अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

विचार, व्यवहार र व्यक्तित्वको एकरुपतामा स्रष्टा ठाकुर शर्मा भण्डारी

गोपी मैनाली २०८१ वैशाख २८ गते ९:४४ मा प्रकाशित

विषय प्रवेश
स्रष्टा र सिर्जना उस्तै हुन् वा हुनुपर्छ भन्ने आग्रह राख्न सकिदैन । बहुत थोरै स्रष्टा मात्र विचार, बुुझाई र व्यवहारमा उस्तै देखिन्छन् । आदर्श र आग्रह फरक हुन्छ । अक्षर र आचरण फरक हुनु सामान्य कुरा हो । स्रष्टा जस्तो अरुलाई आदर्श सिकाउने व्यक्तिको विचार र वास्तविकता फरक हुनु हुँदैन तर वास्तविकता त्यही हो त्यो फरक हुन्छ । विचार र व्यवहार उही नभए सिर्जनाले सर्जकलाई र सर्जकले सिर्जनालाई अन्तरबोध गर्दैनन् । ठ्याम्मै दोहोरो अन्तरबोध भएका सिर्जना र स्रष्ट हुँदैनन् । अरुबाट मात्र आदर्श चाहने सामान्य संस्कार भएको समाजमा यो अवस्था अपवादमा मात्र भेटिन्छ ।

बरिष्ठ सर्जक ठाकुर शर्मा भण्डारीका विचार र व्यवहारमा धेरै समानता पाइन्छ । उनको सामान्य जीवनशैली, व्यवहार र शालीनता सिर्जनामा देखिन्छ । उनको आचरणलाई अक्षरले उठाउँदै आएको छ । व्यक्तिगत जीवन र व्यवहारमा देखिएको सरलता साहित्यमा देखिनु महानता हो । यसले संसार सुन्दर बनाउन व्यवहार र बोली, विचार र व्यक्तित्व उस्तै चाहिन्छ भन्ने सन्देश अरु सर्जकलाई पनि दिइरहेको छ । उनका सिर्जनामा आत्मिक निष्ठाका अभिव्यक्ति पाइन्छ । उनको निबन्धमा नैतिक अभिष्टको चिन्तन पाइन्छ, कवितामा आत्माशुद्धिको आग्रह छ । कविताका श्लोकहरु मनमाझेर निस्कन्छन् र समाज उजिल्याउने तेज दिन्छन् । भूमिका लेखनमा उनकै दृष्टिदर्शनको आग्रह छ । समालोचनामा उनकै दृष्टिकोणको सन्देश छ । धेरै विषयविधामा बाँढिएका शर्माको चिन्तन केन्द्रीयता भने एकै छ – मानव मूल्य र आध्यात्मिकताको प्रवद्र्धन । चारदशकभन्दा लामो सिर्जना यात्रामा उनी आफ्नै चिन्तनमा खारिदै–गहिरिदै–फैलिदै गएका छन् ।

शर्माका कृतिहरु
ठाकुर शर्मा दुुई दर्जनभन्दा बढी कृतिहरुमा प्रकाशित भैसकेका छन् । व्यक्ति प्रकाशित हुनु भनेको उसका विचार, दर्शन र आदर्शहरु सार्वजनिक हुनु हो । गोनिष्क्रमणस्थलको महिमा (अनुवाद २०५२) बाट कृतिमा आएका शर्माका अन्तध्र्वनि (कवितासङ्ग्रह २०५५), आस्थाका पाइला (कवितासङ्ग्रह २०५९), उपासना (कवितासङ्ग्रह २०६०), तीतामीठा कुरा (सहलेखन २०६३), वसन्तानन्द (चम्पूकाव्य २०६५), विमर्शन (समालोचनासङ्ग्रह २०६६), प्रकृतिमा मान्छे (मुक्तकसङ्ग्रह २०६६), नीति–विचार (सहलेखन २०६७), पञ्चामृत (आध्यात्मिक लेख २०६८), साहित्ययात्राका पदचाप (समालोचनासङ्ग्रह २०७०), शब्दनाद (कवितासङ्ग्र २०७०), अभिनव (काव्य २०७१), सूक्तिसुधा (अनुवाद २०७२), पद्यमुक्तक (मुक्तकङ्ग्रह २०७३), अभिव्यञ्जन.(समालोचनासङ्ग्रह २०७४), विवेचन (समालोचनासङ्ग्रह २०७४), परिदर्शन (समालोचनासङ्ग्रह २०७४), परिदर्शन (समालोचनासङ्ग्रह २०७४), शब्दार्चन (भूमिकासङ्ग्रह २०७६), नीतिपद्य (नैतिक दृष्टान्त २०७७), खण्डकाव्य त्रयोदश (संयुक्त खण्डकाव्य २०७७), आत्मचिन्तन (काव्य २०७७), हास्यव्यङ्ग्य महारथी भैरव अर्याल (समालोचना २०७९) कृतिहरु प्रकाशित भैसकेका छन् ।

समयका आधारबाट शर्माका सिर्जनालाई हेर्दा पहिला कविता र धार्मिक ग्रन्थबाट शुुरु हुन्छ र समालोचना र चिन्तनमा केन्द्रित हुँदै गएको देखिन्छ । पद्य र गद्य दुवैतिर उत्तिकै कलम चलाएका छन् । स्रष्टाहरु सिर्जनाबाट शुरु हुन्छन् र चिन्तनमा गहिरिन्छन् । शर्मा पनि यसका अपवाद होइनन् । भावनाहरु पोख्ने र पोखिएका भावनामाथि चिन्तन गर्ने प्रवृत्ति शर्माका सिर्जना यात्रामा देखिन्छ ।

शर्माका सिर्जना मूल्य र प्रवृत्ति
ठाकुर शर्मा वैदिक दर्शन र संस्कृत सहित्यको माध्यमबाट जीवन मूल्य खोज्ने गर्दछन् । भगवान श्रीकृष्ण समाज सञ्चालन गर्न शास्त्र (नीति), धर्म (आचरण) र कर्म (काम) लाई आधार मान्दछन् । यो नै पूर्वीय दर्शनको सार पनि हो, जसले समाजलाई सँधै सभ्य र स्नीग्ध बनाउँछ । ठाकुर शर्माका कृतिहरुको प्रधान भाव पनि यही हो । उनका समालोचना बाहेकका कृतिमा पाइने प्रधान तत्व नै पूर्वीय दर्शन हो । समकालीन समाजमा पूर्वीय दर्शनको खोज, अनुसन्धान र अभ्यासमा कमी आएको छ । वेद, पुुराण, स्मृति र नीतिशास्त्रहरुको अध्ययन अवलम्वन गर्ने प्रवृत्तिलाई सतही सोच र भौतिकवादी संस्कारले विस्थापन गरेको छ । समाज यान्त्रिकता र व्यक्तिवादी व्यवहारमा अगि बढेको छ । यसले नेपाली समाज र जीवनशैलीलाई आफ्नो निख्खर मौलिकताबाट पथभ्रान्त पार्दै लगेको छ । त्यसैले नीति, दर्शन, शास्त्र–सिद्धान्त र मूल्य–मानवयता देखाउने अभिष्ठ उनका सिर्जनामा हरेका छन् । दिग्भ्रमित भै खोक्रिदै गएको मानिसलाई नीति निर्देश गर्न नीतिपद्यमा कवि शर्मा भन्छन् ः

‘तीक्ष्ण बुद्धि भए के भो ? मान्छे त्यो स्वार्थ हेर्दछ ।
कोसौं माथि उडी गिद्ध शव नै मात्र देख्दछ ।’

‘आफ्नो दोष स्वयं देख्ने माथि नै बन्छ देव रे ।
बचनबाण धोवीको स्वीकारे रामचन्द्रले ।’

मानिसमा भएको असीमित संभावना विरोलिनु हुँदैन, विषयान्तर हुनु हुँदैन भन्ने आग्रह रहेको ‘नीतिपद्य’ मा मानवता, प्रेम, कत्र्तव्य, त्याग, समर्पण, शिक्षा र दर्शन पाइन्छ । सिद्धार्थ गौतमले भने झै समाजमा देखिने दुखका कारण छन्, त्यो अज्ञानता र कत्र्तव्यहीनता हो । त्यसैले ‘नीतिपद्य’ ले मानव समाजलाई मूल्यनिर्देश गरेको छ । काव्याभिब्यक्तिमा निष्ठूरता र कठोरता छैन । समाजभित्रकै संभावना र सौन्दर्य खोज्ने, मानिसभित्रको कलुसपन उदिन्ने र समाजलाई उजिल्याउने सूक्तिहरु छन् । सरल, कोमल र शिल्पपूर्ण श्लोकहरुले रसानुुभूतिका साथ शिक्षा र सन्देश दिएको छ ।

‘आत्मचिन्तन’ ज्ञान–दर्शनमा गुरु शिष्यको संवाद शैलीमा आत्मचिन्तन गरिएको कृति हो । कवि ठाकुर शर्मा भण्डारी आफ्नो आध्यात्मिक काव्यमा सांसारिक ज्ञानको विशाल चित्र उतार्छन् । आत्मा र परामात्माबीचको सम्बन्ध देखाउँछन् । संसाररुपी वृक्षमा दुुई पक्ष छन्् जीव र ईश्वर । कवि भन्दछन्–‘सँगसँगै बस्ने परस्पर मित्रभाव राख्ने दुुई पक्षी (जीवात्मा र परमात्मा) एउटै वृक्ष (शरीर) को आश्रय लिएर बस्छन् । ती दुुईमा एक त्यो वृक्षको कर्मरुपी फल स्वाद लिई लिई उपभोग गर्छ तर अर्को ती फल नखाएर केवल हेरिरहन्छ, साक्षी दृष्यमात्र हुन्छ’ । कवि श्रीमदभावगतका सूत्रका मर्महरु, बौद्धबाणीका मर्महरु, वेद उपनिषदका रस पोखिरहेका छन् । तर सामान्य पाठक ती रसमधुलाई आस्वाद गर्ने सामथ्र्य कति राख्छन् ? त्यसमा उनको चिन्ता छैन, अध्यात्मा शक्तिको कथा बताउँछ्न्, ब्रह्मका शक्ति उजागर गर्छन् । ‘नीतिपद्य’ मा जस्तै कवि मानवीय प्रकृतिको उजागर गर्दछन् ः

‘मानिसभित्रको मान्छे स्वयंममा पूर्ण भो तर
मात्तिने आत्तिने गर्छ विषयी रागको मर ।
स्वरुप मनमा आयो हल्का हावा चलायदा
अवरण छ आफैमा अविद्याको दवाइमा ।’

त्यसैले कवि शास्त्र विद्याको अध्ययन मननको आग्रह गर्दछन् ः

‘वेदादि शास्त्र रचिए शुभकर्मनिम्ति
विद्या सिकाउन यहाँ भवधर्मनिम्ति
आकाश झैँ स्वरुपका ध्रुवसत्यतामा
चल्छन् सदा प्रगति–जीवन धारणामा ।’

काव्यको सार परमात्माको चेत हो, मानिस कर्मले आफै ईश्वर समान छ । ईश्वरीय शक्तिको अभ्यासमा नै समाज स्वर्ग बन्छ तर उसले त्यो शक्ति चिन्नुपर्छ । त्यसैले कवि फेरि आग्रह गर्दछन् ः

‘आत्मारोपित सम्पूर्ण कल्पना यो हटाउँदा
मनुुष्य छ स्वयं ब्रह्म अद्वितीय स्व–रुपमा ।
स्थिरतामा पुुगे चित्त परमात्मा उहाँ उहाँ
निर्विकल्प छ यो ब्रह्म आफू हुन्छ जहाँ तहाँ ।’

विद्वान गोपीकृष्ण शर्मा भन्छन् काव्यको मुख्य पक्ष भनेको आध्यात्मिक ज्ञानको निरुपण हो, जसलाई गुरु शिष्यको संवादद्वारा स्पष्ट पारिएको छ । आत्मातत्व विवेचना सम्बन्धी गहन विषयलाई सरल र सुुष्पष्ट काव्यभाषामा प्रस्तुत गरिएको छ । अहिलेको समय आध्याात्मिक ज्ञान र आत्मचिन्तनको खाँचो छ । जे खाँचो छ, त्यसलाई कविले प्रस्तुत गरेका छन्, चिन्तन गरेका छन्, चेत दिएका छन् ।

‘पञ्चामृत’ आध्यात्मिक निबन्ध (प्रवन्ध) हो । ‘नीतिपद्य’ मा झै यसको सार पनि आत्मिकचेत र सौन्दर्य हो । वैदिक ब्रह्म, पुराण पाशुपत क्षेत्र, रुरुक्षेत्र र धर्म संस्कृतिमा केन्द्रित यो निबन्धसङ्ग्रह ज्ञान, बुद्धि, सीप, विवेक र प्रयोगको संगम हो । मानिसका कलुषित प्रवृत्तिलाई चित्तशुद्धिमा ल्याउने आशयमा निबन्धहरु केन्द्रित छन् । कृति पढ्दा धर्मग्रन्थ पढेजस्तो लाग्छ तर यसले पनि दिने मानवीय दर्शन हो, आत्मिक चेतना हो । ‘पञ्चामृत’ भौतिक बिज्ञान र बैयक्तिकताको आलोचना र विश्बन्धुत्व अनि आध्यात्मिकताको अभिव्यक्ति हो । त्यसैले यो अमृत हो । ‘पञ्चामृत’ ले मानव सुख र आत्मचिन्तनको बाटो मात्र देखाउँदैन, वैदिक वाङ्मयमा लिपिवद्ध हुँदै आएको राष्ट्र, राष्ट्रियता र सहअस्तित्वको भावनालाई पनि उजागर गर्दछ । शिवलाई सौन्दर्य र शक्तिका रुपमा देखाइएको छ । प्रकृतिको गाथा छ र नेपालको गरिमा छ । जन्मभूमिलाई आमा समान मानिएको छ । यसर्थ प्रकृति, अध्यात्मा, मानवता, संस्कार र सौन्दर्यलाई सूत्रवद्ध गर्दै समस्त प्राणीको अस्तित्व रक्षा गर्ने बचनहरु ‘पञ्चामृत’ मा छन् ।

बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीको ‘शब्दार्चन’ छुुट्टै सिर्जना प्रयोग हो । कृतिमा शर्माले ४३ कृतिको भूमिका सँगालेका छन् । सर्जकको कृतिको अभिन्न अग्रिम भागमा रहने भूमिकालाई अलग कृतिको रुप दिइएको छ । कृतिको ओज बढाउन र कृतिको विवेचना गर्न कृतिमा भूमिका राख्ने चलन छ तर भूमिकाहरु छुट्टै कृतिको रुप दिने प्रचलन त्यति छैन । भूमिकाले कृतिको बनौट, संरचना, शिल्प, प्रयोग, प्रवृत्ति, लिइएका दृष्टि–दर्शन सबैलाई स्पष्ट पार्दछ । पाठकहरु कृतिमा प्रवेश गर्नु अघि भूमिकाबाट सार लिन्छन्, प्रयोग र प्रवृत्ति बुुझ्छन् र कृतिका विषयमा आफ्नो अवधारणा बनाउँदै आस्वाद लिन्छन् । भूमिकाकार लेखकले भन्न नसकेका वा भन्न नहुने विषयमा रौचिरा विश्लेषण गरी पाठक–विवेचकको सहयोगीका रुपमा रहन्छ । अर्को अर्थमा भूमिकाकार कृतिको पहिलो पाठक र विवेचक हो ।

भूमिकाकार शर्मा विभिन्न कृतिको भूमिका मार्फत आफ्नो विधागत दृष्टिकोण पनि प्रस्तुत गरिरहेका हुन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, निबन्धकार शङ्कर लामिछाने र समालोचक बासुदेव त्रिपाठीका भूमिकाले कृतिको ओज उठाउने गरेको छ । देवकोटा भूमिकामार्फत कृतिले दृष्टि नपुु¥याएको सङ्क्षेत्र उद्घाटन गरेर कृतिलाई नयाँ उचाइमा उठाइदिन्छन् । भनौं सिर्जनालाई नै विस्तार गरिदिन्छन्, नवसिर्जना गरिदिन्छन् । लामिछाने कृतिमा गहिरिएर घनत्वको खोजी गर्छन्, अक्षर अक्षरको भाव खोतल्छन् । त्रिपाठी विश्लेषणामार्फत कृतिको समग्र व्याख्या गरिदिन्छन् । भूमिकामार्फत कृतिको पुननिर्माण हुने गर्दछ । सबै भूमिकाकार यस कोटिमा पुुग्दैनन् । भूमिकाकार ठाकुर शर्मा गहिरिएर कृतिको विवेचना गर्छन्, नयाँ सङ्क्षेत्र देखाउँछन् र आफ्ना दृष्टिकोण दिँदै मूल्यनिरुपण गर्छन् । जस्तो कि भरत पीडितको शोककाव्य ‘अब म पाऊँ कहाँ ?’ मा कृतिको विवेचना मात्र गरेका छैनन्, पीडाको सार्वजनीकरण गरेर, पीडामाथि सिर्जना गरेर सर्जकहरु शोककाव्य लेख्छन् भन्ने दृष्टिकोण देखाएका छन् । उनको भनाइको सार पीडाको समानुुभूति पाठकसम्म पुु¥याई पीडाको विरेचन गर्नु शोककाव्य हो । विनयकुमार शर्मा नेपालको निबन्धसङ्ग्रह ‘माथापच्ची’ मा निबन्धको प्रवृत्तिलाई यसरी पद्यात्मक प्रस्तुति गरेका छन् ः

‘दर्शन माझिएको छ, विनयीभाव आउँछ
आनन्द रस भेट्टाई शब्दब्रह्म सजाउँछ ।
एकल भवनाबाट उर्लिएको निबन्ध यो
एकाकार बनाएको झल्को आउँछ देशको ।’

पद्यका सूत्रहरुमा विषयको चिरफार गर्ने, विधाविन्यासलाई चिर्ने अनौठौ शैलीका कारण ठाकुर शर्माका भुमिकाहरु विशेष लाग्छन् । कृति लोकार्पणमा समीक्षकका रुपमा प्रस्तुत हँुदा पनि शर्मा श्लोकमा सूत्रवद्ध भएर भाका हाल्छन् ।

हरिप्रसाद पाण्डेको ‘मनका कुराहरु’ कवितासङ्ग्रहमा कवितालाई कविलाई सृष्टिकर्ता, कवितालाई अन्तर्हृदयबाट विषयबस्तु, भावनात्मक सिर्जना, मास्थितिलाई सत्मार्गतिर डो¥याउने चेतना बताएका छन् । कविता र काव्यको परिभाषा गर्दा शर्मा पूर्वीय दर्शन र आध्यात्मिकतामा पुुग्छन् । विनोद खड्काको नियात्रा ‘पातालका मान्छेहरु’ मा ‘पाठकलाई आफूसँगै हिडाउने क्षमता’ ले नियात्राले जीवन पाउने दृष्टिकोण राख्छन् । विजय थापाको ‘समुद्रवारि समुद्रपारि’ र रामप्रसाद पन्तको ‘गन्तव्य मन्तव्य’ मा पनि यसरी नै नियात्राको बैशिष्ट्य भूमिकामार्फत व्यक्त गर्दछन् ।

शर्माका् भूमिका लेखन व्यक्ति विवरण, कृति विवरण, कृतिमाथिको विश्लेषण र विधा दृष्टिकोणका विश्लेषणमा रहेका छन् । शर्माका भूमिकाको अर्को विशेषता उनका कतिपय कवितामा छन्दोवद्ध, सूत्रवद्ध र लयात्मक हुुनु हो, कतिपय गद्यमा भएपनि अन्त्य पद्य अभिव्यक्तिबाट हुन्छ । भूमिका आयतनमा एकरुपता नभै लामा, मध्यम र छोटा आकारमा छन् । यात्रा, संस्मरण, आलेख, स्मृतिग्रन्थ, कथा, कविता सबै विधा–प्रविधा र अविधाहरुमा पनि भूमिकाहरु लेखिएका छन् ।

यी भूमिका सन्दर्भबाट शर्माको भूमिका लेखनको दृष्टिकोण निर्माण भएको देख्न सकिन्छ । भूमिकाकार पाठकमात्र होइन, न अक्षरका उरोल उ¥याउने काम नै भूमिकाले गर्नु हुन्छ, भूमिकाले त कृतिको गहिराइमा पसेर त्यसमाथि विवेचना गर्नुपर्दछ, मूल्यको विवेचना, प्रयोगको विवेचना, परिवेशको विबेचना, अझ सके त रचनागर्भदेखि रचना फलाप्तिसम्मको विवेचना गर्नुपर्छ ।

शर्माका अनगिन्ती समालोचना र समीक्षाहरु प्रकाशित छन् । पछिल्लो एक दशकमा मात्र उनका पाँचवटा समालोचना प्रकाशित छन् । उनका परिदर्शन, विवेचन, अभिव्यञ्जन, हास्यव्यङ्ग्य महारथी भैरव अर्याल शर्माका प्रमुख समालोचना कृति हुन् । उनका थुप्रै फुटकर समालोचना पनि प्रकाशित छन् । यी समालोचनामार्फत समालोचकीय विधामा आफ्नो स्थान निर्माण गर्न सफल भएका छन् । शर्माका समालोचना प्रभावपरक, मूल्यकेन्द्रित र विवरणात्मक छन् ।

शर्मा काव्य आस्वादका सन्तुुलित प्रतिक्रिया र पूर्वीय साहित्यचेतका आधारमा मूल्य विश्लेषण गर्न रुचाउछन् । उनका समालोचनाले सर्जकलाई सूचना, शिक्षा, सचेतना र मार्गदर्शन गरेको छ । यस अर्थमा समालोचकीय धर्म र न्याय निर्वाह भएको देखिन्छ । जस्तो कि परिदर्शन समालोचनासङ्ग्रहमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ मा सङ्ग्रहित कथाहरका सन्दर्भमा निष्कर्ष निकाल्छन्–‘कथासङ्ग्रहका कथाहरुका मात्र नभएर उनले लेखेका अरु साहित्यिक विधाहरुमा स्वच्छन्दतावादी यथार्थको चित्रण एकातिर पाइन्छ भने अर्कोतिर मानवीय आन्तरिक मनोदशाको विश्लेषण पनि उत्तिकै रुपमा प्रस्तुत भएको देखिन्छ’ । वास्तवमा विश्वेश्वरका कथाहरुमा स्वच्छान्दताको खोजीमा अन्तरमनको द्वन्द्व पाइन्छ र मुक्तिचेतको अचिष्ट राखिन्छ । समालोचकले यो कुरा संक्षिप्त रुपमा तर पूर्णता पक्डिने गरी दिएका छन् ।

समालोचकीय न्यायको अर्को पक्ष शर्माका समालोचनामा आधुनिक कालका मूर्धन्य सर्जकहर, चालिसका दशकका स्थापित सर्जकहरु र नवोदित स्रष्टाहरुका रचनाले स्थान पाएका छन् । स्थापित मूर्धन्य स्रयटाको प्रयोग विशिष्टता, दोस्रो र तेस्रो पुस्तको प्रवृत्ति र नवोदित स्रष्टाले समाउनुपर्ने बाटोलाई अप्रत्यक्ष रुपमा एकै स्थानमा समालोचकले प्रस्तुत गरेका छन् । प्रायतः समालोचकहरु व्यक्ति र आग्रहमा देखिन्छन् । तर शर्माका समालोचना, समीक्षा, भूमिका लेखन त्यसबाट माथि छन् । त्यसैले प्रभाव, परिगेलन, प्रोत्साहन र मार्गदर्शन शर्माका समालोचकीय प्रवृत्ति हुन् ।

शर्माको पछिल्लो समालोचना कृति ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ हो । यस कृतिमा आइपुुग्दा शर्माका नवीन प्रवृत्ति र दृष्टिकोण देखिएका छन् । पहिलो कुरा, यो शर्माको व्यक्तिकेन्द्रित समालोचना हो । दोस्रो, यसमा अर्यालको जीवनी, लेखनी, वृत्ति र सर्जकका जीवनका विविध पक्षहरु समेटिएका छन् । तेस्रो, यसमा समालोचकीय अन्वेषण छ । चौथो, हास्यव्यङ्ग्य विधाको अन्य विधासँग सम्बन्ध उल्लेख गरिएको छ । पाँचौं, हास्यव्यङ्ग्यकार आर्याललाई यस विधाका महारथी भनेर उनको स्थान निर्धारण पनि गरिएको छ । यी विश्लेषण, ठम्याई र निष्कर्षमा समालोचकीय न्याय कायम छ ।

उपसंहार
बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीका सिर्जना नैतिकचेत, मानव मूल्य र वैदिक दर्शनले ओतप्रोत छन् । जीवनका निरिक्षण र भोगाइको प्रवृत्तिलाई सिर्जनाले आधार बनाएका छन् । सिर्जनाले जीवनका भोगाइलाई सरल, सुुसंस्कृत र श्लील बनाउने आग्रह आग्रह गर्दछन् । मानिसलाई सामाजिक प्राणीका रुपमा सुन्दर, सचेत, सान्दर्भिक र सभ्यशिष्ट बनाउने पूर्वीय दष्टिकोणको पृगठभूमिमा उनका काव्य रचिएका छन् । वेदान्त दर्शन अनुसार मानिसका तीन गुण सत्व, रज र तमो हुन् । पाठकको मनमा सत्व गुणको अभिर्भाव हुने आनन्दानुुभूति साहित्य सिर्जनाको कार्य हो । पश्चिमी दार्शनिकहरु ब्रैडली कलावादी, रिचड्र्स मूल्यवादी र इलिएट अभिव्यक्ति मतबाट कला सिर्जना हुने मतदेखि भिन्न पूर्वीय दर्शन आदर्शवादी मानव अस्तित्वको खोजी गर्छ । शर्मा पूर्वीय दर्शनका प्रयोक्ता भएकाले आदर्श मानिसको खोजी गर्छन् । सर्जक शर्मा कवितालाई जसरी आग्रह गर्दछन्, त्यही प्रयोगमा छन् र उनको जीवनशैली पनि त्यसैको सापेक्षमा देखिन्छ । उनको काव्य दृष्टिकोण, काव्य प्रयोग र जीवन व्यवहार लगभग उस्तै छन्:

‘यो सृष्टि उज्ज्वल हुँदा कविता रसाइन्
सौन्दर्यकी कृति–विधा मनमा उदाइन्
अध्यात्मको सागरमा मन घुम्न थाल्यो
पाइन्छ क्यै रस भनी मन चुलबुलायो’ ।

शर्मा समालोचनामा भने पश्चिमी प्रतिष्ठातासँग नजिक छन् । समालोचना कृतिको मूल्याङ्कन हो, कृतिमाथि पुनर्सिजना हो र मूल्यको विवेचना हो । समालोचनाको कार्य आस्वादन, विश्लेषण र मूल्याङ्कन हुन् । यी तीन अवस्था पार नगरी समालोचना पूर्ण हुँदैन । निर्णय मूल्यको निरुपण हो, मूल्याङ्कनको कार्य हो । समालोचकीय निर्णय वर्णनात्मक, सापेक्षित र मूल्यपरिलक्षित हुन्छ । शर्मा पहिलो पक्षमा केन्द्रित रहेर समालोचना गर्छन् । सरल विश्लेषण, प्रभाव निरुपण र परोक्ष मार्गदर्शन शर्माका समालोचकीय प्रवृत्ति देखिन्छन् ।

 

–मैनाली निवास, क्षितिज मार्ग,
शङ्खमूल (राम नवमी, २०८१)