अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

नियात्रा सङ्ग्रह “दाइबुचु” र पृष्ठभूमि माथिको एक समीक्षा

किरण पौडेल २०७६ कार्तिक १३ गते ९:५८ मा प्रकाशित

दसौँ विश्व हाइकु सम्मेलन २०१९ हालै जापानमा सम्पन्न भएको छ । सोही सम्मेलनका क्रममा एउटा नियात्रा सङ्ग्रहको पनि विमोचन गरिएको थियो । नियात्रा सङ्ग्रहको नाम थियो “दाइबुचु” । दाइबुचुलाई साहित्यकार कृष्ण बजगाईंले बजारमा ल्याएका हुन् । साहित्यिक यात्राका क्रममा जापान पुगेका साहित्यकार कृष्ण बजगाईंले यात्राका क्रममा प्रत्यक्ष रूपमा देखेका तथा भोगेका जापानी कला, साहित्य, संस्कृति र इतिहास लगायतका विषयबस्तुहरुलाई सरल र सहज किसिमले दाइबुचुमा उतारेका छन् । गतबर्ष अन्तर्राष्ट्रिय हाइकु महोत्सव २०१८ मा सहभागी हुन उनी जापान पुगेको र कार्यक्रम पश्चात् लामो यात्रामा निस्किएपछिका अनुभूतिहरूलाई दाइबुचुमा समावेश गरिएको प्रसङ्गलाई लेखकले पुस्तकको अग्र भागमा उल्लेख गरेका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय थुप्रै सङ्घसंस्थाहरूको नेतृत्व गरिसकेका र धेरै साहित्य पुरस्कार र सम्मानबाट सम्मानित भई सकेका अनुभवी र पाका व्यक्तित्व बजगाईंको हालै बजारमा आएको पुस्तक “दाइबुचु” नियात्रा सङ्ग्रह एघारौँ कृति हो । जापानको पुरानो राजधानी भनेर चिनिने कामकुरा भन्ने स्थानमा बुद्धको विशाल मूर्ति रहेको छ । जापानी भाषामा बुद्धको ठुलो मूर्तिलाई दाइबुचु भनिने रहेछ । लेखकले सो शब्दलाई साभार गर्दै आफ्नो नियात्रा पुस्तकको नाम प्रतिकात्मक शैलीमा बौद्ध धर्म प्रतिको नेपाली आस्थालाई प्रकट गरेका छन् ।

विगत एकबर्ष यताको समय हाइकु साहित्यको लागि निकै उर्वर समयको रूपमा रह्यो । जापानको राजधानी टोकियोमा गतबर्ष नेपाली साहित्यमा रुचि राख्ने विभिन्न देशमा रहेका साहित्यिक व्यक्तित्वहरूको ठुलै जमातको उपस्थिति थियो । त्यसताका अन्तर्राष्ट्रिय हाइकु महोत्सव २०१८ भव्यताका साथ सम्पन्न भएसँगै सोही अवधिमा विभिन्न स्थलगत यात्रामा संलग्न सदस्यहरूको प्रतिकृयात्मक अभिव्यक्ति समेत उल्लेख गरी नियात्रा सङ्ग्रह तयार पारिएकोले पनि सङ्ग्रह थप रोमाञ्चक बनेको महसुस गर्न सकिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले टोकियोमा आयोजना गरेको महोत्सवमा नेपालबाट नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. राम कुमार पाँडेको नेतृत्वमा साहित्यिक समूह जापान पुगेको थियो भने बेलायतबाट वरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण बजगाईं उपस्थित थिए । नेपालबाट सहभागी हुनेहरुमा शिरोमणी दवाडी, अश्विनी कोइराला, विजयराज आचार्य, किरण पौडेल र प्रभा बराल लगायतका रहेका थिए । त्यसै गरी जापानमा रहेर नेपाली साहित्यमा रुचि राख्ने तथा नेपाली साहित्यलाई माया गर्ने समस्त विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लेखक बजगाईं कै यात्रा दलको एक सदस्यको रूपमा म आफू पनि रहेकोले दाइबुचु पढ्दै गर्दा हरसमय विषय-प्रसंगसँगै साथसाथै बगेको अनुभूत गरेँ । अतिथि सत्कारमा जापानीजहरुको परम्परालाई लेखकले सङ्ग्रहमा खुलेर प्रशंसा गरेका छन् । साहित्यिक समूहद्वारा हाइकुका प्रणेता माचुओ वासोको घर, उनको घर नजिकैको सुमिदा नदी तथा उनले हाइकु लेख्न प्रयोग गरेका पदमार्गहरूको अवलोकन गरिएको थियो । माचुओ वासोको संग्राहालय समेत अवलोकन गर्दा त्यसताका लेख्न प्रयोग गरिएका सर-सामाग्री तथा उनका केही हस्त लिपी समेत हेर्ने अवसर प्राप्त भएको थियो । वास्तवमै जापानिजहरुले आफ्नो ऐतिहासिक साहित्यिक धरोहरलाई उच्च सम्मान दिनका लागि उनको नाममा संग्रहालय नै स्थापना गरिदिएका रहेछन् । हामीले नेपाली कागज भनेर चिनिने कागज उक्त संग्रहालयमा भेटिएको थियो, जुन कागज जापानमा धेरै पहिला देखि प्रयोगमा रहेको प्रस्ट हुन्थ्यो । लेखकले यसलाई पहाडे कागजको रूपमा रहेको आफ्नोपन र आत्मीयता टुटेको कुरा उल्लेख गरेका छन् । टोकियोको झरीमा छाता ओढेर हिँडेका जापानीजहरु आफ्नो कारणले अरूलाई अप्ठ्यारो नपरोस् भनेर निकै सतर्कता अपनाएर हिँडेको देखिन्थ्यो ।

त्यसो त जापानिजहरु अरूलाई असर नपुगोस् भनेर कपडामा कुनै पनि किसिमका अत्तर र गन्धहरू पनि प्रयोग नगर्ने रहेछन् । विश्वकै व्यस्त जेब्रा क्रसको उपाधि पाएको सिवुयामा रहेको हाचिको नामक कुकुरको बारेमा त फिल्म नै बनिसकेको छ । उक्त कुकुरको मूर्तिसँग फोटो खिच्न र खिचाउन मानिसहरू खचाखच देखिन्थे । स्वर्ण मन्दिर, ओन्सेनको स्नान र जापानमा प्रचलित लभ होटेलको प्रसङ्ग पुस्तकमा निकै रोचक रूपमा व्याख्या गरिएको छ । यात्राका क्रममा धेरै सुरुङ मार्ग र हावाबाट बिजुली निकाल्ने पंखाहरु डाडाँकाडाँमा छपक्कै देखिन्थे । चरम विकासको नमुना र सपनाको मुलुकको रूपमा रहेको देश जापान सम्बन्धी जान्ने र बुझ्ने इच्छा जो कोहीमा हुनु स्वाभाविक हो । जापान सम्बन्धी यावत् कौतुहलता र जिज्ञासालाई दाइबुचुले सम्बोधन गर्ने कोसिस गरेको पाइन्छ । लेखकले दाइबुचुलाई जापानमै विमोचन गराएर यस पुस्तकको गाम्भिर्यता र सार्थकतालाई प्रष्ट्याउने जमर्को समेत गरेका छन् । दाइबुचु एउटा नियात्रा सङ्ग्रहको रूप मात्र नभएर यसले हाइकुको मर्मलाई आत्मसाथ गर्दै विभिन्न विषयवस्तुमा घोत्लिएको देखिन्छ ।

अन्तर्राष्ट्रिय हाइकु महोत्सवको पूर्व सन्ध्यामा टोकियोमा अवस्थित सोलमारी मुरा हलमा स्रष्टाहरुलाई स्वागत तथा रिसेप्सन डिनरको आयोजना गरिएको थियो । पुष्करजंग थापा सोलमारी मुरा हलका सञ्चालक हुनुहुन्छ । नियात्राको अन्त्यमा यस प्रसङ्गलाई पनि पुस्तकमा उल्लेख गरिएको छ । टोकियोमा अवस्थित सोलमारी मुरा हलमा अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठक, उपाध्यक्षहरू गिरिजा गैरे र श्रवण सत्याल, महासचिव अरुण पौडेल, सचिव रविन शर्मा, सह-सचिव हेमन्त गिरी, धिसण निरौला, शेर बहादुर तामाङ, सङ्गीता कुँवर, इन्दु सुवेदी पौडेल, भूमिका अधिकारी पौडेल, किरण विक्रम थापा, सुवर्ण आचार्य, रामचन्द्र तिवारी, राजेन्द्र जमरकट्टेल, तिलक मल्ल, हरि सापकोटा, , भूपिगोविन्द श्रेष्ठ, अभिषेक सुवेदी, बाबुराम सापकोटा, अर्जुनजंग थापा, यदुराम सापकोटा, दीपक सुवेदी, आनन्द अधिकारी, लोकनाथ बस्ती लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम स्थल सोलमारी मुरा हल टोकियोमा रहेको नेपालीहरूको जमघटको केन्द्र नै मानिन्छ । हलभित्र नेपाली संस्कृति झल्कने साज-सजावट रहेको हुँदा उक्त हल भित्र प्रवेश गरेसँगै नेपालमै छु भन्ने आभास हुने रहेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको निमन्त्रणालाई स्वीकार गरी उत्सुकताका साथ वर्ड हाइकु एसोसिएसनका अध्यक्ष नाचुईसी वान्याईको नेतृत्वमा ७ जना जापानी विशिष्ट हाइजिनहरु समेत सो महोत्सवमा सहभागी हुनुभएको थियो । रोमाञ्चक शैलीमा कार्यक्रमको संयुक्त सञ्चालन नेपाली भाषामा रविन शर्मा तथा त्यसको जापानीज भाषामा अनुवाद धिसण निरौलाले गर्नुभएको थियो । एनआरएनएका तत्कालीन अध्यक्ष भवन भट्टको उपस्थितिले कार्यक्रम शोभायमान भएको थियो ।

उहाँले आफ्ना हाइकु रचनाहरू उक्त कार्यक्रममा वाचन समेत गर्नु भएको थियो । कार्यक्रममा जापान स्थित नेपाली दूतावासको प्रतिनिधिको रूपमा कृष्ण चन्द्र अर्यालको उपस्थिति रहेको थियो । जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको अग्रणी व्यक्तित्व मानिनुहुने सुषमा अमता दिदी तथा प्रेमिला गौचन दिदीको उपस्थिति युवा जमातमा सदैव प्रेरणादायक रहेको पाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको जापान च्याप्टरमा नेतृत्वदायी र कुशल भूमिका निर्वाह गरिसक्नु भएका डा. कुमार बस्नेत, वेलुकाजी थापा, आलोक चालिसे, दिनेश ज्ञवाली, प्रकाश पौडेल माइला, विष्णु प्रसाद घिमिरे तथा दीप पाठक जस्ता विशिष्ट व्यक्तित्वबाट अनेसास जापान च्याप्टर सदैव सद्मार्गमा हिँड्नेछ भन्ने ठोकुवा गर्न सकिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला उक्त महोत्सवको संयोजक हुनुहुन्थ्यो । लामो समय देखि जापानमा रहनु भएका वरिष्ठ पत्रकार भूषण घिमिरे, जिज्ञान कुमार थापा, डा. भूपालमान श्रेष्ठ, गायक रामकृष्ण बम मल्ल ठकुरी लगायतको सहकार्य र समन्वय अत्यन्त गौरवको विषय रहेको पाइएको थियो । ओसाका क्षेत्रका नेपाली साहित्यकारहरू रमेश बाबु घिमिरे, नरेन्द्र बस्नेत, भीम कडेंल, कृष्ण सुवेदी गङ्गा, दुर्गा राज मरासिनी, कृष्ण प्रसाद उपाध्याय, सविन पोख्रेल, रामचन्द्र काफ्ले, अनजान कुमार बस्नेत, महेश कुमार कटवाल, शङ्कर भूषाल, दीपक भण्डारी एवं विष्णु प्रसाद सुवेदी लगायतका व्यक्तित्वहरू कम्मर कसेर साहित्यिक उत्थानमा लागेको अनुभूत गरियो ।

यहाँनिर, अलिकति हाइकुको इतिहास जोड्न चाहेँ । बिस २०१९ मा शङ्कर लामिछानेद्वारा सृजित हाइकु नेपाली पहिलो हाइकुको रूपमा स्थापित छ । त्यसपछि विभिन्न आरोह-अवरोह पार गर्दै आएको हाइकु साहित्यले बिस २०६० पछि मात्र मूर्तरूप लिएको देखिन्छ । चित्रकारको रूपमा सन् १९८९ मा पहिलो पटक जापान पुग्नु भएका प्रा राम कुमार पाँडेले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो – नेपालीहरूले हाइकु लेख्छन् भन्नेमा जापानीहरूलाई सुरु-शुरुमा पत्यार लागेको थिएन । वास्तवमा अहिले नेपालीहरूले प्रमाणित नै गरेर देखाई दिएका छन् कि नेपालीहरूले सारगर्भित र विम्वमय हाइकु लेख्न सक्छन् भनेर । यसैको फलस्वरूप गतबर्ष नेपाललाई पहिलो विदेशी राष्ट्रको रूपमा वर्ड हाइकु एसोसिएसनले कार्यकारी समितिमा चयन गरेको छ । नेपालको लागि हाइकु साहित्यमा यो अहिले सम्मको सबैभन्दा ठुलो फड्को, सफलता र गर्वको विषय पनि हो । जापान यात्राको सो अवधिमा साहित्यले जुराएको नेपाली एकता प्रत्यक्ष महसुस गर्ने अवसर प्राप्त भयो । अन्य कार्यक्रमहरू भन्दा साहित्य संयोजनमा आयोजित कार्यक्रममा नेपाली मनहरूको संलग्नता र सौहार्दता देख्दा खुसीको सीमा रहेन ।

साहित्यिक यात्रा कै एक सदस्यको रूपमा जापान भ्रमण गर्दै गर्दा त्यही यात्राले यति उत्कृष्ट पुस्तक जन्मिएला भन्ने आंकलन शायदै कसैले गरेका थिए । अब जापानको बारेमा जान्न र बुझ्न इच्छुक महानुभावहरूका लागि “दाइबुचु” मूलग्रन्थकै रूपमा आएको छ भने यसले जनमनको मस्तिष्क जित्नेछ भन्नेमा पूर्ण विश्वस्त हुन सकिन्छ । पुस्तक पढ्दै गर्दा पाठक स्वयं आफू नै जापान पुगेको अनुभूति गराउन सक्ने सामर्थ्य यस पुस्तकमा रहेको छ । आकर्षक कभर डिजाइनमा २०४ पृष्ठमा समेटिएको यस पुस्तक १३ वटा शीर्षकहरूमा विभाजित छ । संग्रहमा रहेका हरेक शीर्षकहरू भिन्न-भिन्न विषय प्रसङ्गहरूमा केन्द्रित छन् । पुस्तकको मूल्य नेपाली रु. ३२५।- र डलरमा १० उल्लेख गरिएको छ । विदेशी भूमिको व्यस्त दैनिकीबाट समय निकालेर पाठकमाझ दाइबुचु जस्तो गहन नियात्रा सङ्ग्रह पस्कनु भएकोमा साहित्यकार कृष्ण बजगाईं प्रति मुरी मुरी साधुवाद ।

(नेपाली साहित्यको विविध क्षेत्रमा कलम चलाउनु हुने लेखक किरण पौडेल सशस्त्र प्रहरी बल, नेपालका डिएसपी हुन्)