केन्द्रबाट सदस्यहरूको नामावली प्रकाशित गरे पछि एउटा सूचना आयो, ‘कसैको नाम छुटेको भए खबर गर्नु’ । नेपालमा बेलाबखत बस चढ्दा कन्डक्टरहरूले जोक गर्थे, ‘कोही छुट्नुभएको छ भने हात उठाउनुस् है’ । जसको नाम र अरू विवरण नै छुट्यो उसले उसको नाम छुटे नछुटेको हेर्नु भन्ने इमेल कसरी पाउने ? पक्कै पनि यसमा च्याप्टरहरूले नै भूमिका खेल्नुपर्छ । अझ केन्द्रले नामावली प्रकाशित गरेपछि त्यसको प्रमाणीकरणको लागि च्याप्टरहरूसँग आग्रह गर्नुपर्छ ।

निर्वाचन समिति
कतिपय आजीवन सदस्हरुले भोट हाल्ने लिङ्क पाए तर त्यो भन्दा अगाडि निर्वाचन समितिले निर्वाचन सम्बन्धमा पठाएको अरू कुनै इमेल पाएनन् त्यो कसरी सम्भव भयो ? कतिको नाम मतदाताहरूको सूचिमा छ तर उनीहरूले मतदान गर्ने लिङ्क पाएनन् त्यो किन भयो ? के निर्वाचन समितिले निर्वाचनको लागि प्रयोगमा ल्याएको सफ्टवेयरको प्रभावकारिता माथि पर्याप्त अध्ययन गरेको थियो ? त्यसको परीक्षण गरेको थियो ? संस्थाको विधानको रीत पुर्‍याएर र निर्धारित सदस्यता शुल्क तिरेर बनेका आजीवन सदस्यहरूको मत दिने अधिकारलाई सुनिश्चित गर्न अन्तिम समयसम्म कोसिस गर्नु जरुरी छ । कुनै यस्तो सफ्टवेयर बजारमा पाइँदैन जसमा आवश्यक परेको खण्डमा चुनाव भइरहेको बेलामा पनि मतदाताहरूको नाम थप्न सकियोस् ?

आजीवन सदस्यहरू
कतिपय सदस्यहरू रहरले बनेका छन् कतिपय करले गर्दा बनेका छन् । विशेष गरेर करले बनेका सदस्यहरूमा संस्थाप्रति चासो चिन्ता केही हुँदैन । उनीहरू सोच्छन् सबै जिम्मेवारी पदमा रहनेहरूको मात्र हो । अलिकति चासो त आफूले पनि दिऊँ न ।