अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

हर्के ! तँ आफै बस्नुपर्छ सेल्फ क्वारेन्टाइनमा

किरण पौडेल २०७६ चैत ३ गते २२:२५ मा प्रकाशित

कथा
घरको कान्छो छोरो भएकोले पनि हर्क बहादुरलाई धेरैले कान्छा भनेर पनि बोलाउँथे । घरको आर्थिक अवस्थाका कारण हर्के आफ्नो स्नातक तहको अध्ययन बिचमै छाडेर विदेश तिर हिँडेको थियो । बुवा आमाको कर बलले गर्दा अर्कोबर्ष छुट्टी लिएर घर गई गाउँकै मन परेकी केटी चमेलीसँग बिहे गरेर पुन विदेश फर्कियो । धेरै पटक घर आउजाउ गरिरहन त्यति टाढा देखि सम्भव हुने अवस्था थिएन नै । यता चमेलीले छोरा जन्माए पछि फेसबुकमा फोटो अपलोड गरेर बाबु बनेकोमा सबैबाट बधाई पायो तर आफै घरमा पुगेर यो खुसी साटासाट गर्न तत्कालै सम्भव हुने कुरै भएन । बुढा भएका बा-आमा र चमेलीको सपना पूरा गर्नका लागि बिहे पछिका करिब तिन वर्ष छुट्टी नलिईकन उतै निरन्तर काममा लागि रह्यो । दुईबर्षको हुँदा सम्म छोराको अनुहार उसले भिडियो कल हुँदा मात्र देख्न पाएको थियो । त्यसैले पनि घर पुगेर छोराको अनुहार हेर्न र प्यारी चमेलीको अँगालोमा बाँधिन आतुर थियो हर्क बहादुर । काम गर्ने कम्पनीमा करिब करिब ५/६ महिना अघि नै घर जाने छुट्टीको अवधि निधो गरेर जहाजको टिकट पनि लिई सकेको थियो । घर जाने मिति नजिकिँदै गर्दा विश्वव्यापी रूपमा एउटा सरुवा रोगले उग्र रूप लिँदै गएको थियो । उक्त रोगको प्रकोपले सयौँ देशका हजारौँ मानिसको ज्यान गई सकेको थियो भने लाखौँ मानिस प्रभावित भई सकेका थिए ।

बेलाबेलामा हर्केलाई घरबाट चमेलीले फोन गरिरहेकी हुन्थी । भाइरसको प्रकोप फैलिएसँगै सामाजिक सञ्जालभर त्यसकै बारेमा खबर र समाचार भेटिने हुनाले यो विषय सबैको चासोको विषय हुनु नौलो थिएन । प्रकोपले विश्वलाई नै अत्यन्तै गाँजेको अवस्था थियो । प्रभावित केही देशका सहरहरू लक-डाउन गरिएका थिए भने केही उडानहरू समेत बन्द गरिएका थिए । घर जाने दिन नजिकिँदै गर्दा आफू जाने जहाजको उडानको बारेमा अपडेट खबर लिई रहेको थियो हर्केले । उक्त रोगको सम्बन्धमा विभिन्न समाचारहरू सामाजिक सञ्जालमा आईरहको कारणले पनि सबैले सत्य तथ्य जानकारी पाउने माहौल थियो भलै केही गलत समाचार पनि प्रसारित थिए । प्रकोप रोकथामका लागि सम्पूर्ण तह र तप्काबाट पूर्ण तयारी गरिएकोले यता भने रोगको प्रभाव परेको थिएन र अवस्था सामान्य थियो । हर्केमा भने एयरपोर्ट झरेपछि के होला कसो होला भन्ने कौतुहलता रहेको थियो । साथीहरूसँगको सोधपुछबाट थाहा पायो कि एयरपोर्टमा झरेपछि सम्पूर्ण यात्रुको तापक्रम नाप्ने र ज्वरो आएका व्यक्तिलाई अस्पताल पठाउने रहेछ । प्रकोपको महामारी भएका देशबाट आएका व्यक्तिहरूमा ज्वरो नआएको भए पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनेको अवस्था थियो जुन उपाय प्रकोप रोकथामको लागि सर्वोत्तम विकल्प थियो ।

विभिन्न कौतुहलतासँगै हर्केको स्वदेश यात्रा सुरु भयो । जहाजमा अरूसँग हत्तपत्त छोई छिटो नगरीकन यात्रा गर्‍यो । एयरपोर्ट झरेपछि स्वास्थ्य जाँचकीले तापक्रम चेक गरे । तापक्रम सामान्य रहेको पाइयो । झिसमिसे साँझ परिसकेको थियो । हर्केको परिवार गाउँतिर नै थिए । लगेज रिसिभ गरेपछि ट्याक्सी लिएर हर्के आफ्नो अङ्कल-आन्टिको घरतिर लाग्यो । कुन देशबाट आउनु भएको दाइ भनेर ट्याक्सी चालकले हर्केलाई एक पटक सोधेको थियो तर हर्के के सोच्दै थियो कुन्नि चालकको प्रश्न उसले सुनेन । राजधानी आउँदा जाँदा हर्केका घरका सबै जना अङ्कलको घरमै बस्ने गर्दथे । अङ्कल पनि हर्केलाई औधी माया गर्थे । अङ्कलका बाबु-नानीहरूको स्कुलको अन्तिम परीक्षा चलिरहेको थियो । घरमा विदेशबाट दादा आउनुभयो भनेर केटाकेटी निकै खुसी भए । यो पटक भने हर्के सिधै आफ्नो घरमा नआएको भए हुन्थ्यो भन्ने अङ्कल-आन्टिलाई मनमा लागिरहेको थियो तर मुख खोलेर भन्न उनीहरूलाई गारो भयो । अहिलेको रोगको प्रकोपको बारेमा हर्केले कुरो बुझ्ला र त्यो रात होटेल तिर बसेर भोलिपल्ट गाउँतिर जाला भन्ने सोचेका थिए । अङ्कलका छिमेकीले पनि चासो दिएर सोधे- उसका भतिज कुन देशबाट आएका हुन् भनेर । हर्केले विदेशबाट ल्याएको चकलेट बाबु नानीलाई दिनु भनी आँटिलाई दियो तर आन्टिले दराजभित्र थन्काएर राखिन् । भोलिपल्ट बिहान सबेरै अङ्कलले हर्केलाई गाउँ जाने बस चढाएर पठाए । हर्के विदेशबाट सिधै आफ्नो घरमा आएर बसेको हुनाले स्वास्थ्यको दृष्टिकोणले अबको चौध दिनसम्म आफूहरू चङ्ख रहनु पर्ने ठहराए अङ्कल-आन्टिले ।

बिहान सबेरै हर्के गाउँ जाने बस चढेको भन्ने जानकारी घरमा गरायो । बा-आमा र चमेली खुसी त थिए नै । अङ्कलले चमेलीलाई फोन गरेर हर्के दुई हप्ता छुट्टै कोठामा आराम गर्दा उपयुक्त हुने हुँदा सोही अनुसार गर्नुपर्ने सुझाए । तोकिएको होम क्वारेन्टाइन अवधिभर घरको छुट्टै कोठामा बसिदिए हुन्थ्यो भन्ने चमेलीको पनि चाहना थियो । दुई हप्ता छुट्टै कोठामा बसिदिएमा घरका सदस्यहरूका साथै समाजमा समेत यो रोगको असर पर्ने थिएन । हर्के घरमा पुगेर बा-आमालाई ढोग गर्‍यो । सानो छोरालाई काखमा लिँदै चमेलीसँग अङ्गालिन पुग्यो । यतिका वर्ष पछि आएको पतिलाई छुट्टै कोठामा सुत्नु भन्ने आँट चमेलीले गर्न सकिनन् । किनभने यसो भनेमा विषयवस्तुलाई नै उसले गलत रूपमा अर्थ्याउँछ कि भन्ने डर पनि चमेलीलाई थियो । मुख फोरेर पतिलाई छुट्टै कोठामा बस्नु भनेर आफू नराम्रो बन्नु भन्दा बरु भैपरि आउने समस्या सामना गर्ने विचार गरिन् । गाउँमा अरूलाई भन्नुपर्दा भने होम क्वारेन्टाइनमै हुनुहुन्छ भनेर जानकारी दिन्थिन् । हर्केले छिमेकमा दिने भनी उताबाट ल्याएका केही चकलेट र कपडाहरू चमेलीले उनीहरुकोमा पुराईदिईन् तर छिमेकले मनमनै अप्ठ्यारो मानेर लिए । यी यावत् कुराहरू हर्केलाई प्रत्यक्ष कसैले भनिदिएन र उसले महसुस पनि गरेन । हर्के भने मनमनै आफूलाई कुनै पनि रोगको समस्या नभएको जिद्दी गरी सामान्य मानिस सरह आफ्नो गतिविधि गरी रह्यो ।

अर्को हप्ता छिमेकमा एउटा पूजाको आयोजना भयो । थोरै आफन्त र छिमेकी मात्र बोलाउने उनीहरूको योजना थियो । उनीहरूले छिमेकीको नाताले हर्केको घरमा पनि निम्ता गरे । हर्के आएको दुई हप्ता भएको थिएन तर पनि हर्के पूजामा गयो । केहीसँग हर्केले हात मिलायो । हर्केसँग हात मिलाउनेहरू झसङ्ग हुँदै चुपचाप साबुन पानीले हात धुन धारा तिर लागे । त्यसपछिका अरूले आजकल नमस्ते गर्ने चलन आएको छ भनेर हर्केसँग हात मिलाएनन् । तैपनि उसको अवस्था बारेमा अलि स्पष्ट हुन हर्केलाई एउटाले सोध्यो- तपाईँले त पक्कै घरमा छुट्टै कोठा प्रयोग गरिरहनु भएको होला नि, हैन । हर्केको जवाफ थियो- मलाई केही भएकै छैन, घरमा त्यसरी छुट्टै कोठामा सुत्नुपर्ने कुरै छैन नि । त्यसपछि हर्के सेल्फ क्वारेन्टाइनमा नबसेको कुरा गाउँभरि थाहा भएपछि मानिसहरू चमेलीको छेउछाउमा समेत पर्न छाडे । रोगको प्रकोपको महामारीमा नागरिकले आफ्नो तर्फबाट कसरी सहयोग गर्ने भन्ने बारेमा हर्केले कहिले सोचेन । बेला मौकामा अरूको कमजोरी देखाउन तम्सने हर्केलाई उसैको कमजोरीका कारण महामारी भित्रन सक्छ भन्ने कुराको हेक्का नभएको देख्दा गाउँले आजित बने । गाउँको चिया पसल तिर हर्केकै विषयको चर्चा थियो । फोनमा कुरा हुँदा ससुरावाले हर्केलाई ज्वाँईसाब तपाईँको विदेशको थकाई बाँकी नै होला अरू एक हप्ता घरमा आराम गरेर बस्नु है भनी अनुरोध गरे तैपनि हर्केले कुरा बुझेन ।

पहिले पहिले अरूको गल्ती औँल्याउँदै यो भएन त्यो भएन भनेर टिका टिप्पणी गरिहिँड्ने हर्के आज आफूले समयपरिस्थिती अनुसार गर्नुपर्ने दायित्वबाट विमुख देखियो । घरमा बा-आमालाई अहिलेको महामारीको बारेमा जानकारी दिदैं मैले भनेको जस्तो गरेमा सजिलै नियन्त्रणमा आउँछ भनेर गफ दिदैं रहिछ बूढाबूढीसँग । उसले आफ्नै परिवार र छिमेकीलाई दुःख दिई रहेको अनुभूत गर्दै सबै गाउँलेले मनमनै गाली गर्दै भन्ने गर्थे, हर्के तँ आफैँ बस्नुपर्छ सेल्फ क्वारेन्टाइनमा । भाग्यवश, हर्के र हर्केको परिवारमा उ आएको दुई हप्ता सम्म स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या नदेखिए पछि भने सबै कुरा सामान्य अवस्थामा फर्कियो । सहरमा रहेका अङ्कल-आन्टि लगायत गाउँका सबै जना हर्षित भए ।