अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

सबैको प्यारो चालिस

किरण पौडेल २०७८ साउन १२ गते १४:३० मा प्रकाशित

गणित पढ्दा धेरै पटक सुनेको चालिस
अरू अङ्क जस्तै सरर पढिन्थ्यो
उन्ताका दुई बिस पनि भन्थे बुढापाकाले
तर चालिसलाई जति नै पटक जसरी सुने पनि
चालिसै नपुगी कसरी बुझिन्थ्यो र
चालिसको महत्त्व र घनत्व
शिक्षकले पढाउनु हुन्थ्यो हामी सुन्दै जान्थ्यौँ
उस्तै लाग्थे बिस तिस र चालिसहरू सबै
तर अहिले
चालिसकै सिढीं चढेर परसम्म हेर्दा
नजिकको टाढा र टाढाको नजिक देखिने
विषाक्त दृष्टि भ्रमलाई कत्लेआम गरी
कयौँ आशाहरू आफै तिर फर्केको देखेपछि
तब मात्र बुझिने रहेछ चालिसको पालिस
चालिसबाट फेरि उल्टो गतिमा
सोह्र बर्से उमेर तिरै फर्कने रहरमा
धान चमार फुलेजस्तै कपालमा पालिस
ओठबाट निस्कने शव्दशव्दमा पालिस
अनि सोच्छ मौन भएर पटक पटक
फर्केर आइरहने सदाबहार ऋतुहरू जस्तै
आउने छैनन् उमेरका व्यतीत धर्काहरू
त्यसैले हिसाब मिलान गर्न बाध्य समयलाई
सितको लहर उघ्रे जस्तै कहर सम्झँदै
जीवन भोगाईको गहन समीक्षा गराउने
सबैको प्यारो चालिस तिमी साँच्चै महान् रहेछौ