अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

पराईको अन्तर्घात

आचार्य प्रभा २०७६ असार २८ गते १९:२५ मा प्रकाशित

कविता

भोग्दैछौं अहिले माटो बन्धक राखेर
आफ्नो पौरख,पसिना पराई देशमा
बेच्नुको नतिजा अनि ….
उब्जनीयोग्य जमिन बाँझो राखेर

छिमेकीमा परनिर्भर हुनुको अन्तर्घात,
हरेक गाँसमा विषादीयुक्त भोजन निलेर
दिर्घ रोगको सिकार हुनुमा हामी गर्वित छौँ
अनि ….आफ्नो करेसा बारीमा झार उमारेर

हामी बेफुर्सदीसँग इन्टरनेटको दुनियाँमा
मग्न छौं|
कसलाई जाँगर छ ?
आफ्नै आँगनमा,आफ्नै माटोमा

उब्जनी गरेर खाने ,
कसको सोच छ? यो बेला
आफ्नै पसिनाको पौरखमा
स्वच्छ,चोखो र बिषादीमुक्त

हरिया फलफुल,तरकारी फलाउने ?
यदि हाम्रो सोच पौरखमय भइदिएको भए
आज हर नेपाली रोगको सिकार बन्नु पर्ने थिएन
बस् हामी त यत्ति ऐय्यासी भई दियौँ कि

आफ्नो जोस जाँगरलाई बन्धक गरेर
परनिर्भर बनी दियौं|
देख्यौँ कालरात्री आँखामा टाँसेर
खेतबारीमा महल ठड्याउँने कालो सपना

र… आज पेटलाई विषको खण्डहर बनाएर
मृत्युको नजिक पुग्ने त्रासमा
त्रसित छौँ,
हाम्रो बढ्दो महत्वाकाक्षांले हामीलाई

उर्वर भूमिको काकाकुल बनायो
दोष कसको?अन्तर्घात गर्नेको ?
या आलस्य जीवन बिताएर
परनिर्भर बन्ने हामी नेपालीको ?