अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 18:42

मुनि पाठो र दसैँ

किरण पौडेल २०७७ कार्तिक ११ गते १४:५५ मा प्रकाशित

बालकथा

विपश्वी र रिदम दिदी भाइ थिए । उनीहरू कक्षा ७ र कक्षा ५ मा पढ्दथे । गाउँकै सामान्य बोर्डिङ स्कुलमा पढ्ने भएता पनि दुवै जना पढाइमा निकै तेज थिए । लगभग ७ महिना देखि उनीहरू स्कुल जान पाएका थिएनन् भने साथीहरूसँग खेल्न नपाएको पनि धेरै भइसकेको थियो । त्यस अवधिमा घरमै बसेर स्कुलले सञ्चालन गरेको अनलाइन कक्षा पढ्दै आएका थिए । बिस्तारै उनीहरूलाई घरकै दैनिकीमा रम्ने रमाउने बानी परेको थियो । घरमा दिदी भाइ कहिलेकाहीँ झगडा गरे पनि धेरैजसो मिलेर खेल्दथे । घर-आँगन र खेतबारी सम्म खेल्न दौडन्थे । घर पालुवा जनावारहरुसँग खेल्न उनीहरूलाई औधी मन पर्दथ्यो ।

उनीहरूको घरको पछिल्तिर परालको टौवा मुनि बाख्राको सानो गोठ थियो । गोठमा हजुरमाको पेवा केही बाख्राहरू थिए । कोभिड-१९ महामारीको सुरुवातसँगै गरिएको लकडाउन ताका उनीहरूको घरमा एउटा बाख्रा ब्याएर दुई वटा पाठा पाएको थियो । ती दुई वटै पाठाहरू असाध्यै राम्रा थिए । दिदी भाइले एक-एक पाठालाई आ-आफ्नो भाग लगाए । खैरो पाठोलाई विपश्वीले र सेतो पाठोलाई रिदमले खेल्ने साथी बनाए । फुर्सद हुने बित्तिकै दिदी भाइ बाख्राका पाठाहरूसँग खेल्न निकै मन पराउँथे । उनीहरू आफूले रोजेका पाठाहरूका नाम पनि आफैँले राखे । हजुरमाले बाख्रालाई घाँसपात र कुँडो दिने बेला बिपश्वी र रिदम हजुरआमासँगै गोठ देखि बारीसम्म अघिपछि गर्ने गर्दथे । बाख्राका पाठालाई दुधदानीबाट दूध खुवाउने काम नै विपश्वी र रिदमको थियो । उनीहरू रमाइलो मानी खुसी हुँदै पाठाहरूलाई काखमा बोकेर हिँड्दथे भने पाठाहरू पनि बुरुक्क बुरुक्क उफ्रँदै विपश्वी र रिदमको वरपर नाची रहन्थे ।

दिनहरू बित्दै गए । पाठाहरू पनि ठुला भए । दसैँ लागि सकेको थियो । अनलाइनबाट स्कुलले लिएको परीक्षा सकिएपछिको फुर्सदको समयमा पनि उनीहरू ती पाठाहरूसँगै खेलिरहे । यथास्थानमै दसैँ मनाउने भनिए तापनि सहरबाट केही मानिसहरू गाउँतिर झरेका थिए । पूजा कोठा जमराले पहेँलै देखिन्थ्यो । सबैतिर चाडबाड मनाई रहेकै अवस्था थियो । कोभिड-१९ को विश्वव्यापी महामारीसँगै मनाइँदै गरेको दसैँले केटाकेटीहरूका लागि समेत भिन्न किसिमको अनुभूति दिई रहेको थियो । टोलका चोकहरूमा लिङ्गे पिङहरू देखिएका थिएनन् । आकाश तिर हेर्दा पहिले जस्तो धेरै चङ्गाहरू उडाएको पनि देखिदैंनथ्यो । दसैँ बिदाको अवसरमा टाढा टाढा सम्म घुम्न जाने कार्यक्रम कसैका अभिभावकको बनेको थिएन । विपश्वी र रिदमको दसैँ पनि अरू केटाकेटीको जस्तै गरी घरमै सीमित रह्यो । कोभिड-१९ महामारीको विषयमा उनीहरूलाई राम्ररी जानकारी थियो भने स्वास्थ्यका हिसाबले ध्यान दिनुपर्ने विषयहरूमा उनीहरू पोख्त भैसकेका थिए । घरबाट पसलसम्म जानुपर्दा मास्क लगाएर जाने गर्दथे भने सामाजिक दुरी कायम राख्दै सामान लिई सकेपछि घरमा आएर साबुन पानीले राम्ररी हात धुने गर्दथे ।

दसैँको रमाइलो कै बिच फूलपातीको बेलुका देखि बाख्रा गोठमा ती दुवै पाठाहरू देखिएनन् । सधैँ सँगसँगै खेलेका पाठाहरूको बारेमा भनिदिएमा दिदी भाइ दुवै जनाले दुख मान्लान् भनेर घरका कसैले पनि पाठाहरूको बारेमा उनीहरूलाई बताउन चाहेनन् । अष्टमीको दिन बिहान घरको माथिल्लो तलाको झ्यालमा बसेर दिदी भाइले चियासँग सेल रोटी चपाउँदै थिए । अचानक उनीहरूले पल्लो घरको आँगनमा केही मानिसहरू फूल अक्षता सहित जम्मा भएको देखे । कोहीले आगो फुकेर पानी तताउँदै गरेको पनि देखे । नियाल्दै जाँदा पल्लो घरको आँगनको छेउमा आ-आफ्ना पाठाहरू पनि देखे । “उ हाम्रो मुनि पाठाहरू भेटिए” भन्दै दुवै निकै खुसीले चिच्याए । खाँदै गरेको चिया र सेल रोटी छाडेर दुबै जना पल्लो घरको आँगनमा पुगे । त्यहाँ पुग्दा उनीहरूले अकल्पनीय दृश्य देखे । ती दुवै पाठाहरूलाई काटी सकिएको थियो । उनीहरू छाँगाबाट खसे जस्तै भए । छ/सात महिनासम्म सँगै हाँसी खेली गरी हुर्केका पाठाहरू आँगनमा ढली रहेका थिए । उनीहरूका आँखा रसाए, दुबै जना जोडले चिच्याए, रोए, कराए तर उनीहरूको कुरा सुन्ने कोही थिएनन् । उनीहरूलाई धेरै नरमाइलो लाग्यो । त्यहाँबाट फर्किएर पुनः गोठमा गएर हेरे । पाठाहरू गोठमा हुने कुरै भएन, गोठ शून्य थियो । उनीहरू निकै भक्कानिए । दशमीको दिनमा टिकाको साइतको समय भयो, घरका मान्यजनबाट टिका लगाएर दक्षिणा पनि पाए तर उनीहरूको मस्तिष्कमा भने आफ्ना पाठाहरूको विदारक दृश्य घुमिरह्यो । यो पटकको दसैँ उनीहरूलाई पटक्कै रमाइलो लागेन ।

(बालकथा सहित साहित्यको विभिन्न विधामा कलम चलाउने पौडेल सशस्त्र प्रहरी बल, नेपालका डिएसपी हुन् । उनका दुई कृति प्रकाशित छन् ।)