अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 04:28

अनेसास: दिशा निर्देश

डा. दुर्गा दाहाल, “अनुभव”

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ भदौ १८ गते ७:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) धेरै आरोह-अवरोहहरूलाई पार गर्दै आजको यो मुकाममा आई पुगेको छ । यो समाजका संस्थापक र यसका मालीहरूले निकै पटक गोडमेल गरेर, जल सिंचन गरेर यसलाई हुर्काई बढाई एउटा अन्तर्राष्ट्रिय मञ्चको निर्माण गर्नु भएको छ ।
अतः: यसका वर्तमान र निवर्तमान अध्यक्ष, सभापति र सबै सदस्यहरू सम्मान र अभिनन्दनका पात्र हुनुहुन्छ ।

आज आएर यो समाजलाई अघि बढाउने गहन जिम्मेवारी अनेसासका ट्रस्टी अध्यक्ष गीता खत्री, सभापति राधेश्याम लेकाली र उहाँका सदस्य साथीहरूले बहन गर्नु भएको छ । यो सानो र तरल दायित्व होइन; अपितु महान् र ठोस कार्यभार हो । हामी सबैले उहाँहरूलाई साथ, सहयोग र समर्थन दिनु पर्छ । समाजको बृहत्तर स्वार्थ र हितका निम्ति हामीले उचित सर-सल्लाह, सुझाव र मार्ग निर्देशन पनि दिनु पर्छ भलै तातो र तितो किन नहोस् । अनेसासलाई बलियो, स्वस्थ, समावेशी र दीर्घायु बनाउनलाई सबैको सामूहिक नेतृत्व र दायित्व हुनुपर्छ ।

अतः: अबको अनेसास कता र कसरी जानु पर्छ भन्ने सम्बन्धमा मेरा कतिपय व्यक्तिगत धारणा, सोच र सुझावहरू अनेसासका नाममा:
यद्यपि यो भन्दा पहिले पनि मैले र अन्य धेरैले यस विषयमा प्रशस्त विचार र धारणाहरू बोलेका, लेखेका र छलफल गरेका छौँ तर अपेक्षानुरूप ध्यानाकर्षण नभएको स्थिति छ र यो समाज सही दिशातर्फ नगएको अवस्था र स्थिति विद्यमान छ ।

सर्वप्रथम हामीले आजको तारिखमा नेपाली भाषा र साहित्य अन्तर्राष्ट्रिय क्षितिजमा कहाँनिर छ र अब यसलाई कसरी कुन दिशातर्फ उन्मुख गराउनु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित व्यक्ति र समूहको ध्यान नगएको, नजानेको वा बेवास्ता गरिएको अथवा हाम्रो सहयोग नपुगेको पनि हुन सक्छ ।

साहित्यले घर देश र परदेशमा भएका नेपाली समाज र समुदायका विविध पक्ष, तह र तप्काका कथा-व्यथा, दर्द- पीडा, घटना, उपघटना र परि घटनाहरूलाई समेट्न सक्नु पर्छ । साहित्यमा सिङ्गो नेपाली समाज प्रतिबिम्बित हुनु पर्छ । अमेरिका, अस्ट्रेलिया, युरोप देखि लिएर कतार, अफ्रिका, मलेसिया, समस्त खाडी मुलुक, भारत, सिक्किम, भुटान, नेपाल, बर्मा र भूगोलको जुनसुकै कुना र कोप्चामा बस्ने नेपाली देखिनु पर्छ नेपाली साहित्यको दर्पणमा ।

डायस्पोरालाई पुन: परिभाषित गर्नु पर्छ नयाँ परिदृश्य र परिवेशमा । डायस्पोराको पृष्ठभूमि केलाउनु पर्छ फेरि र सबैलाई समेट्न सक्नु पर्छ । डायस्पोरालाई जटिल र सङ्कुचित बनाउनु हुन्न । “डायस्पोरा” (diaspora) भन्ने शब्दसँग त्यति धेरै लडाई गरी रहनु पर्ने आवश्यकता पनि छैन । यो अङ्ग्रेजी शब्द भएता पनि अब सबैले पचाई सकेको अवस्थामा र प्रिय भई सकेको अवस्थामा समानान्तर शब्द “आप्रवास” अथवा “डायस्पोरिक” (diasporic ) को समअर्थी शब्द “आप्रवासी” नै राख्नु पर्छ भन्ने विषयमा धेरै वर्ष विवादमै अल्झिनु पर्दैन । तर यो शब्दभित्र बिदेसिएका सबै नेपाली तन, मन र भावना हरूलाई अवश्य पनि समेटिनु पर्छ; विभाजनको रेखा कदापि कोरिनु हुन्न । उतिखेर कसैले परिभाषित गरेकै विषय, तर्क र सन्दर्भलाईनै समाती राख्नु पर्छ भन्ने छैन । समसामयिक छलफल र सुधार वाञ्छनीय हुन्छ ।

साहित्यमा शृङ्गार, मनोरञ्जन र अन्य धेरै तत्त्वहरू पनि मिसिएका हुन्छन् तर यसको मूलभूत लक्ष्य, उद्देश्य र तत्त्व हरूलाई बिर्सनु हुन्न । समाज र समुदायको गहिराइमा पुगेर हृदयस्पर्शी र जनमुखी सृजनाद्वारा साहित्यलाई उँचाइमा पुर्‍याउन सक्नु पर्छ । अबको हाम्रो साहित्यले अन्तर्राष्ट्रिय साहित्यलाई समेत छुन सक्नु पर्छ । अनुवाद साहित्य र उत्प्रेरक साहित्य मार्फत हामीले अन्तर्राष्ट्रिय जगतलाइ हाम्रो विशिष्ट पहिचान दिलाउन सक्नु पर्छ । 

हाम्रो साहित्यले सबैको बुद्धि र विवेकलाई ब्युँझाउन सक्नु पर्छ । समाज र संस्कृतिलाई झल्काउन सक्नु पर्छ । लाटो, बैरो र अन्धो मानिसले पनि हाम्रो साहित्यमा बोल्न, सुन्न र देख्न सक्नु पर्छ । अब केवल फुल, तारा, नदी, हिमाल र सगरमाथाका कुरा मात्रै नगरेर हामीले मानिसका कुरा धेरै सुन्नु पर्छ, गर्नु पर्छ । गाऊँ- गाऊँ र झोपड़ी हरूमा गएर तिनीहरूका कुरा हरूलाई, भावना हरूलाई, दु:ख पीडा हरूलाई साहित्यमा अनुवाद गर्नु पर्छ र सहरमा पुर्‍याउनु पर्छ । विश्वमंचमा लैजानु पर्छ । नेपालीमा मात्रै हैन, नेपाली जनजीवनका कुराहरू हिन्दीमा, चिनियामा, बंगलामा, अङ्ग्रेजीमा र विश्वका सबै भाषाहरूमा लेख्नु पर्छ । अनि मात्रै साहित्य अनुदित, विकसित र समृद्ध हुन्छ ।

साहित्यिक रचना गर्नु, कृति प्रकाशित गर्नु र साहित्यिक गतिविधिहरूमा संलग्न हुनु पनि समाज सेवा हो । साहित्यकार हरू पनि समाजसेवी हुन । सामुदायिक सेवा अन्तर्गत साहित्य लेखन पनि पर्छ । यो पनि सामाजिक कर्तव्य र उत्तरदायित्व भित्र पर्न गएकाले हामी सबै साहित्यकार हरूले हाम्रो समाज र समुदायका मर्म र स्पन्दन हरूलाई साहित्यमा उतार्न सक्नु पर्छ ।

सीमांकित र सीमान्तकृत भित्र र बाहिरका सबै मानिसहरूलाई, विशेष गरी बाल-बालिका, वृद्ध, महिला, दलित, अवहेलित, र एकल महिला तथा अभिभावक विहीन बाल-बालिका हरूको कुरा पनि हाम्रो साहित्यमा आउनु पर्छ ।

साहित्यमा आफू बसेको, जन्मिएको, हुर्किएको र बिदेसिएको समाज पनि खोजिनु पर्छ । र, त्यस समाजमा आफूले र अन्यहरूले भोगेको कथा, कविता, निबन्ध र गीत लेखिनु पर्छ । त्यस समाजभित्रका अन्तर वस्तु र जीवनका विविध पक्षहरूलाई केलाउनु पर्छ अनि समाजको चेतनाको स्तरलाई उकास्न सक्नु पर्छ ।

केवल कृतिका नाममा गलत प्रवृत्ति अपनाएर केवल अक्षर र शब्दहरू कोर्दैमा साहित्य हुन्न बरु किताब मात्रै हुन्छ । हामीलाई किताब हैन, अपितु कृति र समाजको स्वीकृति चाहिएको छ । सङ्ख्या मात्रै हैन, गुण र परिणाम अनि सन्देश चाहिएको छ समाज परिवर्तन गर्न । साहित्यमा मानिसको पीडा छताछुल्ल भएर पोखिनु पर्छ । साहित्यले मानिसलाई बाँच्ने ऊर्जा प्रदान गर्न सक्नु पर्छ र रुँदै गरेको मानिसलाई मुस्कुराउन सक्ने बनाउन सक्नु पर्छ । मृत्युवरण गर्न लागेको मानिसको आयु बढाउन सक्नु पर्छ । आत्महत्या गर्न लागेको मानिसलाई जोगाउन सक्नु पर्छ र बाँच्ने उत्प्रेरणा दिलाउन सक्नु पर्छ ।

हो ! साहित्यले समाजलाई सिधै परिवर्तन गर्न सक्तैन तर क्रमशः: चेतनाको स्तरलाई उकास्तै, सकारात्मक सन्देश दिँदै, समस्त श्रोता र दर्शकको मन जितेर समाजमा साहित्यिक, सामाजिक र सांस्कृतिक क्रान्ति ल्याएर अन्ततोगत्वा शान्ति स्थापित गर्छ ।

अब अनेसासको यात्रा यस तर्फ उन्मुख हुनु पर्‍यो र समाजमा हराएका पात्र हरूको खोजी गर्दै नयाँ ढङ्ग, चाल र चरित्रलाई आत्मसात् गर्दै अघि बढ्नु पर्‍यो ।

अहिलेको नेतृत्व तयार छ उहिल्यै बनाएको, पिएको र हिँडेको ह्याँगअभरबाट मुक्त भई अहिलेको परिवर्तित समय, अवस्था, चिन्तन र प्रविधिलाई अङ्गालेर नयाँ पुस्तालाई समेत लिएर हिँडिन ?

( क्यालिफोर्निया निवासी प्रा.डा. दुर्गा दाहाल अनेसास बोर्ड अव ट्रस्टीका सल्लाहकार, भाषा विज्ञ र सामाजिक अभियन्ता हुनुहुन्छ )