अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

नाइँ भन्नुस् ल

राजु सिटौला २०७६ चैत २० गते २३:३८ मा प्रकाशित

कथा
बजारमा ‘नाइँ न भन्नुस् ल’ भन्ने चलचित्रको भाग ६ पनि आइसकेछ । हुन त राम्रै शीर्षक राखेका हुन् यस चलचित्रका निर्माता/निर्देशकले, एउटा केटाले केटीसँग अथवा एउटा केटीले केटासँग प्रेम प्रस्ताव राख्दा ‘नाइँ नभन्नुस् ल’ भनेर आग्रह गर्नु स्वभावीकै हो । तर त्यही नाइँ भन्न नसक्नाले कसैको बन्दै गरेको सम्बन्ध भत्किन पनि सक्छ भन्ने कुराको अनुभव शायद मलाई जस्तो त्यो सिनेमाको निर्माता/निर्देशकलाई नभएको हुनसक्छ ।

हुन त यो नाइँ भन्न नसक्ने बानीले मलाई धेरै ठाउँ, धेरै कालखण्डहरू, धेरै परस्थितिहरुमा हानी पुर्‍याएको छ । तर यहाँ उल्लेख गर्न लागिएको प्रसङ्ग भने २००८ तिरको हो जुन समयमा सामाजिक सञ्जालमा अहिलेको जस्तो फेसबुकको एक छत्र राज थिएन । हाइफाइभ लगायत अन्य धेरै सामाजिक सञ्जालहरू जीवितै थिए । अझ नेपालमा त हाइफाइभकै बोलवाला थियो । अमेरिका छिर्दासम्म पनि मलाई फेसबुकको बारेमा उति सारो ज्ञान थिएन । स्कुलमा गएर पढ्ने, कहिलेकाहीँ साथीभाइहरू जम्मा भएर रमाइलो गर्ने बाहेकको अधिकांश समय कि त हाइफाइभ चलाएर बित्थ्यो कि त मेसेन्जरमा नेपालमा भएका साथीहरूसँग च्याट गर्दैमा । यस्तैमा एक दिन मलाई हाइफाइभमा एउटा फ्रेन्ड्शिपको रिक्वेस्ट आयो, एउटा सुन्दर युवतीको । उनको प्रोफाइल राम्रोसँग हेरे, त्यहाँ राखिएका उनका तस्बिरहरू पनि एक एक गरेर हेरे । मलाई अचम्म लाग्यो ‘हैन यस्तो राम्रो केटीले मलाई किन र कसरी फ्रेन्ड्शिपको रिक्वेस्ट पठाएको होला?’ । मैले उनलाई फ्रेन्ड्शिप रिक्वेस्ट पठाएकोमा धन्यवाद दिँदै नचिनेको मान्छेलाई किन यस्तो रिक्वेस्ट पठाएको भनेर एउटा म्यासेज पठाए । उनको जवाफ थियो ‘मैले हाइफाइभ चलाउँदै गर्दा कतैबाट तिम्रो प्रोफाइल देखे । अनि तिमीले आफ्नो बारेमा लेखेको पढे, मलाई धेरै राम्रो लाग्यो । त्यही भएर मैले तिमीलाई साथी बनाउन चाहेको।’ ‘ए अचम्म! हैन के लेखेछु त मैले आफ्नै बारेमा?’ मैले आफ्नो प्रोफाइलमा आफ्नो बारेमा लेखेको कुराहरू दोहराएर पढे, तेहराएर पढे । अनि ‘ए, लेख्न त ठिकै लेखेको रहेछु’ जस्तो लाग्यो ।

हाइफाइभको फ्रेन्ड रिक्वेस्टबाट सुरु भएको हाम्रो सम्बन्ध बिस्तारै फोन नम्बर आदानप्रदान हुँदै फोन वार्तालाप र टेक्स्टिङसम्म आइपुग्यो । हरेक दिन साँझ परे पछि सुरु हुने टेक्स्टिङमा बिहान हुँदासम्म थुप्रै म्यासेजहरू आदानप्रदान भैसकेको हुन्थ्यो । उनलाई घरबाट मलाई फोन गर्न अफ्ठेरो हुने हुनाले फोनमा कुरा भने धेरैजसो उनको काममा आउँदा र जाँदा हुने गर्थ्यो । कुरा गर्दै जाँदा थाहा भयो उनले भर्खर अमेरिकाको बस्टन सहरमा अन्डरग्र्याजुयट लेभलको पढाई सकाएर काम गर्न थालेकी रहिछिन् । नेपालमा पल्सटु पढाई सकाउने बित्तिकै डिभी परेर उनी सपरिवार अमेरिका बसाइ सरेकी रहिछिन् । उमेरमा म भन्दा ५-६ वर्षै कान्छो भए पनि उनी मलाई तिमी नै भनेर सम्बोधन गर्थिन् जुन मलाई पनि मन पर्थ्यो । हाम्रो चिनाजानी भएको केही महिनामै उनको जन्मदिन परेकोले उनलाई मैले उनलाई एउटा सानो उपहार पठाएको थिए । मैले पठाएको उपहार पाउँदा उनी साह्रै खुसी भएर मलाई फोन गरेकी थिइन् र त्यो दिन हामीले घण्टौँ कुरा गरेका थियौ ।

मलाई बस्टन सहर साह्रै रमाइलो र आत्मीय लाग्छ । बोस्टन सहर घुमिरहँदा मलाई आफू कतै काठमाडौँकै गल्लीहरूमा घुमिरहेको झैँ भान हुन्छ । हुन त मेरो परिवारको सदस्यहरू त्यहाँ भएकै कारणले पनि त्यस्तो अनुभव भएको हुनसक्छ । हाइफाइभ र फोनमा धेरै कुराकानी भए पनि हामी दुईले प्रत्यक्ष भेटघाट गर्ने मौका भने पाएका थिएनौ । त्यो वर्षको समर बिदामा मलाई नेपाल जानुपर्ने थियो र नेपालबाट फर्किदा म लगभग १० दिन जति बोस्टनमै बसे । तर दुर्भाग्य उनी पनि आफ्नो परिवार सहित कतै छुट्टी मनाउन गएकोले त्यो बसाइमा उनीसँग भेट हुन पाएन । एक अर्कालाई भेटेरै कुरा गर्ने दुवैको रहर पूरा हुन सकेन । ‘ठिकै छ यो चोटि नभए अर्को चोटि त पक्कै भेटौँला’ भन्दै दुवैले आफ्नो मनलाई बुझायौ । बस्टनबाट फर्किएपछि मेरो बसाइ अलाबामाबाट कोलोराडोतिर सर्‍यो । तर यो बसाइ सराइले हाम्रो फोन सम्पर्कमा भने कुनै असर पुर्‍याएको थिएन । सामाजिक सञ्जालको सम्पर्कमा भने हाइफाइभबाट बिस्तारै हामी फेसबुकतिर सरिरहेका थियौ । उनी कहिलेकाहीँ मसँग ‘मेरो त अर्कै केटो छ है’ भनेर जिस्किन्थिन् । तर मलाई पूरा विश्वास थियो कि उनी मलाई नै चाहन्छिन् र मलाई पनि उनको त्यतिकै चाहना थियो । पर्खाइ थियो त दुवैलाई पहिलो भेटको, जुन भेटमा हामी एक अर्काप्रति आफ्नो मनमा बनाएर राखेको आकृतिलाई यथार्थमा नियाल्न सकौँ र धीत मरुन्जेल आफ्नो मनमा घुम्सिएर रहेका भावनाहरू पोख्न सकौँ ।

समयले सिङ्गै एक वर्षको फड्को मार्‍यो । फेरि मेरो बस्टन जाने दिन आयो । तर यो चोटिको मेरो बस्टन घुमाइ साह्रै नै व्यस्त हुन सङ्केतहरू मैले पहिले नै पाइसकेको थिए । त्यो वर्ष बस्टनमा अमेरिकामा रहेका नेपालीहरूको संस्था एनएको सम्मेलन हुँदै थियो र त्यो सम्मेलनमा सहभागी बन्ने मेरो पहिले देखिकै योजना थियो । त्यही समयमा मलाई सिकागो देखि नायगरा फल्ससम्मको रोड ट्रिपमा पनि जानुपर्ने थियो । अरू थुप्रै कामहरू लिस्टमा थिए । तर आफू जहाँ गएर जे गर्दै गरेको भए पनि मैले आफ्नो हरेक गतिविधिको जानकारी उनलाई गराइरहेको हुन्थे । बस्टनमा भएको एनए सम्मेलन आशा गरे झैँ राम्रो नभए पछि मैले त्यसमा आफ्नो सहभागिता छोट्ट्याए, तर सिकागोदेखि नायगरा फल्स र न्यु योर्क घुम्दा घुम्दै मेरो बिदाको धेरै समय चाहिँ स्वाहा भैसकेको थियो । तर पनि उनलाई भेट्न तय भएको केही दिनहरू मसँग अझै बाँकी थिए । उनले मलाई बस्टनमा रहेको दोस्रो विश्वयुद्ध सम्बन्धी एउटा पुरानो सङ्ग्रहालय घुमाउन लैजाने प्रस्ताव गरेकी थिइन् जसलाई मैले सहर्ष स्वीकार गरेको थिए । फोटोग्राफी भर्खर सिक्दै गरेको मलाई उनको र सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका सामाग्रीहरूको सुन्दर तस्बिरहरू उतार्ने लोभ थियो । त्यो बेला मैले भर्खरै निकोनको डिएसएलआर क्यामेरा किनेको थिए । उनीसँग भेट्न तय भएको दिन मैले उनलाई १ बजे भेट्न समय दिएको थिए । आफ्नै गाडी लिएर जाँदा पार्किङको समस्या हुने हुनाले बस र ट्रेनबाट आउनु भन्ने सल्लाह दिएकी थिइन् उनले ।

तर त्यो भन्दा अघि नजिकै रहेका एक जना सिनियर दाइलाई भेट्ने काम पनि सकाइहाल्छु भन्ने उद्देश्यले म ११ बजेतिर ती दाइको घरमा गए । खासमा उहाँसँग दुईचार भलाकुसारी गरेर बाटो लाग्ने मेरो उद्देश्य थियो, तर त्यहाँ त पार्टी नै पो रहेछ । ‘ल बस, पहिले केही कुरा गरौँ, अनि खाना खानु पर्छ’ भन्न थाल्नुभयो । ‘मैले होइन दाइ मलाई अलि हतार छ’ भन्दा भन्दै पनि नाइँ चाहिँ भन्न सकिन । मलाई लाग्यो म खाना खाएर निक्लन भ्याउँछु । पछि त उहाँले मेरो परिवारबाट अरूलाई पनि बोलाउनुभयो । अब मलाई थाहा भैसकेको थियो कि म नराम्रोसँग फसेँ । एक छिन एक छिन भन्दा भन्दै उनलाई मैले भेट्न दिएको समय आउनै लागिसकेको थियो । मैले उनलाई टेक्स्ट गरेर आफू कुनै जरुरी काममा फसेको र आउन केही ढिला हुने बताए । तर दाइकोमा म यस्तरी फसे कि मैले उनलाई टेक्स्ट गरेर पछिल्लो पटक दिएको समयमा पनि पुग्न नसकिने छाँटकाँट देखियो । उनी निर्धारित ठाउँमा आइपुग्दासम्म पनि मैले बस चढेको थिइन ।

मैले पटक पटक टेक्स्ट गर्दै उनलाई आफू आउँदै गरेको जानकारी दिइरहेको थिए । तर बस चढ्नु भन्दा ठिक केही मिनेट अघि फोन गर्दा उनको फोन उठेन, त्यति बेलासम्म लगभग आधा घण्टा भन्दा बढी नै ढिला भैसकेको थियो । त्यस पछि पटक पटक फोन गर्दा पनि उनले फोन उठाइनन् । मेरो मन भतभती पोले झैँ भयो, अनि यो पनि पक्का भयो कि उनी हामीले भेट्ने भनेको ठाउँमा अब छैनन् । ‘अब के जानु?’ म अमिलो मन लिएर घर फर्किए । फेसबुकमा उनको एउटा म्यासेज आएको रहेछ ‘ यसरी पर्खाएर भेट्न नआउनेहरूलाई म साथी बनाउँदिन, आज देखि तिम्रो र मेरो सबै सम्बन्ध सकियो’ । यति म्यासेज पठाएर उनले मलाई आफ्नो फेसबुकबाट पनि हटाइछिन् । साह्रै नरमाइलो लाग्यो । मलाई अब उनलाई फोन गर्न पनि मन लागेन । एउटा बन्दै गरेको सम्बन्ध चकनाचुर भयो । आखिर एउटा भेटसम्म पनि गर्न पाइएन । मैले उनलाई प्रत्युत्तर पठाउँदै क्षमा मागे र साथमा यो पनि लेखे कि यदि उनी मेरो भूलको सजाय उनीसँगको मेरो सम्बन्धको अन्त्य गरेर दिन चाहन्छिन् भने म त्यसलाई स्विकार्ने छु । यस पछि मैले कहिल्यै उनीसँग सम्पर्क गर्ने कोसिस गरिन । जीवनमा नाइँ भन्न नसक्दा मैले धेरै दु:खहरु पाएको छु । वास्तवमा आवश्यक ठाउँमा नाइँ पनि भन्न सक्नुपर्दो रहेछ । यदि मैले त्यो दिन नाइँ भनेर समयमा नै हिँड्न सकेको भए…