अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

साहित्यकार गोरखबहादुर सिंहको विशेष सम्झना

किरण पौडेल २०७८ साउन २१ गते ६:५८ मा प्रकाशित

विशेष दिनको रूपमा हरेक वर्षको श्रावण-२३ मा साहित्यकार गोरखबहादुर सिंहको सम्झना गरिएको हुन्छ। साहित्यकार गोरखबहादुर सिंहको नामसँग म पनि विगत एक दशक देखि परिचित थिएँ तर भेटघाट भने भएको थिएन। त्यसो त धेरै साहित्यकारहरूको बारेमा सुनिएको हुन्छ र उनीहरूका पुस्तकहरू पनि पढिएको हुन्छ तर पनि सबैसँग व्यक्तिगत चिनजान र उनीहरूका निजी जीवनका बारेमा थाहा हुन्छ नै भन्ने पनि छैन।

कुराकानीकै सिलसिलामा मेरा हितैषी मित्र अमित सिंहले एक दिन मेरो साहित्य प्रतिको रुचिको विषयमा सोधेका थिए। उनको साहित्यिक प्रसङ्गका जिज्ञासाहरूसँगै हालको बदिलिदों साहित्यिक परिस्थितिका बारेमा पनि अनौपचारिक गन्थनमन्थन गरियो। अर्को दिन उनले मलाई एउटा पुस्तक उपहार दिए। पुस्तक उपहार पाएकोमा धेरै खुसी लाग्यो। उक्त पुस्तकमा साहित्यकार स्व. गोरखबहादुर सिंह प्रतिको श्रद्दासुमन प्रकट गरिएको थियो। उनले साहित्यकार गोरखबहादुर सिंह मेरो बुवा हो नि, भनेपछि पो मलाई वास्तविक सम्बन्ध थाहा भयो। धेरै खुसी लाग्यो, करिब दुई दशक देखि निकट रहेका मेरा प्रिय मित्र अमित सिंहका बुवा नै साहित्यकार गोरखबहादुर सिंह रहेछन्।क्रमशः परिचय खण्ड, संस्मरण खण्ड, समालोचना खण्ड गरी २१५ पृष्ठको उक्त पुस्तकमा गोरखबहादुर सिंहले प्राप्त गरेका विभिन्न प्रशंसा पत्रका प्रतिलिपि, जीवनकालका विभिन्न समयका तस्बिरहरू तथा शोक पुस्तिकाबाट साभार गरिएका केही सारगर्भित हस्तलिपीहरु समेत समावेश गरिएका छन्। पुस्तकको सम्पादन भूमिका निर्वाह गरेका प्रा. केशव सुवेदीले गोरखबहादुर सिंहको स्मृतिमा ग्रन्थ प्रकाशन गर्ने परिकल्पना उल्लेख गर्दै गोरखबहादुर सिंहकी धर्मपत्नी शारदाले संरक्षकीय दायित्व लिएपश्चात् ग्रन्थ निर्माणको दायित्व सिंहका कान्छा छोरा अमित सिंह र रोल्पाका चर्चित युवा साहित्यकार रमेश सुवेदी सहित प्रा. केशव सुवेदीले लिएको बताउँछन्। गोरखबहादुर सिंहका साहित्यिक, प्रशासनिक तथा राजनीतिक र अन्य क्षेत्रका अग्रज सहकर्मी र अनुज पुस्तालाई उनीसँगका संस्मरणहरू लेख्न अनुरोध गरी पत्राचार गरेको प्रसङ्ग सुवेदीले सम्झन्छन् ।

गोरखबहादुर सिंहको जन्म प्युठान जिल्लाको लुङमा वि.सं. २००८ फाल्गुन १० गते आमाबुबाको दोस्रो सन्तानका रूपमा भएको थियो। उनका आमाबुबाको १२ जना सन्तान थिए । उनी १२ वर्षको हुँदा वि.सं. २०२० सालमा उनकी आमाको मृत्यु भएको थियो। उनी स्कुल तहमा पढ्दा नै कविता, गीत र कथाहरू लेख्ने गर्दथे। स्कुले जीवनमै उनी साहित्यकार भनेर चिनिएका हुँदा विद्यालयबाट प्रकाशित मुख पत्रमा कुनै खास विषयमा कविता चाहिएमा प्रधानाध्यापकले उनैलाई लेख्‍न लगाउने गरेका प्रसङ्ग रमेश सुवेदीले उल्लेख गरेका छन् । गोरखबहादुर सिंह 2022 सालमा प्युठान जिल्लाकै पुरानो स्कुल जनता माध्यमिक विद्यालय, बाग्दुलाबाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेपछि अध्ययनको लागि भारतको बनारस गए।अध्ययन पश्चात् गाउँमै फर्किएर प्युठान जिल्लाकै स्कुलहरूमा पढाउन थाले। गोरखबहादुर सिंहको विवाह वि.सं. 2031 सालमा रोल्पा गजुलकी शारदा सुवेदीसँग भयो। विवाह भएको एकबर्ष पछि वि.सं. २०३२ सालमा विद्यालय निरीक्षक पदमा नियुक्ति भएका सिंह सहसचिव पदबाट सेवानिवृत भएका थिए।उनका दुई छोरा र एक छोरी छन्।

उनले दुई विषयमा स्नातकोत्तर पूरा गरी एम.फिल. सम्मको अध्ययन पुरा गरेका थिए । उनलाई लवाईखवाईमा तडकभडक मन पर्दैनथ्यो। परेको बेलामा अरूलाई आफूले सकेको सहयोग गर्थे र आफू पनि अरूबाट सहयोग लिन्थे । सोर्सफोर्स होइन आफ्नै पौरखले काम गर्नुपर्छ भन्ने मान्यता राख्ने गोरखबहादुर सानैदेखि चुनौतीपूर्ण काम गर्न मन पराउँथे। उनको पहिलो रचना वि.सं. 2029 सालमा लेखिएको “कालेका गीतहरू” नामक कथा थियो भने उनको पहिलो प्रकाशित रचना बाग्लुङ्गबाट प्रकाशित कोसेली पत्रिकामा छापिएको कविता थियो। सिंहका विभिन्न विधाका १४ वटा पुस्तकहरू प्रकाशित छन् भने उनले अरू भाषाका बाल साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद पनि गरेका छन्। उनका प्रकाशित कृतिहरुः अल्छीको औषधी, खरायो र कछुवाको दौड, आलु प्याज/प्याज आलु, नगर सभाको पाँचौँ दिन, बिर्सन नसकिने मान्छे, भाषणको तयारी, पहिरो थुप्रिएको बगर, सुनको सियो, खप्तड, जातपातको कथा, ८० दिनमा विश्व भ्रमण, जुत्ते घरको मर्मत (बाल चित्र कविता) तथा चतुरेको चर्तिकला (भाग-१ देखि भाग-५ सम्म) रहेका छन्।

गोरखबहादुर सिंहले विभिन्न साहित्यिक सङ्गतशिला सम्मान, सामाजिक सेवा सम्मान र अन्तर्राष्ट्रिय स्वर्ण सम्मान लगायत दर्जनौँ सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरेका थिए। सिंहले विभिन्न राष्ट्रिय लघुकथा प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरेको पाइन्छ। “नेपाली बालसाहित्यमा गोरखबहादुर सिंहको योगदान” विषयमा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीले शोधपत्र पनि लेखेका छन् । उनका साहित्यिक कृतिका बारेमा विभिन्न समालोचकहरूले पनि लेखेका छन्। मधुमेहका कारण २०६९ सालको साउन २३ गते उनको मृत्यु भएको थियो। गोरखबहादुर सिंहको संक्षिप्त परिचयलाई पुस्तकको परिचय खण्ड अन्तर्गत गोपाल पराजुली र रमेश सुवेदीले विस्तृत रूपमा उल्लेख गर्नुभएको छ। आफन्तजनका नजरमा पनि विशिष्ट व्यक्तित्व थिए, गोरखबहादुर सिंह।

मिलनपछिको बिछोड शीर्षकमा शारदा सिंहले आफ्ना पतिदेवको सरल र सहज जीवन जिउने वानीको प्रशंसा गरेकी छन्। श्रद्धाभाव प्रकट गर्दैगर्दा उनले विवाहताकाको समयलाई ठट्यौली पाराले सम्झिएकी छन्। विवाह पश्चात् श्रीमान्ले अधिकृतमा सरकारी सेवा प्रारम्भ गरेको र कार्यक्षेत्रमा जाँदा अर्कै घरजम गर्नुहोला कि भन्ने आशंकामा सरुवा भएका जिल्लाहरूमा सँगसँगै गएको विषय उल्लेख गरेकी छन्। साहित्यकार सिंहका सुपुत्र अमितले आफ्ना पिता प्रतिको आगाध स्नेह र श्रद्धा एवं उपचारको क्रममा सामना गरेका विविध आयामलाई श्रद्दासुमन पुस्तकमा प्रकट गरेका छन्।

उनी लेख्छन्- “औषधी राखेको टोकरी नियाल्ने क्रममा पत्ता लाग्यो विगत तीन दिन देखी टिभीको औषधीको दोहोरो मात्रा पर्न गएको रहेछ।“चिकित्सक तथा नर्सबाट सामान्य लापरबाही हुन गएमा बिरामीमा पर्ने असर तथा सरकारी र प्राइभेट अस्पतालहरुमा चिकित्सकहरूले बिरामी र बिरामीका आफन्तसँग गर्ने फरक व्यवहारका सम्बन्धमा उल्लेख गरेका छन्। सुरीति अर्याल सिंहले आफ्ना ससुरा बुवाको सम्झना गर्दै एउटी बुहारी भएर वहाँको नजिक रहने मौका पाएको र आफूले सकेजति सेवा गर्ने अवसर पनि पाएको उल्लेख गरेकी छन् । छोरी दीप्ति सिंहले बुवासँग बाल्यकालमा भाँडाकुटी खेलेको र भाँडाकुटी खेल्दा साथी जस्तै बनेर खेल्न साथ दिएको प्रसंगलाई सम्झिन्छिन्।नातामा भिनाजु पर्ने स्व. सिंहलाई अनीश सुवेदीले नेपाली भएकोमा गर्व गर्ने सच्चा देशभक्तको रूपमा औँल्याएका छन्। त्यसै गरी भान्जा शङ्कर खड्काले अरूको दुःखमा आफू पनि दुखी बन्ने र सबैको उपकार गर्ने उहाँजस्तो मनकुबेर व्यक्तित्व जीवनमा विरलै भेटिने भनी मामाको तारिफ गरेका छन्। देवेन्द्र सुवेदीले आफ्ना भिनाजु क्रिकेटको सौखिन भएको विषय व्यक्त गरेका छन् भने भरत के.सी.ले गोरखबहादुरका कृतिहरूमा सामाजिक सुधारको सन्देश पाएको जनाएका छन्।सूर्यबहादुर कुँवर र ताराकिरण कुँवरले पुनर्जन्ममा गोरखबहादुर कै भान्जा भई जन्मने इच्छा प्रकट गरेका छन् ।

गोरखबहादुर सिंह नेपालका सबै जिल्लाहरु घुमेका थिए। प्राकृतिक मनोरमस्थानहरुको भ्रमण उनलाई असाध्यै मन पर्दथ्यो। गोरखबहादुर नयाँ नयाँ साथी बनाउन औधी चाख राख्दथे भने उनका साथीहरूले पनि गोरखबहादुर जस्ता असल र मिजासिलो साथी पाएकोमा गर्व गर्दथे।उनका मित्र मधुसूदन पौडेलले उनीसँग गोसाईंकुण्ड पुगेको स्मरण गरेका छन्। गोरखबहादुर आर्थिक हिसाबले विपन्न थिएनन् । परशु प्रधानले एउटा प्रसंगमा गोरखबहादुरले उनको उपचारमा आर्थिक सहयोगको प्रस्ताव इन्कार गरेको विषय उल्लेख गरेका छन्।

ध्रुव सापकोटाले देशले एक होनहार आख्यानकार गुमाएको जनाए। गोरखबहादुरले चेतनामूलक बालकथा मार्फत बालबालिकाहरूलाई अश्‍लिल संकृतिको प्रभावबाट जोगाउने प्रयत्न गरेका थिए भने राप्ति साहित्य परिपद्ले उनको लेखकीय योगदानको उच्च मुल्याङ्गकन गर्दै उनलाई पुरस्कृत र सम्मानित गरेको अनि मृत्यु पश्चात् उनको शव श्रद्धाञ्जलीको लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको विषय रामचन्द्र भट्टराईले सम्झन्छन्। राप्ती साहित्य परिषद्को पुरस्कार एवं सम्मानपत्र लिएर अमर गिरि, रमेश सुवेदी, भीमार्जुन आचार्य समेत भएर मिनभवनस्थित गोरखबहादुर सिंहको निवासमा पुगेको सम्झना नारायणप्रसाद शर्माले उल्लेख गरेका छन् ।

मर्दा पनि सँगै जाने साथी भनेका सुगर र प्रेसर हुन् भनी टिकाराम शर्माले जोक गर्दै गोरखबहादुरलाई सम्झन्छन्, त्यसै गरी शैलेन्द्र साकारले गोरखबहादुरको घरको गलैँचा जस्तो दुबो र एभोकाडोको रुख सम्झन्छन् भने लघुकथा समाजको स्थापनाको अवसरमा रेस्टुरेन्टको खाजा खाएको विल गोरखबहादुरले खेलकुद परिषद्को बैठकको भत्ताबाट तिरेको विषय श्रीओम श्रेष्ठ रोदनले स्मरण गर्दछन्। गोरखबहादुरका अर्का मित्र डा. गोविन्दप्रसाद कुसुम अलिक भावनात्मक रूपमा लेख्छन्-“जीवनभरि असल कुरा कम र नकारात्मक टीकाटिप्पणी बढी गर्छन्। तर त्यही व्यक्तिको देहावसानपछि उ जतिको जतिको असल व्यक्ति अरू कोही छैन भन्ने जस्तो गरी तारिफको पोको पार्छन् । “गुणस्तरिय कृति तथा उनले प्रशासनिक तथा साहित्यिक क्षेत्रमा छाडेर गएको अमिट छापले उनी सदा अमर रहने विश्वास व्यक्त गर्दछन्, पुरुषोत्तम खनाल ।

एक पटक मुक्तिनाथ यात्रामा जान भनी भोटाहिटीमा गई कपडाको लामो तुना भएको जुत्ता किनेको र फर्कँदा जुत्ताको तलुवा र माथिको भाग पुरै छुट्टिएको प्रसङ्ग ढालबहादुर खड्काले स्मरण गरेका छन्। सन्तोष श्रेष्ठले युवाहरूको विशेष पहलमा राप्ती समाज काठमाडौँ स्थापना भएपछि 2066 सालमा आफू उक्त समाजको अध्यक्ष भएको र सिंहलाई राप्ति समाजमा काठमाण्डौको सल्लाहकारमा बस्न अनुरोध गरेको सम्झन्छन् ।मोहन गिरीले आफू सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा जे.टि.ए. पदमा जागिरका सिलसिलामा बस्दा गोरखबहादुरसँगै रमाइलो गरी आवतजावत गरेको सम्झन्छन् ।त्यसै गरी चन्द्रबहादुर खड्काले गोरखबहादुर परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीमा कार्यरत रहँदा दशकौदेखि सञ्चालन गर्दै आएको परीक्षा सञ्चालनको परिपाटिमा ठुलो परिवर्तन ल्याउन गहन भूमिका निभाएको स्मरणयोग्य भूमिकाको सम्बन्धमा प्रकाश पारेका छन्। मनाङको थोरोङपासको भ्रमणको स्मरण गर्दै अफिसियल कामको कारण तुरुन्त शिक्षा मन्त्रालय आई पुग्नु भन्ने खबर प्राप्त भएकोले तिलिचो ताल पुग्ने अभियान अधुरै छाडी गोरखबहादुर र आफू काठमाडौँ फर्किएको सम्झन्छन् ।

पिएच.डी को तयारीमा गोरखबहादुरले एम.फिल समेत गर्नुभएको हुँदा नामको अगाडी डाक्टर लेख्ने सपना अधुरो रहेको विषय मधुसुदनप्रसाद घिमिरेले उल्लेख गरेका छन्।ऋषिकेश रिजालले माधव घिमिरेका कविताद्वारा र डा. फत्यबहादुर बटुवाले उम्दा स्रष्टाको संज्ञा दिँदै कवितामा नै गोरखबहादुर प्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

गोरखबहादुर सिंहका राजनैतिक मित्रहरूको अनुभवमा पनि उनी एक प्रतिभावान् र शालीन व्यक्तित्व रहेको पाइन्छ। राजनीतिज्ञ मोहनविक्रम सिंहले गोरखबहादुर सिंह नातामा भाइ (मामाको छोरा) पर्ने हुँदा सानै देखि जाने बुझेको एक शालीन व्यक्तिको रूपमा लिनुहुन्छ। त्यस्तै मणि थापाले गोरखबहादुरको साहित्यिक योगदानले गर्दा नै मृत शरीरलाई प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको स्मरण गर्दै आफू जनयुद्धमा होमिएको बखतमा समेत गीतसङ्गीत र साहित्यको चर्चा हुँदा गोरखको सम्झना हुने गरेको वताउँछन्। मोहन वैद्यले पनि गोरखबहादुर सिंहको निधनले नेपाली साहित्यमा ठुलो क्षति पुगेको बताएका छन् ।

साहित्यकार डा. रामदयाल राकेश भन्छन् – सधैँ हाँसेर कुराकानी गर्ने बानी भएका गोरखबहादुर सिंह पुष्पप्रेमी थिए । उनका कथा-लघुकथाहरू साहित्यिक मासिकहरूमा पढ्ने गरेको राकेश सम्झन्छन्। तराई मधेसका कथा प्रकाशनका सिलसिलामा गोरखबहादुरको घरमा भेट गर्न नारायण तिवारीसँगै परशु प्रधान, चन्द्रप्रसाद भट्टराई र पवन आलोकसँगै गएको र गोरखबहादुर सिंहले तराई मधेसका कथा प्रकाशनका लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फन्ड उपलब्ध गराउन सहयोग गर्नुभएको प्रसङ्ग साहित्यकार नारायण तिवारीले उल्लेख गरेका छन् ।अमर शाहले भने उनलाई आफ्नो साहित्यिक गुरु भन्न रुचाउँछन्। मन, वचन र कर्मले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका निम्ति उनको भनाइ र गराइ दुवैमा समानता कायम गरेका, साहित्य र शिक्षाका उज्याला दीप मान्छन्, साहित्यकार देवेन्द्रकुमार रिजालले।

डा. जीवेन्द्रदेव गिरीका अनुसार मध्यपश्चिम क्षेत्रको साहित्य र संस्कृतिको उत्थान र संवर्द्धनका लागि केही गर्नुपर्छ भन्ने विचारका साथ २०५१ वैशाख १ गते भृकुटीमण्डपमा मध्यपश्चिमका साहित्यकारहरूको एउटा भेला बोलाउने सल्लाह बमोजिम डा. मधुसूदन गिरीको संयोजनमा प्रेमबहादुर सिंह, उषा हमाल, प्रेम कैदी, बलदेव मजगैयाँ, गोपालप्रसाद शर्मा अधिकारी, महेन्द्रप्रसाद गिरी, गोरखबहादुर सिंह आदि सहितको एउटा भेला रत्नराज्य क्याम्पस भृकुटी मण्डपमा बोलाउने काम गरिएको थियो। उक्त भेलाले विधान बनाउने र मध्यपश्चिम साहित्य परिषद्को स्थापना गर्न एउटा तदर्थ समितिको गठन गरेको थियो । अध्यक्ष केशव सुवेदी, सचिव मधुसूदन गिरी र सदस्यहरू महेन्द्रप्रसाद गिरी, जीवेन्द्रदेव गिरी, गोपालप्रसाद शर्मा अधिकारी, राजेश्वर कार्की, आदि रहेको उक्त तदर्थ समितिले मध्य पश्चिमाञ्चल साहित्य परिषद्, काठमाण्डौंको स्थापना गरेको थियो जसले आजसम्म परिषद् र व्यक्तिका गरी दर्जनौँ पुस्तक प्रकाशित गरिसकेको छ।

मध्यपश्चिमको साहित्यिक इतिहासको खोजी गरेको छ। ‘खसानी’ पत्रिका प्रकाशित गरेको छ। मध्यपश्चिमका प्रतिनिधि कविहरुका कविता र कथाको सङ्ग्रह तयार गरेको छ। काठमाण्डौं र विशेष गरी नेपालगन्ज, दैलेखको दुल्लु, सुर्खेत, सल्यान आदि क्षेत्रमा राष्ट्रिय स्तरका साहित्य तथा संस्कृति महोत्सव सम्पन्न गरेको छ। पुराना प्रतिभाहरूको संस्मरण र नयाँ प्रतिभाको प्रोत्साहन स्वरूप सम्मानका कार्यक्रम गरेको छ। यी सबै विचारका एउटा बीउ गोरखबहादुर सिंह नै हुनुहुन्छ भन्दा अतिशयोक्ति हुँदैन भन्दछन्, डा. मधुसूदन गिरी। प्रा.डा. महादेव अवस्थीले जागरणमुखी नवयुगको कालिक चेतना व्यञ्जित रहेको बताएका छन्। प्रा.डा. जीवेन्द्रदेव गिरीले समाजमा विद्यमान विकृति र विसङ्‍गति समाप्त पार्न विभिन्न अभियान चलाउनुपर्छ भन्ने गोरखबहादुरको धारणा स्मरण गर्दछन् ।

डा. ऋषिराम शर्माले गोरखबहादुर सिंहद्वारा लिखित भाषणको तयारी कथा सङ्ग्रहको माध्यमबाट उनलाई श्रद्धाभाव प्रकट गर्दछन्, त्यसै गरी डा. रजनी ढकालले पनि सिंहका लघुकथा आलु प्याज/प्याज आलु मार्फत उनलाई सम्झन्छिन्। यस लघुकथामा विशेष गरेर समाजका अनेक तहमा देखा परेको भ्रष्टाचारी मानसिकतालाई व्यङ्ग्य गरिएको छ। प्रा.डा. गोपिन्द्र पौडेलले सामाजिक र राजनैतिक जीवन एवं प्रशासनिक क्षेत्रका विसंगति र बिप्ल्याँटा प्रति गोरखबहादुरको आलोचनात्मक दृष्टि साहित्य मार्फत पस्केको बताउँछन्। उनले सोही खण्डमा अन्य केही साहित्यकारहरू विजयराज आचार्य, भूपेन्द्र सुवेदी, झपेन्द्रराज वैद्य, गेहराज थापा, भेषमान गिरी आदीको लेखन क्षेत्रको बारेमा उल्लेख गरेका छन्।

साहित्यकार शीतल गिरीले गोरखबहादुरलाई शैली र शिल्पका धनी मानेका छन् भने गोरखबहादुर सिंहका लघुकथाका बिषयवस्तुहरुमा आलोचनात्मक टिप्पणी गरेका छन्। उनी थप्छन्, यदि आलोचक इमानदार बन्न गयो भने नेपाली साहित्य जगतमा गोरखबहादुर सिंहको अवश्य खोजी हुनेछ, तब यिनको लेखनीले अवश्य चर्चाको शिखर चुम्नेछ। सापकोटा बन्धुले गोरखबहादुर सिंहको भाषणको तयारी कथाको प्रसंगलाई जोड्दै एउटी महिला पी.ए.माथि हाकिमको कामुक दृष्टिको विषय उजागर गरेका छन् भने डी.बी. कट्टेलले गोरखबहादुरका कथाहरू एक पटक सबैले पढ्न सुझाव दिएका छन्। जयदेव गौतमले गोरखबहादुरलाई परिवारको सीमा भित्र नखाँदिएका साहित्यकार मान्छन् भने जयदेव भट्टराईले उनलाई पुरस्कार र सम्मानको दौडमा कहिल्यै नलागेका स्वाभिमानी र सिङ्गो जीवन आफ्नो सर्तमा बाँचेको विषय उल्लेख गरे ।

सम्पादकीय भूमिका वहन गरेका प्रा. केशव सुवेदीले उल्लेख गरेका छन् –“जसले यस ग्रन्थका निम्ति रचना उपलब्ध गराउन सक्नुभएन उहाँहरूले नेपाली साहित्यका कुशल सर्जक गोरखलाई सम्झेर वा उहाँका रचनाहरू पढेर भविष्यमा पनि लेख्नु हुनेछ भन्ने आशा अपेक्षा र विश्वास सँगालेका छौँ।“ प्रा. सुवेदीले भने जस्तै श्रद्दासुमन ग्रन्थ पुस्तकमा मैले आफ्नो रचना उपलब्ध गराउन सो बखत असमर्थ रहेपनि सम्झनाको यसै अवसरमा साहित्यकार गोरखबहादुर सिंह प्रति श्रद्दासुमन व्यक्त गर्दछु। मृत्यु अवश्यम्भावी छ र मृत्युपर्यन्त आफन्तजनको सम्झना युगौयुगसम्म रहिरहोस् भन्ने चाहना सबैको हुन्छ। जसले आफ्नो जीवनकालमा राष्ट्र र समाजका लागि विशिष्ट योगदान गरेको हुन्छ उसैलाई नै राष्ट्र र समाजले बारम्बार सम्झने गरेको वास्तविक र विद्यमान यथार्थता पनि हो। यिनै सम्झनाहरू मध्येका एक हुन्, गोरखबहादुर सिंह। नेपाली साहित्यिक आकाशमा गोरखबहादुर सिंहको नाम सदा अटल र अमर रहिरहनेछ ।