अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

डेमोक्र्याटिक प्राइमरी: के संस्थापन पक्षले बर्नीलाई रोक्न सक्लान् ?

राजु सिटौला

राजु सिटौला २०७६ फागुन १३ गते १०:५२ मा प्रकाशित

२०२० नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न विभिन्न राज्यहरुमा राष्ट्रपतिको उम्मेदवार बन्न चाहनेहरू बिच धमाधम चुनावी प्रतिस्पर्धा हुँदैछ । यसै डेमोक्र्याटिक प्राइमरी प्रक्रिया अन्तर्गत हालै मात्र नेभाडा राज्यमा डेमोक्र्याटिक ककस सम्पन्न भयो र यसमा विजयी भए डेमोक्र्याटिक संस्थापन पक्षद्वारा त्यति मन नपराइएका बर्नी स्यान्डर्स । वर्नी स्यान्डर्सले २०१६ को राष्ट्रपति चुनावमा पनि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार हुन हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए तर विजयी हुन सकेनन् । उनलाई धेरैले डेमोक्र्याटिक पार्टीको मूल धारको नीति भन्दा धेरै फरक समाजवादी नीति अँगालेको र उनका कार्यक्रमहरू यथार्थमा लागू गर्न असम्भव रहेको भन्ने आरोप लगाउने गरेका छन् ।

बर्नीले नेभाडा राज्यमा भन्दा अघि भएका दुइटा प्राइमरीहरू मध्ये आयोवा राज्यमा सर्वाधिक पपुलर भोट ल्याएर पनि झिनो अन्तरले अर्का उम्मेदवार पिट बुट जजसँग चुनाव हारेका थिए भने न्यूहम्सायर राज्यमा भने चुनाव जितेका थिए । तर नेभाडा राज्यमा भएको चुनावमा उनले आफ्नो प्रतिद्वन्दीहरुलाई फराकिलो अन्तरले पराजित मात्र गरेका मात्र छैनन् बरु आफ्नो पारम्परिक आधार समूह प्रगतिशील विचारधारा बोकेकाहरू र युवा वर्गभन्दा बाहिर गएर मध्यमार्गी विचारधारा बोकेकाहरू, ल्याटिन समुदाय र अफ्रिकन अमेरिकन समुदायबाट पनि राम्रो मत पाउन सफल भए । अझै पनि बर्नीलाई चरम पन्थी र पार्टीलाई एकीकृत गरेर लान नसक्ने नेताको रूपमा चित्रण गरिन्छ; तर नेभाडाको चुनावी नतिजा पछि बर्नीले आफू डेमोक्र्याटिक पार्टीको सबै धार र समूहलाई समेटेर लैजान सक्ने उम्मेदवार हो भन्ने प्रमाणित भएको दाबी गरेका छन् । डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनावहरूमा बर्नीले एक पछि अर्को गर्दै प्राप्त गरिरहेको सफलता र उनप्रति बढ्दो जन आकर्षणले उनलाई राष्ट्रपतिको उम्मेदवार बन्न चाहने डेमोक्र्याटिक प्रतिस्पर्धीहरू माझ अग्र स्थानमा उभ्याएको छ भने यसले गर्दा पार्टीको संस्थापन पक्षको चिन्तालाई भने अझ बढाएको छ । बर्नीको बढ्दो लोकप्रियताप्रति डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षको चिन्ता बढ्नुको मुख्यतः दुई कारण छन्, पहिलो बर्नीको स्वास्थ्य बिमा सम्बन्धी मेडीकेयर फर अल, धनीहरूमाथि करदर वृद्धि गर्ने, कलेज शिक्षा निःशुल्क गर्ने, विद्यार्थी ऋण मिनाहा गर्ने जस्ता समाजवादी नीति तथा कार्यक्रमहरू र दोस्रो बर्नीले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा हराउन सक्दैनन् भन्ने । तर संस्थापन पक्षको यो चिन्ताको बाबजुद मध्यमार्गी धारबाट बर्नीलाई टक्कर दिनसक्ने प्रतिस्पर्धी देखिएका छैनन् र धेरै डेमोक्र्याटिक मतदाताहरूले उनको कार्यक्रमहरूलाई मन पराउन थालेका छन् ।

प्राइमरी सुरु हुनु अघि गरिएका मत सर्वेक्षणहरूमा अग्रपङ्क्ति र पार्टीको संस्थापनको मुख्य रोजाइमा रहेका पूर्व उपराष्ट्रपति जो बाइडनले आयोवा र न्यूहम्सायर राज्यमा नराम्रो पराजय भोगे पछि नेभाडा राज्यमा दोस्रो स्थानमा देखिएका छन् । यद्यपि फेब्रुअरी २९ मा साउथ क्यारोलाइना राज्यमा हुने प्राइमरी चुनावमा त्यहाँ रहेका बहुसङ्ख्यक अफ्रिकन अमेरिकन समुदायबिच उनले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ । तर देशव्यापी रूपमा उनको अग्रता खस्किँदै गइरहेको छ । आयोवा राज्यमा बर्नीलाई झिनो अन्तरले पराजित गरेका र न्यूहम्सायर राज्यमा बर्नी स्यान्डर्ससँग थोरै अन्तरले पराजित मध्यमार्गी युवा नेता पिट बुटजजले ल्याटिन र अफ्रिकन अमेरिकन समुदायबिच राम्रो प्रदर्शन गर्न नसक्ने अनुमानलाई नेभाडाको चुनावी परिणामले प्रमाणित गरेको छ । चुनाव हुन बाँकी रहेका थुप्रै राज्यहरूमा पनि उनको यो अवस्थामा खासै सुधार नआउने सङ्केत सर्वेक्षणहरूको नतिजाले गरेका छन् । यस्तै प्रगतिशील धारबाट आफूलाई यस प्रतिस्पर्धामा उभ्याएकी अर्का उम्मेदवार एलिजाबेथ बारेन चुनावी बहस कार्यक्रमहरूमा प्रभावशाली देखिए पनि वास्तविक चुनावी नतिजाहरूमा भने आफ्नो प्रभाव देखाउन सकेकी छैनन् । गएको नोभेम्बरसम्म पनि मत सर्वेक्षणहरूमा बर्नी भन्दा निकै अगाडि देखिए पनि त्यसयता भने उनी लगातार रूपमा पछाडि परिरहेकी छिन् । वास्तवमा उनको मतदाताको आधार क्षेत्र र केही नीति कार्यक्रमहरू बर्नी स्यान्डर्ससँग मेल खाए पनि पछिल्लो समयमा उनले आफूलाई पुँजीवादी हुँ भन्दै आएकी छिन् ।

लामो समयदेखि चलिरहेको डेमोक्र्याटिक प्राइमरी प्रक्रियामा सहभागिता नजनाएका र पछिल्लो समय यस प्रतिस्पर्धामा भाग लिने घोषणा गर्नासाथ मत सर्वेक्षणहरूमा एकाएक हाबी भएका एक उम्मेदवार न्यु योर्क सहरका पूर्व मेयर अरबपति माइक ब्लुम्वर्ग हुन् । फोर्ब्स म्यागेजिनका अनुसार ५५.५ बिलियन अमेरिकी डलरको सम्पत्ति भएका उनी विश्वका नवौँ धनी व्यक्ति हुन् । यस चुनावमा मात्र उनले टेलिभिजन विज्ञापन र अन्य प्रायोजनको लागि ५०० मिलियन डलर खर्च गरिसकेको अनुमान गरिएको छ । तर चुनावी प्रतिस्पर्धीको रूपमा भने उनले मार्च ३ मा हुने सुपर ट्युस्डेबाट मात्र भाग लिनेछन् । सुपर ट्युस्डेमा १६ राज्यहरूमा डेमोक्र्याटिक पार्टीको सम्मेलनमा भाग लिने करिब एक तिहाइ डेलिगेट्सको फैसला हुनेछ । हरेक राज्यमा उम्मेद्वारहरुले पाएको मतको आधारमा उनीहरूले पाउने डेलिगेटस् सङ्ख्या निर्धारण गरिन्छ र तिनै डेलिगेटस्ले डेमोक्र्याटिक पार्टीको सम्मेलनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रियामा भाग लिने उम्मेदवारको चयन गर्छन् । त्यस सम्मेलनमा १९९१ वा त्यो भन्दा बढी डेलिगेट्सको समर्थन पाउने उम्मेदवारले मात्र राष्ट्रपतिको उम्मेदवार हुन पाउँछ भने अहिलेसम्म चुनाव भएका राज्यहरू आयोवा, न्यूहम्सायर, र नेभाडाबाट जम्मा १०१ डेलिगेट्सको निर्णय भएको छ भने साउथ क्यारोलिना राज्यबाट जम्मा ५४ जना डेलिगेट्सको निर्णय हुनेछ । त्यसै कारणले पनि चुनावी प्रक्रियामा ढिलो प्रवेश गरे पनि आफ्नो अकुत सम्पत्तिको बलमा ब्लुमबर्ग बाँकी राज्यहरूमा बलियो प्रतिस्पर्धीको रूपमा अगाडि आउने अनुमान गरिएको छ । उनी अहिले नै कतिपय राष्ट्रिय सर्वेक्षणहरूले बर्नी स्यान्डर्स पछि दोस्रो स्थानमा देखिएका छन् । तर के यो बर्नी स्यान्डर्सलाई पराजित गर्न पर्याप्त हुनेछ? ब्लुमबर्गले चुनावी घोषणा गर्दा यो सम्भव जस्तो देखिए पनि अहिले उनीप्रतिको आकर्षण बिस्तारै कम हुँदै गएको छ । विशेष गरी नेभाडा राज्यको चुनाव हुन अगाडि आयोजित बहसमा उनले गरेको फितलो प्रदर्शन र अफ्रिकन अमेरिकन समुदाय र महिलाहरूसँगको उनको केही विवादास्पद सम्बन्ध चर्चामा आएपछि मत सर्वेक्षणहरूमा उनको चढावमा केही सुस्तता आएको छ ।

त्यसो त बर्नी स्यान्डर्स अग्रस्थानमा आएसँगै राष्ट्रपति उम्मेदवार हुन चाहने अन्य प्रतिस्पर्धीहरू तथा केही मिडियाकर्मीहरुले बर्नीलाई आफ्नो आक्रमणको मुख्य निशाना बनाउन थालेका छन् । केही समय पूर्व बन्दुक बनाउने कम्पनीहरूप्रति बर्नीले अपनाएको नरम नीति, आफ्नो स्वास्थ्यको वास्तविक स्थिति सार्वजनिक नगरेको, रसियाले बर्नीलाई जिताउन षडयन्त्र गरेको र पछिल्लो समय क्युबाको राष्ट्रपति फिडेल क्यास्ट्रोको सम्बन्धमा उनले दिएको अभिव्यक्तिलाई आधार बनाएर उनीमाथि आक्रमण गरिँदै छ । तर यी मुद्दाहरूले उनले प्राप्त गर्ने मतलाई कसरी असर गर्छ ? अथवा केही असर गर्छ कि गर्दैन ? त्यो हेर्न केही समय कुर्नै पर्ने हुन्छ । क्युबाको राष्ट्रपति फिडेल क्यास्ट्रोप्रति उनको अभिव्यक्तिबाट बेखुस भएका क्युबाली आप्रवासीहरूको बाक्लो उपस्थिति भएको फ्लोरिडा राज्यको प्राइमरी मार्च १७ तारिखमा मात्र छ । २१९ डेलिगेटस् सङ्ख्या भएको फ्लोरिडा राज्यको मत डेमोक्र्याटिक पार्टीको प्राइमरीमा मात्र नभएर अमेरिकाको राष्ट्रपतिको चुनावमा पनि महत्त्वपूर्ण रहन्छ । यस अघिका थुप्रै राष्ट्रपतीय चुनावहरूमा फ्लोरिडा राज्यको मतले राष्ट्रपति चुन्न निर्णायक भूमिका खेलेको इतिहास छ ।

तर त्यस भन्दा अगाडि राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धीहरूमाझ आज हुने चुनावी बहसमा उनीहरूले गर्ने प्रदर्शनले फेब्रुअरी २९ मा साउथ क्यारोलिना राज्यमा हुने चुनावी नतिजालाई केही हदसम्म प्रभाव पार्ने छ । यो बहसमा धेरै उम्मेद्वारहरुले अग्रस्थानमा रहेका बर्नी स्यान्डर्सलाई नै आक्रमणको निशानामा पार्ने छन् । पछिल्ला समयमा बर्नी विरुद्ध धेरै मुद्दाहरू बाहिर आएका हुनाले त्यसलाई प्रयोग गरेर अन्य प्रतिस्पर्धीहरुले बर्नीमाथि कस्तो आक्रमण गर्छन्, बर्नीले त्यसको बचाव कसरी गर्छन् र मतदाताहरूले त्यसलाई कसरी लिन्छन् भन्ने कुराले धेरै कुरा निर्धारण गर्नेछ । साउथ क्यारोलिनाको चुनावमा राम्रो भोट पाएर दोस्रो स्थानमा आए भने पनि बर्नीलाई सुपर ट्युस्डेमा आफ्नो प्रभुत्व कायम राख्न गाह्रो पर्ने छैन । तर अफ्रिकन अमेरिकन समुदाय आफ्नो शक्ति हुन् भन्दै आएका पूर्व उपराष्ट्रपति जो बाइडनले ६० प्रतिशत अफ्रिकन अमेरिकन मतदाता रहेको साउथ क्यारोलिना राज्यमा चुनाव जित्नु उनको लागि अपरिहार्य छ भने यदि आजको बहसमा पनि ब्लुमबर्गको प्रस्तुति कमजोर रह्यो र जो बाइडेनले साउथ क्यारोलिना जिते भने बाइडन फेरि मध्यमार्गी धारको अग्रणीको रूपमा फिर्ता हुनसक्ने सम्भावना पनि रहन्छ ।

तर मध्यमार्गी धारमा रहेका पिट बुटअजज, एमी क्लोबसर, जो बाइडन जस्ता प्रतिस्पर्धीहरुले मैदान नछोड्नु र त्यही धारबाट ब्लुमबर्ग जस्ता धनाढ्यको प्रवेश हुनु, टेक्सस र क्यालिफोर्निया जस्ता ठुलो संस्ख्यामा डेलिगेट्स रहेका र बर्नी स्यान्डर्सको राम्रो स्थिति रहेका राज्यहरूमा पनि सुपर ट्युस्डेमै चुनाव हुने आदी कारणले सुपर ट्युस्डेमा बर्नीले राम्रो प्रदर्शन गर्ने र झन्डै २००-३०० डेलिगेटस्को अग्रता कायम गर्ने अनुमान गरिएको छ । यदि बर्नीले सुपर ट्युस्डेमा यो अग्रता हासिल गरे भने बाँकी रहेका चुनावहरूमा उनलाई भेटाउनु अरू प्रतिस्पर्धीहरूको लागि अत्यन्त कठिन हुनेछ । तर अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने प्रतिस्पर्धामा भने बर्नीले सर्वाधिक सङ्ख्यामा डेलिगेट्स हासिल गरे पनि राष्ट्रपतिको उम्मेदवार हुन चाहिने डेलिगेटस् सङ्ख्या १९९१ प्राप्त नगर्न पनि सक्छन् । त्यस्तो स्थिति आयो भने डेमोक्र्याटिक सम्मेलन ब्रोकर्ड कन्भेसनमा परिणत हुनेछ र उम्मेद्वारहरुले जितेको ३,९७९ डेलिगेट्स बाहेक डेमोक्र्याटिक पार्टीको तर्फबाट अर्को ७७१ जना सुपरडेलिगेट्स पनि सक्रिय हुनेछन् अनि अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुनको लागि डेलिगेटसहरुलाई आफ्नो प्रभावमा लिन हरेक दाउपेचको प्रक्रिया सुरु हुनेछ ।