अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

पाताल भित्र

पुष्पराज पौडेल २०८१ वैशाख ३० गते १६:३४ मा प्रकाशित

पुस्तक समिक्षा

साहित्यकार पदम विश्वकर्माको पाताल उपन्यास पढ्ने मौका मिल्यो । उहाँको दोस्रो औपन्यासिक साहित्यिक कृति हो यो । यसभित्र देशभक्ति र द्वन्द्वकालीन नेपाली समाजको चित्रण र वाध्यता, विवशता, अज्ञान र अनभिज्ञताले सिर्जना गरेको अनकण्टार भविष्य यात्रा छ । अनिश्चित भविष्यको खोजीमा सम्पत्ति र समयको नाश मात्र होइन, माया ममता र जीवन नै कष्टमय बनाउन पुगेका असंख्य युवाहरूको प्रतिनिधि कथा बुनेको यथार्थ आख्यान हो यो । उपन्यासका घटना र परिघटना सबै मार्मिक, भुक्तभोगी तथा दर्दनाक छन् । सर्जकले देश र विदेशको सपनामा भौँतारिने र कष्टसँगै तुहिने नेपाली तनमनको दुरवस्था ओकलेका छन् । आफैँले देखे, भोगे र बुझेको विकृत राजनीति र भ्रष्टाचार खोतलेका छन् । विभेदलाई सरापेका छन् । सामाजिक यथार्थ अलापेका छन् । मातृभूको वेदना केलाएका छन् । मायाममताको राग औँल्याएका छन् ।

वरिष्ठ साहित्यकार कृष्ण धरावासी यस उपन्यासकोे भूमिकामा देश छोडिरहेका क्याराभानको कथा भन्दै पाताल यात्राको चित्रण गीतसँग एकाकार गराउनुहुन्छ:
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौँको लागि उजाड छ यो देश
मुट्ठीभरलाई त स्वर्ग छ ।

पात्र बदलिए पनि देश छाड्ने स्थिति राणाकालको अवस्थाभन्दा भिन्न नभएको भन्दै उहाँ लेख्नुहुन्छ:
“रित्तै घरबाट निस्केर भारततिर भड्किनेहरू, दलाललाई लाखौँ रुपैँया ख्वाएर मलेसिया वा खाडी मुलुकतिर लम्किनेहरू कसैको कथामा पनि तात्विक अन्तर छैन । दुबैले पाइरहेका दुःखका आँसुको स्वाद नुनिलै छ । उनले देश र देशबाहिर रहेका नेपालीहरूका संघर्षका कथालाई निरन्तर उत्खनन गरिरहेका छन् । अभाव र अनिकालको कहालीलाग्दो संसारमा रातदिन तैरिरहेको वर्तमान जीवन पदमको लेखनको धार हो । यही धारमा बगिरहेको छ पाताल ।

धरावासीको सिद्धहस्त उक्त विवेचनाले पाताल उपन्यासको गरिमा बढाएको छ । पारखी र वरिष्ठ सर्जकहरूद्वारा गरिएकोे विश्लेषणबाट लाभान्वित हुने कोसिस हामी पाठकले पनि गर्न सकिँदो रहेछ ।

उपन्यासकार पदम हाम्रो वर्तमानप्रति चिन्तित हुनुहुन्छ । यसै भावनाले उहाँ एउटा सशक्त आख्यानकार भएर फुर्नु भएको छ । देश, काल, परिस्थिति, मानव समाज र जनजीवनका सुखदुःख तथा द्वन्द्वहरूको क्याराभान अन्ततः सन्देशमूलक भविष्यप्रति मार्गदर्शक पनि बनेको छ । आफ्नै गन्थनमा भन्नुहुन्छ ः कहालीलाग्दो यात्रा पार गरेपछिको नयाँ संसारको जीवन भोगाइ, बुझाइ संघर्षका कथाहरू नै पाताल हो ।

भनिन्छ, साहित्य समाजको ऐना हो । साँच्चै नै, जीवनको भोगाइ नै रचनामा व्यक्त हुनु सच्चा साहित्य हो भन्ने लाग्छ । उहाँको भावनालाई आत्मसात् गर्दै त्रासैत्रासको जीवनअन्तर्गत केही वाक्य सम्झन चाहन्छु:

“ विश्वकै शान्ति–सुरक्षाको बहाल गरिरहेको देशमा पनि शान्ति–सुरक्षा रहेनछ । आफैँसँग सोधेँ— आफ्नो देशमा नपाइएको शान्ति सुरक्षा अर्काको देशमा कहाँ पाइन्छ र ?
पराईको नागरिक हुनुको पीडा ।

यस्तै अर्को ठाउँमा माफियाको फन्दामा पर्दा जीवनप्रति यसरी बोल्छन्ः
“जीवन एउटा दियो न हो, जुन तेल सकिएपछि जतिबेलै पनि निभ्न सक्छ ।”
यही भावनालाई बुझ्दै कथाका कर्म लामा तथा साथीहरूको मर्मसँगै एउटा सामान्य पाठकले सर्सर्ती पढ्दा यहाँभन्दा बढी के भेट्टाउन सकिएला र ! यस्ता सरस, सरल र मर्मस्पर्शी रचना गर्ने सर्जकको प्रतिभाको प्रशंसा गर्नैपर्छ ।

यस प्रकाशनको मूल्य स्वदेशमा रु. ५००।– र विदेशमा (१० डलर) अङ्कित छ । सायद सामान्य पाठकको क्रयशक्ति भित्रै पर्ने ठानिएको हुनुपर्छ । आईएसबीएन प्राप्त गरी हालै प्रकाशमा आएको २,१०० प्रति पातालको पहिलो संस्करण पेज टर्नर प्रा.लि. बागबजार, काठमाडौँले प्रकाशन गरेको हो । यस सन्दर्भमा प्रकाशन लेख्छः

माओवादीले नेपालभित्र सुरु गरेको सशस्त्र द्वन्द्व र माओवादी तथा सरकार दुवै पक्षबाट प्रताडित हुन पुगेका नेपाली युवाहरूको जोखिमपूर्ण भविष्ययात्राको फेहरिस्त हो पाताल ।

वास्तवमा द्वन्द्वकैबीच आफ्नो भविष्यको सुन्दर नक्सा कोर्न उत्साहित रुकुमेली युवा कर्मको कथा पाताल ती अनेकन नेपाली युवाहरूको प्रतिनिधि कथा पनि हो जो दलालका शंकास्पद हात समाएर, जग्गाजमिन बेचेर तथा ऋणजमानतका आधारमा ठूलो रकम बुझाएर बिना भिसा अवैध बाटो अमेरिका पुग्छन् र कष्टकर जीवन बिताउन बाध्य हुन्छन् ।

कर्म र उसका परिचित वा अपरिचित छिमेकी तथा साथीहरू नेपालबाट दिल्ली हुँदै युरोप एवं दक्षिण अमेरिकाका कतिपय जोखिमपूर्ण मुलुक र अन्ततः मेक्सिको हुँदै ज्यान जोखिममा पारेर अमेरिका छिर्छन् जो अन्ततः अवैध आप्रवासीको नारकीय जीवन बाँच्न विवश हुन्छन् ।

मृत्युको मुख हेर्दै किन मान्छेलाई अमेरिका जानुपर्ने ? नेपालमै विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने सन्देश पातालले दिएको छ । वियोगान्त कथा अन्ततः सिर्जनात्मक र संयोगान्त बन्न पुगेको छ । बीचमा पदमकै कथा संग्रह तमसुकको सानो झलक यहाँ पनि भेटिन्छ । सम्बन्धित सबैका साथै लेखक र प्रकाशक दुवै धन्यवादका पात्र छन् ।

अमेरिकी डिटेन्सन सेन्टरबाट शायद लेखकको नाम नम्बर त्यहीँ भित्तामा टाँसेको पाएर टेलिफोन कल गरेर कर्म लामाले आरम्भ गरेको कहानी र साथमा करुण मगरसँगै अन्य साथीहरूको नेपालदेखि अमेरिकासम्मको भोगाइको कथा उपकथा थपिँदै अन्तमा नेपालै फर्केर हाँसीखुसी क्रियाशील बन्छ । अनि, अवैध बाटो छाडेर विदेश धाउन छाडी मातृभूमिकै विकासको बिजारोपणद्वारा समृद्धि अभियानमा युवाहरूलाई जाग्रत गराउँदै सकिन्छ ।
सारांशमा मलाई लाग्छ:
डोल्पाली जनजीवनसँग जोडिएको नुनयात्राको विवरण भएको एक प्रसिद्ध चलचित्र क्याराभान जस्तै यसमा रुकुमेली र समकालीन समस्त नेपाली जनजीवनसँग गाँसिएको क्याराभान बन्न पुगेको देखिन्छ पाताल । ५७ वटा परिघटनाका उपशीर्षकहरूमा कर्म र उसका सहयात्रीहरूले भोगेको नारकीय यातनाको विवरण बिरह गाथा र त्यसको निकास बनेको छ पाताल । शायद उनीहरूले भोगेका र सोचेका कतिपय अवस्था हामी सबैका अनुभवजस्ता छन् । यसभित्रका कथावस्तु, पात्र, विषय, परिवेश र भाषा–शैलीका दृष्टिले शायद यसरी हेर्न सकिन्छ:

१. कथावस्तु (Plot):
नेपाली युवाहरूको प्रतिनिधि कथावस्तु बोकेको छ यस पाताल उपन्यासले । उनीहरूले विश्वमा देखेभोगेका कथा र उपकथाहरू यसमा उनिएको छ । देशमा चलेको सशस्त्र युद्धमा सरकारी सेना र माओवादी लडाकूको मारमा परेर सुरक्षा र रोजगारीको सिलसिलामा अवैध बाटो, बिना भिसा, जीवनलाई मृत्युको दाउमा राखेर, जग्गा सस्तैमा बिक्री र बन्धकी राखेर तथा परिवार त्यागेर सपनाको देश पाताल भासिन्छन् । दलालललाई मोटो रकम बुझाएर अनिश्चित भविष्यको जोखिमपूर्ण यात्राको दलदलमा जानीनजानी फँस्दछन् नेपाली युवाहरू । यस क्रममा भोगेका अनगिन्ती पीडाहरूको सँगालो बनेको छ पाताल ।

२. पात्रहरू (Characters):
नेपालका रुकुमेली युवा कर्म लामा यस उपन्यासका प्रमुख पात्र हुन् जो वाध्यतावश माओवादी लडाकूमा समावेश हुन्छन् त त्यहाँबाट घाइते बनेपछि घर फर्के पनि सरकारी सेनाबाट प्रताडित बन्छन् अनि, सुरक्षा र रोजगारीको लागि मातृभूमिबाट टाढा अरबको मरुभूमिमा पुग्छन् । त्यहाँबाट फर्केर पनि नेपालमा बस्ने वातावरण नभएपछि अवैध बाटो दुःख भोग्दै अमेरिका पुग्छन्, जटिल र नयाँ संघर्षपछि फेरि नेपालै फर्कन्छन् । आफुले पहिले अँगालेको मार्ग गलत महसुस गरी स्वदेशमै परिश्रम गरी देश विकासमा अग्रसर हुने सचेतना अभियान थाल्छन् । उनको यस जीवन यात्रामा परिचित तथा अपरिचित अन्य धेरै देशी, विदेशी, महिला तथा पुरुष युवा साथीहरू उनका सहयात्री बनेका छन् । करण मगर कर्मका अभिन्न मित्र देखिन्छन् । उनका कथा र व्यथा पनि उस्तै छन् । कर्मसँगै जेलको नारकीय जीवनसमेत भोग्दछन्, कमाउन गएको देशमा ठुलो रकम बोण्ड तिर्न बाध्य हुन्छन् । अन्य मित्रहरूमा अनिल, भरत, विनोद, नेत्रबहादुर, बिमला, जनक, गणेश, हरिशरण, रवि, अमृता, धने, रने, बागलुङे भाइहरू आदि थिए । कर्मकी श्रीमती जुनेलीको वेदना उस्तै छ । सबैको हालत उही हो । कतिले त अनाहकमै बाटोमै जीवन समाप्त गर्छन् ।

३. विषय (Theme):
देशमै केही गर्न सकिन्छ, अवैध बाटोबाट विदेश जानु त आफ्नो आर्थिक, सामाजिक र अन्ततः सर्वश्व गुम्नुसरहको अवस्था आउन सक्छ भन्दै स्वदेशको विकासका लागि युवाहरूलाई आह्वान र एकत्रित गर्न प्रयत्नशील छ उपन्यास । जातपात, धर्म, नश्ल र लिङ्गीय आधारमा विदेशमा पनि विभेद देख्दा नवागन्तुक हरेक यात्रु अचम्मित बन्छन् । यसविरुद्ध विस्तारै यात्रीहरूको मन पोल्छ नै । देश र देशबाहिर रहेका नेपालीको संघर्षका थुप्रै कथाहरू यस विषयमा उनिएका छन् । आफन्तको मायामोहबाट टाढिन वाध्य नेपाली मात्र होइन, भारतीय र अन्य मुलुकका मान्छेको हालत पनि यस्तै छ । अमेरिकी धरतीमा तीता भोगाइ खपेर बाँच्न सफल जीवन्त पात्रहरूले पातालको विषयवस्तुबाट आफ्नै आत्माका घाउमा मलम लगाएको हुनुपर्दछ ।

४. परिवेश (समय, स्थान र अवस्था) (Setting):
एसिया, युरोप, दक्षिण अमेरिका र उत्तर अमेरिकी देशहरूको प्रतिनिधित्व र परिवेश यसमा छ । नेपाल र अरबको कथा, व्यथा र भविष्यको खोजी त छुट्टै छ । पातालकै जन्तीजस्तै जाँदै फर्कंदै पुनः दशैँको टीकाकै दिन आफ्नो जन्मभूमि छाड्न पुगेका कर्म स्वदेशमै भएर पनि बाआमाको हातको टीका लाउन पाउँदैनन् । उँड्दै, हिँड्दै, गुड्दै वा बहँदै भारत, रुस, स्पेन, बोलिभिया, क्युबा, फ्रान्स, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, मेक्सिको र गन्तव्य बनेको संयुक्त राज्य अमेरिका यसका यात्रामार्ग हुन् । अमेजनको जंगलदेखि प्रशान्तमहासागरीय तट, नदी, खोला, पहाड, पैदल तथा डुंगा, जहाज, मोटर, मोटरसाइकल, ट्रक आदिमा रातको यात्रा, जंगली जन्तुको डरसँगै पुनर्जीवन प्राप्त गरेका युवा अनपेक्षित भूमरीमा फँसेका हुन्छन् ।

५. भाषा–शैली (Language and style):
भाषा र शैली सरस, सरल र जनजिभ्रोमा भिजेको पाइन्छ । धेरै ठाउँमा प्रतीकात्मक वा बिम्वको प्रयोग सराहनीय छ जस्तैः लज्जावती झारजस्तै, सिल्वरको थालमा पस्किएको भातजस्तै क्षणभरमै सेलाउने आदि । गाउँले भाषा र स्थानीय भाषिकाको पहिचान र प्रयोग पनि उल्लेखनीय छ । नेपाली, हिन्दी, स्पेनिश र अङ्ग्रेजी भाषाहरूसमेतको केही बोलाइ र सिकाइ यात्राको अनिवार्य आवश्यकता र अनुभवसँगै उपन्यासभित्र समेटिनु बाध्यता वा अन्तर्राष्ट्रिय स्थितिको स्वाभाविक परिणाम भएको देखिन्छ । पुस्तकको आवरण साजसज्जामा निरुपण डेस्कले एउटा चिन्ताग्रस्त र पातालतर्फ शिर निहुरेको जीवनको चित्र प्रस्तुत गरेको छ । साजसज्जाको कलापूर्ण यस प्रकारको सोच र सचित्र स्वागतयोग्य देखिन्छ । अक्षर तथा फण्ट सबै सामान्य पाठकवर्गले पढ्न सकिने झैँ राम्रो लाग्यो । समष्टिमा प्रस्तुत उपन्यास उपयोगी तथा पठनीय त छँदैछ, आकर्षक र प्रशंसायोग्य पनि छ । किनभने प्रवासमा बसिरहेका वा स्वदेशमा संघर्षमा होमिएका धेरै नेपालीहरूले भोगेको यथार्थ सत्य यहाँ उजागर भएको छ । २६० पृष्ठको ठिक्क पुस्तकाकार यस कृतिले बजार पनि सहजै पाउने अपेक्षा गर्न सकिन्छ ।

अन्तमा यस उपन्यासको अर्को संस्करणमा सुधार गर्नसकिने र गर्नुपर्ने केही सुझावहरू पनि प्रस्तुत गर्नु आफ्नो कर्तव्य ठान्दछु:
१. फ्रिजभित्रको जीवन: अलि विस्तार र खुलस्त भएको भए वा नयाँ कामको पहिलो दिनमा नै जोडेको भए अझ राम्रो हुनसक्ने ।
२. बागलुङका भाइ शीर्षक परिमार्जन गरी घटनाको प्रतिनिधित्व स्पष्ट गरेको भए अझ राम्रो हुन सक्ने आफ्नो दृष्टिकोण ।
३. रेडक्रसको सेवा पनि प्राप्त भएको उल्लेख भएकोमा अझ खुल्न सकेको भए बढी राम्रो हुनसक्ने विश्वास ।

४. अन्तर्वार्ताको दिन शीर्षकमा बोण्डको भार उल्लेख गरी परिमार्जन भएको भए अझ प्रभावकारी हुन्थ्यो होला ।
५. उपशीर्षक नभएको भए पनि हुन्थ्यो भन्ने तर्क पनि उठ्नसक्ला, तर यसले हामीजस्ता पाठकलाई विषयवस्तुको गहिराई र स्मरणका लागि सघाउ पुग्ने देखिन्छ ।
६. नियालेर पढ्दा छपाइ शुद्धता र व्याकरणमा कतै कतै ससाना त्रुटि भेटिन्छ जो हतारमा छाप्नुपर्दा भएको भन्ने सहजै बुझिन्छ । अन्तिम छपाइ शुद्धता हेर्दा थोरै ठाउँमा टाइपिंगको ससाना त्रुटिमा दृष्टिभ्रम, चिह्न छुट र रूप परिवर्तन भएको आभास हुन्छ । जस्तै गर्दा पनि यस्ता सामान्य प्राविधिक कमजोरी हरेक साहित्यिक सिर्जनामा हुनसक्छन् ।

यसरी उपन्यासको माध्यमबाट पदम विश्वकर्माले एउटा ऐतिहासिक, सामाजिक, आर्थिक र मानवीय पक्षलाई उतारेका छन् । आख्यान जगत्मा पदम विश्वकर्माको यो प्रयास स्तुत्य छ ।

यसको अध्ययन गरी रसास्वादन र विचार विश्लेषण गर्ने अभिभारा अब हामी पाठककै जिम्मा हो । लेखकबाट भविष्यमा पनि निरन्तर यस्तै सिर्जनाको माध्यमबाट समाजको स्वरुपलाई चिनाउन सफल साथै नेपाली साहित्यमा थप योगदान हुने विश्वाससहित आफ्नो पाठकीय दृष्टिकोण बीट मार्दछु ।

कोलोराडो, २०८१ बैशाख १२

प्रतिक्रिया