अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

तिमी र म एउटा कविता

राजु सिटौला २०७८ वैशाख २० गते ११:४९ मा प्रकाशित

के तिमी छोटो समयको लागि आफ्नो यात्राबाट विश्राम लिन सक्छौ ?
म एउटा कविता लेख्न चाहन्छु,
तर म मृत्‍युपर्यन्त पर्खन सक्दिन ।
आवर ग्लासबाट झर्दै गरेका बालुवाको कणहरु जस्तै
हाम्रो स्‍मृतिहरुको आयतन निरन्तर घट्दो छ ।
यो मस्तिष्कको चेतन सामान्य अवस्थामा रहदैमा
म केही शब्दहरु कोर्न चाहान्छु ।

शब्दहरु त अनगिन्ति छन् ।
संयोजनका संभावनाहरु पनि अनगिन्ति छन् ।
तर ती मध्ये धेरैले मलाई गिजाउछन्, गिल्ला गरेर थपडी बजाउछन् ।
म फूलहरुको बारेमा, सपनाहरुको बारेमा अनि परीहरुको बारेमा लेख्न चाहन्छु ।
थाहा छैन ती शब्दहरुले कति घामपानी थेग्लान् ?
शायद ईतिहासको पानाहरुबाट चाडै खुइलिएर जालान् ।
तर म एउटा हारको स्वीकारोक्ती लेख्न चाहान्छु ।
के तिमी छोटो समयको निमित्त मलाई साथ दिन सक्छौ ?

विगतमा भेटेका ती गल्लीहरुमा, ती चोकहरुमा अनि पोखरीका ती डिलहरुमा
सहयात्राको ती पलहरुमा केही क्षण विश्राम गरौ,
म केही पंक्ति लेख्न पनि सक्छु र नलेख्न पनि सक्छु ।
दुई आँखा बन्द गरेर
अतितमा एकअर्कासँग साटिएका ध्वनीका ती तरङहरुलाई
हामी एक चोटि फेरि सुन्नेछौ ।
हामी अनन्त आकाशमा झिल्मिल झिल्मिल गरिरहेका ताराहरु हेर्नेछौ ।
चराहरुको चिर्बिरसँगै पूर्वमा छाउदै गरेको उषाको लालीमा हेर्नेछौ ।
अनि स्लो मोसनमा बिस्तारै
एक जोडी सपनाका सुन्दर महलहरु गर्ल्यामगुर्लुम्म ढलेको हेर्नेछौ ।
केवल तिमी र म,
आउ तिमी र म एउटा कविता भएर केही समय सँगै बांँचौ ।