अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 06:31

महाकवि म तिमीलाई खोजिरहेको छु

राजु सिटौला २०७८ कार्तिक १५ गते १४:२२ मा प्रकाशित

एक जुग अघि तिमीले भनेका थियौ
‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ ।
एक जुग पछि म त्यो दिल खोजिरहेछु ।
यहाँ त अझै जात र धर्मको नाममा
र राजनैतिक आस्थाको नाममा मान्छेहरू
कि त युद्ध गरिरहेका छन्, कि त पर्खालहरूले घेरिएका छन् ।
शायद यिनीहरूको दिल नै छैन ।
अथवा पत्तै नपाई यिनीहरूको दिल साटिएको छ,
नक्कली दिलसँग ।
तिमीले त ‘हातका मैला सुनका थैला के गर्नु धनले’ भनेका थियौ ।
तर यहाँ त हरेकको अर्जुनदृष्‍टि कि त धनमा छ कि त नाममा छ ।
मन हुनेहरूलाई त मैले कत्ति खोजेँ तर कहीँ भेटिन ।
तिमीले त आर्तहरूको चर्हाइरहेको घाउमा
मलम लगाउनु भनेका थियौ ।
तर ती अग्ला पर्खालहरू भित्र बस्नेहरूले
अरूको चित्कार सुन्दैनन्, आँसु देख्दैन, र व्यथा बुझ्दैनन् ।
हे प्रिय कवि,
मैले कत्ति खोजेँ तर मलम लगाउनेहरू कहीँ भेटिन ।
हात समाउनेहरू कतै भेटिन ।
यहाँ त मान्छेहरू मान्छेहरूकै काँधमा चढिरहेछन् ।
हरेकलाई हतार छ ।
तिमीले आफ्नो मनभित्रको ईश्वरको कुरा सुन्नु भनेका थियौ ।
यहाँ कसैलाई फुर्सद नै छैन ।
बरु हरेकलाई आफ्नै अहमको सिंहासनमा राज गरेर दुनियाँलाई देखाउनु छ ।
तिमीले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर
हाम्रो मन मस्तिष्कमा अन्तरिक्षसम्मको उडान भर्ने पखेटा जोड्न खोजेका थियौ ।
तिमीले ‘के नेपाल सानो छ?’ भन्ने प्रश्न सोधेर
हरेक नेपालीको हृदयको सीमालाई
नेपालको भूगोल भन्दा धेरै परसम्म बिस्तार गर्न खोजेका थियौ ।
तर हे प्रिय कवि,
जब म हाम्रो नेताहरूलाई हेर्छु,
उनीहरूको घट्दै घट्दै गइरहेको उचाइ देखेर आत्तिन्छु ।
डर लाग्छ कुनै दिन उनीहरू भुईमै बिलाउने त होइनन् ?
नेपालको भूगोल मात्र होइन नेपालीको मनोबल पनि बिस्तारै खुम्चिदैछ ।
तिमीले त भनेका थियौ कोपिला नटिप्नु र फूल नच्यात्नु,
यहाँ त कत्ति कोपिला टिपिएका र फूलहरू च्यातिएका छन् ।
कत्ति बालिकाहरू र कत्ति नारीहरूको अस्मिता लुटिएका छन् ।
पापको लेखाजोखा त खै कहाँ होला र ?
तर कानुनी राज्यमा अपराध गर्नेहरूले पाउने सजाय पनि
यहाँ सामर्थ्य भएकाहरूले भोग्नुपर्दैन ।
हे प्रिय कवि,
दिमाग ठिक भएकाहरूको यो भीडमा
म तिमी जस्तै कोही पागल खोजिरहेछु
जो शब्दलाई देखोस् र दृष्‍यलाई सुनोस् ।
तर थाहा छैन कुनै दिन यो भिडले मलाई पनि पागल भनिदिन सक्छ ।
तिमीले भनेका थियौ, ‘सुनको दिन एक उदाउँछ रे, यस देश खुलीकन आउँछ रे’ ।
मेरो प्रिय कवि म त्यो सुनको दिनलाई पर्खिरहेछु ।
महाकवि, म तिमीलाई खोजिरहेको छु ।