अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

अव्यक्त प्रेम

सरोज भुसाल २०७६ चैत १६ गते २१:३३ मा प्रकाशित

कथा
माघ महिना प्राय हुस्सु लाग्ने तराईका फाँटहरूमा तोरी पहेँलै फूलेका छन् । आज शनिवार स्कुल जान पर्दैन तर यो माघको जाडोमा नुहाउनु मेरा लागी साह्रै कठिन काम । दिउसो मधुरो घाम देखिए पछि आमाले नुहाइदिएर तेल लगाइदिनु भयो । त्यसपछि बिहीबारे हाटमा किनेको नयाँ गन्जी लगाइदिनु भयो ।घाम तापेर आँगनमा बसिरहँदा मैले गीतुलाई देखे, उनले मलाई बोलाउनै परेन, म आफै आमाको आँखा छलेर खेल्न निस्के । बाटोमा पल्लो घरको दिदीले जिस्काउने भाषामा भन्नु भो-छ्या तिम्रो गन्जी त कति नराम्रो, मैले पनि सहजै उत्तर फर्काई दिएँ, तपाईँले नराम्रो भने पनि गीतुले राम्रो छ भनेकी छन् क्यारे !उनले मुखले नभने पनि भावले मेरो गन्जी मन पराएकी थिइन् त्यसैले सहजै उत्तर दिएँ।

अस्ति मात्र गाउँमा एउटी दिदीको बिहे भएको थियो, जन्ती आए रात भरी बिहे गरे र बिहान दुलही लिएर गए ।हाम्रो दिमागमा त्यो ताजा थियो, त्यसैले आज हामी बिहे बाजी खेल्दै छौ, गीतु छोरीकी आमा र म छोराको बाउ । उमेरले हामी ६/७ वर्षका मात्र छौ तर आज बिहे बाजी खेल्दा हामी पाका भएका थियौँ । पुतली बनाएर बिहे गरिदिँदा म खुसी थिएँ भने उनी दुःखी देखिन्थिन किन भने उनी दुलहीकी आमा बनेकी थिइन । दुलही अन्माउँदा उनी रोए झैँ पनि गरिन ।

प्राय मेरो खेल्ने साथी गीतु नै थिइन । डन्डी बियो, कबड्डी, लुकामारी र धेरै जसो माटोमा घर बनाउँथ्यौ ।स्कुल पनि नजिकै थियो सँगै जान्थ्यौँ, घर पनि आमने सामने थियो ।उनी राम्री थिइन्, सफा र आकर्षक लुगा लगाउँथिन् । मलाई सानै देखी लाउन खान दुखै थियो । मिठो चोखो खान र राम्रो लुगा लगाउन दसैँ नै आउन पर्थ्यो । एक वर्ष तिहारमा भैली खेलियो, पैसा सबैलाई बराबर बाँडे पछि रहेको चामल एक दिन वनभोज खाने सल्लाह भयो । पौष महिना दिन धुम्म थियो, आज हामी तिहारमा भैली खेल्दा पाएको चामलको वनभोज खान देबीथानको मुनी चौरमा गएका थियौँ । घरबाटै कोहिले पकाउने भाँडा, कोहिले तेल, घिउ, साग लगेका थियौँ । जानी नजानी सागको तरकारी र चामलमा घिउ र सख्खर मिसाएर लट्टे(चाम्रे) पकाइयो । खाना खानु भन्दा अघि पानी लिन जानु पर्ने भयो । गीतु र म पानी लिन जान एक एक ओटा भाँडो लिएर हिँडेका थियौँ, यतिकैमा अर्को साथीले मेरो हातबाट भाँडो खोसेर म जान्छु भनेर हिँड्यो । मैले पनि केही भन्नै सकिन । अघि सम्म खुसी मेरो मन एकाएक खिन्न भयो ।

उमेर बढे सँगै उनी झन् राम्री देखिन थालेकी थिइन्।उनको बोली चाली र व्यवहार बदलिँदै जान थाल्यो ।अब हामी पहिले जस्तो भाँडा कुटी खेल्न छोड्दै जान थाल्यौँ । स्कुलमा पनि उनी केटीहरू सँगै बोल्ने खेल्ने गर्न थालिन,घरबाट पनि कम निस्कन थालिन ।अब उनी घरमा पनि झल्याक्क झुलुक्क बाहेक देखिन छाडिन । स्कुलमा पनि केटी मात्र उनका साथी भए । मलाई पनि उमेरकै कारण होला केटी मान्छे सँग बोल्न लाज लाग्न थाल्यो । स्कुल जाँदा पनि केटाहरू सँगै जाने, खेल्ने गर्न थाले ।

स्कुल ड्रेसमा गीतु साह्रै राम्री देखिन्थिन, सेतो सर्ट र निलो फ्रक अनि धार देखिने गरी आइरन लगाएर, निधारमा भगवानको टिका लगाएर हिड्थीन् । म भने खुम्चिएको मैलो सर्ट र कट्टु, खुट्टामा दुई थरी रङ्गका फित्ता भएका चप्पल लगाउँथे । बिस्तारै उनी सँग बोल्न मात्र हैन, उनको अघि उभिन पनि अप्ठ्यारो लाग्न थाल्यो ।

हामी दुवै जना अब छ कक्षामा पढ्ने भई सकेका थियौँ । उनी रातो रङ्गको झोला बोकेर स्कुल जान्थिन । मेरो झोला थिएन हातमा सबै किताब बोकेर स्कुल जान्थे, हातमा बोकेर हिँड्दा हिँड्दा पसिनाले किताबका गाता भिजेर उप्किई सकेका थिए । स्कुलमा अनिवार्य स्कुलको पोसाक लगाउनु पर्थ्यो । मेरो एक जोर भन्दा स्कुल पोसाक थिएन ।अघिल्लो दिन माघे झरी परेको हुनाले स्कुलबाट फर्कँदा भिजेको थियो । धोएर सुकाएको सेतो सर्ट बिहान स्कुल जाने बेलासम्म सुकेन । आज बिना ड्रेस स्कुल जानु पर्ने भयो । हेर्दा सेतो देखिने डोरे सर्ट लगाएर स्कुल गएँ ।स्कुलको बिहानी लाइनमा पोसाक चेक हुने भएकोले अलि ढिलो स्कुल गएँ । सोझै कक्षा कोठामा गएर बसे । एक छिनमा पहिलो घण्टी पढाउने सरले हाजिरी रजिस्टर बोकेर आउनु भयो । हाजिरी सक्ने बित्तिकै एउटा साथीले कक्षा शिक्षकलाई कुरा लगाइदियो , सर यसले आउट ड्रेस लगाएको छ । सर अलि बुढा, पावर वाला चस्मा लगाउने थिए । मेरो घर नजिकै घर थियो उनको र मेरो घरको अवस्था सबै थाहा थियो ।

त्यसैले केही नगर्लान् भन्ने आस थियो तर भयो विपरीत । उनले मलाई अगाडी बोलाएर उभिन लगाए । मैले अगाडी कोही पनि साथीको अनुहारमा हेर्न सकिन । अनुहार रातो पिरो भएर आयो । यत्तिकैमा मेरा आँखा अगाडी बेन्चमा बसेकी मेरी उनै साथीका आँखासँग जुध्न पुगे । म लाजले मरे तुल्य भएँ । उनले के सोचिन थाहा भएन तर मेरो दिमागमा घरमा धोएर सुकाएको चिसो सर्ट सम्झना आई रह्यो । एक छिन पछि सरले स्कुल पोसाक नलगाएको हुनाले कक्षामा बस्न नदिने भनेर घर फर्किन भने । मैले सबै साथीका अघि अपमानित भएको महसुस गरे । केही सोच्नै सकिन, आँखा रसाए, टेकेको भुईँ भासिए झैँ भयो, वरिपरि अन्धकार छायो । मलाई अरूले के भन्लान् भन्दा पनि उनले के सोच्लीन वा के भन्लिन् भन्ने मात्र मनमा लागी रह्यो । किताब बोकेर लुरू लुरू घर फर्कँदा पनि उनीसँग आँखा जुध्दा देखिएको मनिलो अनुहार सम्झी रहे । त्यसपछि म उनको नजिक पर्नै छोडे ।

म अब १२/१३ वर्षको जति भएको थिएँ । ओठमाथि जुँगाका रेखी देखिन थालेका थिए । बिस्तारै आफूलाई शारीरिक र भावनात्मक रूपमा फरक महसुस गर्दै थिएँ । केटी साथीहरूसँग काम परे मात्र बोल्ने, नत्र बोल्न लाज लाग्थ्यो ।यति बेला सम्म मेरो भाँडा कुटी खेल्ने र सँगै पढेका साथी हामी लगभग बोलचालै हुन्थेन । फेरी कुनै कारणले रिसाएको पनि हैन ।नबोले पनि उनलाई देख्दा वा सम्झँदा कता कता काउकुती लागे जस्तो हुन्थ्यो । कुनै बहानाले उनीसँग बोल्न पाए पनि हुन्थ्यो झैँ लाग्थ्यो । घरमा हुँदा पनि उनलाई झल्याक्क झुलुक्क देख्दा खुसी लाग्थ्यो ।

स्कुल जाने समय लगभग एउटै हुन्थ्यो तर उनी हिडीसके पछि मात्र म घरबाट निस्कन्थे । आज शुक्रवार हाफ छुट्टी हुने दिन हो । घरभन्दा अलि माथि एक जना गाउँलेको घरमा आज पूजा रहिछ । श्री स्वस्थानीको एक महिने व्रत पश्चात् आज स्वस्थानीको सांगे पूजा हुँदै थियो । स्कुल जाँदा बाटोमा पर्थ्यो त्यो घर । पूजा घरमा बालेको धूप र अगर बत्तीको वासना साह्रै मिठो थियो । मनमनै लाग्यो दिउसो स्कुलबाट फर्कँदा पूजाको प्रसाद खाने बेला हुन्छ । हुन त हामी केटाकेटीलाई एउटा एउटा चानो मेवा र उखुको टुक्रा अनि सेल रोटी र पुरीको टुक्रा हात हातमा दिन्थे ।ठुला मान्छेलाई ठुलो टपरीमा सिगैं सेल रोटी, पुरी, हलुवा र तरकारी दिन्थे । मलाई आज एकाएक ठुलो मान्छेले जस्तै टपरीमा प्रसाद खान मन लाग्यो । अब म केटाकेटी हैन जस्तो लाग्यो । जब शारीरिक परिवर्तन र मनमा कौतुहलता हुन थाल्छ त्यसपछि आफू ठुलो भएको भान हुँदोरैछ । आफू भन्दा साना केटाकेटीसँग हैन अब ठुलाको सङ्गत गर्न र ठुला मान्छेका कुरा सुन्न मन लाग्ने हुँदोरैछ । यो १३/१४ वर्षको उमेर वास्तवमा केटाकेटी उमेर र वयस्क उमेरको सिमाना हुँदोरैछ । आफ्नो मनका कौतुहलता आफू भन्दा सानासँग गर्न पनि नसकिने, ठुला मान्छेसँग पनि गर्न नसकिने । मनमा कौतूहलको भारी तर बिसाउने चौतारी नभेटिने रहिछ । सायद म पनि त्यही अवस्थाबाट गुज्रिएको थिएँ ।

दिउसो स्कुलबाट फर्किँदा अझै पूजा सकिएको थिएन । स्कुलबाट आएर घरमा किताब राखेर सोझै पूजा घर तिर दौडिएँ । मेरा मिल्ने केटा साथीहरू पनि थिए । उता पूजा सकिनै लागेको थियो यता हामी सबै खेल्दै थियौँ । एक छिन पछि पूजा सकियो । पूजा सकिने बेला मान्छेको भिड धेरै जम्मा भएको थियो । मैले गीतुलाई पनि देखे, उनी आफ्नी हजुरआमासँग आएकी थिइन । एक छिनमा हरीदाईले सबै केटाकेटी प्रसाद खान यता आओ भनेर जम्मा पारे । एक डालो प्रसाद बोकेर बाँड्न थाले, सबै केटाकेटी तछाड मछाड गर्दै हात थाप्दै प्रसाद थाप्न थाले । मलाई ती केटाकेटीको भिडमा गएर सानो मान्छे बनेर प्रसाद खान मन लागेन । म बिस्तारै अलि ठुला मान्छेको छेउमा गएर उभिएँ । एक छिनमा म उभिएकै ठाउँमा आएर हरीदाईले लौ प्रसाद भनेर एक मुठी प्रसाद हातमा थमाउन खोजे, यता मेरो मनले तँ अब सानो छैनस् भनिरहेको थियो । तैँले अब हातमा एक मुठी टुक्रा पारेको सेल, पुरी, मेवा र उखुका चाना हैन, ठुलो मान्छेको भाग जस्तै ठुलै टपरीमा सिङ्गै सेल, पुरी र हलुवा सहित तरकारी को भाग समात्नु पर्छ भनिरहेको थियो । त्यसैले भनिदिएँ दाइ मैले खाई सके । मैले ढाँटे किन भने मलाई सानो फुच्चे बन्नु थिएन । एक डालो प्रसाद केटाकेटीलाई बाँडी सकेर हरी दाई घर भित्र गए । भित्रबाट आउँदा ठुलो मान्छेहरूको लागी ठुला टपरीमा तयार पारिएको प्रसाद लिएर आए ।

छुट्टा छुट्टै टपरीमा राखिएको प्रसाद एक माथि अर्को खप्टाएर डोकोमा राखिएको थियो । मैले देखे, गीतु आफ्नी हजुरआमासँग बसेकी थिइन । हजुरआमाले एउटा टपरी आफ्ना लागी र एउटा टपरी गीतुका लागी लिइदिनु भयो । मलाई लाग्यो गीतु पनि अब ठुली भइसकिन किनकि उनले पाका मान्छेले खाने ठुलो टपरीमा प्रसाद पाइन । म पनि त गीतुकै दामली हो त्यसैले म पनि टपरीमा प्रसाद खान योग्य छु यस्तो लागिरहेको थियो । पहिले महिलाहरू बसेको तिर प्रसाद दिई सकेर हरी दाई पुरुष बसेको तिर आए । म भन्दा अधि बसेकाहरूले पालै पालो टपरीको प्रसाद समाए । जब मेरो पालो आयो, मैले पनि हात लम्काए । हरीदाईले यस्सो मेरो मुख तिर हेरेर भने, अघि भर्खर खाएँ भनेको हैन ? दुई तिन पटक खाने होर प्रसाद पनि ? उनले मलाई प्रसाद दिएनन् । प्रसाद लिन उठेका मेरा हातहरू एका एक लुला भए, माघ महिना भए पनि चिट चिट पसिना निस्कियो । हात पुरै पसिनै पसिना भयो । चर्को स्वरले उनले यति भन्दा सबैले मलाई नै हेरे । गीतुले पनि सुनिछन् क्यारे, उनी मुसु मुसु हाँसिन । मैले केही भन्नै सकिन मेरो मुख रातो भयो, मन खिन्न भयो । बिहानै देखी पूजामा जाने र प्रसाद खाने मेरो चाहना, सिसा भुईँमा खसेर फुटे जसरी चकना चुर भयो । मेरो शिर आफै निहुरियो । म त्यो भिडमा एक्लो भए झैँ लाग्यो, हल्का आँखा पनि रसाए ।

यसरी म खिन्न मन लिएर त्यो भिडबाट निस्के र घरतिर लागे । सोचे गीतुले के भन्ठानेकी होलिन् ? अरूले मेरो अपमान भएको देखे पनि उनले नदेखेको भए हुन्थ्यो झैँ लाग्यो । त्यो भिडसँग भन्दा पनि मलाई उनले देखेकोमा कता कता लाज लाग्यो । खाली हातमा दिएको प्रसाद खादा केटाकेटी भइने ठानेर, मैले नखाएको प्रसाद पनि खाएँ भन्दा उनले पत्याए तर दोस्रो पटक म आफूलाई सानो छैन भनेर ठुलो भाग प्रसाद खानको लागी साँचो व्यवहार देखाउँदा उनले पत्याएनन् । यो १३/१४ वर्षको उमेर न बच्चा न पाको पो हुने रहिछ, न यताको न उताको । मनमा कसै प्रति माया पलाएको होकी जस्तो तर व्यक्त गर्ने आँट र तरिका पनि नजानिने रहिछ । आफूलाई अब सानो हैन ठुलो भएँ भन्ने हुने तर समाजले नस्यूकार्ने रहिछ । यस्तै सोच्दै घर तिर लागे ।

नौ कक्षामा पुगे पछि गीतु र म फेरी नजिकिएका थियौँ । एउटा साथीसँग हुने सबै ब्यवाहार उनीसँग हुन थाल्यो । नौ कक्षाको फाइनल परीक्षामा उनी र म सँगै गणित विषयको टुउसन पढ्न गयौँ । दश कक्षामा पुगे पछि एस एल सी को तयारी गर्नु पर्ने थियो । दश कक्षाको टेस्ट आउनु भन्दा अघि नै आफूलाई अप्ठ्यारो लाग्ने विषयको टिउसन पढ्न पर्थ्यो । गणित विषयको टिउसन पढ्न गीतु र म एउटै सरसँग जाने भयौँ । सरको घर ४/५ किलो मिटर टाढा थियो । बिहानै उठेर साइकलमा जानु पर्ने । मेरो साइकल थिएन गीतुकै साइकलमा दुवै जना सँगै जान्थ्यौँ । साइकल कहिले उनले चलाउँथिन, कहिले मैले चलाउँथे । म पछाडि बस्दा उनको शरीरको सुगन्ध र उनी पछाडि बस्दा उनको स्पर्शले मेरो मन भित्रको प्रेमको बिउमा मलजल गरिरहेका थिए । दुवै जना सँगै एस एल सी दियौँ । एस एल सी दिएको केही दिनमै म काठमान्डु तिर लागे ।

पाँच वर्षमै बुबालाई गुमाएको म, आमालाई सब थोक मानेर हुर्के । कहिले काहि दिदीहरूसँग मामा घर जाँदा पनि रात परे पछि आमाको न्यास्रो लागेर रातभर रुन्थे अनि भोलि पल्टै घर फर्कनु पर्थ्यो । आमालाई वरिपरि नदेख्दा मन आत्तिन्थ्यो । एस एल सी पछि दिदीको घर काठमान्डु गएको थिएँ । एक दुई हप्ता त रमाइलै लाग्यो, दिदी भिनाजुको औषधी पसल भएकोले औषधी पसलमा काम पनि गर्न लागे । कहिल्यै घर छोडेर कतै नगएको म एक दुई महिना पछि बहुत अत्यास लाग्यो । कम बोल्ने र अरूको कुरा काट्न नसक्ने भएकोले दिदी भिनाजुसँग घर जान्छु भन्न पनि सकिन । कहिलेकाहीँ आमासँग फोनमा कुरा गर्दा पनि रुन्थे । अत्यास लाग्दा लाग्दै पनि छ महिना पछि मात्र दसैँमा घर जान पाएँ । घर गएर आमाको काखमा बेस्सरी रोएँ । म अब काठमान्डु जान्न आमा यतै बसेर पढ्छु भने । बेलुका ननिदाउन्जेल आमासँग गफ भयो । भोलि पल्ट बिहानै गीतुलाई बाटोमा देखे । अरू खासै कुरा भएन ,कति बस्छौँ र कहिले फर्कने मात्र सोधिन ।

दसैँ अवधि भर रमाइलोसँग बित्यो । दिनमा एक दुई पटक गीतुसँग पनि भेट हुन्थ्यो । उनको कुरा गराई र भावनाबाट म बुझ्थे, मलाई काठमान्डु नजाओस् र यतै फेरी सँगै पढ्न जान पाइयोस् भन्थिन । मेरो अन्तर मनको बाल सुलभ प्रेम अहिले आएर बिउ फुटेर निस्कने टुसा जस्तो देखिएको भान भयो । सायद उनको मनमा पनि त्यो टुसा पलाएको हुनु पर्छ । उनले सोधिन तिमी अब गएपछि कहिले आउँछौँ ? खै अब अर्को दसैँमा हुन्छ की, मैले भने । तिम्रो फोन नं छ ? छ भने देऊ न उनले भनिन् । मैले मेरो फोन नं दिएँ । भोलि पल्ट म काठमान्डु जाने दिन, म झोला बोकेर बाटोमा निस्कँदा उनी घर अघि उभिएर हेरी रहिन तर केही बोलिनन् । म पनि केही नबोली सरासर गएँ ।

उनले फोन नं लिए पनि कहिल्यै फोन गरिनन् । अब अर्को दसैँमा घर जान पाउने आशामा थिएँ ।दसैँ नजिकिँदै गर्दा थाहा भयो, नजिकको आफन्त बितेर टिका लाउन नहुने भयो । टिका नलाउने भए पछि किन जान पर्‍यो तिमी ? पसल हेर्नु हामी जान्छौ भनेर यो दसैँमा दिदी भिनाजु जानु भो गाउँ तिर । दसैँको बेला सुनसान काठमान्डु सहरमा अघिल्लो वर्षको रमाँईलो दसैँ सम्झेर बिताउनु पर्‍यो ।

मङ्सिर महिनाको चिसो बिहानी चिया पिउँदै गर्दा फोनको घण्टी बज्यो । फोनमा आएको आवाज उनै गीतुको थियो । सन्चो बिसन्चो सोधिन ,दसैँ तिहारमा घरमा नआउनुको कारण सोधिन । कसरी र किन यत्रो समय पछि फोन गरिन कौतूहल थियो मेरो मनमा । उनले भनिन् हेर न निम्ता दिन तिमीलाई फोन गरेको मिल्छ भने आऊ है ? यही मङ्सिर १५ गते मेरो बिहे हो । होर ? म झसङ्ग भए ।

फोन समातेको हात पसीनाले भिज्यो ।वाक्य अरू केही आएन मुखबाट हुन्छ मिल्यो भने आउँछु भनिदिएँ र फोन राखे ।फोन राखेर एक गिलास पानी खाए । चिसो पानीले मुख धोएँ । त्यो रात भर मनमा कुरा खेली रह्यो । मलाई बल्ल लाग्यो, मेरो मनले उनैलाई मन पराउँथ्यो तर व्यक्त गर्न नसकेर आज उनी अरू कसैकी हुने भइन । मलाई बल्ल लाग्न थाल्यो, उनले गरेका ब्यवाहार, बोली र हाउभाउ सायद मलाई गरेको प्रेमको सङ्केत थियो ।विगतमा उनले भने गरेका सबै कुराहरू प्रेमकै इसारा लाग्न थाल्यो । बुझ्नु पर्ने बेलामा नबुझे पछि अहिले बुझेर के गर्नु ? आफूले आफैलाई गाली गर्न मन लाग्यो ।

आज मङ्सिर १५ गते गीतुको बिहेको दिन । बिहान चार बजे नै बिउँझिएँ । म उनको बिहेमा नगए पनि मेरो कल्पनामा उनी दिन भर आई नै रहिन । अहिले बिहेको जग्गेमा बसेकी होलिन्, यति बेला जन्ती आए होलान्, यति बेला यस्तो गर्दै होलीन भन्दै दिन भर उनकै बिहेको कुरा मनमा आई रह्यो । मनमा पलाएको प्रेम व्यक्त गर्न नसक्दा हेर्दा हेर्दै उनी अरूकै भइन आज देखी । उनको मनमा के थियो मात्र अन्दाज गर्न सक्छु तर मेरो मनमा प्रेमको मुना पलाएको रहेछ जुन दिन त्यो मुना भाँचियो र मन दुख्यो त्यसपछि मात्र थाहा भयो मलाई । भाचिईसके पछि न त्यो जोडिन सम्भव थियो न फेरी पलाउन । यसरी थाहै नपाई एउटा मायाको बिउ रोपियो तर फक्रीएर फूल नबनी मुनामै भाँचिएर सिद्दीयो ।

प्रतिक्रिया